अर्जुनबाबु माबुहाङ
काठमाडौँ — २०२१—२३ सालताका इलाम गौंडाभित्र पर्ने लिम्बू गाउँहरूमा किपटबारे अध्ययन गरेका ब्रिटिस समाजशास्त्री लिओलन काप्लानले आफ्नो पुस्तकमा लेखेका छन्, ‘बाहुनले लिम्बूको संस्कार बाहुनकै तरिकाले ग्रहण गरे तर लिम्बूले बाहुनको संस्कार ग्रहण बाहुनकै तरिकाले गरे ।
गाउँघरमा बाहुनी बज्यैलाई ‘बाँदर देउ’ लाग्यो भने उनी लिम्बू देवारी फेदाङमाकहाँ घरै पुगेर झारफुक गराउँथिन् । लिम्बूले भने सत्यनारायण पूजा आफ्नो घरमै लगाउँथे ।’ लगाउँदै छन् पनि । यस्तो कार्यलाई संस्थागत गर्ने व्यक्ति हुन्, फलामसिंह लिङदेन उर्फ फाल्गुनन्द ।
फलामसिंह १९४२ कात्तिक २५ गते आइतबार इलामको इभाङस्थित चुक्चिनाम्बामा बाबु जगुनबाज लिङदेन र आमा हंसमती बेघाको कोखबाट जन्मिएका थिए । जानिफकारहरूका अनुसार न्वारनमा उनको नाम नरध्वज थियो । बाल्यकालमा हातखुट्टामा फलामको चुरा लगाइदिइएकाले उनलाई गाउँलेले फलामसिं भनेर चिन्न थाले । कालान्तरमा हिन्दु जोसमनी पन्थहरूबाट दीक्षित भएपछि उनलाई चेलाहरूले महागुरु फाल्गुनन्द भन्न थाले । आज फाल्गुनन्दको १३४ आैं जन्मदिन पारेर विविध कार्यक्रम भइरहेका छन् । उनलाई नेपाल सरकारले सोह्रौं राष्ट्रिय विभूति घोषणा गरेको छ । सरकारले फाल्गुनन्दको जन्मदिनमा ‘किरात धर्मावलम्बीका लागि’ भनेर सार्वजानिक बिदा गरेको छ ।
फाल्गुनन्दको शरीरले मदमंस (जाँडरक्सी, मासु) बाल्यकालदेखि नै सहन सकेन । उनी विसं १९६४ मा दार्जिलिङको गुम पहाडबाट भारतीय आर्मीमा भर्ती भए । पहिलो विश्वयुद्धमा उनले फौजी जीवन छाडे । भारतका धामहरू डुले । जोसमनिपन्थका शशिधर स्वामीका चेला मधुनन्दसँग नजिक पुगेपछि योग गर्ने, ब्रह्म ज्ञान खोजी गर्ने कार्यमा लागे ।
यसपछि उनी सादगी, तपस्वीको जीवन जिउन थाले । साधु भएर केही आफ्ना चेलाका साथ उनी लिम्बू गाउँघर डुल्थे । निधारमा विघौद, कम्मरमुनि सेतो मेखला लगाएर हिँड्थे । हातमा चिम्टा बोकेका हुन्थे । आँगनमा चरु पोल्दै, मन्दिर निर्माण गर्दै हिँड्थे । सत्य आहार, सत्य विहार, सादगी भोजन गर्नुपर्छ, सत्य कर्म गर्नुपर्छ, सत्य बोल्नुपर्छ भन्थे । आफूलाई युमा महारानी हुँ भन्ने उनी सत्यहाङमा उर्फ फाल्गुनन्द नामले चिनिन थाले ।
उ बेला लिम्बूहरूको आर्थिक स्तर नाजुक थियो । लिम्बूका संस्कार, संस्कृति खर्चालु थिए । छोरीचेलीको विवाह हुँदा रीत (सोत) खाने प्रथाले दह्रो जरा गाडेको थियो । ससुरालीलाई जसले बढी सुनौली (सुन) र रूपौली (रुपैयाँ) पुर्याउन सक्छ, उसको इज्जत ठूलो हुन्थ्यो । विवाह, बर्खीमा जसले बढी ठूलठूला चारखुट्टे चौपाया काट्न सक्छ, जसले जाँडरक्सीको खोलो बगाउन सक्छ, उसैलाई मानिन्थ्यो । यस्ता खर्चालु संस्कार सम्पन्न गर्न जिम्मावाल लिम्बूहरू रुपैयाँ काढ्न आफ्ना रैतीहरू बाहुन, क्षेत्रीकहाँ पुग्थे ।
