देउसी परम्परामा युवा पुस्ताको घट्दो चासो

कला साहित्य -संस्कृति

गणेश राई
काठमाडौं– तिहार नेपालीका निम्ति सबैभन्दा धेरै नाचगान, फूलमाला पहिरिएर मनाइने रमझमपूर्ण चाड हो । प्रकृति, पशु, पंक्षीसमेतको पूजाआजा हुने आदिम संस्कृतिमध्ये एक मानिन्छ । यो चाडमा मादल, बाँसुरी, खैजडीजस्ता लोकबाजाहरु बजाएर प्रत्यक्ष गीत गाउने, बलिराजा, रामायण, महाभारतको गाथा भट्टाएर देउसी खेलिन्छ । तर पछिल्ला दशकमा परम्परागत चाडप्रति युवा पुस्ताको चासो घट्दो पाइएको बताउँछन् ।

परम्परा एक पुस्ताबाट अर्को पुस्तामा सहज रुपमा पुस्तान्तरण हुने प्रक्रिया हो । तर, परम्परागत नाचगान धान्ने काम कलाकारितामा संलग्नले मात्र धान्नु पर्ने स्थिति आएको विज्ञहरु बताउँछन् । देउसी भट्टयाउने रम्बाइन केही शब्दमा सीमित छ । त्यसैगरी मादल बजाउने तरिकाबारे अनभिज्ञ छन् । झ्याम्टा, खैजडी, बाँसुरी जस्ता बाजा बजाएर मनोरन्जन लिने, दिने गरिन्छ । देउसी दिउँसो र राति दुवै समय खेलिन्छ ।

विगत दुई दशकदेखि काठमाडौं उपत्यकामा संस्थागत रुपमा देउसी खेल्दै गायक बडाजित राई युवाहरुको आकर्षण घटेको सुनाउनुभयो । ‘हाम्रै पुस्ताका युवाले सहरमा गाउँघरको देउसी भित्रायौं,’ वाम्बुले राई समाज संस्थाका देउसी संयोजक राईले भन्नुभयो, ‘तर, अहिले परम्परागत देउसीप्रति युवाहरुको चासो र सहभागिता घटेको छ ।’

लोकसंस्कृति अभियन्ता प्राध्यापक प्रेमकुमार खत्री विज्ञान प्रविधिले नयाँ ग्याजेट आएपछि पुराना कुरा बिगारेको बताउँनुहुन्छ, ‘अहिले देउसी भैलो हाइब्रिड जस्तै भएको छ,’ तिहार र देउसी ओल्लो गाउँ, पल्लो गाउँ टोललाई सांस्कृतिक रुपमा जोड्ने चाड भएको उल्लेख गर्दै उहाँ भन्नुहुन्छ, ‘मूल कुरा समयले परिवर्तन ल्याउँछ । हरेक कुरा प्रविधिमै खोज्न थालियो ।’ परम्परागत बाजागाजाहरु बजाउने समुदायले समेत परम्परालाई बोझका रुपमा लिने गरेको उहाँ सुनाउँनुहुन्छ ।

‘नयाँ पुस्ताले नयाँ कुरा खोज्दा पुराना कुराहरु त्याग्न थाले,’ आफ्नो टोल छिमेकमा खेलिएका देउसीबारे टिप्पणी गर्दै प्राध्यापक खत्री भन्नुहुन्छ, ‘ हरेक कुरा छिटो खोज्ने गरेको देखियो । दुई तीन मिनेट देउसिरे भन्ने अनि आशिष दिन नपाउँदै साउन्डसिस्टममा गीत घन्काएर नाच्ने गरेका छन् ।’ परम्परागत देउसीमा लामो लेग्रो तानेर रम्बाइन भट्टाउने, मादलको ताल र नाच्नेको गोडाको चाल उस्तै गरी ढिलो गरी चालिने उहाँ सुनाउँनुहुन्छ ।

