विचार – बालशिक्षामा भाषा

पत्रपत्रिका

हेमाङ्गराज अधिकारी

काठमाडौँ — शिक्षामा भाषाको प्रयोगले केन्द्रीय महत्त्व राख्छ । नेपाली परिवेशमा विद्यालय जाने बालक कम्तीमा तीनवटा भाषाबाट गुज्रिएको हुनसक्छ– घरको भाषा, समुदायको भाषा र विद्यालयको भाषा । घरको भाषा उसको मातृभाषा हो । यो विद्यालयको भाषा नहुन सक्छ ।

कतै विद्यालयको भाषा र समुदायको भाषा एउटै हुनसक्छ भने कतै यी दुबैभन्दा फरक भाषामा विद्यालयमा शिक्षा लिनुपर्ने परिस्थिति रहन्छ । घर बालकको सिकाइको जग हो । उसले घरमा सिकेको कुराले विद्यालयमा विस्तार र परिष्कार पाउनुपर्छ ।

घरमा सिकेको भाषालाई विद्यालयका लागि बाधक ठानिनु हुँदैन । त्यसको जगमै उसको थप शिक्षा अगाडि बढ्नुपर्छ । बालकले घरमा एउटा र समुदायमा अर्को भाषा सिकेको छ भने पनि ती दुबै भाषाबाट प्राप्त ज्ञान विद्यालयमा थप ज्ञानका लागि आधार हुन सक्छन् । यी एकअर्काका लागि बाधक हुँदैनन्, पूरक बन्न सक्छन् भन्ने कुरा प्रारम्भिक विद्यालयका सञ्चालकका लागि विशेष मननीय विषय हो ।

बालकले सिकेको धारणाका लागि भाषाले फरक–फरक शब्द दिन सक्छ । उसले मातृभाषामा सिकेको धारणाका लागि विद्यालयको भाषामा अर्को शब्दले जनाइन सक्छ । यसो भन्दैमा उसले थप धारणा सिक्ने होइन । यसरी कसैले ‘किताब’ वा ‘पुस्तक’ जानेको छ भने विद्यालयमा त्यसैलाई ‘बुक’ भन्न सिकाइन्छ भने बालकले सहजै त्यो शब्द सिक्छ । उसलाई शब्द सिकाए पनि थप धारणा सिक्नु जरुरी हुँदैन । ‘किताब’को ठाउँमा ‘बुक’, ‘कलम’को ठाउँमा ‘पेन’, रातोको ठाउँमा ‘रेड’ भनिए थप धारणा र शब्द दुबै सिकाइएको होइन ।

त्यसैले धारणा मेट्नेगरी अर्को भाषा सिकाउने जमर्को गर्नु उचित हुँदैन । त्यसले बालकमा अन्योल पैदा हुन सक्छ । यसरी किताबबाट बुक सिकाउनु, कलमबाट पेन सिकाउनु सहज सिकाइ हो । यसको उल्टो बालकको पहिलेको अनुभवलाई बेवास्ता गरेर अथवा उसले त्यो धारणा जानेको छैन जस्तो गरेर बुक, पेन सिकाउन खोज्नु सिकाइको सहजताको विरुद्ध हो । यसले उसलाई उसले अनुभव गरेको दुनियाँभन्दा अर्कै दुनियाँमा लैजान खोजेको भान पर्छ । अनि ऊ त्यतैतिर बहकिन सक्छ । असहज सिकाइ यहींबाट सुरु हुन्छ ।

सिकाइका क्रममा एउटा भाषाले अर्को भाषालाई विस्थापन गरिनुहुन्न । सिकिसकेको भाषाले अर्को भाषा सिक्न सहयोग गर्छ भन्ने बुझ्नु जरुरी छ । एउटासँग अर्काको तालमेल गर्दै लैजानसके सहजता बढ्न जान्छ । यसरी बुझिए हाम्रो शिक्षामा देखिएको हिँड्दै छ, पाइला मेट्दै छ भन्ने प्रवृत्तिले उत्पन्न विकृतिबाट मुक्त हुन मद्दत मिल्छ । बालकले सिकेको जुनसुकै कुरा शृङ्खलाबद्ध ढङ्गले अगाडि बढ्न पाउँछ । अनि हामी जगबिनाको महल बनाउने दु:स्वप्नबाट जोगिन समर्थ हुन्छौँ ।

