किरात राईहरूको मौलिक भेषभूषा र गरगहनाहरू

कला साहित्य -संस्कृति बिशेष समाज
तीर्थराज मुकारुङ राई

विषय प्रवेश

विभिन्न जात जातिहरूमध्ये किरात राई जातिको पनि आफ्नै एक अलग मौलिक पहिचान र एक स्पष्ट परिचय छ जसको आधारमा उनीहरूले आफूलाई “किराती राई” हुँ भन्नुमा गर्व गर्दछन् र आफ्नो मौलिकताको जगेर्ना र सम्बद्र्धन गर्दै जाने कुरामा आफूलाई गौरवशाली ठान्दछन् । किरात राई जातिको मौलिक पहिचान अन्तर्गत उनीहरूले धारण गर्दै आइरहेका पहिरन, भेषभूषा, गरगहना र खानपिनका सामाग्रीहरूको रुपमा प्रयोग गर्दै आइरहेका वस्तुहरू भौगोलिक एवं जैविक वातावरण अवस्थानुसार कतै कतै विविधता वा भिन्नता पाउन सकिन्छ ।

किरात राई जातिका महिला एवं पुरुषहरूले धारण गर्ने भेषभूषा र गरगहनाहरूमा लिङ्ग अनुसार भिन्नता रहेको पाइन्छ । किरात राई महिलाहरूले आफूलाई विभिन्न प्रकारका लुगाफाटा एवं गरगहनाले सिंगारेको हुन्छ भने किरात राई पुरुषहरूले खासै गरगहना धारण गरेको पाइदैन । किरात राई जातिहरूमध्ये रंगको प्रयोगमा बढी कालो र सेतो रङ्गको प्रयोग गरिएको पाइन्छ ।

किरात राई जातिहरू विशेषतः पित्रीपुजक र प्रकृति पुजक हुन् । त्यसै कारण किरातहरूको भेषभूषा, रहनसहन, खानपीन, धर्म, संस्कार र संस्कृति प्रकृतिसँग जोडिएको पाइन्छ । आज मानव सभ्यताको दौरानसँगै किरात राई जातिले पनि आफ्नो भाषा, धर्म, संस्कृति र भेषभूषा, खानपीन तथा आफ्नो जातीय मौलिकतालाई पछ्याउदै र संरक्षण गर्दै आजको विज्ञान र प्रविधिको युगले संसारलाई एउटा व्यक्तिले बोक्ने सानो झोलामा सानो बाकसको रुपमा अटाइ दिएको छ । यस्तो बदलिदों परिस्थितिमा पनि किरात राईहरूले आफ्नो धर्म, संस्कृति र इतिहासलाई जिवन्तता दिंदै आइरहेको हामी पाउन सक्छौ ।

विभिन्न जातजातिहरूमध्ये किराती राईहरूको आफ्नो छुट्टै प्रकारको मौलिक पहिचान रहेकोमा खुशी पनि व्यक्त गर्दछन् । किरात राईहरूले आफ्नो दैनिक गतिविधी धर्मकर्म र संस्कृतिमा प्रयोग गर्दै आइरहेको भेषभूषा, गरगहना र खानपीनमा आफ्ना किरात जातिको सुन्दर मौलिकता झल्किएको पाउँछन् । सम्पूर्ण राई जातिहरूको धर्म, संस्कृति र मौलिक पहिचानलाई निरन्तर स्थायित्व दिंदै अगाडि बढाउन भावी सन्ततीहरूलाई दिशानिर्देश पनि भएको पाइन्छ ।

