किरात भूगोल र सभ्यता हो – प्रधानमन्त्री ओली

मुख्य समाचार राजनीति

लिभु संवाददाता
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले किरात शब्दले भूगोल र सभ्यता जनाउने भएकाले प्रदेश नं.१ को नामाकरण सर्वसम्मतबाट हुनुपर्ने बताएउनु भएको छ । किरात राई यायोक्खाले प्रदेश–१ को नाम ‘किरात प्रदेश’ हुनुपर्ने मागलाई लिएर बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्ति दिनु भएको हो ।


यायोक्खाका कार्यवाहक अध्यक्ष दिवस राई नेतृत्व टोलीले आइतबार प्रधानमन्त्री ओलीलाई बालुवाटारस्थित आफ्नो निवासमा ज्ञापनपत्र बुझाएको हो । ‘किरात भूगोल, सभ्यता हो, यसमा कुनै आपत्ति छैन,’ प्रधानमन्त्रीे ओलीले भन्नुभयो, ‘किरात भाषा, मुन्धुम मौलिक सामाजिक प्रबन्ध हुन् । यसको दर्शन, समाज हाम्रा हुन् । हामी सबैको हो । त्यसैले प्रदेश १ को नाम बहुमतले होइन, सर्वसम्मतले नामकरण हुनुपर्छ । यो काम केन्द्रले होइन प्रदेशसभाले सतर्कतासाथ गर्छ । यसमा प्रधानमन्त्री विवादमा मुछिनु हुन्न ।’

ज्ञापनपत्र बुझाउने टोलीमा महासचिव जीवन हाताचो राई, सल्लाहकारहरु दुर्गा राई, चन्द्रविक्रम राई, डाक्टर शिवकुमार राई, मनीकुमार राई, जयकुमार राई लगायत रहेका थिए । प्रदेश नं.१ लाई किरात प्रदेश हुनुपर्ने मागलाई लिएर यायोक्खाले यसअघि प्रदेशबाट २५ लाख हस्ताक्षर संकलन गरी मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिप भण्डारीलाई बुझाइ सकेको महासचिव जीवन हाताचो राईले बताउनु भएको छ । त्यसैगरी प्रदेश नं.१ का सभासदस्यहरू, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका पार्टी प्रमुखहरूलाई ज्ञापनपत्र बुझाइएको छ ।

किरात राई यायोक्खाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको ज्ञापनपत्रको पूर्णअंश यस प्रकार छ–
मिति – २०७५।०२।२०
ज्ञापनपत्र
सम्माननीय प्रधानमन्त्री के.पी. ओलीज्यू
तथा अध्यक्षज्यू, नेपाल कम्युनिष्ट पार्टी ।

किरात राई यायोक्खा नेपालमा रहेका करिब १० लाख किरात राईहरुको साझा एवं सर्वोेच्च छाता संगठन हो । ३० वर्षअघि स्थापना भएको यस संस्थाले किरातीहरुको भाषा, संस्कार, सस्कृति लगायत प्रथाजन्य अधिकारको संरक्षण सम्वद्र्वन एवं चेतना फैलाउने कार्यहरु गर्दै आएको छ । यसै क्रममा संस्थाले विगत दशकौंदेखि पूर्वमा रहेका १४ जिल्ला हालको १नं. प्रदेशलाई किरात प्रदेश नामाकरण गरिनु पर्दछ भनी विभिन्न वैचारिक तथा कुटनीतिक पहलकदमी गर्दै आइरहेको छ ।
संविधान निर्माणपछि तीनै तहको निर्वाचन सम्पन्न भएलगतै नेपालमा संघीय राज्य व्यवस्थाको व्यवहारिक रुपमा कार्यन्वयन शुरु भएको छ । त्यसै सिलसिलामा प्रदेश सभाले प्रदेशको नामकरण गर्ने र राजधानी तोक्ने विषय अहिले सर्वत्र चासो र सरोकारको विषय बनेको छ । नेपालको इतिहासमा लामो काल खण्डसम्म अस्तित्वमा रहेको वल्लोकिरात, माझकिरात र पल्लोकिरात भुगोलहरु रहेको ऐतिहासिक तथ्य सर्वज्ञातै छ । यसै सन्दर्भमा किरात राई यायोक्खाले १ नम्बर प्रदेशको नाम प्राचिन सभ्यता, ऐतिहासिक भूगोल, भाषा–संस्कृति, आदिम थातथलो र साझा पहिचानको आधारमा किरात प्रदेश राख्न छ सवैभन्दा उपयुक्त हुने निष्कर्षसहित यस विषयलाई सवै राष्ट्रिय दलका प्रमुख नेताहरू, १नं. प्रदेशका मुख्यमन्त्री, प्रदेशसभाका सभामुख, प्रदेशसभाका सम्पूर्ण माननीय सदस्यहरुलाई अवधारणापत्र बुझाउने अभियान चलाएको जानकारी गराउँदछौं ।

