वाम्बुले राईहरूले राजधानीमा धुमधाम मनाए, ढ्वाङ्कुमो चाड

कला साहित्य -संस्कृति


लिभु संवाददाता
ललितपुर – ‘यसपालीको ढ्वाङकुमो साँच्चै रमाइलो भयो,’ भरखरै सिंगापुर पुलिस फोर्सबाट छुट्टी लिएर आउनु भएका मित्रजित राईले भन्नुभयो, ‘यो हाम्रो निम्ति सुनौलो अवसर हो । किनभने पल्टनबाट भनेको बेला छुट्टी पाइदैन ।’ यसपाली सिंगापुर पुलिस फोर्समा कार्यरत मित्रजित राई, लीलाबहादुर राई, मुद्रधन राई र धर्मेन्द्र राई आइपुग्नु भएको छ । विदेश भूमिमा रहँदा गाउँघरको सम्झनामात्र रहन्छ । मातृभूमि फर्किएपछि गाउँघरमै आइपुगेको भान हुन्छ । त्यसमा पनि राजधानीमै परम्परागत ढ्वाङकुमो चाडको अवसरमा आयोजना गरिएको समारोहमा विभिन्न नातागोता, इस्टमित्र भेट्न पाउँदा खुशी लागेको उहाँहरु बताउनु हुन्छ ।

‘ढ्वाङकुमो’ आधुनिक कानुन र परम्परागत सांस्कृतिक कानुनको चेपुवामा चेपिएको किराती चाड हो । मुन्धुम फलाकेर परम्परालाई पुकारिन्छ । व्यवहारमा आधुनिक कानुनको पालना गरिन्छ । मुन्धुमी नाक्सोहरू (कुलपुजारीहरू) यसो भन्दै फलाक्छन्– ‘लिब्जु उपो (बाजे) उहिले त्यस्तो थिएन । हामीले मालेगोरु काटेर बलि दिन्थ्यौं । राजा, काजी र हिन्दुधर्म आएपछि राँगाको बलि दिदै आएका छौं । लिब्जु बाजे नसराप्नू । हाम्रो फलिफाप गर्नू । हामीलाई आशिर्वाद दिनू ।’

खासमा यो चाड प्रदेश नं.१ ओखलढुंगाको दक्षिणी भेग उँबु गाउँ, खोटाङको झाप्पा गाउँका किराती वाम्बुले राईहरूले मनाउँदै आएका परम्परागत चाड हो । यही चाडको अवसरमा काठमाडौं उपत्यकामा एकै ठाउँ भेला भएर मनाउन थालेको १८ औं पुगेको छ । त्यही अवसरमा किरात वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले आइतबार ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलमा एक समारोह आयोजना गर्‍यो ।

‘हिन्दुले जनैपूर्णिमा, नेवार क्वाँटी पूर्णिमा, किरातीले ढ्वाङकुमो पुर्णिमा भनेर मनाउँदा रहेछौं,’ समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकलुपति डा. विष्णुविभु घिमिरेले भन्नुभयो, ‘आज एकै दिन पुर्न गएको चाड हो । आ–आफ्नै अर्थमा जसरी मनाए पनि पृथ्वीको रक्षा, हाम्रो रक्षा र समग्र सबै रक्षा हो । यसको अर्थ नेपालमा तीन धर्म छन्, हिन्दु, बौद्ध र किरात समुदाय । जसको सम्बन्ध क्वाँटीको जस्तो छ ।’ संस्कृतिविद्समेत रहेका उपकुलपति घिमिरेले प्रस्टाउनु भयो ।

किराती महिलाले चाम्दो (संगिना) गाए र नाचे । पुरुषले साथ दिए । सामूहिक मिसिएर गोलाकारमा गाउँदै, थपडी मारेर अघि र पछि सर्दै नाच्नु पर्ने संगिनाको नियमै हो । त्यसैमा मिसिए, संस्कृतिविद् घिमिरे, कवि श्रवण मुकारुङ, राष्ट्रगानका रचनाकार व्याकुल माइला, संस्थाका अध्यक्ष गजुरधन राई, प्राज्ञ धनु याक्खा, किरात राई यायोक्खाका कार्यवाहक अध्यक्ष दिवस राईलगायत । कत्ति रमाइलो भयो भन्नेबारे यायोक्खाका कार्यवाहक अध्यक्ष राईले भन्नुभयो, ‘मैले वाम्बुले राईहरुको ढ्वाङ्कुमो समारोहमा सहभागी भएको तेस्रो पटक हो । हरेक पटक सहभागी हुँदा नयाँपनको महसुस गर्छु । यो चाड अरु राईहरुको सँग मिल्दैन । हाम्रो भाषा, संस्कृतिले यो मुलुकको गौरवगाथा बोकेको छ ।’

