इतिहास दस्तावेज : वाम्बुले राई समुदायमा मुखिया, जिम्मावल

कला साहित्य -संस्कृति प्रदेश प्रदेश १
गणेश वाम्बुले राई
जिम्मावाल घर परिवारले ऐतिहासिक सामग्री देखाउँदै लेखक, बिद्रोही साइलालगायत

प्रसङ्ग कविगोष्ठी
वाम्बुले राई भाषा, लिपि, साहित्य, संस्कृति, परम्पराको संरक्षण अभियान सुरु भएको दुई दशक हुँदैछ । यसैको एउटा शृंखला हो– वाम्बुले राई भाषाको कविगोष्ठी जुन २०५५ सालमा सुरु भयो । यही २०६९ कात्तिक १८ गते मानेभन्ज्याङको उदयपुर गाउँमा ‘१४ औं वाम्बुले राई भाषा यलम्बर स्मृति कविगोष्ठी–२०१२’ सम्पन्न भयो । यो अभियानको मुख्य काम आफ्नोपनको खोजी हो । यो वाम्बुले पहिचानका निम्ति जारी भाषिक तथा सांस्कृतिक आन्दोलनमार्फत् सामाजिक अपनत्वको भावना जनाउनु हो । कविगोष्ठीको नाममा गाउँघरका अग्रज बुढापाका, बुढिपाकी, बाजे–बोजु, अधवैशे आमा–बाबु, तन्नेरी पुस्ताका बाबु–आमा, तरुनी–तन्नेरी छोराछोरी, दाजुभाइ, दिदीबहिनी, किशोर–किशोरी, केटाकेटी, बालबालिकाहरू सबै–सबैलाई एक ठाउँ भेला गर्नु हो । उहिल्यैदेखि बोल्दैआएको तर यसअघि नलेखिएको वाम्बुले भाषा लेखेर सबैको अगाडि पढेर सुनाउनु, त्यो पढ्दा वाम्बुले राईहरू, भाषा, संस्कार, संस्कृतिको चर्चा भइरहेको हुन्छ । एकजना कविले पनि त्यही भन्छ, अर्को जना कविले पनि त्यही भन्छ, अर्कोले पनि त्यसै भन्छ– वाम्बुले भाषाको श्रीवृद्धि हुनुपर्छ । वाम्बुले संस्कृति जोगाउनु पर्छ । मुन्धुम बचाउनु पर्छ । नाक्सो, ङाबुचोले यसरी फल्दा हाम्रो पितृपुर्खाहरूको आत्माले शान्ति पाउँछ । अनि हामीलाई आशिष दिन्छन् । हामी सुखी हुन्छौं । हाम्रो समृद्धि हुन्छ । सानो कागजको चिर्कटोमा लेखिएका आठ–दस हरफ अक्षरले त्यत्रो किरात सभ्यताको कुरा बक्छ, बोल्छ । त्यो कुरो सानोदेखि बुढापाकासम्मले सुन्छन् । बुझ्नेले पनि नबुझ्ने पनि सुन्छ र बुझ्ने प्रयास गर्छ । अनि उसको छाती गर्वले ढक्क फुलिन्छ । उसको शिर चोमालोङ्मा जस्तै माथि उच्चिन्छ । अनि मनमनै गम्छ– ए, हामी वाम्बुले राईको पहिचान त यस्तो पो रहेछ । हामीले ऊबेला पढ्न, लेख्न पाएनौं । सकेनौं । अहिले हाम्रा सन्तानलाई स्कुलु पढ्न पठाएर राम्रै गरेछौं । यति भएपनि लेखेर सुनाए । कत्ति गज्जब भयो । उसको मुखमा सरस्वती बसेको रहेछ । मैले भनेजस्तै लेखेछ । अझै यसरी अलिकति थपेको भए झनै स्वादिलो हुन्थ्यो । ज्याहाई त्यो कुरा भन्न पाए अझै थप्दा हुन्थ्यो कि ?

