लुङ्खीम गाउँ र भाषा प्रेम

पत्रपत्रिका विचार / ब्लग

भीम गौतम

भाषाहरुको अध्ययन अनुसन्धानको क्रममा यसपटक नेपालमा बोलिने भाषाहरुमध्ये राइ/किरांत समुहको लुङ्खीम भाषिक समुदायको स्थलगत अध्ययन गर्ने मौका जुर्‍यो।

एथ्नोलग २०१२ र अन्य अनुसन्धानवाट लगभग मृतप्राय भएको यो भाषाको अनुसन्धानमा भाषा आयोग नेपालले त्रिभुवन विश्वविध्यालयको भाषाविज्ञान केन्द्रीय विभागलाई जिम्मा दिएको थियो।

दसैँ टिकाको लगत्तै म र डा. तारामणि राई भोजपुरको उत्तरी सिमानामा पर्ने लुङ्खीम गाउंतिर लाग्यौं। धरानवाट लगभग १० घण्टाको सुमो यात्रा सङ्खुवासभाको तुम्लिङटारमा रोकियो।

धनकुटाको हिलेदेखि सुरु भएको कच्ची सडक यात्रा सङ्खुवासभाको सिमानासम्म निक्कै कष्टप्रद हुन पुग्यो।

तुम्लिङटारवाट हामी अर्को कच्ची सडक हुँदै चेवाटार सम्म पुग्यौं। अरुण नदीको किनारै किनार लगभग १ घण्टा पैदलयात्रा पछि झोलुङ्गे पुल तरेर हामी बालु (काली पुल) भन्ने ठाउँमा पुग्यौं।

त्यहाँवाट फेरी पाँच घण्टाको पैदलयात्रामा टाफुटार पुगिदोरहेछ तर दिनभरीको थकानले गर्दा हामीले त्यहीँ बस्ने निधो गरेका थियौँ।

एउटा तमु होटलमा गुरुङ्ग दाईसंग गफिंदै गर्दा ६ जना यात्रु भएपछि त्यो अप्ठ्यारो वाटोमा चल्ने ल्याण्ड रोभरले १२ जनाको पैसा पाएपछि हामीलाई २ घण्टामा ताफुटार पुर्यायो।

साँझको ८ बजिसकेकोले हामी ताफुटारमै वास बस्यौं र भोलिको लागि लुङ्खिम गाउँ पुग्ने योजना बुन्दै सुत्यौँ।

भोलिपल्ट बिहानै लुङ्खिम गाउँ पुग्ने भनेर हाम्रा झोलाहरु होटेलमै छाडी हामी झिसमिसे मै निस्कियौं। बिहानै बाटोमा कोही पनि नभेटिएकोले बाटो भुलेर हामी २ घण्टाको उकालोमा चौकिडाँडा भन्ने गाउँमा पुग्यौँ।

एउटा घरमा मान्छेहरु देखेर सोधेको त हामीहरु उल्टो र लामो बाटो हिँडिएछ भन्ने थाहा भयो। त्यो घरमा बसेका एकजना मधेस मुलका शिक्षक र घरवेटी घले भाईले फेरि तल झर्ने सल्लाह दिएपछि हामी धान खेत र रुद्राक्षको जंगल हुँदै गोथे बजारमा पुग्यौँ।त्यहाँ पुग्दा बिहानको १० बजि सकेको थियो।

एउटा होटलमा चाउचाउ र विस्कुट खाएपछि हामी फेरि लुङ्खिम गाउँको बाटोतिर लाग्यौँ । लगभग एक घण्टा खोलाको किनारै किनार हिँडेपछि हामी याक्सा बजारमा पुग्यौँ।

याक्साबाट छोटो र उकालो बाटो लाई २ घण्टा र लामो बाटो जुन दोभाने हुँदै जान्छ साढे २ घण्टा लाग्ने जानकारी पाएपछि हामी छोटो बाटोतिर मोडियौं।

लगभग १ वजे हामी लुङ्खिम गाउँमा पुग्यौँ। अलैंची,रुद्राक्ष,धान र विभिन्न फलफुल खेतीले फेरिएको यो गाउँ प्राकृतिक स्रोतले भरिपूर्ण लाग्थ्यो।गाउँको माथिपट्टी कुलुङ्हरुको बाक्लो बस्ती र तलतिर मावोहांङहरु बसेको बीचमा १९ परिवार लुङ्खिमहरु ६/७ पुस्तादेखि बसोवास गर्दै आएको जानकारी रक्त वहादुर राई (५६) बाट पाइयो।

तपाँइहरु कुन भाषा बोल्नु हुन्छ भन्ने मेरो प्रश्नमा “हामीलाई पुर्खाले भाषा सिकाएनन अहिले पछुतो लागि रहेको छ”भन्ने जवाफ पाइयो।

त्यसपछि उनले त्यहाँ वरिपरि भएका अरु दाजुभाइ दिदीबहिनीहरु बाेलाए। मैले भाषिक इतिहास,धार्मिक परम्परा र चाडपर्वहरुको वारेमा अन्य महिला तथा पुरुषहरुसँग छलफल गरें भने तारामणि राईले त्यहाँ भर्खर विवाह गरेर आएकी बुहारीसित कुलुङको २१० शब्द सूचि लिने काम भयो।

बढी मासु खाने भएकोले साम पनि भनिने गरेको यो किरांती समुदायले आफ्ना पुर्खाहरु ओढारमा बसेको रमाइलो कहानी सुनाए।

