वाम्बुले राईको विवाहमा नौमती बाजा बजाउँने पनि वाम्बुले राई नै (भिडियोसहित)

कला साहित्य -संस्कृति

संस्कृति : वाम्बुले राईको विवाह

-शुभराज राई र गणेश राई

वाम्बुले राई भावाचाचो पाछाभित्र विवाह यसरी सम्पन्न गरिन्छ । मानेभन्ज्याङ गाउँपालिका–५ उदैपुरस्थित दुपिलटोलका भट्टु र काभ्रेपलान्चोककी तामाङबीच २०७७ माघ १२ गते किरात वाम्बुले राई परम्पराअनुसार विवाह कार्य सम्पन्न भएको छ । उक्त विवाहमा नाक्सो सन्तबहादुर राई, ङाबुचोहरू अमृतबहादुर राई, कर्णबहादुर राई, बलबहादुर राई, शरणजित राईले मुन्दुम विधिअनुसार पितृ मनाउने काम गरेका थिए ।

नौमती बाजा समूह

पहिलो चरण : भोजभतेर सम्पन्न गर्न जिम्मेवारी
घरमुलीको आग्रहमा ङाबुचोले कारबारी (महिला र पुरुष)लाई मुन्दुम विधिअनुसार जिम्मेवारी दिइएको थियो । नुन, तेल, चामल, दियो, काँचो धागो, ङासि, रक्सि, हातहतियार (खुकुरी र कर्द), माना पाथी, दुईवटा ठहर, सघौनी टिप्नको लागि बहिखाता, कलम, रुपैयाँ पैसा संकलन गर्न झोला, चाहिने सबैखाले भाँडाकुँडा जिम्मा दिइन्छ । यी सबै सामग्री नाङ्लोमा राखेर स्वाम्दि मुक्तुम (मुन्दुम) फलाक्दै बिहेको अवधिभरिका निम्ति जिम्मेवारी दिइएको हो । यिनै सामग्रीहरू प्रयोग गरी भोज, भतेरमा सहभागी दाजुभाइ, नाताकुटुम्ब, छोरीचेली सबैलाई खुवाउने काम गरिन्छ । सो भान्से (मासु खटनदारी) र चि भान्से (जिर्मा खटनदारी) जिम्मेवारी तोकिन्छ । दाजुभाइको घरबाट ल्याइने सघौनी –जाँड वा रक्सी १ घैटी, चामल १ पाथी, गच्छे र इच्छाअनुसार नगद) बुझेर, विवरण खुलाएर लेखेर राख्ने गरिन्छ । त्यसैअनुसार पछि सम्बन्धित घरमा उत्ति नै सघाउनी फर्काउने चलन छ ।

कारबारीलाई जिम्मेवारी दिइने सामग्रीहरु

दोस्रो चरण : फेलि

फेलि कार्य

दोस्रो चरणमा फेलि÷सेसा सम्पन्न गरिन्छ । बढीमा दुई पुस्ता पितृको नाममा कोदोको चोखो जाँड, भात, सुँगुरको मासु, रक्सी पितृथलो पिलुम्बामा लिपपोत गरेर नाक्सोले विधिपूर्वक चढाउने गर्दछ । यो फेलि कार्य विवाह घरको मृतकको नाममा मात्रै गरिन्छ ।

तेस्रो चरण : ड्यापुम हाम्चाम

वाम्बुले राईहरुको परम्पराअनुसार छोराको विवाहमा बेहुली ल्याउने बेला वा ल्याइसकेपछि टिकोटालो गर्नुभन्दा अघि ड्यापुम हाम्चाम रीत गरिन्छ । यो एक वंशभित्र एउटै नाक्सोको जजमान भरिको पितृहरुलाई बुझाउने रीतलाई नै ड्यापुम हाम्चाम भनिन्छ । बेहुलीलाई पितृ र चुलामा देखाउने कार्य हो । एक डालोमा चुली गरेर राखिएको चोखो भात, एक टपरा ¥वामसो (अदुवा र माछा÷सिद्रा)लाई नुन र तोरीको तेलमा भुटेर तयार गरिएको हुन्छ । त्यसलाई ¥वामसो (सिताम्सो÷वालाम्सो) भनिन्छ । व्यवहारिक बोलीमा ¥वामसो भनिए पनि मुन्दुम विधि गर्दा सिताम्सो, वालाम्सो भनिन्छ । उक्त टपरालाई ख्वार्बु (काठको पेला आकारको भाँडों) मा राखिन्छ ।