जिम्मावाल घर परिवारले ऐतिहासिक सामग्री देखाउँदै

उदयपुर गाउँ :
हो, यति हुनको लागि वाम्बुले भाषाको कविगोष्ठी हुँदैआएको छ । यस पटक मैले उदयपुर गाउँमा हुने कविगोष्ठीका निम्ति मनमनै तयारी गरेको थिएँ । वाम्बुले राईहरूको सांस्कृतिक र आर्थिक रूपमा सबैभन्दा समृद्ध (जसलाई वाम्बुले भाषामा जिमो बाक्चो द्याल÷मणि भएको गाउँ) उदयपुर पुग्न मलाई मनमनै हतार भइरहेको थियो । मलाई यो गाउँ अति प्यारो लाग्छ । मेरो वंशका चेलीहरू पुगेको कुटुम्ब गाउँ हो । मैले ‘उदयपुरे गाउँ स्मारिका–२०६९’ को मेरो लेखमा भनेको छु– यदि म छोरी भएर जन्मेको भए सायद म पनि उदयपुर गाउँमा घरजम गर्न पुग्थेँ । मलाई उदयपुर गाउँको ऊर्वर माटो, सांस्कृतिक विशेषता र महत्वबारे थोरबहुत बुझेको छु । त्यहाँ बिसल्जु राजाको दरबारको भग्नावशेष छ । महानतान्त्रिक किर्लिङ्गका अवशेषहरू छन् । त्यो भन्दा पनि वाम्बुले भाषालाई ज्यादै मर्मस्पर्शि बोल्ने आफन्तजनहरू हुनुहुन्छ । वाम्बुले परम्परा जिवित छ । उदाहरणीय छ । यही गाउँमा तेस्रो पटक कविगोष्ठी गर्ने निर्णय गत वर्षको कविगोष्ठीमै घोषणा भएको थियो । २०५९ सालमा भीमसेनस्थान युवा क्लबले र २०६३ सालमा लिब्जु जनकल्याण युवा क्लबले कविगोष्ठीको आयोजना गरेको थियो । म दोस्रो पटकमात्र पुगेको थिएँ । त्यसपछि उदयपुरगाउँमा गएर स्नातकोत्तर तहको शोधकार्य लोकसाहित्य विषय यहीं पूरा गरेको थिएँ ।

कविगोष्ठीमा जसरी पनि पुग्ने तर गोष्ठीमै सीमित हुनुहुन्न भन्ने ठानेँ । वाम्रास केन्द्रीय पदाधिकारी साथीहरूलाई उदयपुरगाउँ पुग्नुपर्ने सल्लाहमात्र दिएँ । म आफू पनि जाने जानकारी दिएँ । गयौं, काठमाडौंदेखि गाडी रिजर्भ गरेर । यसरी गाडी रिजर्भ गरेको पहिलो पटक हो । कविगोष्ठी कात्तिक १८ गतेमात्र हो तर हामी पुग्यौं १५ गते नै । बाटो लाग्नुअघि मेरो मनमा ‘मुखिया र जिम्मावल वंशको’ खोज गर्ने योजना बुनेको थिएँ । उदयपुर गाउँका युवा कवि उदय जिज्ञासुसित स्थानीय व्यक्ति ‘जिम्मुवाल ठाइँला’ नाताले मावली बाजेलाई नाति गणेश आउँदैछ, तपाईहरू जिम्मुवाल खलकसित भेट गरी पुरानो कागजातबारे जानकारी लिन चाहेको छ भनेर सुनाउन समाचार पठाएँ । नभन्दै खबर पुगेछ ।

