वाम्बुले कविता गोष्ठीको प्रमुख अतिथि प्रसिद्ध कवि मुकारुङ

समाचार

लिभु संवाददाता
काठमाडौं– वाम्बुले राई भाषाको २०औं कविता गोष्ठीमा प्रसिद्ध कवि तथा प्राज्ञ श्रवण मुकारुङको प्रमुख आतिथ्य रहने भएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २१औं वार्षिकोत्सवको अवसरमा ओखलढुंगाको मानेभन्ज्याङ बजारमा यही मंसिर २० गते हुनेछ । वाम्रास केन्द्रीय कार्यसमितिको कात्तिक ३० गते सम्पन्न बैठकले उक्त निर्णय गरेको संस्थाका महासचिव जीवन हाताचो राईले जानकारी दिनु भएको छ ।

संस्थाले यो वर्ष कविताको शीर्षक ‘खाक्चिलुपा रिनाखा’ तोकेको छ । सहभागी प्रतियोगी र अप्रतियोगी वाम्बुले भाषी कविहरुले तोकिएको शीर्षकमा कविता वाचन गर्नेछन् । प्रतियोगितामा विजयी पाँचजना कविलाई आकर्षक नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

मानेभन्ज्याङ बजारको माथिल्ला टुँडिखेलमा हुने समारोहमा मानेभन्ज्याङ गाउँपालिका वडा नं.५ मा रहेका ७० वर्षभन्दा माथि उमेरका वाम्बुले राईलाई ‘वाम्रास जेष्ठ नागरिक सम्मान’ प्रदान गरिने छ । त्यसैगरी २०७४ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि सुमन जाबा राईलाई प्रदान गरिने छ ।

२०५५ सालमा सुरु भएको वाम्बुले राई भाषाको कविता गोष्ठी हरेक वर्ष हुँदैआएको छ । बीसौं वर्षको गोष्ठीको व्यवस्थापन वाम्रास जिल्ला कार्यसमिति ओखलढुंगा र वाम्बुले राई शिक्षक समाजले गर्नेछन् ।

वाम्रास केन्द्रीय अध्यक्ष गजुरधन राईको अध्यक्षता रहने सामारोहमा राष्ट्रगानका रचनाकार व्याकुल माइला, मानेभन्ज्याङ गाउँपालिकाका प्रमुख मोतीराज राई, उपप्रमुख सबिता राई तथा खोटाङ, उदयपुर, सुनसरी, सिन्धुली, काठमाडौं, इलाम, झापा, मोरङका कविहरुको आतिथ्य रहने जनाइएको छ ।

को हुन्– श्रवण मुकारुङ ?

नेपाली साहित्य फाँटमा चर्चित कवि हुन्, श्रवण मुकारूङ (श्रवणकुमार राई बान्तावा) । उहाँ जन्म २०२५ जेठ २६ गते भोजपुरको अन्नपूर्ण–३ दिल्पागाउँमा आमा विष्णुरेखा राई र बुबा घनश्याम किरातका जेठो छोरोका रूपमा भएको हो । २०४०–२०४१ सालदेखि निरन्तर साहित्य सिर्जनामा संलग्न उहाँले बि.ए.सम्मको अध्ययन गर्नुभएको छ ।

उहाँका ‘देश खोज्दै जाँदा (कवितासङ्ग्रह, २०४९), हिउँको दरबार (गीतसङ्ग्रह, २०५३), यलम्बर (नाटक, २०५३ पहिलो संस्करण र दोस्रो संस्करण २०७५), जीवनको लय (कवितासङ्ग्रह, २०६०), तर्कहरूको विपक्षमा (लेखसङ्ग्रह, २०६५) र बिसे नगर्चीको बयान (कवितासङ्ग्रह, २०६७) प्रकाशित छन् । ‘माथि माथि शैलुङ्गेमा….’ लगायत चर्चित गीतका स्रष्टा मुकारूङको फूलको आवाज (२०५५) र निष्कर्ष (२०५७) गीति एल्बम सीडी तथा गेसो मुभमेन्ट फर इक्वालिटी (२०६३) र बिसे नगर्चीको बयान र अन्य कविता (२०६३) सीडी र एल्बम छन् । साथै, चलचित्र अनागरिक (कथा, पटकथा, सम्बाद, २०६३), दलन (२०६४) र गुडबाई काठमाडौं (२०६६)मा गीत रचना गर्नुभएको छ ।

उहाँका अस्तित्व (भोजपुर, २०४१) र यलम्बर (पोखरा, काठमाडौं, २०६४)मा नाटक मञ्चन भएका छन् । त्यस्तै, काठमाडौं (२०६३), काभ्रेपलाञ्चोक (२०६३), धरान, सुनसरी (२०६४), हङकङ, चीन (२०६५), इलाम (२०६६), कतार (२०६७) र भोजपुर (२०६७)मा एकल कविता वाचन गर्नुभएको छ । आदिवासी गीतकार समाज, नेपालको संस्थापक सदस्य, किरात राई यायोक्खा, काठमाडौं र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञ–प्रतिष्ठान प्रज्ञासभाका पूर्व सदस्य हुनुहुन्छ ।

उहाँले राष्ट्रगान चयन कार्यदल (२०६४) र राष्ट्रिय साहित्य संगोष्ठी (ने.प्र.प्र., २०६५)को सदस्य रहेर कार्यसम्पादन गर्नुभएको छ । साहित्य सिर्जनाका आधारमा उहाँले सर्वोत्कृष्ट गीतकार (रेडियो नेपाल, २०४७), राष्ट्रिय कविता महोत्सव (ने.प्र.प्र, २०४८ द्वितीय) र राष्ट्रिय कविता महोत्सव (ने.प्र.प्र, २०५३)मा प्रथम हुनुभयो भने युवा वर्ष मोती पुरस्कार (२०६०)लगायत दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ । नेपाल सरकार संस्कृति मन्त्रालयले हालैमात्र गठन गरेको नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद्को निवर्तमान सदस्य हुनुहुन्छ ।

कवि मुकारुङ वाम्बुले भाषाको १६औं र १७औं वाम्बुले राई भाषाको कविता गोष्ठीमा समेत प्रमुख आतिथ्यता जनाइसक्नु भएको छ । कविता गोष्ठीको गरिमा बढाउन प्रसिद्ध कवि मुकारुङलाई विशेष अनुरोध गरी पुनः प्रमुख अतिथिका रुपमा निम्तो गरिएको वाम्रास संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.