ड्यापुम हाम्चाम

ख्वार्बु चलाउनुको अर्थ उहिले पुर्खा जाउमोले ख्लिउमोको रुसुकाक्सो (हाडखोर) तोरीको तेलले छुवाएर ख्वार्बुमा राखेर हावाकुम्सि गरेको थियो । त्यसरी हावाकुम्सि गरेपछि ख्लिउमोले पुनःर्जीवन प्राप्त गरेका हुनाले यो विधि आजसम्म ख्वार्बु प्रयोग गरिन्छ । बुलु चिपुम (गाँडे चिन्डो) यसमा चि (जिर्मा) राखिन्छ । एक टपरा ड्यापुम सो (सुँगुरको पेटको बाहिरी मासु उसिनेर) राखिन्छ । अर्को एक टपरा सुँगुरको विभिन्न नौवटा अंगको मासु पकाएर राखिन्छ । मुटु, कलेजो, फोक्सो, मृगौला, ङाङाल, रामसो, करङ भागको मासु रहन्छन् । ड्यापुम हाम्चाम रीत सकिएपछि घरभित्र रहेका जत्तिलाई चि र भित्रांससहितको भुटुवा मासु खान दिइन्छ ।

चौथो चरण : टिकाटालो
बेहुला बेहुलीलाई टिकाटालो गरी आशिवार्द दिइन्छ । एक ठहर चामलमाथि दियो राखिन्छ । दियोमा एउटै सलेदोलाई दुईतिरबाट तेलमा जोर सलेदा बालिन्छ । दही, चामल मुछेर सेतो टिका लगाइदिइन्छ । टिका लगाइ दिंदा आमा र बाबु दुवै जिवित भएको अवस्थामा आमाबाबुबाट टिका लगाउने कामको शुभारम्भ गरिन्छ । नत्र बडाबा, बडिआमा वा काका काकीबाट लगाउने गरिन्छ । त्यसपछि अरु बाउआमा, बाजेबोजु खलकले मात्रै र मावली खलकले टिका लगाइदिन्छन् ।

पाँचौं चरण : सगुन

सगुन हेपा

बेहुला र बेहुलीलाई डबकामा सगुन चि (जिर्मा) जुठो साटासाट गरी खान दिइन्छ । रक्सी पनि खान दिइन्छ । सगुन भात (सिंगै फियोसहित उसिनेर पकाइएको बोसे जालोले मोरिएको भात), दुध, ठहरमा बन्द गरिएको भुटुवा मासु बेहुला र बेहुलीलाई टक्राइन्छ । बेहुलाले सगुन भात तीन गाँस खाएपछि बेहुलीलाई दिनुपर्छ । बेहुलीले पनि खाएपछि दुवै जनालाई सामान्य भेतरको भात दिइन्छ । सबैजनालाई सगुन चि र मासु बाँडिन्छ ।

 

बेउला बेउलीलाई दिइने सगुन हेपा र अन्य परिकार

छैटौं चरण : ढोगभेट

बेहुलाले बेहुलाई लिएर मान्यजनहरूलाई चिनाउँदै ढोग दोहोरो ढोगभेट गराउँछन् । साइनो छिनाउने काम पनि यसै बेला हुन्छ । बेहुलीले सासुको खुट्टामा ढोग्नु पर्छ । ससुरालाई हातमा ढोग्नु पर्छ । सासुले बुहारीको हातमा र ससुराले बुहारीको खुट्टामा ढोग्नु पर्छ । जेठाजु बुहारीबीच अन्तर ढोग (भुइँ सोहोरी) गर्दछन् ।