मानवशास्त्री सुरेश ढकाल विज्ञान प्रविधिको विकासले समाजमा आएको परिवर्तनको प्रभावलाई धेरै टिप्पणी गर्नै नपर्ने बताउँनुहुन्छ । ‘समयको परिवर्तनले समाजमा थामि नसक्नु परिवर्तन आएको छ,’ यसबारे सामाजिक बहसको जरुरी रहेको उहाँको मत छ ।

राष्ट्रगानका रचयिता व्याकुल माइला यो पटक ब्रिटिस गोर्खा भूतपूर्व संघ (बीगेसो) र शेर्पा कलाकार संघको देउसी भैलो कार्यक्रम अतिथिका रुपमा उपस्थित भएको बताउनुभयो । ‘बीगेसोले इस्ट इण्डिया कम्पनी, बेलायत र नेपाल बीचको सन्धि सम्झौतालाई पुन:रावलोकन गर्न ध्यानाकर्षणका निम्ति देउसी खेलेको पाएँ,’ परम्परागत चाडमा अधिकारवादी बुढापाकाहरु पुस्ता सहभागी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘तिहार सामाजिक सद्भावको चाड बनेको छ ।

तर, दशदेखि बीस वर्ष उमेर समूहका पुस्तामा देउसीको आकर्षण घट्दो पाइयो । कम्तिमा ‘भन भन भाइ हो देउसी रे’ भाका भट्टाउन जान्नु पर्ने हो । त्यो चलनमा कमी देखियो । फेसबुक, युटुब हेरेर एक्लै रमाउने गर्दारहेछन् ।’ बजारमा जस्तोसुकै गीत पाइने र मोबाइलबाटै बजाएर नाच्ने गरेको माइलाको कथन छ । जसले गर्दा युवा पिढीले लोकबाजा बजाउन बिर्सिएको बताउनुभयो ।

लिम्बु समुदायमा तिहारमा देउसीलाई बलिहाङ तङनाम भनेर खेल्ने गरिन्छ । किरात याक्थुङ चुम्लुङका कलाकारले लिम्बु भाषामै तङनाम गाउँने, च्याबु्रङ बजाउँदै महिला पुरुष गोलाकार नाच्ने गर्दछन् । ‘हामी संस्थागत रुपमा पूर्वतयारीसहित तङनाम खेल्छौं,’ लिम्बु सांस्कृतिक परिषद्का अध्यक्ष गोबिन्द आङ्बोले भन्नुभयो, ‘संस्कृति परम्पराप्रति प्रशिक्षण दिएकाले युवा सहभागिता राम्रै छ,’ काठमाडौं उपत्यकामा ११ टोलीले देउसी खेलेको उल्लेख गर्दै संगीतकर्मी आङ्बोले भने, ‘परम्परालाई बचाइ राख्ने युवा पुस्ता नै हुन् । हामी बुढापाकाले उनीहरुलाई साथ दिएर मार्गनिर्देश गर्दैछौं ।’

मगर समुदायमा बलिराजाको कथा हालेर देउसी भैलो खेल्ने गर्दछन् । ‘हामी बलिहाङका सन्तान हौं,’ नेपाल मगर संघका अध्यक्ष नविन रोक्का मगर भन्नुहुन्छ, ‘मौलिक संस्कृति परम्परा जोगाउने प्रयासमा छौं । युवा पुस्तालाई संस्कृति परम्पराबारे गलत मिथक कथालाई सच्याउँदै अघि बढाउँदै छौं ।’

सहरमा प्रशासनले राति दश बजेपछि देउसी खेल्न नपाइने समय सीमा तोकिदिएको छ । त्यसो हुँदा रातभरि देउसी खेलेर दु:ख गर्नु पनि परेन । सुख सुविधाले लोक परम्परा मासिदो छ । गाउँघरमा समेत प्रविधिको विस्तारले गर्दा परम्परागत देउसी भैलो खेल्ने चलन पातलिएको बताइन्छ । अर्कोतर्फ परम्पराप्रति छलफल, प्रशिक्षणजस्ता पुस्तान्तरणका प्रक्रियाहरु नअपनाइएकाले आकर्षण घटेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *