व्याकुल माइलालाई कोरियामा नागरिक अभिनन्दन गरिदै

समाचार

गणेश वाम्बुले राई
काठमाडौं– राष्ट्रगानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई)लाई दक्षिण कोरियामा नागरिक अभिनन्दन गरिने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरिया र ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले निमन्त्रणा गरी सम्मान गर्न लागेको हो ।

कोरियाको राष्ट्रिय चाड सल्नालको अवसरमा यही जनवरी २५, २०२० का दिन राजधानी सउलमा एक समारोहबीच अभिनन्दन गरिने आयोजकले जनाएका छन् । दक्षिण कोरियामा कार्यरत नेपाली युवाहरुको विभिन्न संस्थाले समेत अभिनन्दन गर्ने ओखलढुंगा सेवा समाज दक्षिण कोरियाका अध्यक्ष श्रीराम तमुले जानकारी दिनु भएको छ ।

‘हामी नेपालीहरु विश्वको जुनसुकै कुनामा पुगे पनि आफ्नो देश, समाजलाई बिर्सिदैनौं भन्ने उदाहरण हो,’ दक्षिण कोरिया भ्रमणको पूर्वसन्ध्या माइलाले भन्नुभयो, ‘करिब ६० हजारको संख्यामा दक्षिण कोरियामा रहेका नेपाली युवाहरुले राष्ट्रलाई, नेपाली माटोलाई, लोकतान्त्रिक परिवर्तनका लागि लडेका योद्धाहरु र सहिदहरुप्रति गरेको सम्मानको रुपमा यस अभिनन्दनलाई लिएको छु । म सलनल चाडको अवसरमा दक्षिण कोरियामा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु र दक्षिण कोरियाली नागरिकप्रति अग्रीम शुभकामना व्यक्त गर्दछु ।’

जनआन्दोलन २०६२÷६२ पछि नेपाल सरकारले निर्माण गरेको राष्ट्रगान चयन कार्यदलले १२७२ रचनामध्ये व्याकुल माइलाद्वारा रचित ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली..’ राष्ट्रगान छनोट गरेको हो । राष्ट्रगानका रचयिता भएपछि माइलालाई देशका विभिन्न संघसंस्था र निकायले सम्मान प्रदान गरेका छन् । किरात राई यायोक्खा, बेलायतले सम्मानस्वरुप ‘सुनको कलम’बाट सम्मान प्रदान गरेको थियो । नेपाल सरकारले प्रवल जनसेवा श्री (२०६८), सुकीर्तिमय राष्ट्रदीप (२०७१) मान पदवीबाट विभूषित गरेको छ । त्यसैगरी हङकङ, सिक्किम, बेलायत, बहराइनलगायत विदेशी भूमिमा रहनु भएका नेपाली दाजुभाइ दिदीबहिनी संलग्न संघसंस्थाले सम्मान प्रदान गरेका छन् ।

वि.सं. २०२९ चैत २५ गते ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ हिलेपानी गाउँमा प्रदीपकुमार राईको जन्म भएको हो । २०४६ सालका एसएलसी परीक्षा उत्तीर्ण गर्नु भई उच्च शिक्षा हासिल गर्न काठमाडौं प्रवेश गर्नुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट आईएल र बिएल हासिल गर्नु भई अधिवक्ता पेशामा संलग्न हुनुभयो । त्यसपछि जनप्रशासनमा स्नातकोत्तर (एमपीए) र समाजशास्त्रमा स्नातकोत्तर हासिल गर्नुभयो । भाषा, साहित्य, संस्कृति अध्ययनमा रुचि राख्नु हुने माइला आफ्नो जन्मथलो हिलेपानी गाउँमा हरेक वर्ष बृहत् लोकसांस्कृतिक कार्यक्रम समेतको आयोजना गरी लोप हुँदै गएका स्थानीय लोकभाका, लोकनाचको संरक्षण तथा संवद्र्धनमा जुट्दै आउनु भएको छ । उहाँ अध्ययन अनुसन्धानको क्रममा संस्कृति विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) अध्ययनका लागि छनोट हुनु भएको छ ।

उहाँको शास्त्रीय, सुगम, लोकसांस्कृतिक भाकाका दर्जनौं गीतहरु संगीतवद्ध भई एलबमका रुपमा प्रकाशित छन् । उहाँले २०५९ सालमा ‘नेपाली गीतसंग्रह’ (दुईसय स्रष्टाका संयुक्त गीतिसंग्रह) सम्पादन गर्नुभएको छ । माइलाका प्रकाशित गीतिएल्बमहरू ‘यलम्बरकी छोरी’ (संयुक्त, सन् २००५), ‘उत्साह’ (सन् २००९), ‘छालभित्रको प्रतिबिम्ब’ (सन् २०११), ‘खोजी हेर देशको माटो’ (सन् २०१२), ‘डोबहरू’ (सन् २०१४), ‘आफ्नै भाव आफ्नै परिवेश’ (सन् २०१५) प्रकाशित छन् । ‘कोशी किनारका सुसेलीहरू’ (सन् २०२०) लोकसांस्कृतिक भाका संकलित छन् । यस एल्बममा माइलाले दुधकोशी र सुनकोशी आसपासमा रहेका विशेषगरी वाम्बुले राई समुदायमा लोपोन्मुख भाकाहरू संकलन, संगीत संयोजन गरी चर्चित गायक गायिकालाई स्वरवद्ध गराएका छन् ।

त्यसैगरी माइलाका वाम्बुले मातृभाषामा रचित गीतहरू ‘जोजनखो पौलो’ (२०६६) र ‘फुरी’ (२०६७) गीति एल्बममा समावेश छन् । वाम्बुले भाषाको कवितासंग्रह ‘बिउ–अक्षर’ (२०७५) प्रकाशित छ । त्यसैगरी २०५० सालदेखि प्रकाशन हुँदैआएको ‘लिब्जु–भुम्जु’ त्रिभाषीय त्रैमासिक पत्रिकामा निरन्तर संस्कृति विषयमा कलम चलाउँदै आउनु भएको छ । माइलाको ‘वाम्बुले राई भाषा कविताको समाजशास्त्रीय अध्ययन’ कृति नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशोन्मुख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *