किरात येले संवतको शुभकामना

समाचार

लिभु संवाददाता
काठमाडौं– संघीय नेपाल प्रदेश नं.१ को साझा संवतका रुपमा किरात संवत हुनुपर्ने मागसहित किरात येले संवतको शुभकामना आदानप्रदान कार्य तीव्र गतिमा बढेको छ । किरात संवत्लाई लिएर समुदायका विभिन्न संघसंस्थाले औपचारिक समारोहको आयोजना गरेका छन् । किरात येले संवत्लाई येले तङ्बे, येले दोङ, येले थोचे आदि भनेर मनाउने गर्दछन् ।

किरात समन्वय समितिले हालैमात्र आयोजना गरेको किरात येले संवत अन्तक्र्रियामा सहभागी विज्ञहरु

देश–विदेशमा रहेका किरातीहरुले सामाजिक सञ्जालमा शुभकामना व्यक्त गर्दैआएका भेटिन्छन् । किरात संवत्को पहिलो दिन माघ १ गतेलाई नयाँ वर्ष मानिदैआएको छ । संवत्को मिति भने दुई खाले देखिएको छ । वि.सं. २०७५ साल माघ १ गतेका निम्ति शुभकामना व्यक्त गर्नेहरुमध्ये एकथरीले किरात येले संवत ३७९८ को शुभकामना भनिरहेका छन् । अर्को थरीले किरात येले संवत ५०७९ को शुभकामना दिइरहेका छन् ।


यो संवत्लाई इतिहासका आधारमा प्रमाणित भइसकेको छैन । किरात येले संवत अध्ययन समन्वय समितिको आयोजना र प्रसिद्ध मुन्दुमविद् बैरागी काइँलाको संयोजनमा वि.सं. २०६६ कात्तिक २८–२९ गते राजधानी काठमाडौंमा ‘किरात येले संवत अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी’ सम्पन्न भएको थियो । सो गोष्ठीमा इतिहासविद्हरुले यो किरात येले संवत्लाई पहिलो किरात राजा यलम्बरको ‘स्मारक संवत्’ का रुपमा प्रचलन गर्न सकिने निष्कर्ष दिएका थिए । जसअनुसार काल गणना गर्दा प्रयोग हुदैआएको ५०७६ मा दुईहजार वर्ष घटेर ३७९५ भएको हो भन्ने तर्क पेश गरेका थिए । त्यही मितिदेखि किराती समाजमा किरात येले संवतका मिति दुई किसिमले चलाउन थालिएको हो ।


किरात सुनुवार सेवा समाज, किरात याक्खा छुम्मा, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खालगायत संस्थाको संयुक्त रुप किरात समन्वय समितिले हालैमात्र किरात येले संवतलाई लिएर अन्तत्र्रिmया सम्पन्न गरेको छ । उक्त अन्तक्र्रियामा सहभागी विज्ञहरुले परम्परादेखि चलाउँदै आएको संवतको मिति पाँचहजार वर्षभन्दा बढी पुरानो भएपनि प्रामाणिक इतिहासलाई मान्नु पर्ने विचार व्यक्त गरेका थिए ।

यलम्बर फाउन्डेसन (किरातोलोजी रिसर्च सेन्टर)ले एक विज्ञप्ति जारी गर्दै प्रामाणिक इतिहासलाई आधार मानेर किरात येले संवत्लाई एकरुपता दिनुपर्ने भनेको छ । फाउन्डेसनकी उपाध्यक्ष मोतीकला देवानले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म प्राप्त ठोस प्रमाणहरूको आधारमा हाम्रो इतिहासको निरूपण गर्ने हामी किरात जातिहरूको एकमात्र बाटो भएकाले किरात येले संवतको नयाँ वर्ष ३७९८ को हार्दिक शुभकामना सहित किरात येले संवतको प्रामाणिक काल गणना ३७९५ (सन् २०१६) लाई व्यापक प्रचलनमा ल्याउन किरातजन्य सङ्घसंस्थाहरू साथै संसारभरिका किरातहरूलाई हार्दिक अपिल गर्दछौँ ।’

यसैबीच नेपाल आदिवासी जनजाति महासंघले विज्ञप्ति जारी गर्दै माघे संक्रान्ति र किरात येले संवत् नयाँ वर्षको शुभकामना व्यक्त गरेको छ . त्यसैगरी किरात राई यायोक्खा सुनसरीले येलेदोङको अवसरमा वादविवाद प्रतियोगिता सम्पन्न गरेको छ । काठमाडौं उपत्यकामा रहेका चुम्लुङ, यायोक्खाले येले संवतका अवसरमा चियापान तथा शुभकामना आदानप्रदानको कार्यक्रम सम्पन्न गरेका छन् ।