किरात राई बालबालिकाको भेषभूषा
१. किरात राई बालबालिकाहरुलाई दश बाह्र वर्षको उमेरसम्मका केटाकेटी दुवैलाई भोटो वा दौरा लामो प्रकारको लगाइदिने चलन रहेको पाइन्छ ।
२. राई छोरी मान्छेलाई ३ वर्ष पुगेपछि उता बिजोडी वर्ष पारेर गुन्यूचोलो दिइन्छ र त्यसपछि छोरी मान्छेले गुन्यूचोलो लगाउने गर्दछन् ।
३. राई केटा मान्छेहरुलाई ४ वर्षदेखि उता खोलाटोला अनुसार छेवर गरिदिने चलन छ ।
४. राई छोरी मान्छेहरुलाई प्रायः पास्नीको बेलामा नाक र कान छेडिदिने चलन छ ।
५. राई बालिकालाई हातमा चाँदीको बाला लगाई दिने चलन छ । छोरालाई ६/७ वर्ष पुगेपछि कानमा सुनको विर्मल लगाई दिने चलन छ ।

किराती राई महिलाहरूको भेषभूषा
१. छिटको गुन्यु –
 यसलाई गुन्यु, फरिया आदि नामले पनि बुझिन्छ ।
 पहिला पहिला महिलाहरूले सरदर २४ हाते गुन्यु लाउने गर्थे । आजभोलि यसको लम्बाई सरदर १५ हाते हुन्छ । यो प्रायः कालो भुइँमाथि सेतो छिट भएको अथवा आजभोली अन्य रंगहरूको प्रयोग पनि हुँदै गएको पाइन्छ ।
२. चौबन्दी चोलो –
 किरात राई महिलाहरूले लगाउने चौबन्दी चोलोको चार ठाउँमा दुई–दुईवटा तुना भएको हुन्छ र यो प्रायः ढाकाको छाप भएको हुन्छ ।
 हिजोआज विदेशी प्रभावले गर्दा आधुनिक आयातित चौबन्दी चोलो पनि लगाउने चलन छ ।
३. पटुकी –
 किरात राई महिलाहरूले १६ हाते पटुकी कम्मरमा कस्ने चलन छ ।
 यसको रंग प्रायः सेतो हुन्छ ।
 यो खेस गिम्तीबाट वा कपासको धागोबाट निर्मित भएको हुन्छ ।
 किरात राई महिलाहरूले खुर्पा ठूलो र सानो खुरुम्बी पटुकीमा भिर्ने चलन छ ।
४. खाँडीको बाक्लो बर्को –
 जाडो याममा खाँडीको बर्को ओढ्ने चलन रहेको पाइन्छ ।
 यो कपासको धागोबाट तानमा बुनिएको हुन्छ ।
५. खोक्मा –
 खोक्मालाई टाङरुमा पनि भनिन्छ । यो एक प्रकारको रुमाल जस्तै सानो मुजेत्रो हो ।
 यसलाई राई महिलाहरूले आवश्यकता अनुसार आफ्नो टाउको माथि बाँध्ने गर्दछन् ।
