नेजा ग्रामीण पत्रकारिता पुरस्कार राईलाई

समाचार

श्याम राई
काठमाडौं– नेपाल अमेरिका पत्रकार संघले हरेक दुई वर्षमा प्रदान गर्दे आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार कुम्भराज राईलाई प्रदान गरेको छ । बिहिबार एक कार्यक्रमबीच राईलाई उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशी २ लाख २२ हजार २२ रुपैया २२ पैसा रहेको छ । सो पुरस्कार सभामुख कृष्ण बहादुर मोहराको आतिथ्यमा प्रदान गरिएको थियो।

राईले ओखलढुंगाका ग्रामीण भेगमा रहेका सामाजिक, सास्कृति र आर्थिक समस्याहरुमा कलम चलाउँदै आएकोले पुरस्कृत गरिएको नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष शुदिप पन्तले बताए । संघले २०१३ साल देखी नेपालमा रहेका पत्रकारहरुको सेवा गर्नकै लागि पुरस्कार प्रदान गरिदै आएको पन्तले जानकारी दिए । ‘अमेरिकाबाट नेपालका पत्रकारहरुलाई सहयोग गर्न सधै तत्पर छौँ ’ उनले भने । पत्रकारहरुको घाईते उपचारमा समेत सहयोग गर्दे आएको बताए ।

कार्यक्रममा सभामखु महराले भदौ १ गतेदेखि लागू भएको देवानी फौजदारी संहिता प्रेस स्वतन्त्रता प्रतिकूल रहेको विषय सरकारलाई जानकारी गराएको बताउनु भयो । उहाँले प्रेस स्वतन्त्रता प्रतिकूल हुने कानुन सरोकारवालसँगको छलफलबाट संशोधन गरिने बताउनु भयो ।

कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले हालै लागू भएको देवानी फौजदारी संहिताले प्रेस स्वतन्त्रतालाई कुण्ठित पर्ने भएकोले त्यसको संशोधन नभएसम्म महासंघले विरोधका कार्यक्रम यथावत राख्ने बताउनु भयो ।

महासंघका पूर्वसभापति हरिहर विरहीले पुरस्कृत पत्रकारलाई बधाई दिँदै ग्रामीण क्षेत्रमा रहेर पत्रकारितामा क्रियाशील रहनु नेपाली पत्रकारिताका लागि खुसीको कुरा रहेको धारणा राख्नुभयो । उहाँले प्रेस स्वतन्त्रता कसैले हरण गरेर हरण गर्न नसक्ने भन्दै सबैले त्यसलाई सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा महासंघका सल्लाहकार तथा पूर्वअध्यक्ष शिव गाँउलेले नेजाले स्थापनाको उदेश्यअनुसार नै नेपाली पत्रकारितामा योगदान गरिरहेको धारणा रख्नुभयो । उहाँले नेपालको पत्रकारितामा शासकको गुनगान गाउनेलाई मात्रै सहज रहेको भन्दै स्वस्थ्य आलोचना अझै पाच्य हुननसकेको धारणा राख्नुभयो ।

को हुन कुम्भ ?
कुम्भराज राईको जन्म वि.सं. २०४५ असार १ गते उदयपुर जिल्लाको कटारी नगरपालिका (गाविस–२) च्यागा गाउँमा भएको थियो । पुख्र्यौली– उबु–१ खचापु, ओखलढुंगा । आमा रत्नमाया र बुवा जंगबीर राईको सातभाइ छोरामध्ये छैटौं (अन्तरे) हुन् । उनी वाम्बुले राई मातृभाषी लेखक तथा पत्रकार हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर हासिल गरेका छन् । सानैदेखि कविता, निबन्ध, नाटक लेखनमा संलग्न उनी वाम्बुले भाषाको उत्कृष्ट कविता रचना गरेवापत ‘लिब्जु–भुम्जु पुरस्कार–२०६९’ प्राप्त गरेका थिए । उनी कान्तिपुर राष्ट्रिय दैनिकमा २०६५ सालदेखि ओखलढुंगा जिल्ला संवाददाता भएर हाल उपसम्पादकका रुपमा कार्यरत छ । उनले यसअघि कटारीबाट प्रकाशित वेग साप्ताहिक, ओखलढुंगाबाट प्रकाशित सार्वजनिक साप्ताहिकमा समेत काम गरिसकेका छन् । साथै, वाम्बुले राई मातृभाषाको पत्रिका ‘लिब्जु–भुम्जु’ त्रैमासिकको सह–सम्पादक भएर काम गरेका छन् । उनी नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाको सचिव र हाल पार्सद रहेका छन् । त्यसैगरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ओखलढुंगाका अध्यक्ष छन् । किरात राई पत्रकार संघ केन्द्रीय कार्यसमितिका उपाध्यक्ष छन् । ओखलढुंगा जिल्ला सदरमुकाम सिद्धिचरण नगरपालिका–४ गोरुमारेभन्ज्याङमा स्थायी बसोबास गर्दे आएको छ । पत्रकार राईले कान्तिपुर दैनिकको ओखलढुंगा र सोलुखुम्बु जिल्लाको संवाददाताको जिम्मेवारी निर्वाह गर्दैआएका छन् ।

Leave a Reply

Your email address will not be published.