मादल, बाँसुरी बजाएर राम्दले भाकाको गीत वाम्बुले भाषामै प्रस्तुत गरे । कलाकारहरु बडाजित, विष्णु माइला, जीबन, भुवन, मोतीलाल, दिलकला, जीवनकुमारी, अरुणा र अम्बिका राई जुटेका थिए । उही गाउँघरकै पारामा कला पस्किए । वयोवृद्धदेखि अधवैसे, किशोर किशोरी, भरखरका बालबालिका झुम्मिए । मौलिक पहिरनले आकर्षण दिइरहेको थियो । पुरुषले दौरा सुरुवाल र शिरमा वाम्बुले ढाका टोपी, महिलाको गुन्युचोली र झपक्कै सुनौलो गरहरना जो पहिरिएका छन् ।

संस्थाका अध्यक्ष गजुरधन राईका अनुसार ओखलढुंगाको उँबुगाउँको ढ्वाङकुमटारलाई वाम्बुले राईको उदगम् थलो मानिन्छ । समुद्री सतहदेखि करिब २ हजार मिटर उचाईमा रहेको लिब्जु पहाडलाई ‘लिब्जु बाजे’ भनेर पूजा गरिन्छ । त्यहाँ मुन्धुम विधिअनुसार परम्परागत रुपमा मनाइन्छ । त्यसका अलावा खोटाङ, उदयपुरको कटारी, सुनसरीको धरान र बेलायतमा समेत ढ्वाङकुमो चाड धुमधामसाथ मनाउने गरिन्छ । ‘ढ्वाङकुमो हाम्रो महान् चाड हो,’ अध्यक्ष राई भन्नुहुन्छ, ‘देश विदेश जहाँ रहौं, हाम्रो भाषा र संस्कृतिप्रति गौरव गर्दछौं । सम्पूर्ण वाम्बुलेजनहरु, किरातीहरु अनि नेपाली जनहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

सम्मान पनि
औपचारिक समारोहमा सम्मान पनि गरिए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ धनबहादुर याक्खालाई विशेष सम्मान गरिएको थियो भने मूर्तिकारहरु शिव न्यौपाने, निराजन मानन्धर, इन्दिरा श्रेष्ठ, नरेश थुलुङ, रन्जित थापामगर र गणेशबाबुलाई कदरपत्र प्रदान गरिएको थियो । किराती वाम्बुलेको मूलथलो उँबु गाउँमा स्वालेवा मूर्ति स्तम्भ निर्माणमा योगदान पुर्‍याएका कलाकारलाई सम्मान प्रदान गरिएको वाम्रास संस्थाका महासचिव जीवन हाताचो राईले बताए । त्यसैगरी गत वर्ष एसईईमा सहभागी विद्यार्थीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

दुई पुस्तक लोकार्पण
ढ्वाङकुमो चाडको अवसरमा दुईवटा वाम्बुले राई मातृभाषाको कविता कृति लोकार्पण गरिएको थियो । राष्ट्रगानका सर्जक व्याकुल माइला (प्रदीपकुमार राई)को ‘बिउ–अक्षर’ र पत्रकार गणेश राईको ‘उङ रान्चो बाकिमे’ (हामी राम्रा छौं) बालकविता संग्रह विमोचन गरिएको हो । माइलाको पहिलो कृतिमा वाम्बुले भाषाको मुक्तक र कविता संग्रहित छन् । त्यसैगरी वाम्बुले भाषाको पहिलो बालकविता संग्रहमा विभिन्न ५२ शीर्षकका चित्रसहितको कविता रहेका छन् भने अन्तिम खण्डमा किरात लिपि वर्णमाला दिइएको छ ।

फोटो क्याप्सन : ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल नयाँ बस्तीमा परम्परागत ढ्वाङकुमो चाडको अवसरमा किरात वाम्बुले राईहरु नाच प्रदर्शन गर्दै ।
तस्बिर : गणेश राई र श्याम राई

Leave a Reply

Your email address will not be published.