जिम्मावालको घर सिकुवामा

जिम्मुवालको घरभित्र सुटुक्कै :
उदयपुर गाउँ पुगेपछि सपनाको देश पुगेजस्तो भएको थियो । के गरौं । कसो गरौं । सबैतिर नातागोता, आफन्तजनहरू हुनुहुन्छ । को कोसित बोलौं । कस–कसलाई भेटौं । भ्याइनभ्याइ भयो । वाम्रास कावा अध्यक्ष गजुरधन राई र सचिव रामकुमार राईको त आफ्नै गाउँ हो । उहाँको आफ्नै योजना र कार्यतालिका छन् । कोषाध्यक्ष जीवन हाताचो पनि आएका छन् । म मेरो तालिकाअनुसार कात्तिक १६ गते बिहानै उदय जिज्ञासु भाइलाई लिएर जिम्मावलको घर ब्ल्याङ्खाटोलतिर जाने तयारी गरेँ । त्योबारे बिद्रोही साइँलालाई पनि सुनाएको थिएँ । उनी पनि जोशिए । हामी दुई सुटुक्कै हिंड्यौं । साथीहरूलाई एक्कैछिन्– पर आफन्तका घरमा पुगेर आउँछौं भन्यौं । गएपछि करिब डेढ घण्टापछि भाइ उदयलाई फर्कायौं । त्यतिन्जेल जेजे खोजी गर्न चाहेका हौं, ती विषयवस्तुबारे जानकारी लिएर दस्तावेजहरूको फोटो खिचिभ्यायौं । हामी त्यो ऐतिहासिक घडीलाई कैद गर्न पाएकोमा÷सकेकोमा गर्वित पनि भयौं । यता उदयपुर गाउँका जेष्ठनागरिक र अगुवा युवाहरूलाई सम्मान कार्यक्रम थियो । फर्किदा मध्यान्ह नाघिसकेको थियो ।

जिम्मावालको घरको सन्दुकभित्र ऐतिहासिक कागजातहरू

जिम्मावाल, मुखिया र कागजातको अवस्था :
हामीले जिम्मावाल ठाइँला बलबहादुर राई (२०१५) को साथ लागेर उहाँका दाजु शरणजित (२०१३) र भाइ लक्षिणे (२०२०) सित कुराकानी अघि बढायौं । बाजेको पालामा ५–६ प्रकारका छापहरु थिए । नयाँ भूमि व्यवस्था आएपछि मुखिया र जिम्मावालले अंशबन्डाका रुपमा पुराना कागजागतहरु बाँडेर सुरक्षित राख्दैआएको छ । (यी तालुकदारलाई स्थानीय बोलीमा मुखे, जिम्मुवाल भन्ने गरिन्छ) २०४० साल असोज महादसै महानवमीका दिन बलबहादुरको घरमा आगलागी भएर उनको घरमा रहको कागजातहरु सबै ध्वस्त भएछ । अन्य घरमा बचेखुचेका केही बाँकी छन् । लोक्ताबाट बनाइएका ‘नेपाली कागज’मा लेखिएका काइते अक्षरमा लेखिएका विवरणहरु अहिले मक्किइसकेको अवस्थामा पायौं । ‘झुलो चकमकको चलन रहेसम्म झुलो बनाएर चलायौं । सलाई, लाइटरको चलन आएपछि यी कागजहरु थन्किएर रहेका छन्,’ उहाँ तीनजनाको भनाइ हो यो ।

जिम्मावालको घरको सन्दुकभित्र ऐतिहासिक कागजातहरू देखाउँदै

हामीले शरणजितले आफ्नो घरमा तलामा सुरक्षित राखिएको पुराना काठको बाकस देखाउनु भयो । चुकसिङ (लेकमा पाइने गोब्रेसल्ला काठबाट बनेको) ठूलो बाकस उघार्नुभयो । त्यो बासक माथि देउसा मुक्लीतिरबाट ल्याइएको हो । बलवान पुर्खा सनमानले उदयपुर गाउँमा घडेरी, रिस्कु जहडी मानाचावल र देउसामुक्ली सिक्सार भनेर सरकारसित मागेपछि पाएका थिए रे । त्यसैले मुखिया, जिम्मावलको जिम्मेवारी पाएका थिए । जेठा छोरा बिक्रमान खेततर्फको जिम्मुवाल भएछ भने माइला पन्चध्वज पाखेबिजनतर्फ मुखिया भएछ ।

२०४४ सालमा नापी टोली आएपछि दुईपटक २०४६ सालसम्म अशुल उपर भएको उहाँहरुको भनाइ छ । पूरै चारपुस्ता जिम्मेवारी निभाएको उल्लेख गर्दै उहाँहरु भन्नुहुन्छ, ‘आतिमेइ बावाँ रैतिङा सेवा पाफुना हैरान । इम ड्आम्बि निक्खो दुखा हिम्कुमथि अर्थात् नापी टोली नआएको भए रैतीको सेवा गर्दै हैरान हुन्थ्यौं । त्यसअघि हामी धेरै दुःख पाएका थियौं ।’

