वाम्बुले राई भाषा संरक्षणका केही उपायहरू

मातृभाषा
अविनाथ राई

१. पृष्ठभूमि
विश्व भाषाको सन्दर्भमा के अनुमान रहेको छ भने – विश्वका कुल जनसंख्या (सन् २०१९ को मार्च महिनासम्म करिब ७ अर्ब ६५ करोड जना) ले औसतमा ७ हजार भाषा बोल्दछन्; प्रत्येक दुई हप्तामा एउटा भाषा लोप हुने वा मर्ने गर्दछ, यो शताब्दीको अन्त्य (सन् २०९९) सम्ममा अहिले भएका भाषाको ५० प्रतिशत लोप हुनेछन् र अहिलेसम्म २ हजार भाषाहरू लोप भइसकेका छन् । यसलाई पुष्टि गर्दै संयुक्त राष्ट्रले अहिले बोलिने भाषाहरूमध्ये आधाका वक्ताहरू १० हजार भन्दा कम भएको र त्यसको पनि एक चौथाइ भाषाको वक्ता १ हजार भन्दा कम भएकोले ती भाषाहरू बचाउँने केही प्रयास नगरिएमा आउने सय वर्षमा धेरैजसो भाषाहरू लोप हुने अनुमान गरेको छ । भाषाहरूलाई मर्न वा लोप हुनबाट जोगाउँने प्रयासहरू सर्वत्र भइरहेका छन् ।

स्मरणीय छ, भाषाको सिलसिलामा सो भाषा÷मातृभाषा बोल्ने अन्तिम एकजना वक्ता समेत जीवित नभएमा सो भाषालाई मृत (Dead) र पछि सोको अस्तित्व नै विलुप्त भएर जानुलाई लोप (Extinct) भनिन्छ । तथापि मृत र लोपलाई सँगसँगै पनि प्रयोग गर्ने गरिएको देखिन्छ । त्यस्तै विविध कारणले भाषाका वक्ताहरू घट्ने स्थितिलाई पनि संकटग्रस्त (Endangered) वा लोपोन्मुख (Moribund) भनिन्छ । कुनै पनि भाषाको अस्तित्व वा जीवन्तताको स्थितिलाई विभिन्न वर्गमा वर्गीकरण गरेको पाइन्छ । त्यस्तै कुनै पनि भाषा संकटापन्न वा संकटग्रस्त छ÷छैन भनेर मापन गर्ने विधिहरू पनि विभिन्न विद्वानहरूले प्रतिपादन गरेका छन्; सोमध्ये जोसुवा फिसम्यानले सन् १९९१ मा प्रस्ताव गर्नु भएको श्रेणीकृत पुस्तान्तरण विघटन मापक्रम (Graded Intergenerational Disruption Scale) पनि एक हो । (Fishman, Joshua. 1991. Reversing Language Shift. Clevendon: Multilingual Matters.)

यसको आधारमा लेविस र साइमन्सले विस्तार र परिमार्जन गरेका विस्तारित श्रेणीकृत पुस्तान्तरण विघटन मापक्रम (Expanded Graded Intergenerational Disruption Scale :EGIDS)[1][1] Lewis, M. Paul; Simons, Gary F. (2010). “Assessing Endangerment: Expanding Fishman’s GIDS” (PDF). Romanian Review of Linguistics. 55 (2): 103–120.प्रयोगमा रहेको देखिन्छ । यही पद्धतिलाई प्रयोग गरेर नेपालका भाषाहरूको जीवन्तताको स्थिति समेत विश्लेषण गरिएको पाइन्छ । विश्लेषणको उद्देश्य एउटै भएता पनि जीवन्तताको स्तरको वर्गीकरण भने फरक–फरक रूपमा गरिएको पाइन्छ ।

उदाहरणको लागि भाषाविद् माइकल क्राउसले ३ (तीन) स्तरमा वर्गीकरण गरेका छन् – सुरक्षित (Safe ः सयवर्षसम्म बालबालिकाले बोलेमा), संकटापन्न वा संकटग्रस्त (Endangered ः सयवर्षसम्म बालबालिकाले नबोलेमा) र मृतप्रायः वा लोपोन्मुख (Moribund ः बालबालिकाले अहिले नै आफ्नो भाषा नबोलेमा) ।[1] Krauss, M., 1992, “The world’s languages in crisis”, Language)