यलम्बर फाउन्डेसनको एक विज्ञप्ति

किरात येले संवत् प्रचलन सम्बन्धमा
हार्दिक अपिल

आदरणीय किरात दिदीबहिनी तथा दाजुभाइहरू !
गोपालवंशी, महिषपालवंशी, किरातवंशी, लिच्छविवंशी, मल्लवंशी, शाहवंशी युग हुँदै नेपाल वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा विकसित भएको नेपाली सभ्यताको विजारोपण र विकासको आरम्भ मूलतः किरात कालमा सुभारम्भ भएको तथ्यप्रति हाम्रो दृढ विश्वास रहिआएको छ ।

हामी किरात जाति (याक्खा, सुनुवार, लिम्बु, राई, जिरेल, सुरेल, थामी, धिमाल, हायु आदि) हरूले किरातकालीन सभ्यताका विभिन्न आयामहरू मध्ये किरात येले संवत् पनि एक हो भनी विश्वास गर्दछौँ ।

यही किरात येले संवतका सम्बन्धमा कुरा गर्दा इतिहासकार सुब्बा प्रेमबहादुर माबोहाङ लिम्बु र भूपेन्द्रनाथ शर्मा ढुङ्गेलको इतिहास खनीखोस्री, थाम्सुहाङ पुष्प सुब्बा ‘असित’ र जसहाङ मादेन ‘येइङ्सा’को संवत् विजारोपण, किरात येले संवत् अन्तरराष्ट्रिय विशेष विचार गोष्ठीको आयोजनाका लागि प्राज्ञ वैरागी काइँलाको प्राज्ञिक सारथ्य, बलिराज खम्बुलगायतका अभियन्ताहरूको चाँजोपाँजो, नेपालको प्रस्तर तथा धातु मूर्ति खोजी तथा अध्ययनका पिता लैनसिंह बाङ्देलबाट काठमाडौँ माली गाउँमा भेटिएको जयवर्माको मूर्तिमा रहेको संवतको अध्ययन र व्याख्या साथै चौधौँ शताब्दीका राजा जयस्थिति मल्ल (ई.सं. १३८२ — १३९५)ले लेखाएको गोपालराजावंशावलीको आधारमा संवतविद तथा प्राचीन नेपालको इतिहासकार प्रा.डा. जगदीशचन्द्र रेग्मीको प्रस्थापना, किरात इतिहास तथा संस्कृतिविद् द्वय मञ्जुल याक्थुम्बा र दुर्गाहाङ याक्खा राईको तथ्यगत कसी लगाई, किरातजन्य संस्थाहरूको साथ सहयोग र भरथेगका साथै विश्वभर छरिएर रहेका विद्वान विदुषीहरूको तथ्यगत सम्मतिमा किरात येले संवतको कालगणना सन् २०११ मा ३७९० हुने भएको निष्कर्ष २७ डिसेम्बर २०१० मा किरात येले संवत् अध्ययन समन्वय समितिले किरात सवन्वय समिति (किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा) लाई बुझाएको ऐतिहासिक घटना यहाँ स्मरण गराउन चाहन्छौँ ।

श्रदेय प्रवुद्ध किरातजन !
किरात जनलोकमा प्रचलित किरात येले संवतलाई विस्तारित रूपमा स्थापित र संस्थागत गर्ने साथै सरकारी तहबाट मान्यता दिलाउनका लागि मुलुकको राष्ट्रप्रमुख तत्कालीन राष्ट्रपति डा. रामवरण यादव, कार्यपालिका प्रमुख तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, व्यवस्थापिका प्रमुख तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ साथै प्रमुख प्रतिपक्षी दलका तत्कालीन नेता पुष्पकमल दाहाल प्रचण्डलाई विश्वभरि छरिएर रहेका किरातहरूको प्रथम हाङ (राजा) यलम्बरको स्मारक संवतको रूपमा मानिआएको र किरात समाजको सांस्कृतिक ढुकढुकीका रूपमा रहेको ‘किरात येले संवत्’लाई राष्ट्रिय मान्यता प्रदान गर्न र प्रथम किरात राजा यलम्बरलाई राष्ट्रिय विभूति घोषणा गर्न मागपत्र बुझाई राज्यपक्षको ध्यानाकर्षण गरिएको पुनरस्मरण गर्नु गराउनु र सोही भावमा काम गर्नु गराउनु आज हामी सबैको परम कर्तव्य हुन आएको छ ।