बाहुनले १ काइयो केरा लिएर सिक्सार बुझाउन आउँथे । मानेभन्ज्याङ क्याम्पमा रहेका सेनाले पनि सिक्सार बुझाउँथे । बहाली पूर्जी मालपोत एकसय बराबर पाँचमोहर तिर्नुपथ्र्यो । घरमा सिक्सार तिरोभारो बुझाउन आउनेलाई खुवाउनु पियाउनु पथ्र्यो । जाँड, जिर्मा पकाएर मदपान गराउनु पथ्र्यो । पाँच दिनसम्म जाँडकै भरमा काम गर्नुपथ्र्यो । बिहे, कार्जे छिनोफानो गर्नेदेखि सुरिम ट्याड्डिचो (सुरिम काट्ने काम) मुखियाले गर्नुपथ्र्यो । बिहेबर्गीमा तालुकदारले गर्नुपथ्र्यो । छोरीचेलीको रीत छिन्न केटीको आमाबाबुको घरभन्दा पहिले मुखियाको घरमा गएर चारकलिया भएर जानुपर्ने रीति थियो । चारजना साँची प्रमाण राख्नु पथ्र्यो । उदयपुरका तालुकदारले तीनमहले (१९९९, ०६, ०१७ साल), अशुली लगत (प्रति साल), बिजन दर्ता उठाउने गर्थे । हलगोरु भए हले तिरो तिर्नुपथ्यो भने एउटा गोरु मरे कोदाले तिरो बुझाउनु पथ्र्यो । १९९९ सालअघि सम्म खुर्पा ठेक्का तिर्नुपथ्र्यो । जसलाई खुर्पेठ्याक भनिन्थ्यो ।

 

एकै थलोको व्यक्तिबाट काम गर्न गाह्रो भएपछि खोलाको सीमाना राखेर अरुलाई समेत तालुकदारको जिम्मेवारी दिइएको थियो । जसका कारण गाउँघरमा मुखिया, जिम्मावाल, गौरुङ, कारबारीजस्ता पगरी पाएका व्यक्तिका खलक (सन्तानहरु) अहिले पनि रहेका छन् । (जस्तै– वाम्बुले भाषाका दुई स्रष्टा गौरुङ कान्छा (कर्णबहादुर राई जसलाई ब्याँसिले कान्छा पनि भनेर चिनिन्छन् । हाल बेलायतमा हुनुहुन्छ । त्यसैगरी कारबारिङ चाचो (दिलकुमार राई) हाल– बु्रनाईमा हुनुहुन्छ ।) वाम्बुले समुदायमात्र नभएर अन्य जात, जातिमा पनि यो चलन यद्यपि छ ।

 

उद्देश्य र प्राप्ति :
उदयपुरगाउँको ३ दिने बसाईमा ‘मुखिया, जिम्मावाल, तालुकदार, कारबारी, गौरुङ प्रथा’बारे सोधखोज गर्ने उद्देश्य राखेको थिएँ । केही सोधबुझ गर्न पनि भ्याएँ । छोटो समयमा उहाँहरुले सुरक्षित राख्नु भएका पुराना कागजात, मुखिया र जिम्मावालको छाप, पुराना सिक्का, छालाका साब्री –थैला) र छालाको कभर लगाइएका लिखतहरूको फोटो खिचेर ल्याएको छु । अनि जिम्मावाल र मुखिया परिवारहरुको छ पुस्ते वंशावली टिपेर ल्याएको छु । त्यतिखेर थाहा लाग्यो– उदयपुर गाउँका जिम्मावाल र मुखियाबारे खोज अनुसन्धान भएको रहेछ । श्यामु थापामगरबाट स्नातकोत्तर शोधकार्यका निम्ति । त्यो सुनेपछि औधी खुशी भएँ किनभने शोधकार्यले मैले चाहेको प्राप्तिमा बढी फलदायी बन्नेछ भन्ने ठानेँ ।