अपरिचित भाषाले परिचित भाषाको ठाउँ लिने दृष्टिले पठन–पाठन अगाडि बढाउन खोज्नु अहिलेको शिक्षण प्रणालीको सबभन्दा ठूलो कमजोरी हो । अझ अर्को शब्दमा अङ्ग्रेजीले नेपाली वा अर्को मातृभाषाको ठाउँ लिने दृष्टिले प्रारम्भिक कक्षामा पठन–पाठनलाई अगाडि बढाइनु विद्यार्थीको सर्वतोमुखी प्रतिभा विकासका दृष्टिले हितकर देखिँदैन ।

मौलिक चिन्तनको विकासमा पनि यसले बालकमा प्रतिकूल प्रभाव पार्छ । यसको तत्काल असर कसैले अनुभव नगरे पनि दूरगामी परिणाम नकारात्मक देखिन जान्छ । आफ्नो धरातल बिर्साउने शिक्षाले हाम्रा बालबालिकालाई सिर्जनशील बनाउनबाट बञ्चित गर्छ । त्यसैले शिक्षामा भाषा चयन गर्दा र यिनलाई शिक्षाको माध्यम बनाउँदा उल्लिखित कुरामा गम्भीर हुनु जरुरी छ ।

भाषा शिक्षाको माध्यम हो । यसलाई विचारको पोसाक पनि भनिन्छ । पोसाक चयन गर्दा आफ्नो विचार बोक्न सक्छ कि सक्दैन, विचारणीय छ । हाम्रो परिवेशमा बालबालिकाको धारणात्मक विकासका लागि मातृभाषा पहिलो पोसाक हो । यसको सम्बन्ध बालकको संज्ञानात्मक विकासमा अभिन्नजस्तो भएर रहेको हुन्छ । किनभने पहिलो भाषाबाटै बालकले आफ्नो धारणाको प्रस्फुटन पाउन थाल्छ । उसको परिवेश विस्तार हुँदै जाँदा क्रमश: ऊ अर्को भाषासँग परिचित हुन थाल्छ ।

आवश्यकताअनुसार उसले एकभन्दा बढी भाषा सिक्नुपर्ने हुन्छ । तर एउटालाई अवरोध गरेर अर्को भाषामा फड्को मार्ने खालले कुनै अर्को भाषालाई प्रोत्साहित गरिनुहुन्न । समाजमा यी भाषाले पाउने प्रयोग परिवेशले यिनको क्षेत्र सीमित वा विस्तृत हुँदै जान सक्छ । त्यही प्रवृत्तिलाई शिक्षाले पनि आत्मसात् गर्नु उचित हुन्छ । समाजको गति एकातिर र भाषाहरूको प्रयोग त्यसभन्दा भिन्न गतिमा दौडाउन खोजियो भने शिक्षामा कृत्रिमता परिलक्षित हुन थाल्छ । शिक्षाले समाजको सामान्य गति ख्याल गर्नु आवश्यक हुन्छ । सहजता सिकाइको अनिवार्य सर्त हो ।

भाषालाई विचार विनिमयको साधन मानिन्छ । यसको मतलब हुन्छ, भाषाले समाजमा आपसी सम्प्रेषण कार्य सम्पन्न गर्नुपर्छ । सम्पेषण भन्नाले बोध र अभिव्यक्तिको प्रक्रिया हो । बोधअन्तर्गत सुनाइ र पढाइ अनि अभिव्यक्तिअन्तर्गत बोलाइ र लेखाइ आउँछन् । विचार विनिमयका लागि बुझ्नु जति जरुरी छ, त्यसलाई प्रकट गर्नु पनि उति नै जरुरी हुन्छ ।

यी दुबै पक्षको समुचित र सन्तुलित उपयोगबाटै सम्प्रेषणको प्रक्रिया सम्पन्न हुन्छ । सम्प्रेषणात्मक कार्य सम्पन्न गर्न सक्षम बनाउने काम भाषा शिक्षणको हो । भाषा शिक्षणमा सुनाइ, बोलाइ, पढाइ र लेखाइजस्ता भाषिक सीपका कार्यकलापलाई जोड दिइन्छ । यसले विषय–वस्तुको शिक्षणलाई जोड दिँदैन, विषय–वस्तुको बोध र अभिव्यक्ति गर्ने माध्यमको शिक्षणमा जोड दिन्छ ।

भाषा शिक्षणमा बालकलाई बोल्न, पढ्न र लेख्न अधिकतम अवसर दिनु आवश्यक छ । सुनेको, जानेको कुरा विद्यालयमा बोलेर व्यक्त गर्न पाएन भने बालकले जानेको भाषा कुण्ठित हुन्छ । त्यस्तै बारम्बार पढ्ने अवसर मिलेन भने सुनेका आधारमा मात्र पठन बानी बसाल्न सकिँदैन ।

