तुलारास राईको नेतृत्वमा वाम्बुले राई समाज कास्की गठन
लिभु संवाददाता
पोखरा (कास्की)– तुलारास राई (वाम्बुले ब्राङ्ख्याल्चो) को अध्यक्षतामा वाम्बुले राई समाज, नेपाल (वाम्रास) जिल्ला कार्यसमिति कास्की गठन भएको छ । वाम्बुले राई समाज, नेपाल केन्द्रीय कार्यसमितिको बिधान–२०५४ (संशोधन २०७२)अनुसार राईको अध्यक्षतामा २०७८ मङ्सिर १० गते शुक्रबार कार्यसमिति गठन भएको हो ।
उपाध्यक्ष देवेन्द्र राई, सचिव रविकुमार राई, सहसचिवद्वय रेणुकामाया राई र रेवान राई, कोषाध्यक्ष पुरामाया राई र सहकोषाध्यक्ष पुर्णबहादुर राई हुनुहुन्छ । त्यसैगरी सदस्यहरू मिलन राई, नेतिका राई, सुदर्शन राई र सोभारसिं राई हुनुहुन्छ ।
गण्डकी प्रदेश कास्कीको पोखरामा रहनु भएका किरात वाम्बुले राईहरु २०६९ सालदेखि ‘चौरास वाम्बुले राई समाज’ गठन गरेर क्रियाशील रहनु भएको थियो । देश–विदेशमा रहेका वाम्बुले राईहरू एउटै संस्था वाम्बुले राई समाज, नेपाल (वाम्रास) संगठनमा आवद्ध हुने अभियान अनुसार सो समाजलाई वाम्रास कास्की जिल्ला कार्यसमितिमा बदलिएको हो ।
वाम्रास केन्द्रीय कार्यसमितिका उपाध्यक्ष गणेश वाम्बुले राई प्रमुख अतिथि, सह–कोषाध्यक्ष मोतीलाल राई विशेष आतिथ्यमा जिल्ला कार्यसमिति गठन भएको हो । उद्घाटन सत्रका विशेष अतिथि तथा किरात कुलुङ समाज कास्कीका अध्यक्ष प्रदीप कुलुङ र अतिथि तथा किरात अध्ययन तथा अनुसन्धान केन्द्रका संयोजक अनिल सुनुवारले शुभकामना व्यक्त गर्नुभएको थियो ।
वाम्बुले एकताको थालनीदेखि वर्तमानसम्म कार्यपत्र
सो अवसरमा वाम्रास केन्द्रीय उपाध्यक्ष गणेश वाम्बुले राईले ‘किरात वाम्बुले राई जाति : विगतदेखि वर्तमानसम्म’ विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले काठमाडौं उपत्यकामा रहेका वाम्बुले राईहरू २०५१ साल वैशाख ७ गते पहिलो पटक वनभोजमा जुटेको उल्लेख गर्दै वाम्बुले (राई) साहित्य प्रकाशन प्रा.लिले भक्तपुरको सूर्यविनायकमा आयोजना गरेको सामुहिक वनभोजको ब्यानरसहितको फोटो प्रस्तुत गर्नु भएको थियो ।
‘वाम्बुले राई साहित्य प्रकाशनअन्तर्गत ‘लिब्जु–भुम्जु’ त्रिभाषीय त्रैमासिक पत्रिका २०५० देखि २०७५ सालसम्म ७३ अंक प्रकाशित छ । अहिले उक्त पत्रिका ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक भनेर नियमित रूपमा ८६ अंक प्रकाशित छ । ‘सम्भवतः वाम्बुले राई भनेर सामूहिक र सार्वजनिक हुने काम यहींबाट आरम्भ भएको हुनुपर्छ । वाम्बुले राई आफूलाई राभुङ, उँबुले, उम्बुले, वाँबुले भनेर छरपस्ट परिचय हुने गथ्र्यो ।’ कार्यपत्रमा उल्लेख छ ।
भौगोलिक आधारमा दुधकोसी र सुनकोसी नदी जोडिने जोर्तीघाटलाई केन्द्रविन्दुमा बनाएर त्यसको बीस किलोमिटर गोलाकारभित्र किराती वाम्बुले राईहरुको मुख्य आदिम थलो हो । यी दुई नदीले उत्तर–पश्चिम र पूर्वमा ओखलढुंगा, दक्षिणमा दुधकोसी पारि खोटाङ, दक्षिण–पश्चिम सुनकोसी पारि उदयपुर र सिन्धुली जिल्ला पर्दछन् । यी चार जिल्लाको केही पालिकामा वाम्बुले राईहरुको सघन बसोबास रहेको पाइन्छ ।
ओखलढुंगा जिल्लाको दक्षिणी भेगको मानेभन्ज्याङ गाउँपालिका (साबिक आठवटा गाविस)मा वाम्बुले वाम्बुले भाषी वक्ता रहेका छन् । त्यसैगरी खोटाङको हलेसी तुवाचुङ नगरपालिका (साबिक बाहुनीडांडा, डिकुवा, च्यास्मिटार, मंगलटार, दुर्छिम, हलेसी महादेवस्थान गाविस)मा वाम्बुलेहरू बसोबास रहेको छ ।
सिन्धुलीको फिक्कल गाउँपालिका, दुधौली नगरपालिका र उदयपुरको कटारी नगरपालिका (साबिक लेखानी, हर्देनी, सोरुङ छबिसे, लिम्पटार, रुपाटार) र गाईघाट त्रियुगा नगरपालिका क्षेत्रमा वाम्बुले राईहरुको बसोबास रहेको छ ।
यसबाहेक बसाईसराईको क्रममा भोजपुर, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा, इलाम, सिरहा, सर्लाही, सप्तरी, चितवन, काठमाडौं, ललितपुर, कास्की, तनहु जिल्लाको निश्चित क्षेत्र तथा ठाउमा वाम्बुले राईहरूको स्थायी बसोबास रहेको छ ।
यसैगरी भारत, भुटान र बेलायतमा समेत वाम्बुले राईहरूको स्थायी बसोबास हुन पुगेको छ ।
संस्थागत एकता र सामुहिक पहिचान
वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्था २०५४ साल मंसिर २० गते ललितपुर जिल्ला प्रशासन कार्यालयबाट दर्ता भएको हो । यो संस्थाको कार्यालय ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.१ इमाडोल नयाँबस्तीमा वाम्रास भवनमा रहेको छ । वाम्रास संस्थाले किरात राई यायोक्खालाई मातृसंगठनका रूपमा स्विकारेको छ ।
वाम्रास संस्थाको उद्देश्यहरू :
१) वाम्बुले राईहरु बीच आपसी एकता कायम गरी वाम्बुले राई समाजलाई एक समुन्नत, आदर्श तथा मर्यादित समाजको रुपमा विकास गर्न संस्थागत रुपमा निरन्तर प्रयत्नशील रहने ।
२) वाम्बुले राईहरुको इतिहास, भाषा, संस्कार, संस्कृति आदिको अध्ययन तथा अनुसन्धान गरी वा गराई त्यसको जगेर्ना गर्ने । साथै, ऐतिहासिक स्थान, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, सम्वद्र्धन र विकास गर्ने ।
३) सनातनदेखि चलिआएको भाषा, परम्परागत संस्कार तथा संस्कृतिलाई निरन्तरता दिंदै त्यसको संरक्षण र सम्वद्र्धनको लागि आवश्यक भौतिक पूर्वाधारहरुको व्यवस्था तथा विकास गर्ने ।
४) वाम्बुले राईहरुको भाषा समुन्नत बनाउन तथा त्यसको प्रयोगमा व्यापकता ल्याउन शब्दकोश, व्याकरण तथा विद्यालय स्तरको पाठ्यपुस्तक तयार गर्ने । र विद्यालयमा पठनपाठन व्यवस्था गर्ने ।
५) वाम्बुले राई समुदायमा मुख्यतय शैक्षिक जागरणद्वारा चेतना अभिवृद्धि गर्ने ।
६) वाम्बुले राई तथा अन्य व्यक्तिलाई आपतविपत परेको बखत वा आवश्यकताअनुसार सहयोग गर्ने ।
संक्षिप्त कार्य प्रगति
-वाम्बुले राईहरू संगठित हुने, वाम्बुले राईहरूको शिर उँचो पार्ने काम वाम्रास संस्थाले गरेको छ ।
-वाम्बुले राई समाजको १० जिल्ला कार्यसमिति रहेका छन् । त्यसैगरी कतार, दुबाई र बेलायतमा समेत वाम्बुले राई समाज गठन गरी संगठित भएका छन् ।
-२०५५ सालदेखि २०७७ सालसम्म २२औं वर्षसम्म निरन्तर वाम्बुले राई भाषाको कविता गोष्ठी आयोजना गरेको छ ।
