ओखलढुंगामा ढाका उद्यमी उत्पादन सुरु

अर्थ / वाणिज्य

लिभु संवाददाता
काठमाडौं– ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाले ढाका उद्यमी उत्पादन गर्ने उद्देश्यले ढाका बुनाई तालिम सुरु गरेको छ । महिला सन्जाल मानेभञ्ज्याङको आयोजनामा ‘सबै महिलाहरू आर्थिक रुपमा बलियो बनौं’ नारासहित तीन महिने ढाका बुनाई सीप तालिम थालेको हो ।

गाउँपालिकाका उपाध्यक्ष सबिता राईले दिनु भएको जानकारी अनुसार गाउँपालिकाको नौवटै वडामा ढाका बुनाई तालिमको कार्यक्रम रहेको छ । गाउँपालिका महिला लक्षित बजेट ३० लाख रुपैयाँ रहेको छ । त्यसैबाट ढाका उद्यम सीप दिइएको हो ।

पहिलो चरणमा ५, ६, ७, ८ र ९ वडाका दिदीबहिनीहरूलाई गाउँपालिका मुकाम मानेभन्ज्याङ बजारमा तालिम सुरु भएको छ । तालिममा ३० जना स्थानीय महिला सहभागी हुनुहुन्छ । ‘गाउँपालिकाले ढाका उद्यमी महिला उत्पादन गर्ने लक्ष्य लिएको छ,’ तालिमबारे उपाध्यक्ष राईले लिब्जुभुम्जु संवाददातासँग भन्नुभयो, ‘गाउँपालिकाको आर्थिक सहयोगमा पहिलो पटक तालिम सुरु गरेका छौं ।’ ढाका बुनाई तालिमको नेतृत्व मानेभन्ज्याङ आमा समूहको संयोजक अम्मता राईले गर्नुभएको छ ।

बुनाईका निम्ति करिब बीसवटा तान जुटाइएको छ । तान प्रतिगोटाको मूल्य १० हजारदेखि २५ हजार रुपैयाँ परेको छ । परम्परात ताना बुनाई खाँडी कपडा बुन्न प्रयोग हुने साँचोभन्दा फरक भएको उपाध्यक्ष राईले जनाउनु भएको छ ।

‘उहिले हाम्रो आमा, बोजुहरू खाडीको कपडा बुनेजस्तै विधि हो,’ स्थानीय रुपमा कपास लगाउने, घरेलु तानमा बुनेर कपडा लगाउने चलन हटेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘तर, ढाका बुनाई अलिक फरक रहेछ । सबै सामग्री बजारबाटै लिएर सञ्चालन गर्नु परेकोले धेरै महँगो सावित भएको छ । त्यसैले ढाका बुनाईप्रति प्रतिवद्ध हुने दिदीबहिनीलाई मात्र सहभागी गराएका छौं ।’ गाउँपालिकाले यो पहिलो समूहलाई ६ लाख ५० हजार रुपैयाँ बजेट उपलब्ध गराएको छ । प्रशिक्षणका निम्ति सरिता राईलगायत दुई जना खटिनु भएको छ ।

त्यसैगरी दोस्रो चरणमा नारी उत्थान ढाका बुनाई समूहको अगुवाइमा वामद्याल उँबुमा ढाका बुनाई तालिम सञ्चालन गर्ने तयारी भएको छ । उक्त तालिममा वडा नं. १, २, ३ र ४ का दिदीबहिनीहरू सहभागी गराइने छ । यही फागुन दोस्रो हप्ता सुरु हुने तालिमको नेतृत्व समूहको अध्यक्ष टेककुमारी राई (ठुलीकान्छी)ले गर्नु हुनेछ । सो समूहलाई ६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

पहिलो चरणको तीन महिने तालिममा ढाकाको सल, सर्ट, चौबन्दी, टोली, बर्को बुन्न सिकाइने छ । सफलतापूर्वक अघि बढ्न चाहनेलाई दोस्रो चरणमा थप तीन महिनाको तालिम दिइने छ । सहभागीहरूमा चासो, लगानी, समर्पणका आधारमा सारी, झोला आदि बुनाई सिकाइने उपाध्यक्ष राईले जनाउनु भएको छ ।

‘गाउँपालिका लक्षित बजेटबाट तीन महिनाको परिणाम हेरेर सय जना ढाका उद्यमी उत्पादन गर्ने लक्ष्य राखिएको छ,’ उहाँले भन्नुभयो ।
फोटो सबिता राईको फेसबुकबाट

Leave a Reply

Your email address will not be published.