फाल्गुनन्द मार्ग निमार्ण सम्पन्न गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

समाचार

लिभु संवाददाता
काठमाडौं – झापाको दमक–चिसापानी–रबि सडक (फाल्गुनन्द मार्ग) निमार्ण सम्पन्न गर्न थप बजेट माग गर्दै उपभोक्ता समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

२५ वर्षभन्दा लामो समयअघि देखि निर्माण सुरु भएको उक्त सडकमा थप बजेट माग गर्दै ज्ञापन पत्र बुझाएको हो । ०४९ सालबाट निर्माण सुरु गरिए पनि केही महिना अघि मात्र ट्रयाक खोलिएको थियो । तर, निर्माण सम्पन्न गर्न अmभै बजेट अपुग भएका सडक उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरी गगनले जानकारी दिनुभयो ।

उक्त सडकबारे प्रधानमन्त्री केपी शर्मा ओली परिचित हुनुहुन्छ । आफ्नै गृह नगर भएका कारण पनि ओलीले यस सडकलाई प्राथमिकतामा पर्ने विश्वास गरिएको छ । तीन वर्षअघि उहाँकै पहलमा फाल्गुनन्द मार्ग बहु वर्षे आयोजनामा परेको थियो । फेरि पनि सडक निर्माण सम्पन्न गर्न बजेट पाउने आशामा झापा, इलाम र पाँचथरका स्थानीयसँगै सडक निर्माण उपभोक्ता समितिले प्रानमन्त्री ओलीलाई मंगलबार सरकारी निवास बालुवाटार पुगेर भेट गरे । ज्ञापनपत्र बुझाउने टोलीमा कांग्रेस नेता भीष्मराज आङ्देम्बे, माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य सुरेन्द्रकुमार कार्की, प्रतिनिधिसभा सदस्य महेन्द्रा कुमारी सुब्बा, प्रदेश १ का प्रदेशसभा सदस्य झलकसिंह दर्लामी लगायत नेता रहनु भएको थियो ।

त्यस क्रममा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष पुरीले सडकलाई बाह्रै महिना सञ्चालन गर्न तत्काल एक अर्ब ७५ करोड आवश्यक रहेको प्रधानमन्त्री ओलीलाई जानकारी गराउनु भयो ।

‘दमकदेखि चिसापानीसम्म ट्रयाक ओपन गरिएको ३६ किलोमिटर क्षेत्रभित्र बाह्रैमास सवारी साधन सञ्चालन गर्न तत्काल पक्की ढल, बेस्ट वाल, ग्राभेलिङ, रिटेनिङ वाल जरुरी छ’, उहाँले भन्नुभयो,‘त्यसका लागि नेपाल सरकारका तर्फबाट चालु आर्थिक वर्षमा छुटाइएको बजेट अत्यन्त न्यून भयो। डिपिआर अनुसारको एक अर्ब ७५ करोड रकम तत्काल थप गरिदिन प्रधानमन्त्री समक्ष आग्रह गर्छौं ।’

प्रधानमन्त्री ओलीले ज्ञापनपत्र बुझ्दै उक्त सडकका बारेमा आफू जानकार भएकाले बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाउनु भयो । उहाँले यो सडक आफ्नो पुरानो सपना भएको बताउँदै सपना पूरा गरेरै छाड्ने उल्लेख गर्दै भन्नुभयो, ‘यो सडक मेरो पुरानो सपना हो। हामी सपना मात्र देख्दैनौँ पूरा पनि गर्छौँ । जादु्गरले जादु गरे जस्तै तत्काल त काम सकिँदैन। तर विस्तारै सकिन्छ ।’ विकासका लागि झापाका राजनीतिक दल एकजुट भएको भन्दै उनले खुसी व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.