लिभु संवाददाता
गायक तथा संगीतकार बुद्ध राईको नेतृत्वमा वाम्बुले राई सांस्कृतिक कलाकार समाज गठन भएको छ ।
वाम्बुले राई कलाकारहरूको हक हित तथा वाम्बुले लोक भाका, लोक संस्कृति, लोक संगीत, लोक बाजा, लोक नृत्यहरूको संरक्षण, प्रवद्र्धन र वाम्बुले राई भाषाको संरक्षण तथा संवद्र्धनको लागि वाम्बुले राई साँकृतिक कलाकार समाज, नेपाल संस्था गठन गरिएको हो ।
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.१ इमाडोल शिवटोलस्थित वाम्बुले राई समाज, नेपाल (वाम्रास)को कार्यालयमा २०८१ पुस २७ गते शनिबार कलाकार समाज गठन गरिएको हो ।
जम्मा ९ सदस्यीय तदर्थसमितिको उपाध्यक्ष गायिका बसन्ता राई, सचिव नृत्य प्रशिक्षक टार्जन राई र कोषाध्यक्ष गायिका चाँदनी राई छन् । यसैगरी सदस्यहरूमा मोडल सीता राई, गायक राज राई, गायक रामकुमार राई, गायिका अम्बिका वाम्बुले राई र नृत्यकलाकार सेन्जिन राई रहेका छन् ।
वाम्रास केन्द्रीय कार्यसमितिका अध्यक्ष गजुरधन राईको प्रमुख आतिथ्य तथा वाम्रास भाषा, साहित्य र संस्कृति विभाग प्रमुख उपाध्यक्ष गणेश वाम्बुले राईको अध्यक्षमा भेला सम्पन्न भएको थियो । वाम्रास केन्द्रीय कार्यसमितिका सचिव विकास सौगात राईले वाम्रासको विधानमा भ्रातसंगठन गठन व्यवस्था तथा अन्य विषयबारे जानकारी गराएका थिए ।
भेलामा बाँसुरी वादक जीवन राई, भ्वाइस अफ किड्सका चर्चित बालगायक प्रितम राई, लिटिल सान्स च्याम्पियन विनर राई, नृत्य बालकलाकारहरू आयुषा राईलगायतको उपस्थिति रहेको थियो ।