६. हेम्बारी वा घलेक –
 हेम्बारी वा घलेक एक प्रकारको बर्को हो । यसलाई महिलाहरूले आफ्नो आवश्यकता अनुसार बाँध्छन् ।
 हेम्बारी छातीदेखि तलसम्म छोप्ने गरी बेर्छन् भने घलेकलाई कम्मरमा घुसारी त्यसको अर्को छेउ बायाँ काँधमा लगेर छोप्ने गर्दछन् ।
 हेम्बरी वा घलेक बनाउँदा अन्दाजी ६/७ हाते लुगाको दुई पाटा जोडेर बनाइने गरिन्छ ।
 यो कपासबाट निर्मित भएको हुन्छ र यसको उपयोग राई महिलाहरूले नानी बोक्ने, कोसेलीपात बोक्ने आदि कार्यमा प्रयोग गर्दछन् ।
७. मेख्ली –
 मेख्ली किरात राई महिलाहरूले आफ्नो कम्मरमा बाँध्ने एक प्रकारको लुगा हो यो लुङ्गी जस्तै हुन्छ । यसलाई लुङ्गी जस्तै बेरेर लगाइन्छ ।
८. लोती –
 ऊनी धागोबाट बनेको हुन्छ, यसलाई बाँसको काँटाको मद्दतले बुनिन्छ । यसको लम्बाई झण्डै इजारको जतिकै हुन्छ ।
 यसलाई कम्मरमा बाँध्ने गरिन्छ र यसको अर्को उपयोग यसभित्र पैसा वा अन्य अमूल्य वस्तुहरू राख्न गरिन्छ ।
९ रुमाल – हातले बुनेको खेसको र बुट्टा भरेकोे हुन्छ । यसलाई हात मुख पुछ्न प्रयोग गरिन्छ ।
 जाले/झाले रुमाल : यो बटुवा अथवा ऊनी धागोको प्रयोग गरी बांसको काँटाले बुनेको हुन्छ । विशेष गरी कोसेली पातहरु छोप्ने कार्यमा यसको प्रयोग गरिन्छ ।
नोट : रुमाललाई युवा युवतीहरुले आफूले मन परेको साथी संगीलाई चिनो स्वरुप दिने पनि गर्दछन् ।
१० थैली – कपासको धागोलाई रातो, नीलो रंगाएर बांसको काटाको मदतले बुनिन्छ । यो सानो झोला जस्तै बुनेर एकमुखे, दुईमुखे वा तीन मुखे बनाइन्छ । यसलाई खोल्न र बन्द गर्नका लागि सुर्काउने राखिन्छ र थैलीलाई राई महिलाले पटुकाको छेउमा गाँठो पारी पोल्टो बोक्ने चलन छ । किरात राईहरुले केटी माग्न जाँदा केटी राजी भए पछि थैलीमा केही पैसा राखेर केटाले केटीलाई दिने चलन छ । त्यसदिनदेखि केटी केटाको अधिकारको हुन्छ भन्ने भनाइ रहेको छ ।