काठमाडौं फिरेपछि फुपु श्यामु थापामगर परिवारसित सम्पर्क सूत्र पहिल्याएँ । संयोग भनौं मितबाबु पूर्व इनस्पेक्टर भीमबहादुर थापामगरको निधनपछि पशुपति आर्यघाटमा अन्त्यष्टि कार्यमा मलामी गइयो । त्यहीं श्यामु फुपुको श्रीमान गंगाबहादुर थापामगर (त्रिवि खेलकुद विभाग प्रमुख) र छोरा मिनारसित भेट भयो । फुपुको इमेल लिएँ । उहाँ यतिखेर जापानमा ‘आदिवासी मगर जातिको पहिचान’ विषयका विद्यावारिधि गर्दै हुनुहुँदोरहेछ । उहाँका स्नातकोत्तर शोध शीर्षक पत्तालाग्यो । उहाँले १९९६ डिसेम्बर १५ मा ‘फोरेस्ट म्यानेजमेन्ट सम लेगल एस्पेक्ट्स ः ए केस स्टडी अफ मानेभन्ज्याङ भिलेज इन ओखलढुंगा डिस्ट्रिक्ट’ –ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँको सन्दर्भमा वन व्यवस्थापनका केही कानुनी आधार), त्रिवि मानविकी तथा समाजशास्त्र संकायअन्तर्गत समाजशास्त्र÷मानवशास्त्र केन्द्रीय विभागमा शोध बुझाउनु भएको रहेछ । यसमा उहाँले तात्कालीन व्यवस्थाको भूमि प्रणालीमा जिम्मावाल, तालुकदारहरु अति शक्तिशाली व्यक्ति रहेको उल्लेख गर्नुभएको छ । चारदाम ठेकीको उल्लेख छ । माथि सरकारबाट प्राप्त गरेको ताम्रपत्र मुखियाको निधनपछि मुखिनीले आफूसँगै जलाएको प्रसङ्ग उल्लेख छ । बचेखुचेको काइते अक्षरमा लेखिएका कागजातलाई फोटोकपी गरी शोधको अनुसूचिमा समेटिएको छ । मेरो अध्ययन खाली टिपोटमात्रै भएकोले त्यसबारे बृहत् चर्चा गर्न चाहिन । जेहोस्, उदयपुर गाउँमा रहे, भएको सामाजिक सम्पदा गहन अध्ययनको विषय बन्न सक्ने रहेछ भन्ने मैले ठानेको छु ।

जिम्मावालको घरको सन्दुकभित्र ऐतिहासिक कागजातहरू देखाउँदै

कागजातको सामाजिक महत्व :
मुखिया, जिम्मावाल वंशका साथमा रहेका कागजातले कत्तिको महत्व राख्दछ भन्नेबारे नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा किरातविज्ञ बैरागी काइँला –तिलविक्रम नेम्वाङ लिम्बू) सित २०६९ कात्तिक २४ गते कुराकानी गरिएको कुराकानीअनुसार यी कागजात सामाजिक अध्ययनको विषय हो । यसमा मावनशास्त्रीय मान्यता रहेको छ । यसको अध्ययनका निम्ति कानुनी व्यक्तिको सहयोग चाहिन्छ । यी सामाग्री सनद, इस्तिहार हुनसक्छ । संरक्षण गर्नसके राम्रो हो । नेपाली कागजमा हस्तलिखित कागजात हुन् । भूमि व्यवस्था, तिरो व्यवस्था, जग्गाको अदालती व्यवस्थापन हो । जग्गाको नाम लिने, हलो, मानामुठी, साउने तिरो छ । फागु तिरो छ । जग्गा सम्बन्धी बन्दोबस्त र तिरोको व्यवस्थापन बुझ्नको निम्ति प्रभाव पार्छ । त्यो वंशावली होइन । जिम्मावल वा मुखिया को थियो भन्नेमात्र जानकारी हुनसक्छ ।