-वाम्बुले राई भाषामा राम्दले सालाङ (२०५६), वाम्बुले राई शब्दकोश (२०५७), जोजनखो पौलो (२०६६) गीति एल्बम, फुरी (२०६७) गीति एल्बम, सुरिम शिलाखा मुखपत्र (२०६९), स्याल्मो स्मारिका (२०६९), सुरिम कवितासंग्रह, खाक्चिलुपा–रिनाखा कवितासंग्रह, द्याल रुच्चाल कवितासंग्रह प्रकाशित छन् ।
-वाम्बुले राई महिला र पुरुषको पहिरन, वाम्बुले टोपी, वाम्बुले गलफनले पहिचान बोकेका छन् ।
जनगण अभियान
राष्ट्रिय जनगणना २०५८ ले वाम्बुले भाषा बोल्नेको संख्या ४ हजार ४ सय ७१ जना देखाएको थियो । सो जनगणनामा ‘वाम्बुले/उम्बुले’ भनेर उल्लेख थियो । सरकारी दस्तावेजमा ‘वाम्बुले’ भाषा अस्तित्वमा आएको यो पहिलो घटना पनि हो ।
वाम्रास संस्थाले जनगणना २०६८ मा ‘वाम्बुले राईहरूको पहिचान जोगाऔं, कोही नछुटौं कोही नदोहोरिऔं’ नारासहित देशव्यापी अभियान संचालन गरेको थियो । फलस्वरूप वाम्बुले भाषा बोल्नेको संख्या १३ हजार ४ सय ७० अंकित हुनु पुग्यो ।
१२औं राष्ट्रिय जनगणना २०७८ मा किरात राई यायोक्खाले आह्वान गरेअनुसार वाम्बुले राई समाज संस्थाले अभियान जारी गरेको थियो । जसअनुसार जाति ‘राई’, पुर्खाको भाषा ‘वाम्बुले’, मातृभाषा ‘वाम्बुले’, दोस्रो भाषा ‘छिमेकीमा बोलिन कुनै एक किराती भाषा’ र धर्म ‘किरात’ लेख्ने लेखाउने अभियान संचालन गरेको थियो ।
राज्यको लापरबाहीले ‘याम्बुले’
राष्ट्रिय जनगणना २०६८ को तथ्यांकमा ‘वाम्बुले’ भाषाको कोड नं.४३ रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रश्नावली भाषा कोड नं.४३ ‘याम्बुले’ भनेर देवनारीमा अक्षर गलत राखिदिएछ यद्यपि अंग्रेजी अक्षर Wambule सही छ । त्यसपछि वाम्रास संस्थाले केन्द्रीय तथ्यांक विभागलाई गम्भीर ध्यानार्षण गराएपछि तत्काल सच्याएको छ ।
अब के गर्ने ?
वाम्बुले राईहरू भनेको कुनै थर होइन, यो विभिन्न पाछाहरू मिलेर बनेको भाषिक समूह हो । यसभित्र क्याम्पाचो, द्वाङखिम्चो, मुक्काचो, हाताचो, नाक्सोचाचो, फुम्लाचो, ब्राङख्याल्चो, भावाचाचो, लाहिम्चो, स्याकिल्चो, साङख्याल्चो, रिपाचो, ल्वाल्पे, तोपिले, द्वार्वाङ्चा, बिर्वाङ्चा, राभ्वाङ्चा, त्वार्बे, रिबुवाली, बोड्वाम, जुबुले, दोमि, थुलुङ, रोके, जेरो, गौरठोके, गुर्भाचो (गुर्भा), तिल्पाचो, राब्धाचो, लुवारी, सुम्दिचाचो आदि रहेका छन् । ‘वाम्बुले’ राईहरु आफूलाई ‘वाम्बुले’ले नै भन्न रुचाउँछन् । वाङ्बाहाङको सन्तान र रैतीका रुपमा आफूलाई चिनाउन चाहन्छन् नकि भालुगाउँलेका सन्तान ।
हामी वाम्बुले राईहरूको निम्ति सबैभन्दा चुनौतीको विषय वाम्बुले मातृभाषा कसरी बचाउने हो ?
हाम्रा पुर्खाहरूले पालना गर्दै आएका वाम्बुले मुक्तुम (मुन्दुम) परम्परालाई कसरी जोगाउने हो ?
त्यसैले हामी वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्था गठन गर्नु परेको हो । अबको ५० वर्षपछि वाम्बुले भाषा कसरी बोलिन्छ होला ? अबको १०० वर्षसम्म वाम्बुले भाषा बचाउन सक्छौं त ?
त्यसैले गाउँमा बस्ने, सहरमा बस्ने, देश र विदेशमा बस्ने सबै वाम्बुले राईहरू संस्थागत रूपमा संगठित भएर वाम्बुले राई जाति, वाम्बुले भाषा, किरात लिपि, मुन्दुम संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्दै अघि बढ्नु पर्दछ ।