किरात राई महिलाहरूको आभूषण (गरगहना)
१. शिरमा लगाउने 
 राई महिलाहरूले शिरमा सुनको शिरफूल लगाई आफूलाई सुन्दर तुल्याउने चलन पनि रही आएको छ ।
 राई महिलाहरूले खुर्पे चिम्टी, जुनविरी चिम्टी पनि लगाउने चलन छ ।
२. हारी 
 राई महिलाहरूको मौलिक गहनाको रुपमा यसको प्रमुख स्थान छ ।
 हारी चाँदीको सिक्काबाट निर्मित चारआनी, आठआनी अथवा रुपैयाँ (कम्पनी) हुने गर्दछ ।
 हारीलाई गलामा लगाइन्छ अथवा ठूलो छ भने छड्के गरी पनि लगाइन्छ ।
 प्वाँलोको माला, काँढे प्वाँलोको माला, नौगेडी, चाँदीको जन्तर, सुनको कण्ठ आदि पनि लगाउने चलन रही आएको छ ।
३. तिलहरी 
 यो सुनबाट बनाइएको हुन्छ ।
 राई विवाहिता महिलाहरूको पहिचानको रुपमा रहेको तिलहरी पनि हो ।
 यो हरियो गोलो पोतेमा उनीएको हुन्छ । कसै–कसैले हरियो ऊनको धागोमा पनि उनेरलगाउने गर्दछन् ।
४. कानमा लगाउने गहना 
 चेप्टे सुन,
 तारीवान सुन वा गोदावरी सुन,
 कोप्चा,
 कर्णफूल,
 कानढुँग्री,
 माडवारी ।
५. नाकमा लगाउने गहना 
 ढुंग्री,
 मुन्द्री, बुलाकी
 फूली ।
६. रिङ्गटे, चकरी, ज्ञानी
 बाँसको चोयाबाट निर्मित एक प्रकारको औंठी हो ।
 यस सम्बन्धी विश्वास के छ भने यसलाई लगाएपछि लगाउने व्यक्तिले रिङ्गटा लाग्ने रोगबाट मुक्ती पाउँछ । साथै ज्ञान बुद्धि आउँछ ।
७. औंठी 
 राई महिलाहरूले औंठीको रुपमा धारण गर्ने चाँदीको काँक्रे बियाँ औँठी,
 असर्फी औंठी,
 बेरुवा औंठी ।
 प्वाँलोको इयूँ भएको औंठी ।
८. छ्योक्मेमा –
 यो पनि बाँसको चोयाबाट निर्मित एक प्रकारको औंठी हो ।
 यसलाई राई केटाले मन परेको केटीलाई लगाई दिने चलन छ ।
९. खम्बी –
 खम्बी मालिङ्गो वा बाँसबाट निर्मित हुन्छ ।
 बाँसका साना साना कलम जस्तो काटी सुनाखरी र धागोले बाँधी जाली जस्तो बनाइन्छ
 यस खम्बीमा मुर्चुङ्गा राखिन्छ । साथै बिनायो, चाँदीमा जडित सुँगुरको जगरबाट निर्मित कुचि झुप्पा बनाई झुण्ड्याइन्छ ।
 यसलाई राई महिलाहरूले आफ्नो चौबन्दीको तुनामा, कसै कसैले धागोमा बाँधी घाँटीमा झुण्ड्याउने गर्दछन् ।
१०. हातमा लगाउने –
 राई महिलाहरूले चाँदीको सादा चुरा,
 चाँदीकै काँडे चुरा लगाउने चलन रहेको छ ।
११. खुट्टामा लगाउने –
 चाँदीको काँडे वा सादा कल्ली लगाउने चलन रहेको छ ।
१२. कपाल कोर्ने काइयों÷थाक्रो –
 यो मालिङ्गो वा बाँसबाट बुनाइएको हुन्छ ।
 थांक्रो अलिक लामो हुन्छ र एकमुठा बाँधेको हुन्छ भने काइयो अलि छोटो तर बाक्लो गरी बुनेको हुन्छ ।
१३. फुर्के –
 राई महिलाहरूले कपाल कोरिबाटी गरेपछि फुर्के÷लाछा धागो (टोँलामा) लगाउने गर्दछन् ।
१४. वाछु, पुछु र खाप्छु –
 पत्थरलाई बुट्टादार बनाई धागोले उनेर वाछु, पुछु र खाप्छु माला गलामा लगाउने गर्दछन्
१५. सुनको दाँत –
 राई महिलाहरूले रुचि अनुसार सुनको चेप्टे दाँत (साप्ला) लगाउने चलन रहेको छ, एउटा दाँत झरेको खण्डमा सुनको सोली बनाएर लगाउने चलन छ ।
 कसै कसैले दाँतलाई छेडेंर सुनको टिकटिके भर्ने चलन पनि छ ।
 बिरी पनि लगाउने चलन रहेको थियो ।