जिम्मावालको घरको सन्दुकभित्र ऐतिहासिक कागजातहरू

राजा पृथ्वीनारायण शाहले राईहरूलाई कसैलाई ताम्रपत्र दिएन । लिम्बुवानमा दियो भन्छ । त्यो सक्कल लिम्बूहरूसित छैन । हाम्रो मान्छेले बेचेर खाए भन्ने छ । लेनदेन कागजातमात्र छन् । ती कागजातले सामन्तवादी संरचना कस्तो थियो भन्ने पत्तोलाग्छ । तर आफ्नो भाषामा छैन । काइते अक्षरमा लेखिएका छन् । त्यसको अध्ययनले यस्ता थिए हाम्रो रीतभात भन्नेमात्र थाहा पाइन्छ । पुरानो कागजात आफैंमा महत्वपूर्ण छ ।

जिम्मावालको घरको सन्दुकभित्र ऐतिहासिक कागजातहरू

तालुकदारको रोलक्रम :
पृथ्वीनारायण शाह र उनीभन्दा पहिले चलाइएको भूमिव्यवस्थाअनुसार तालुकदारहरू÷क्षेत्रीय शासकलाई मुखिया भनिन्थ्यो । जसले वाम्बुले समुदायमा ‘सिक्सार खाने’ भन्ने चलन रहेछ । त्यसैगरी मुखियाभन्दा मुनि सहायक शासकका रूपमा जिम्बुवाल –जिम्मावाल) हुँदोरहेछ । उसले बेठीबेगार खाने रहछ । त्यसभन्दा मुनि थरी हुँदोरहेछ । जसले कानुनी सजाय गर्ने आदेशको पालना गराउँदोरहछ । त्यसभन्दा मुनि गौरुङ र कारबारी हुनेरहेछन् । उनीहरूलाई माथिको आदेश पालकका रूपमा लिइदारहेछन् । तालुकदार– मुखिया, जिम्मावाल । गौरुङ– अरुलाई सुनाऊ, जनाऊ गर्ने । जिम्मावाल– थरी, गौरुङलाई आदेश दिने । थरीले गौरुङलाई जनाऊ दिन्छ । ठूलो गल्ती गरेकालाई ठिङ्रामा हाल्ने काम थरी र गौरुङले गर्दथे ।

उदयपुरगाउँका जिम्मावल र मुखियाको छपुस्ता वंश टिपोट :
उदयपुर गाउँमा वाम्बुले राईभित्र भावाचाचो पाछाका जिम्मुवाल र मुखियाहरू रहेका छन् । उनीहरू आफूलाई घमण्ड र कोब्जा पुर्खाका सन्तान भएको ठान्दछन् । घमण्डको सन्तान उदयपुरका भावाचाचो र कोब्जाको सन्तान वाम्द्याल –उँबुगाउँ)का हुन् भन्नेछ । घमण्ड र कोब्जाका भान्जा रुपदेउ भन्ने दुधकोसीपारि खोटाङतर्फका शासक थिए । घमण्ड र कोब्जाले बाँधेको रीतिथितिलाई ‘ढकटक’ भन्ने गर्दछन् । त्यही ढकटक पुगेनपुगेबारे बिहे, कार्जेमा भन्ने चलन अहिले पनि छ ।

घमण्डका सन्तानमध्येका एक सनमान थिए । सनमानले धेरैजनासित बिहे गरेका थिए । उनका धेरै श्रीमतीलाई फरक फरक गाउँमा राखेका थिए । उदयपुर, हिलेपानी, जाक्मा, रिचुवा गाउँतिर थिए भन्ने छ । त्यसैले एउटै बाबुका सन्तानहरू छरिएर रहेको भन्नेछ । सनमाले सोलु, ओखलढुंगा, उदयपुर गाइघाट गरी तीन जिल्लाका तालुकदार थिए भन्ने छ । लेकतिर देउसा मुक्ली, देउसा पन्चन, तामाखानी, घिउखानी, भेडीगोठ, चौरीगोठदेखि तराईमा जहडी रिस्कुतर्फ उनको तालुक थियो । तिनै सनमानका वंशहरूबारेमा टिपोट गरिएको छ । सनमानका जेठी श्रीमतीतर्फका सन्तान तल्लो रिचुवा गाउँमा बसेका भावाचाचो हुन् । माइली श्रीमतीतर्फका हिलेपानी गाउँका भावाचाचो हुन् । साइँली श्रीमतीतर्फका उदयपुर क्वाक्टोम्फुका भावाचाचो हुन् । र कान्छी श्रीमतीतर्फका सन्तान उदयपुर ब्ल्याङ्खाटोलका भावाचाचो हुन् भन्ने छ ।