किरांती भाषामा लुङ् भनेको ढुङ्गा र खिम भनेको घर रहेछ। भाषा नबाेल्ने भएपछि आफ्ना पुर्खाहरु दार्जिलिङ,सिक्किम र ईलामतिर बसाइ सरेको भन्ने जानकारी दिए।

फर्कने वेलामा दसैँ मनाउन गाउँ पुगेका आकास राई (लुङ्खिम) भाईसित भेट भो जो किरातभूमि चलचित्रको निर्माणमा लागेका रहेछन्। बढी हङकङ र ईटहरी वस्ने उनमा आफ्नो भाषा र संस्कृति प्रतिको मोह लोभलाग्दो थियो।

हामी बेलुका आठ बजे फेरि ताफुटारको होटलमा आइपुग्यौँ र भोलिपल्टको लागि गाडी कुरेर बस्यौँ। बल्लतल्ल बिहान ११ बजेतिर एउटा गाडि आयो र हामी लगभग २ वजे तुम्लिङटार आइपुग्यौँ।

त्यसपछि फेरि नियमित भाडा भन्दा बढि भाडा तिरेर हामि एउटा सुमोमा धरानका लागि प्रस्थान गर्यौं। बटोमा लेगुवाको उकालो भन्ने ठाउँमा गाडि बिग्रियो र प्रति २ कि.मि. मा १० लिटर पानी हाल्दै हामी ९ वजे धनकुटाको हिले आइपुग्यौँ।त्यहाँ गाडि मर्मत गर्दा खाना खाने सल्लाह भयो र राति १ वजे इटहरि आईपुगियो।

ड्राईभरले चिनेको होटलमा वास बसेर भोलिपल्ट हामी इलामको लुङ्खिम गाउँ (तत्कालिन पंचकन्या गाविस) मा पुग्यौँ।

लुङखिम राईहरुको सबैभन्दा बढि वसोवास भएको उक्त गाउँमा लुङखिम सेवा समाजको केन्द्रीय कार्यालय पनि रहेछ। लगभग ११०० मिटर देखि १६०० मिटरको उचाइमा फैलिएको त्योसुन्दर गाउFमा धेरै लामो समयदेखि लुङखिमहरु बसोवास गरेको पाइयो।

सम्पर्क र अपशरणको कारणले भाषा लोप भएपनि तल्लो आहाले भन्ने ठाउँमा २/३ परिवार भित्र अझै बाेलीचालीमा रहेको प्रारम्भिक अनुसन्धानले जानकारी दियो।

लगभग ७/१०जना बक्तामा सीमित रहेको यो भाषा नन्दलाल लुङ्खिम (९१ वर्ष) देखि राम वहादुर लुङ्खिम (३२) वर्ष सम्मको पुस्तामा अडिएको पाईयो। यद्यपी यो भाषा हो कि भाषिका हो भन्ने कुराको थप अध्ययन र अनुसन्धान हुनु पर्ने देखिन्छ।

एउटा महत्वपूर्ण कुरा के हो भने भोजपुरको लुङ्खिम गाउँमा भाषिक सम्पर्क नभएपनि भाषा मरेको देखियो तर यहाँ वान्तवा,चाम्लिङ,नेपाली र हिन्दी तथा अन्य भाषाको दैनिक सम्पर्क एवं फिक्कल जस्तो पर्यटकिय क्षेत्रभित्रको यो समुदायमा भाषा अझै जिवित हुनु निक्कै महत्वपूर्ण कुरा लाग्यो।

लुङ्खिम समाज र समुदाय यो कुरामा धेरे सचेत भएको पाईयो। यसवाट के कुरा अनुमान गर्न सकिन्छ भने नेपालका अन्य धेरै ओझेलमा परेका भाषाभाषीहरुको बास्तविक पहिचान र अध्ययन/अनुसन्धान भएको छैन। यो कुरालाई भाषा आयोग तथा सम्वन्धित निकायहरुले ध्यान दिन सके नेपालमा लोप हुन लागेका धेरे भाषा तथा संस्कृतिको संरक्षण गर्न सकिने कुरामा दुई मत छैन।

हाम्रो तीन दिनको बसाइ तथा यो समुदायका मानिसहरुसँग भएको छलफलवाट लुङ्खिमहरु पाँचथर,दार्जिलिङ,मिरिक तथा भुटानमा पनि रहेको जानकारी मिल्यो।

पर्यटकीय स्थान भएकोले लुङ्खिम जातीय संग्रहालय निर्माण गर्न सके यो क्षेत्रमा भ्रमण गर्ने पर्यटकले अर्को सांस्कृतिक सम्पदाको पनि अवलोकन गर्ने मौका पाउनुका साथै सम्बन्धित समुदायको पनि संरक्षण र विकास हुने देखिन्छ। यस्ता महत्वपूर्ण सम्पदाहरुलाई स्थानीय निकायले पनि पहिचान गरेर त्यसको अध्ययन ,अनुसन्धान र संरक्षण गर्न सके मात्र नेपालले देखेको सपना पुरा हुन्छ नत्र भने दिन प्रतिदिन हाम्रा मौलिक भाषा तथा संस्कृतिहरु धर्म,व्यापार तथा विश्वव्यापीकरणको नाममा लोप हुने खतरा देखिन्छ।

(गौतम त्रि.वि भाषा विज्ञान केन्द्रीय विभागका उप-प्राध्यापक हुन्।)

https://deshsanchar.com/2018/11/17/121347/

Leave a Reply

Your email address will not be published. Required fields are marked *