भारतीय प्रधानमन्त्री मोदीमय नेपाल

राजनीति

लिभु संवाददाता
काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो कार्यकालमा तेस्रो पटक दुई दिने नेपाल भ्रमणमा आउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा शुक्रबार बिहान साढे १० बजे नेपाल भ्रमणमा आइपुग्नु भएको हो ।

उहाँ शुक्रबार एयर इण्डियाको विशेष बिमानबाट प्रदेश नं.२ को राजधानी जनकपुर एयरपोर्टमा उत्रिनु भएको थियो । प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी प्रधानमन्त्री मोदीलाई जानकी मन्दिरमा स्वागत गर्नु भएको थियो ।

दुई प्रधानमन्त्रीले मिथिला प्रदेशजनाउने एकै खालको पहिरन लगाउनु भएको थियो । घ्यु रंगको कुर्ता र सेतो पाइजामा तथा गम्छा भिर्नु भएको थियो । पुजापछि दुई प्रधानमन्त्रीले रामायण सर्किट र अयोध्या–जनकपुर सिधा बस सेवाको शुभारम्भ गर्नुभएको थियो ।

त्यसपछि जनकपुरको बाह्र बिगाहमा नागरिक अभिनन्दन गरिएको थियो । जनकपुर उपमहानगरपालिकाको मेयर लालकिशोर साहले मोदीलाई अभिनन्दन प्रदान गर्नुभएको थियो । अभिनन्दनपत्र मैथली भाषामा उल्लेख थियो । अभिनन्दन पछि वीरगन्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघको तर्फबाट नागरिक अभिनन्दन पछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १ सय २१ किलोको माला लगाइदिनु भएको थियो ।

त्यसपछि प्रधानमन्त्री मोदीले ४५ मिनेट लामो मन्तव्य दिदै भारतीय प्रधानमन्त्री मोदीले जनकपुरको विकासको लागि एक अर्ब रुपैयाँ सहयोगको घोषणा गर्नुभयो । जनकपुर र त्यस वरपरका क्षेत्रको विकासका लागि नेपाल सरकारले गरिरहेको काममा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । प्रधानमन्त्री मोदीले सुरुमा मैथलीमा, त्यसपछि भोजपुरी र नेपालीमा पनि केही बोलेर हिन्दीमा सम्बोधन गर्नुभएको थियो ।

जनकपुरमा अभिनन्दनपछि दुवै प्रधानमन्त्री राजधानी काठमाडौंमा आउनु भएको छ । शुक्रबार अपराह्न प्रधानमन्त्री केपी ओली र नेपाल भ्रमणमा रहेका भारतीय समकक्षी नरेन्द्र मोदीबीच बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा भेटवार्ता भएको थियो । त्यसअघि प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग छुट्टाछुट्टै भेट गर्नुभएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले राजनीतिक तथा आर्थिक रुपमा मात्रै नभई पर्यटकीय रुपमा समेत महत्वपूर्ण प्रभाव पार्ने ठानिएको छ । भारतीय प्रधानमन्त्री मोदीले जनकपुर, पशुपतिनाथ र मुक्तिनाथको भ्रमण गरेर धार्मिक पर्यटनलाई बढावा दिनु हुनेछ ।

Leave a Reply

Your email address will not be published.