त्यस्तै फिसम्यानले ८ (आठ) तहको वर्गीकरण प्रस्ताव गरेका थिए भने विस्तारित श्रेणीकृत पुस्तान्तरण विघटन मापक्रमले भने ० (शून्य) र दुई वटा सहायक लगायत जम्मा १३ (तेह्र) वटा वर्गीकरण (अर्थात्, अन्तर्राष्ट्रियदेखि लोपसम्म) प्रयोग गरेको छ । युनेस्को (संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन)ले भने तपसिल बमोजिम ६ (छ) वर्गमा विभाजन गरेको छ ।[1] Moseley, Christopher (ed.). 2010. Atlas of the World’s Languages in Danger, 3rd edn. Paris, UNESCO Publishing. Online version.

भाषाको संरक्षण, विकास र संवद्र्धनमा चासो राख्नेहरूले विश्व भाषा, भाषाको जीवन्तताको स्थिति र भाषा सम्बन्धी पारिभाषिक शब्दावलीहरूबारे सामान्य जानकारी राख्न उपयुक्त नै हुने सन्दर्भमा यी चर्चा तथा परिचर्चा गरिएका हुन् ।

तालिकाः १ युनेस्कोको भाषिक जीवन्तता तालिका
क्र.सं. भाषिक जीवन्तताको स्थिति अन्तर–पुस्ता भाषिक हस्तान्तरण (पुस्तान्तरण)
१ सुरक्षित (Safe) – सबै पुस्ताले आफ्ना भाषा बोल्दछन्, निर्वाधरूपले अन्तर–पुस्ता भाषिक हस्तान्तरण हुन्छ
२ संवेदनशील (Vulnerable) – धेरै बालबालिकाले आफ्ना भाषा बोल्दछन्, तर कुनै निश्चित ठाउँमा मात्र (जस्तैः घरमा)
३ निश्चित रूपमा संकटग्रस्त (Definitely Endangered) – बालबालिकाले घरमा आफ्नो मातृभाषा सिक्न छोड्छन्
४ अत्यन्त संकटग्रस्त (Severely Endangered) – बाजेबजू र पुराना पुस्ताहरूमा बोलिन्छन्, आमाबा पुस्ताले बुझेका पनि हुन सक्दछन्, बालबालिकाहरूसँग वा आपूmहरू बीच बोल्दैनन्
५ नाजुक रूपमा संकटग्रस्त (Critically Endangered) – भाषाका युवा वक्ताहरू भनेको नै बाजेबजू र उनीहरूभन्दा पुरानो पुस्ता हुन्, र उनीहरू पनि आंशिक वा कहिलेकहीँ मात्र बोल्दछन्
६ लोप (Extinct) – भाषाका वक्ताहरू नै हुँदैनन् ।

माथिको तालिकाको क्र.सं. १ ले अत्यन्त राम्रो र क्र.सं. ६ ले अत्यन्त नराम्रो स्थिति जनाउँछ । कुनै पनि भाषा यहीँ क्रमको स्थितिबाट गुज्रिदै अन्तमा मृत वा लोप हुन सक्दछ । वाम्बुले राईहरू र वाम्बुले राई भाषाका सम्बन्धमा कलम चलाउँने गैर–वाम्बुले विद्वानहरूले उपर्युक्त युनेस्कोको तालिकाको आधारमा वाम्बुले राई भाषाको भाषिक जीवन्तता स्थिति कुन स्तर (कति नम्बर)मा छ भनेर छलफल गर्ने बेला भएको छ ।

२०६८ माघ २७ र २८ गते खोटाङको जयरामघाटस्थित श्री दुधकोशी निमावि प्राँगणमा आयोजित वाम्बुले राई मातृभाषी शिक्षकहरुको कार्यशाला गोष्ठीमा सहभागीहरु तथा प्रमुख अतिथि पूर्वसांसद लघुधन राई (स्व.)।