यो कामको पहलकदमी जति चाँडो गर्न सकिन्छ उति नै चाँडो किरात जातिहरुको ऐतिहासिक पहिचानले वैधानिकता प्राप्त गर्नेछ । यस गहनतम कुरालाई गम्भीरतापूर्वक मनन गरी दिनुहुन्छ भन्ने आशाका साथ अन्तमा, विश्वभरको प्रमाणिक इतिहासको परम्परालाई ध्यानमा राख्दै कार्बन डेटिङबाट जिवाशेष र हाप्लो ग्रुपिङबाट जिन वा जैविक आयु पत्ता लगाउने वैज्ञानिक युगका हामीले तथ्यलाई मूल मन्त्र र आधार मान्दै हालसम्म प्राप्त ठोस प्रमाणहरूको आधारमा हाम्रो इतिहासको निरूपण गर्ने हामी किरात जातिहरूको एकमात्र बाटो भएकाले किरात येले संवतको नयाँ वर्ष ३७९८ को हार्दिक शुभकामना सहित किरात येले संवतको प्रामाणिक काल गणना ३७९५ (सन् २०१६) लाई व्यापक प्रचलनमा ल्याउन किरातजन्य सङ्घसंस्थाहरू साथै संसारभरिका किरातहरूलाई हार्दिक अपिल गर्दछौँ ।

प्रा. मोतीकला देवान
उपाध्यक्ष
यलम्बर फाउन्डेसन (किरातोलोजी सिरर्च सेन्टर)

नेपाल आदिवासी जनजाति महासंघको विज्ञप्ति –

नेपाल आदिवासी जनजाति महासंघको तर्फबाट
‘माघे सङ्क्रान्ति/माघे सकराती/मकर सङ्क्रान्ति/माघी/म्हिलाङे सोङ्ती/छार म्हेङ-२०७५ र किरात येले सम्वत्-३७९८ को शुभकामना

नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूको प्रतिनिधिमूलक संगठन नेपाल आदिवासी जनजाति महासंघको तर्फबाट ‘माघे सङ्क्रान्ति/माघे सकराती/मकर सङ्क्रान्ति/माघी/म्हिलाङे सोङ्ती/छार म्हेङ-२०७५ र किरात येले सम्वत्-३७९८’को उपलक्ष्यमा सम्पूर्ण नेपालीजन, समग्र देश र विश्व जगतको सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
राष्ट्रिय पर्व माघे सङ्क्रान्तिलाई प्रमुख ऐतिहासिक सांस्कृतिक रुपमा मनाउने मगर, थारु, छन्त्याल, कुमाल लगायतका सम्पूर्ण जातजातिहरू र किरात येले सम्वत्लाई मनाउने सम्पूर्ण किराती समुदायका बाबाआमा, दाजुभाइ तथा दिदिबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, धर्मनिरपेक्ष, समावेशी, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मूल मर्म र भावनाअनुरुप देशको बहुलता र विविधितायुक्त विशेषतालाई सैद्धान्तिक र व्यवहारिक रुपले आत्मसात गर्दै सबै वर्ण, धर्म, नश्ल, जातजातिका संस्कृति, चाडपर्व, धार्मिक रीतिरिवाजहरूलाई राज्य सरकारले सम्मान गर्नुपर्नेमा आदिवासी जनजातिको सभ्यता, इतिहास, पहिचान र स्वाभिमानसँग जोडिएका राष्ट्रिय पर्वहरूः माघे सङ्क्रान्ति/माघी, उधौली, उभौली, तमू ल्होसार, सोनाम ल्होसार, ग्याल्पो ल्होसार लगायतको नाममा दिइएको राष्ट्रिय बिदा खारेज गरेर वर्तमान राज्य सरकार एकल सांस्कृतिक जातिवादी रुपले अघि बढिरहेको प्रष्ट छ ।
०६२/६३ को राजनीतिक परिवर्तनपश्चात् आदिवासी जनजातिहरूले प्राप्त गरेको नेपालको राष्ट्रिय पर्वहरू यस सरकारले सार्बजनिक बिदा खारेजी गरेकोप्रति खेद प्रकट गर्दै उक्त राष्ट्रिय पर्वहरू यथावत कायम राख्न तथा पुनस्र्थापित गर्न नेपाल सरकारलाई यस माघे सङ्क्रान्तिको आगमनसँगै पुनः जोडदार आग्रह गर्दछौं ।
राष्ट्रिय पर्व ‘माघे सङ्क्रान्ति/माघे सकराती/मकर सङ्क्रान्ति/माघी/म्हिलाङे सोङ्ती/छार म्हेङ-२०७५ र किरात येले सम्वत्-३७९८’को सम्पूर्णमा पुनः हार्दिक शुभकामना ।

जय आदिवासी जनजाति ।

मितिः २०७५/०९/३०

…………..
जगतबहादुर बराम
(अध्यक्ष)

Leave a Reply

Your email address will not be published.