यहाँ सनमानकी कान्छी श्रीमतीतर्फका सन्तानहरूको वंशावली टिपोट गरिएको छ । यिनै कान्छी श्रीमतीतर्फका सन्तानहरूसित अहिलेसम्म तालुदार रहँदाखेरीका केही पुराना कागजात, दसीप्रमाणहरू सुरक्षित छन् ।

सनमानकी कान्छी श्रीमतीतर्फ तीनभाइ छोराहरू थिए । जेठा बिक्रमान, माइला पन्चध्वज र कान्छा बिर्जमान । बिक्रमानका तीन छोरीमात्र थिए । किरात समाजमा मातृसत्ता प्रमुख मानिन्छ भन्ने छ । तर पितृसत्ताकै परम्परा छ । सायद राज्यसंयन्त्रले गर्दा हुनसक्छ । जसका कारण छोरी जन्मे, हुर्केपछि पराई घर जाने हुनाले उनको वंशबारे खोजीनिति गरिदैन । त्यसैले गर्दा यहाँ बिक्रमानको छोरीतर्फको सन्तानबारे चर्चा गरिएको छैन । अर्थात् उनका सन्तानले त्यसबारे धेरै चासो राखेका छैनन् ।

पन्चध्वजका चारभाइ छोरा थिए । बिर्जमान सानैमा परदेशिएर बेपत्ता भएका थिए (?) भनेर अन्य भाइका सन्तानले बताएका छन् ।
पन्चध्वजका चारभाइ छोराहरू थिए । (१) नरमान (मुखिया), (२) दलमान (जिम्मुवाल), (३) अमृतबहादुर र (४) पूर्णबहादुर । यिनै सन्तानका पालादेखि मुखिया र जिम्मावलको जिम्मेवारी पाएका थिए ।

मुखिया नरमानका पाँच भाइ छोरा र तीनबैनी छोरी थिए । नरमानका पाँच छोराहरूमा जेठा शरणजित, माइला कमलसिं, साइला लक्षिणे, काइँला भरतजिते र कान्छो असलबहादुर । जेठा छोरा शरणजितका तीन छोरा र एक छोरी छन् । त्यसमा जेठा अविरास (एक छोरा सबिनको मृत्यु र जिवि २ छोरी रेनुका र बेनुका), माइला धनकुमार (विवाह गर्न बाँकी) र कान्छा मने –जेठी श्रीमतीतर्फका । विवाह गर्न बाँकी) ।

नरमानका माइला छोरा कमलसिंका २ छोरा (डम्बरे र गब्बरे) र २ छोरी (स्वामिता र कोपिला) छन् । साइला छोरा लक्षिणे –दुई बिहे जैतासरी र कुचलमाया) का २ छोरा (सनकुमार र रामकुमार) र ४ छोरी –बस्ती, मनकला, छलि, रमिला) छन् ।

नरमानका काइँला छोरा भरतजिते शारीरिक अपाङ्गता भएकाले अविवाहित ।)

नरमानका कान्छा छोरा असलबहादुर (श्रीमती खड्गमाया) का २ छोरी (सुन्तली र मन्थली) र १ छोरा –विजय) छन् ।

पन्चध्वजका माइला छोरा दलमान –जिम्मुवाल)का छोराहरू ६ भाइ र दुई छोरी (सबिरत्न र भालासरी) छन् । जेठा बीरमान, माइला (सानैमा मृत्यु भएको), साइँला रामसिं, काइँला हर्कबहादुर, ठाइँला बलबहादुर र कान्छा लँकाबहादुर हुन् । बीरमानका २ छोरा सारधन र सुन्दरकुमार तथा ३ छोरी नौरत्नमाया, धनसरी र मनसरी छन् । सारधनको एक छोरा राजकुमार र सुन्दरकुमारका १ छोरा छन् ।

दलमानका साइँला छोरा रामसिं (हाल भारतको सिक्किममा छन् । उनको ३ छोरा भीमकुमार, दिलकुमारलगायत र पाँच छोरी छन् ।) काइँला हर्कबहादुरका २ छोरा नविनकुमार र भविन तथा २ छोरी मिनुमाया र पुरमाया छ । ठाइँला बलबहादुरका २ छोरा खुबराज र कुद्धराज तथा ३ छोरी इसुमाया, चुलिमाया र प्रमिलामाया छन् । कान्छा लँकाबहादुरका ३ छोरा रुपराज, चितन र मानबहादुर तथा ३ छोरी गीतामाया, सरिता र प्रेममाया छन् ।

पन्चध्वजको साइँली श्रीमतीपट्टि (१ छोरा अमृतबहादुर र २ छोरी थिए ।) अमृतबहादुरको १ छोरा चँखे र ३ छोरी सित्तलीमाया, अढुमाया र बिसुमाया छन् । चँखेको १ छोरा टने र ४ छोरी कमु, झुक्कामाया, टेकु र धनु छन् ।

पन्चध्वजको कान्छी श्रीमतीपट्टि ४ छोरी गन्धीमाया, चक्रीमाया, मसान्ती र पुस्तामाया तथा १ छोरा रुसबहादुर छन् । रुसबहादुरका ३ छोरी ढुक्कामाया, रन्जुल र हालै जन्मेकी नाबालिका (२०६९ कात्तिक १७ गते गरिएको कुराकानी) छन् । यसरी सनमानका कान्छी श्रीमतीतर्फका सन्तानहरुका बारेमा संक्षिप्तमा नामावली प्रस्तुत गरिएको छ ।

जतनसाथ राखिएका सामग्रीहरु :
१. मुखिया र जिम्मावाल वंशको आधुनिक घर
२. चुकसिङ बाकस (फोटो राख्ने)
३. साब्री (छालाको थैलो)
४. मुखियाको छाप र छापदानी
५. पुराना सिक्काहरु
६. विभिन्न कागजातहरु

ऐतिहासिक कागजात

रुकुम टक्सारको सिक्का :
माथि वाम्बुले राई मुखिया र जिम्मावल परिवारका साथमा रहेको तामाका सिक्काहरु पृथ्वीबीर विक्रमको पालामा र त्यसपछि राजाका पालामा बनेका हुन् । ती सिक्का अहिलेको रुकुम जिल्लाको झुम्लाबाङ टक्सारमा समेत मुद्रण गरिन्थे । आफ्नो देशदेशावर यात्रामा राष्ट्रगानका रचनाकार व्याकुल माइलाले रुकुमको रुकुमकोटका एक स्थानीयको घरमा यी मुद्राहरु अवलोकन गरी त्यसको तस्बिर लिएका हुन् । (हे. सोही जिल्लामा बनेको तामाबाट बनेको छापेमानामा भरिएको सिक्काहरुको तस्बिर ।) यी सिक्का आफ्नै गाउँ ठाउँको तामाखानीबाट तामा निकाली बनेका सिक्कालगायतका धातुका सामग्री चिनोका रुपमा स्थानीयले राख्ने गरेको व्याकुल माइला बताउँछन् ।

रुकुमको झुम्लाबाङ टक्सारको मुद्रा तस्बिर : व्याकुल माइला ।

स्रोत व्यक्ति :
१. श्री बलबहादुर राई, मानेभन्ज्याङ–७ उदयपुगाउँ, ओखलढुंगा
२. शरणजित राई, मानेभन्ज्याङ–७ उदयपुगाउँ, ओखलढुंगा
३. श्री लक्षिणे राई, मानेभन्ज्याङ–७ उदयपुगाउँ, ओखलढुंगा

सबै तस्बिर : गणेश वाम्बुले राई

लिब्जु–भुम्जु त्रैमासिक पूर्णाङ्क ५२

(प्रस्तुत सामग्री निरीक्षणमा उदय जिज्ञासु राई र बिद्रोही साइँला संलग्न हुनुहुन्थ्यो । यो लेख लिब्जु–भुम्जु त्रैमासिक वर्ष २०, पूर्णाङ्क ५२, २०६९ बाट साभार गरिएको । – सम्पादक)

Leave a Reply

Your email address will not be published.