बाहुन, क्षेत्रीहरूले सुब्बाका पाखा, खेतहरू भोगबन्धकी र मासिकट्टामा लिन्थे । सुब्बाहरूले उनीहरूको विवाह, बर्खी संस्कारैपिच्छे बढ (थप) ऋण लिन्थे । घरबारविहीन भएर बसाइँ हिँडेका लिम्बूहरू फाल्गुनन्दको आँखामा ठोकिन्थे । लिम्बू सामाजिक जनजीवनको दर्दनक अवस्था सम्हाल्न फाल्गुनन्दले थुमथुमका लिम्बू, सुब्बा बोलाएर १९८८ वैशाख २४ गते पाँचथरको चोक्मागुको लब्रेकुटीमा सत्य धर्म मुचुल्का गराए । मुचुल्कामा छोरीचेलीको सोत खान नहुने, संस्कृति, संस्कार, अनुष्ठानमा मदमंस प्रयोग गर्न नहुने मुख्य बुँदा थिए । यो मुचुल्काले विशेष गरी विपन्न लिम्बूको जीवनमा ठूलो परिवर्तन ल्यायो ।
लिम्बू जातिमा भोगबलिप्रथाले ठाउँ लिएकै सुबाङ्गी प्रथाबाट देखिन्छ । गोर्खालीले सुब्बालाई लालमोहर, सनद र रुक्का मात्र दिएका थिएनन्, दुर्गादेवीको उपासना गर्ने, दुर्गादेवीको शक्तीपिठ स्थापना गर्न नवमीमा मार हान्ने हुकुमप्रमाङ्गी पनि गरे । नयाँ टीकामा सुँगुरको हक्तक्वा ससुरालीमा बुझाउने प्रचलन पनि सुरु भयो । संस्कारमा चौपायाको भोग दिने संस्कार भित्रियो । मुन्धुमअनुसार लिम्बूका देवारी फेदाङमाले आफ्ना इष्टदेवी युमालाई सेगेफुङ (बाहुनीवर ?) अर्पण गरे पुग्छ ।
फाल्गुनन्द आफ्नो भाषा, लिपि, संस्कृति, संस्कारमा पोख्त थिए तर उनले संकलन गरेका मुन्धुम मौलिक अवस्थामा भने पढ्न पाइएको छैन । उनको २००५ चैत २२ गते सोमबार पाँचथरको हाल फाल्गुनन्द गाउँपालिकाको इम्बुङको हाङयकमा देहान्त भयो ।
फाल्गुनन्दको समाजसुधारलाई अनुयायीले विवादमा तान्ने प्रयास गरेका छन् । सत्यधर्मको मुचुल्कापश्चात् लिम्बूहरू साम्माङ च्याङताङबा र सत्यहाङमा भनेर विभाजित भएका हुन् । अथवा आफ्ना कुलदेउता मान्ने र हिन्दु जोसमनीपन्थ मान्ने । संस्कारहरूमा भोगबलि चढाउने र नचढाउने अथवा हत्यहाङमा र सत्येहाङमा भनेर फाटो बढेकै छ ।
सत्यहाङमा पन्थीहरू फाल्गुनन्दको समाजसुधारलाई लिम्बू जातिको धर्मको जग बनाउन खोजिरहेका छन् ‘किरात’ धर्म भनेर । भगवान् बनिने, भक्तजन बनाउने, चरु पोल्ने, होम यज्ञादि गर्ने, शंख फुक्ने, कान फुक्ने, शब्दी गर्ने, सुसमाचार प्रवाह गर्ने, भविष्यवाणी गर्ने, भेटी उठाउने उनीहरूको नियमित कार्य हो । हिन्दु र इसाई दुइटै धार्मिक क्रियाकलाप देखाएर राज्यका हर्ताकर्ता र विदेशी दातालाई खुसी पार्न खोज्नेहरू पनि देखिएका छन् । लिम्बू जातिको मौलिकतामा विचलन आउने जोखिम बढेको छ ।
अनुयायीले फाल्गुनन्दको समाजसुधारलाई दन्त्यकथा बनाउँदै छन् । फाल्गुनन्दले खडेरीमा पानी उमारे, पहिरो थामे, राजाका अगाडि हातगडी आफैं फुस्किएजस्ता कुरा गरेर उनलाई कतै भगवान् त कतै जादुगर पनि बनाउन खोजिँदै छ । यो लिम्बू समाजमा चिन्ताको विषय बनेको छ ।
जातीय संस्था किरात याक्थुङ चुम्लुङका अगुवा भने साम्माङच्याङ पुजेर अथवा परम्परागत संस्कारमा रहेर धर्मको नाम किरात लेख्नुपर्छ भन्नेमा देखिन्छन् र लेख्दै लेखाउँदै छन् । अर्का थरी लिम्बूहरू भने साम्माङच्याङ पुजेर युमा धर्म लेख्दै छन् । लिम्बू जातिको आस्था र विश्वासलाई बौद्ध र हिन्दुहरूले परापूर्वकालदेखि अतिक्रमण गर्दै आइरहेको पाइए पनि धर्मको बहस भने लिम्बू जातिमा भर्खर सुरु भएको छ । यस्ता विवादसँग फाल्गुनन्दलाई जोड्न हुन्न । महान् समाजसुधारक फाल्गुनन्दलाई श्रदाञ्जली ।
मुन्धुमविद लेखक तेह्रथुमको लालीगुराँसनगरपालिकाका प्रमुख हुन् ।
https://www.kantipurdaily.com/opinion/2018/11/11/154190391947152986.html?author=1