निष्ठाले गाइन् वाम्बुले गीत

पत्रपत्रिका प्रदेश प्रदेश ३ मातृभाषा

निष्ठा राई सेन्ट मेरिज स्कुलकी छात्रा हुन्  । उनी कक्षा ६ मा पढ्छिन्  ।

पढाइसँगसँगै गीतसंगीतमा रूचि राख्छिन् । उनलाई नाच्न, गाउन मन पर्छ । यसपालि जाँच सकिएलगत्तै वाम्बुले राई मातृभाषामा गीत गाइन्
कि बाकि टुङटुङ
कि याम्कि कुङकुङ
नाले पालो थेयुँम उङ
कान्लातोला थप्पापुम
प्याक्फु दिङमल पामे भुङ
अर्थात्
कि बसौं चुपचाप
कि उभौं ठिङ्ग
चकचक गर्दा लडें म
कान्लामाथि बाबरी फूल
टिप्न जाँदा लडें म
यो गीत काठमाडौंको अनामनगरस्थित सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको छ । निष्ठा राष्ट्रगानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई) र आमा नानुकलाकी छोरी हुन् । बुवा र आमाले छोरीलाई साथ दिनुभएको छ । यो शब्द रचना व्याकुल माइलाकै हो । संगीत पदम रजान मगरले दिनुभएको छ ।

निष्ठा सहरमै जन्मेर हुर्केकी हुन् । उनी वाम्बुले भाषा बुझ्छिन् तर, बोल्न आउँदैन । गीत भने सहज रूपमा सुरिलो भाकामा गाएकी छन् । गीतको शब्दलाई केलाएर उच्चारण गर्दै सुर, ताल, मिलाएर गाएकी छन् । विद्यालय र सातदोताबाटोस्थित सुम्निमा कल्चलबाट नृत्य र संगीत सिकेकी छन् । वाम्बुले मातृभाषा सिक्न, सिकाउन प्रभावकारी माध्यम गीत संगीत हो भन्ने प्रमाणित भएको छ । किरात राई जातिभित्र २८ वटा जति भाषा बोलिन्छन् । त्यसमध्ये वाम्बुले भाषा एक हो । तथ्यांकअनुसार वाम्बुले भाषा बोल्नेको १३ हजार ४ सय ७० रहेको छ । वाम्बुले राई भाषा ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली, सुनसरीलगायत जिल्लामा बोलिन्छ ।
-गणेश राई

प्रकाशित : वैशाख २२, २०७६ १२:१४

https://www.kantipurdaily.com/kopila/2019/05/05/155703775790457237.html

Leave a Reply

Your email address will not be published.