१ नं. प्रदेशलाई किरात प्रदेश नामाकरण गर्ने आधारहरु
१) किरात शब्द आफैंमा बहुपहिचानसहितको सर्व प्राचिन तथा सर्व स्वीकार्य नाम भएको र किरात शब्दले कुनै एक जातिलाई अर्थात् राई जातिलाई मात्र प्रतिनिधित्व गर्दैन । १ नं. प्रदेशको हिमाल, पहाड, तराईका १६ वटा जातिका किराती समुदायलगायत सबै आदिवासी जनजाति र खसआर्य समुदायसमेतले आफुलाई ऐतिहासिक भूगोलको आधारमा किराती भन्न गर्व गर्दै आएका छन् । त्यसैले किरात शब्द एकल जातीय पहिचान नभएर, यो शब्द एक ऐतिहासिक, साँस्कृतिक, भौगोलिक विषेशता सहितको एक प्राचिन मानव सभ्यता हुनुको साथै नेपाल राष्ट्रको एक कालखण्डको किरात प्राचिन इतिहास र भूगोल भएकोले त्यस इतिहासको संरक्षण एवं त्यस भुगोलको बासिन्दाको आत्मसम्मानका खातिर १ नं. प्रदेशको नाम बहुपहिचानको आधारमा किरात प्रदेश राख्नं उपयुक्त हुन्छ ।
२) हजारौं बर्ष पहिले नेपालको पूर्वी भूभागमा भस्मे खोरिया फाँडेर मानव सभ्यताको सुरुवात गरेको किरात समुदाय इतिहासको काल खण्डमा आफ्नो विशिष्ट भाषा, संस्कार, संस्कृति, सभ्यतालाई त्यस भूभागमा स्थापित गरी उनिहरुको विशिष्ट पहिचानलाई वर्तमान अवस्था सम्म पनि निरन्तरता दिइरहेकोले ।
३) खोला, नाला, वन जंगल, हिमालजस्ताका नामबाट प्रदेशको नाम राखिए राष्ट्रिय पहिचान बोकेको त्यस भेगको मानव इतिहास र मानव सभ्यता साथै भुगोलको इतिहास तथा राष्ट्रको इतिहास नामेट हुने भएकोले ।
४) नेपालका प्रमुख पार्टीहरूले उठाउदै आएको “बहुपहिचानको आधारमा नामाकरण गर्ने” र ‘पहिचान भेटिने, द्वन्द्व मेटिने’ जस्ता नारालाई सार्थक बनाउन समेत किरात प्रदेश सबैको साझा र सर्वस्वीकार्य नाम हुनसक्ने भएकोले ।
५) नेपाल राष्ट्रको सुन्दर पक्ष भनेको नै यस देशको सांस्कृतिक, भाषिक, भौगलिक र ऐतिहासिक विविधता हो, यिनै विविधतालाई सम्बोधन गरी सबैलाई भावनात्मक एकताको सुत्रमा गाँस्दै आपसि सहअस्तित्वलाई स्थापित गर्ने कार्यको थालनी गरी, राष्ट्रियतालाई बलियो बनाउने अभियानमा होमिनको लागि पनि किरात प्रदेश नाम राख्ने मागलाई सम्बोधन गर्न अपरिहार्य छ ।
६) समृद्धि र विकासको नारा सफल बनाउनको लागि शान्ति अनिवार्यछ । बिगतमा भएका सम्झौताहरुलाई कार्यान्वयन गर्न, पहिचानको माग राख्ने आन्दोलनरत सामाजिक संघ सस्था तथा राजनितिक दलहरुको मागलाई सम्बोधन गरी, बहुपहिचानको आधारमा प्रदेशहरुको नामाकरण गरेर स्थायी शान्ति, समृद्धि र विकासको मार्गमा एक ढिक्का भई अब मुलुकलाई अघि बढ्न बढाउन अत्यावश्यक भएकोले, १ नं. प्रदेशलाई किरात प्रदेश नामाकरण गर्ने अभियानलाई सार्थक बनाउनको निम्ति सम्मानिय प्रधानमन्त्रीज्यूले विशेष पहलकदमी गरिदिन हुन हार्दिक अपिल गर्दछौं ।
दीवसराई जीवनहाताचोराई
का.वा. अध्यक्ष महासचिव

Leave a Reply

Your email address will not be published.