अब घरमै अध्ययन गरेर विश्वविद्यालयको डिग्री

पत्रपत्रिका

काठमाडौ । नियमित रुपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्नेले अब घरमै अध्ययन गरेर पिएचडीसम्मको डिग्री लिन पाउने भएका छन्। पहिलोपटक स्थापना भएको नेपाल खुला विश्वविद्यालयले अब प्रविधिको प्रयोग गरी डिप्लोमादेखि पिएचडिसम्मको डिग्री दिने भएको हो।

खुला विश्वविद्यालयको सोमबार बसेको प्राज्ञिक परिषद बैठकले डिप्लोमा, पोस्टग्राजुयट डिप्लोमा, मास्टर्स, एमफिल र पिएचडीसम्मका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

प्राज्ञिक परिषदका सदस्य एवं शिक्षाविद प्राडा मनप्रसाद वाग्लेले खुला विश्वविद्यालयले सञ्चालन गर्ने कार्यक्रम परिषदबाट निर्णय भएको र २४ माघमा बस्ने सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने बताए।

विश्वविद्यालयका कुलसचिव (रजिस्ट्रार) कमल ढकालका अनुसार केही कार्यक्रम यही आर्थिक वर्षमै सुरु गर्ने तयारी भएको छ । पाठ्यक्रमका केही ‘फ्रेम वर्क’ तयार भएका छन् ।

तीनवटा संकाय सञ्चालन हुने
नेपाल खुला विश्वविद्यालयमा तीनवटा संकाय स्थापना हुने भएका छन् । व्यवस्थापन र कानुन संकाय, सामाजिकशास्त्र र शिक्षा संकाय स्थापन हुने भएका छन् । यस्ता संकायबाट साधारण विषयदेखि इन्जिनियरिङसम्मका विषय दूरशिक्षाबाट पढ्न पाइने भएको छ ।

त्यसैगरी विज्ञान, स्वास्थ्य र प्रविधि संकाय स्थापना हुँदै छ । यो संकायमा प्राविधिक तथा व्यावसायिक सीपदेखि ‘पियोर साइन्स’का विषय पनि अध्ययनको व्यवस्था हुनेछ । इन्जिनियरिङका पनि धेरै विषय अध्ययन गर्न पाउने कुलसचिव ढकालले बताए ।आजको नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *