मिलनकान्छाको ‘फूलको विज्ञप्ति’

पत्रपत्रिका

कान्तिपुर संवाददाता

काठमाडौँ — कवि मिलनकान्छा किरातीको ‘फूलको विज्ञप्ति’ कवितासंग्रह प्रकाशनमा आएको छ । कृतिभित्र ‘बागी बाटोहरू’, ‘खुसी निल्ने समय’, ‘विद्रोही घाम’, ‘देशवीरको देश’, ‘आँधीको आयातन’, ‘ढेडुको रमिता’, ‘ढुंगाको पत्र’, ‘धुपी जीवन’, ‘फूलको विज्ञप्ति’, ‘हिउँफूल’, ‘माटो र मुन्धुम’, ‘सगरमाथा झुण्डिएको रुख’, ‘सेक्सी सरकार’, ‘तिहारका तीन रङ’, ‘घाइते बन्दुक’, ‘शरणार्थी भगवान’, ‘सेतो पृथ्वीको नक्सा’ लगायत ६० शीर्षकका विचारोत्तेजक कविता रहेका छन् ।

पुस्तक इन्डिगो इन्क प्रकाशनले प्रकाशित गरेको हो ।

शासन व्यवस्थाको बिर्को खोल्दा

ह्वास्सै सामन्त गन्हाउँछ

त्यसैले हो कि

इतिहासमा धेरैचोटि

पुर्खाहरु लडेको देखिन्छ

अब, आर्थिक अवस्था फेर्नुछ

अहो, साँच्चै तिम्रै काँधमा त्यो

सबैको आशा अडेको देखिन्छ ।

(तिमी समृद्धिको नमुना बन्नू)

‘मिलनकान्छा बहुआयामिक व्यक्तित्वका धनी प्रतिभा हुन् । वाम्बुले राई मातृभाषा एवं विकास अभियानका एक अभियन्ता हुन् ।’ कृतिको भूमिकामा राष्ट्रगानका रचयिता व्याकुल माइलाले भनेका छन्, ‘हाम्रो गाउँदेखि क्षितिजपारि छ, उनको गाउँ दाम्ली । अहिले भने उनी डायस्पोरा कवि हुन् । दक्षिण कोरियाको सिओल आसपास बसेर खोटाङको डिकुवा, दाम्ली सम्झिरहेछन्, कविताका सुन्दर भाव र विचारले । सधैं विचारको आगोसँग खेल्न रुचाउने कवि हुन् ।’

 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-२ मा २०३० सालमा जन्मिएका कवि किराती वाम्बुले मातृभाषामा समेत कलम चलाउँछन् । कवि किरातीको यो चौथो कृति हो । हाल दक्षिण कोरियामा कार्यरत किरातीको ‘शान्तिको खोजी’ (कवितासंग्रह) र ‘पिताङ्केङ वार्सी’ -आँसुको वर्ष, वाम्बुले भाषाको कथासंग्रह) र ‘वाम्बुले राई भाषाको संयुक्त कवितासंग्रह’ प्रकाशित छन् ।
प्रकाशित : चैत्र १९, २०७५ १६:५२
https://www.kantipurdaily.com/literature/2019/04/02/155420327085035555.html

Leave a Reply

Your email address will not be published.