कक्षामा शिक्षक सुनाउनमात्र जोड दिन्छन् भने बालकले पढ्ने र लेख्ने अवसर पाउँदैन, ऊ बोल्नबाट पनि बञ्चित हुन्छ । जबसम्म कक्षाका कार्यकलाप बालकको मौखिक अभिव्यक्ति, पठन र लेखन बानीको विकासमा केन्द्रित हँुदैनन्, तबसम्म शिक्षक भाषा सिकाउँदैछन् भन्ने कुरामा आश्वस्त हुन सकिँदैन ।

कतिपय विद्यालयमा साना कक्षादेखि व्याकरण सिकाउनमा जोड दिइन्छ । यो भाषा शिक्षणका दृष्टिले गम्भीर भुल हो । व्याकरण भनेको भाषाबारे शिक्षण हो । यसले विषय–वस्तु शिक्षणतिर शिक्षकलाई बहकाउँछ । व्याकरण भाषाभित्र अन्तरनिहित हुन्छ । त्यसैले यो अमूर्त हुन्छ । साना बालकलाई शिक्षकले पढाएको व्याकरण बुझ्न यसै कठिन हुन्छ, त्यसमाथि व्याकरणले भाषाभित्र काम गरेको ठम्याउने कुरा अझ टाढाको विषय हो । अझ सन्दर्भहीन प्रयोग र उदाहरण दिएर व्याकरण सिकाउनु उनीहरूको भाषिक सीप विकास गर्ने समयलाई बरबाद गर्नु मात्र हो ।

विद्यालयमा भाषा शिक्षणका नाममा व्याकरणको थप पाठ्य–पुस्तक पढाउने प्रवृत्तिले शिक्षकको बुद्धिविलासलाई बढाउन मद्दत गर्ला र अभिभावकका आँखामा छारो हाल्न सक्ला तर बालकको भाषिक विकासमा यसले कमै सहयोग गरेको पाइन्छ । कच्चा शिक्षकले दिएको व्याकरणको गृहकार्यले कतिपय अभिभावकलाई पनि आतङ्कित बनाउँछ ।

भाषाको प्रयोग सङ्कथनमा हुन्छ । सङ्कथनले सन्दर्भ खोज्छ । सन्दर्भविहीन शब्द, पदावली, वाक्य भाषाका उपकरण हुन्, तर यी आफैं भाषा होइनन् । भाषा हुन तिनको सन्दर्भपूर्ण प्रयोग हुनु आवश्यक छ । भाषाका शिक्षकले बालकलाई उनीहरूको अनुभव सुहाउँदा सन्दर्भमा बोल्न, पढ्न र लेख्नमा अभ्यस्त बनाउनुपर्छ । भाषाको पाठ्यक्रममा सुनाइ, बोलाइ, पढाइ र लेखाइका उद्देश्य राखिएका हुन्छन् तर शिक्षक त्यसलाई बिर्सिएर किताबी ज्ञानमा मात्र बालकलाई अलमल्याउन केन्द्रित हुन्छन् भने उनले भाषा सिकाएनन् भन्ने कुरा स्वत: प्रमाणित हुन जान्छ ।

समग्रमा बालकको शिक्षा सहज र स्वाभाविक ढ्ङ्गले अगाडि बढ्नु आवश्यक छ । घरको अनुभवसँग तालमेल गर्दै विद्यालयले थप अनुभव गर्ने र सिक्ने अवसर उपलब्ध गराउनुपर्छ । कुनै भुइँफुट्टा र कोरा ज्ञान उसका लागि अग्राह्य र अपाच्य हुन्छ । सिकाइलाई ग्राह्य र पाच्य बनाउन घरका अनुभवलाई विस्थापित गर्नमा जोड दिइनु उचित हुँदैन । त्यसलाई जगको रूपमा उपयोग गरिनुपर्छ ।

घरको भाषा र विद्यालयको भाषामा समन्वय स्थापित गर्दै थप अर्को भाषा सिकाउँदै लैजान सकिन्छ । भाषा शिक्षणका कार्यकलापलाई विषय–वस्तुका रूपमा नभई सम्प्रेषण क्षमता बढाउने दृष्टिले अघि बढाउनु आवश्यक छ । बालकलाई ताती गर्न सिकाउनुहोस्, अनि मात्र दौडन सक्छ । ताती नगरी दौडन सिकाउन खोज्नुभयो भने फड्का हान्न नजानेर बीचमै लड्न सक्छ ।

प्रकाशित : आश्विन ५, २०७५ ०७:४१
https://www.kantipurdaily.com/opinion/2018/09/21/153749433278439006.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *