सम्झना राईकोको आलो तातो कविता : नेता बाजे

कला साहित्य -संस्कृति

नेता बाजे

सम्झना राई

आदर्णिय नेता बाजे !
तपाईं मलाई आफ्नै बाजे जस्तै लाग्छ
तपाईंलाई कुरा लाएको होइन मैले
तर हेर्नुस् न सबैले गाली गर्छन्
सरकारी हस्पिटल जाँदाखेरी,
आउने गन्ध बास्ना सम्झेर सुँघ्नु पर्छ
त्यहाँ पनि गाली खानुहुन्छ ।

सार्वजनिक गाडी चढ्दाखेरी
जाम, निस्सासिएर, खाँदिएर, कोच्चिएर बस्नुपर्छ
त्यहाँ पनि गाली खानुहुन्छ ।

सरकारी कामको लागि जाँदाखेरी
अव्यवस्थित प्रणाली घण्टौं ढिलाई
त्यहाँ पनि गाली खानुहुन्छ ।

बर्षौ भयो भत्किएका संरचनाहरू
पुनः खडा नहुँदा खेरी
त्यहाँ पनि गाली खानुहुन्छ ।

हाम्री नेपाल आमाको केही चोक्टा मासु
लिपुलेक र कालापानी
दुष्ट छिमेकीले लुछ्न खोज्दा
महँगो गाडी चढ्नुहुन्छ
जन्म दिनमा केक काट्नु हुन्छ
त्यहाँ पनि गाली खानुहुन्छ ।

अहिले विश्वभरि फैलिरहेको
कोरोना भाइरस माहामारीको बेलामा
छिमेकी राष्ट्रबाट भाग्दै लुक्दै आइरहेके जनता
र सँगै भाइरस पनि भित्रिएको बेला
सरकारको सुरक्षा सिमानामा दरिलो छैन
रोगभन्दा पनि भोकले मरिरहेका छन् गरिब जनताहरू
राहत पनि पाउनु पर्ने समयमा नपाइरहँदा
त्यहाँ पनि गाली खानुहुन्छ ।

हाम्रा दिदी बहिनीहरू बलात्कृत भइरहँदा
जातभातको कारणले हत्या भइरहँदा
ढलहरू गन्हाइरहँदा, धारामा पानी सुक्दा
त्यहाँ पनि गाली खानुहन्छ ।

हिलोमा चिप्लिंदा होस् या खाल्डोमा भासिंदा
धुलोमा निस्सासिंदा होस् या कहिंकतै ठेस लाग्दा
त्यहाँ पनि गाली खानुहुन्छ ।

अझै धेरै छुटेका छन् गालीहरू
यति धेरै गाली दिएका छन्
लाग्छ तपाईंलाई त
कुनै पनि आहाराको खाँचो पर्दैन
गालीले नै पुग्छ ।

यति धेरै थुकेका छन्
लाग्छ कहिंकतै पानीको खाँचो छैन
एक थुकी सुकी सय थुकी नदी भनेझैं
यहाँ त सयौं होइन लाखौंले थुकेका छन्
बाग्मती नदी, सप्तकोशी त के समुन्द्र नै बगेको छ
सबै नातानातिनीहरूलाई आफ्नो असल बाजे प्रिय लाग्छ ।

त्यसैले प्रिय नेता बाजे !
म पनि यो सबै कुरा भन्नबाट अछुतो रहन सकिन
तपाईं छिट्टै असल भएर राम्रो काम गरेर स्याबासी पाउनुहोस् ल
किनभने तपाईं मलाई आफ्नै बाजेजस्तै लाग्छ ।

उहीं नातिनी सम्झना राई
हाल संघीय प्रदेशको राजधानी काठमाडौं ।

(कार्टुन अविन श्रेष्ठ कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।–सम्पादक)

Leave a Reply

Your email address will not be published.