किरात राई पुरुषहरूको पहिरन
१. दौरा सुरुवाल –
 शुरुमा किराती राई पुरुषहरूले आफ्नो मौलिक पोषाकको रुपमा ठूलो र लामो फेर भएको दौरा मात्र लगाउने चलन थियो भने आजभोली सुरुवालको प्रचलन पनि रहेको छ ।
 दौरा सुरुवाल कपासबाट निर्मित खाँडीको, कोकटीको धागोलाई तानमा बुनेर लगाउने गर्दछन् ।
२. फेंङ्गा –
 फेंङ्गा भाङ्ग्राबाट निर्मित हुन्छ जो अल्लोको धागोबाट बनेको हुन्छ ।
 यो वस्त्र राई पुरुषहरुको मौलिक पहिचानको रुपमा रहिआएको छ ।
 फेङ्गालाई पुरुषहरुले अस्कोटको रुपमा पनि लगाउने गर्दछन् ।
 फेङ्गा प्रायः लेकमा बसोवास गर्ने राई पुरुषहरुले लगाउने गर्दछन् ।
३. भोटो –
 यो लुगा पनि राई पुरुषहरुले लगाउने गर्दछन् ।
 यो पनि अल्लोको धागो वा कपासबाट निर्मित हुन्छ ।
 यसमा टाँकको रुपमा चारआनीको प्रयोग भएको पाइन्छ ।
 भोटो दौरासुरुवालमाथि लगाउने चलन छ ।
४. टोपी एवं तोँरिसे –
 टोपीको रुपमा ढाका टोपी सबै किरात राई पुरुषहरुले शिरमा धारण गर्ने गर्दछन्
 तोँरिसे एक प्रकारको पगरी हो र यो सबैले प्रयोग गर्दैनन् मात्र राई समूहको प्रमुख व्यक्ति वा राजा सरहको व्यक्तिले यसलाई धारण गर्ने गर्दछन् ।
५. जिले –
 जिले अल्लोको धागोबाट बनाइएको हुन्छ । यसको रंग सेतो फुस्रो हुन्छ । यसको आकार प्रकार तन्ना वा ठूलो खास्टोको जस्तै हुन्छ ।
 जिलेको प्रयोग महिला र पुरुष दुवैले गरे तापनि पुरुषहरुमा यसको प्रयोग बढी भएको पाइन्छ । जिले मर्दापर्दा नभई नहुने बस्त्रको रुपमा पनि लिइन्छ ।
 जिलेलाई जिलिमा पनि भन्दछन् । जिलेले सिरक, राडी, कम्बल सबैको काम गर्न सक्छ । जिलेको धोक्रो पनि बनाइन्छ ।
६. रेजी टाँक –
 रेजी टाँक चारआनीको टाँकको रुपमा अस्कोट÷भोटोमा माथिदेखि तलसम्म लगाईएको हुन्छ ।
 प्रायः कुनै राई दम्पतिको नानीहरु धेरै मरेका छन् भने बाँचेका नानीलाई खुशीमा यस्तो प्रकारको लुगा लगाइदिने चलन छ । रेजी टाँक भोटोमा सुहाउँदो किसिमले लगाउने चलन छ ।
७. पटुका –
 राई पुरुषहरुले पनि राई महिलाहरु सरह १६ हाते पटुका बाँध्ने चलन रही आएको छ । यसको पनि रंग सेतो हुन्छ ।
 राई पुरुषहरुले दौरासुरुवालमा पटुका बाँधेपछि खुकुरी भिर्ने चलन पनि रही आएको छ ।
८. मेख्ला –
 राई पुरुषहरुले पनि मेख्ला बाँध्ने चलन रहेको छ ।
 यो कम्मरमा लुङ्गी जस्तै बाँध्ने गरिन्छ ।
९. लुकुनी –
(क) लुकुनीलाई हात छिराएर काँधभन्दा मुनि (भोटो जस्तै गरी) लगाउने गरिन्छ ।
(ख) यसलाई राई महिला र पुरुष दुवैले विशेष जाडोको महिनामा लगाउने गर्दछन् ।
(ग) लुकुनी भेंडाको ऊनबाट निर्मित हुन्छ ।
१०. घुमराडी –
(क) घुमराडी पनि भेंडाको ऊनबाटै निर्मित हुन्छ ।
(ख) घुमराडीलाई टाउकोमाथिबाट ओढ्ने गरिन्छ । यो प्रायः वर्षा याममा प्रयोग गरिन्छ ।
(ग) यसको प्रयोग राई महिला र पुरुष दुवैले गर्दछन् ।

(स्रोत : किरात राई यायोक्खाको मुखपत्र निप्सुङ तथा टाइम्स एफएममा डिबी राई सरोजद्वारा सञ्चालित ‘स्यामुना’ कार्यक्रममा प्रसारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *