गगन राई
हिलेपानी (ओखलढुंगा)– वाम्बुले राई जाति बहुल जातिभित्रको एउटा सभ्य अनि सस्कृति र परम्पराले सम्पन्न जाति हो । यो जातिमा अथवा समुदायमा हरेक वर्ष साउन १५ देखि बाँसुरी बजाउने परम्परा छ ।
यस सन्दर्भमा वाम्बुले राईहरूको सामाजिक जीवनमा साउने संक्रान्तिदेखि पन्ध दिन प्रकृति अर्थात् भगवान गुफा बस्छन् भन्ने लोकमान्यता छ । त्यसैले होहल्ला गर्नु हुँदैन । बाजागाजा बजाउनु हुँदैन । सुइसुला गर्नु, गीत गाउँनु हुँदैन । नङ, कपाल काट्नु हुँदैन । कपाल कोरेर भुइँमा झानु हुँदैन । किराती बाजाहरू बाँसुरी, मुरली, बिनायो, मुर्चुङ्गा, यलम्बर (टुङबाजा), पिपिरी, पुङ, ढोल, झ्याम्टा बजाउनु हुँदैन ।
जब साउन १५ लाग्छ तब भगवान उपवास सकेर बाहिर निस्कन्छ । त्यस दिनदेखि विशेष रहरका साथ तन्नेरी युवा, वयस्कहरू नयाँ बनाएका र अघेनुमाथिको बलोमा सिउरेर राखेका पुराना बाँसुरी झिेकर पाखापर्वत, खोला शृंखला नै गुन्जायमान हुने गरी बजाउँछन् । महिलाले बिनायो बजाउँछन् । वनपाखाभरि गाई, बाख्रा चराउँदै बाँसुरी, मुरली, बिनायो खिप्ने र बजाउने चलन छ ।
वाम्बुले राई समाज, नेपाल (वाम्रास)ले २०७४ सालदेखि साउन १५ गते महालक्ष्मी नगरपालिका–१, इमाडोल नयाँ बस्ती, ललितपुरस्थित वाम्रास भवनमा र मानेभन्ज्याङ्ग गाउपालिका–६ स्थित हिलेपानीको मितेरी भन्ज्याङ्गम सामूहिक भेटघाट गरी बासुरी बजाउने परम्पराको जगेर्ना र यसको विकासको लागि ‘बाँसुरी दिवस कार्यक्रम’ को थालनी गरेको हो ।

‘किराती लोक परम्पराको निरन्तरता’ को रूपमा यो दिवस स्थापित गरिएको हो । कोभिड–१९ को कारण २०७७ र २०७८ सालमा सामूहिक भेटघाट गर्न सम्भव भएन । अहिले कोरोना भाइरस केही बढेको भएपनि परम्पराको निरन्तता दिनैपर्ने ठानेर २०७९ साउन १५ गते काठमाडौं उपत्यकामा वाम्रास केन्द्रको आयोजनामा र ओखढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ हिलेपानी मितेरी भन्ज्याङमा वाम्रासकै ब्यानरमा गाउँकै संस्कृतिप्रेमी, शिक्षक तथा बुद्धिजीविहरूको संयोजनमा बाँसुरी दिवस मनाइएको छ ।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ हिलेपानी मितेरी भन्ज्याङमा वाम्रासको ब्यानरमा संचालन भयो । शिक्षक दिलिपकुमार राई सभाध्यक्ष, जेष्ठ नागरिक कुम्भसिङ राई प्रमुख अतिथि रहनु भयो । यसैगरी वाम्बुले राई शिक्षक समाज (वाराशिस)का महासचिव दिपकबहादुर राई, ओखलढुंगा न्युज डटकमका पत्रकार बोध नारायण श्रेष्ठ (बि.एन. श्रेष्ठ), न्युज ट्वान्टीफोर टेलिभिजनका पत्रकार राज दयाललगायतको आतिथ्य रह्यो भने शिक्षक तथा कवि गगन राईले सन्चालन गरेका थिए ।
युवा व्यवसायी सुदेश कुमार राईको स्वागत मन्तव्यसँगै अगमसिं राई, तुलसबहादुर राई, अढमबहादुर राई, अमृतबहादुर राई (अल्ला भावाचाचो), अमृतबहादुर राई (मित्रेङपो), धनसिं राईले बाँसुरी वादन प्रस्तुत गर्नुभयो । बाँसुरी वादनमा गाउँघरको पुरानो लोकभाकाहरू, राष्ट्रिय तथा युवा जागरणका गीतहरूको धुन प्रस्तुत भएका थिए ।
बाँसुरी दिवस कार्यक्रमको आवश्यकता, महत्व र प्रभावकारिताबार वाराशिस महासचिव राई र धनसिं राईले विचार राख्नुभएको थियो ।
कार्यक्रम व्यवस्थापन गगन राई, युवा राजनितिकर्मी जीवनसिं राई, लक्ष्मण राई र सुदेशकुमार राईले गरेका थिए । साउन १५ कै दिन झमझम पानी परिरहेको थियो । मौसम प्रतिकुलताको कारण तोकिएको समय तालिकाभन्दा ढिलो अपरान्ह ३ बजे सुरु भएको कार्यक्रम डेढ घण्टामा सम्पन्न भएको थियो ।
काठमाडौंमा बाँसुरी दिवसको भिडियो