सातौं चरण : भोजभतेर
बेहुला र बेहुलीले सगुन खाइसकेपछि भतेर चलाइन्छ । कारबारीको आज्ञाअनुसार उपस्थित सबैलाई खानपिन गराइन्छ । जाँड भने पहिलेदेखि नै बेलाबेला खान दिइन्छ । भतेर सकिएपछि दाजुभाइहरू घरघर जान्छन् । छोरीचेली नजिकका त्यसै दिन र टाढाका भोलिपल्ट विदा हुन्छन् ।

दाजुभाइ सघौनी

अन्तरजातीय विवाह
किरात राई, लिम्बु, याक्खा, सुनुवारबीच हुने विवाह स्वजातीय विवाह मानिन्छ । यस बाहेक अन्य जातिको छोरीचेली बिहे गर्दा अन्तरजातीय विवाह मानिन्छ । अन्तरजातिबात भित्राइएको बुहारीले घरव्यवहार, खटनपटन सबै गर्न सक्छ । जिउँदो छँदा सामान्य अवस्थामा चुलामा चल्ने भएपनि पितृकार्यहरू गर्दा र मृत्युपछि चुला र पितृमा नचल्ने भन्ने मान्यता रहेको पाइएको छ । अन्तरजातीय विवाहबाट जन्मेका छोराछोरीमध्ये पहिलो सन्तानलाई दालभातमा ल्याउनु पर्छ भन्ने रहेको छ । पास्मीपछि छेवार गर्नुअघि दाजुभाइलाई बोलाएर दालभात खुवाउनु पर्छ । त्यसपछिका सन्तानलाई दालभातमा झिकाउन पर्दैन भन्ने रहेको छ ।

नौमती बाजा
नेपालमा राजनीति परिवर्तन भएपनि सामाजिक तथा जातीय विभेद र छुवाछुत प्रथा यथावत रहेको अवस्थामा दमाई जातिले परम्परागत रूपमा नौमती बाजा बजाउने पेसाप्रति नयाँ पुस्ता विकर्षित हुने थालेका छन् । यद्यपि आम नेपाली समाजमा स्थापित सामाजिक प्रथा, परम्पराप्रतिको मोह यथावत छ । फलस्वरुप दमाई जातिले बिहे, कार्जे आदिमा नौमती बाजा लिएर जान छाडेपछि अन्य जाति नै स्वतस्फुर्त रुपमा बाजागाजा बजाउन अघि सरेका छन् ।

मानेभन्ज्याङ गाउँपालिका–५ उदैपुर गाउँका युवाहरू पनि परिवर्तित समय सन्दर्भ र सोंचका साथ नौमती बजाउन अघि सरेका छन् । नौमती बाजा समूह गठन गरी विवाहउत्सवमा बाजा बजाउने गरेका छन् । रुद्रबहादुर राई (ज्याकज्या), दुर्गाबहादुर राई (प्वाक्चे), कमल राई, रंगधन राई, गौतम राई, उमेश राई, फस्तबहादुर राई, यमबहादुर राई (हाल– विदेश) को टोली रहेको छ । यो टोलीले मौलिक वाम्बुले पहिरनमा सजिएर सहनाई, ढोलक, ट्याम्को, नरसिंगा, कर्नाल, झ्याली, नगरा, ब्यान्ड बाजा आदि बजाउने गरेका छन् । स्वजातिकै बाजागाजा वादक हुनुले बालबालिकासमेत सोही बाजा बजाएर मनोरन्जन लिने गरेका छन् ।

(इक लिब्जु–भुम्जु त्रैमासिक वर्ष ७ अंक ११, पूर्णाङ्क ८४, २०७७ माघ–चैत (किरात येले संवत् ३८००÷सन् २०२१)मा प्रकाशित सामग्री प्रस्तुत गरिएको हो । सम्पादक)

भिडियो तलको लिङ्कमा हेर्नुहोस्

Leave a Reply

Your email address will not be published.