२. वाम्बुले राई भाषाको भाषिक जीवन्तता स्थिति
२.१ वर्तमान अवस्थामा वाम्बुले भाषाको स्थिति ‘सुरक्षित’
स्मरणीय छ, राष्ट्रिय भाषा नीति सुझाव आयोगको प्रतिवेदन, २०५० ले वाम्बुले भाषालाई लेख्य परम्परा नभएको भाषाको रूपमा उल्लेख गरेको थियो; जसलाई प्राविधिकरूपमा लोपोन्मुख वा माथिको तालिकाअनुसार सुरक्षित र लोपको बीचको कुनैपनि स्थिति अन्तर्गत पर्दछ । वि.सं. २०५० सालदेखि वाम्बुले भाषा प्रधान पत्रिका ‘लिब्जु–भुम्जु’ को प्रकाशन भएपछि वाम्बुले भाषा विधिवत रूपमा लेख्य परम्परा उन्मुख भयो । यसले धेरै मातृभाषी स्रष्टाहरू जन्मायो – जन्माउँदै छ पनि किनभने ‘इक लिब्जु–भुम्जु’ को नामबाट अद्यापि प्रकाशित छ । वि.सं. २०५७ मा भाषा विज्ञानमा आधारित वाम्बुले शब्दकोश निर्माण भयो । वाम्बुले भाषामा विविध विधामा धेरै किताबहरू प्रकाशन भएका÷हुँदै छन् । यसरी वाम्बुले राई भाषा लेख्य परम्परा भएको भाषाको रूपमा विकसित भयो वा हुँदैछ । ‘अबचाहिँ वाम्बुले भाषा मर्दैन’ भनेर धेरै भाषाशास्त्रीहरूले भनि रहनु पनि भएको छ । अन्य शुभेच्छुक मित्रहरू वा सम्बद्ध संस्थाहरूको मूल्यांकन पनि सकरात्मक नै छन् ।

प्रा.डा. दानराज रेग्मीद्वारा विस्तारित श्रेणीकृत पुस्तान्तरण विघटन मापक्रम (Expanded Graded Intergenerational Disruption Scale :EGIDS) बमोजिम नेपालका भाषाहरूको जीवन्तताको स्थिति सम्बन्धमा गरिएको विश्लेषणमा वाम्बुले भाषाको स्तरमा ‘६(क) प्रबल (Vigorous)’, परिभाषा वा व्याख्यामा, ‘मौखिक रूपमा सबै उमेर समूहका व्यक्तिले प्रयोग गर्ने र समुदायका बालबालिकाले पहिलो भाषाका रूपमा सिक्ने भाषा’ र कैफियतमा ‘सुरक्षित’ उल्लेख गरिएको छ । (रेग्मी, प्रा.डा. दानराज, नेपालमा भाषाहरुको स्थिति र भाषिक सर्वेक्षण ः समीक्षात्मक विश्लेषण । परिशिष्ट २ः नेपालका भाषाहरुको जीवन्तताको स्थिति । पृष्ठ ३२ । इन्टरनेटबाट साभार ।)

बेलायती कूटनीतिज्ञ तथा मानवशास्त्री ब्राइन हुटन हज्सन (Brian Houghton Hodgson) बाट सन् १८५७ मा अध्ययन भई सन् १८८० मा प्रकाशित पुस्तक (Miscellaneous Essay Relating to Indian Subjects – Vol. I) को एक परिच्छेद (Vocabulary of the Kiranti Language) मा ‘चौरासे’ राईको नामबाट प्रस्तुत गरिएका शब्दहरू नै वाम्बुले भाषाका सबभन्दा पहिले अभिलेखीकरण र प्रकाशन गरिएका शब्दहरू हुन् । करिब डेढ सय वर्षको अन्तरालसम्म पनि त्यहाँ उल्लिखित प्रायः सबै शब्दहरू अद्यापि प्रयोगमा रहेका सन्दर्भमा वाम्बुले राईहरूमा अन्तर–पुस्ता भाषिक हस्तान्तरण (Intergenerational Language Transmission) प्रक्रियाको स्तर राम्रो रहेको छ भन्न सकिन्छ ।

२.२ भविष्यमा वाम्बुले भाषाको स्थिति खस्किने सम्भावना
कुनै पनि भाषा प्रबल, सबल वा सुरक्षित हुने पूर्व शर्त नै भाषिक समुदायले आफ्नोे भाषा बोल्नु र सो भाषालाई भावी पुस्तालाई सकुशल हस्तान्तरण गर्नु हो । विगतमा यो प्रक्रिया निर्वाध रूपमा भइरहेको देखिएता पनि यसले निरन्तरता पाउँने कुरामा आशंका गर्न सकिन्छ । किनभने विभिन्न कारणले त्यो जमाना र यो जमानामा आकास–पातालको फरक आएको छ । त्यसका केही उदाहरणहरू तलको तालिकामा प्रस्तुत गरिएका छन् ।

तालिकाः २ उहिले र अहिलेको जमानाको तुलनाः भाषा पुस्तान्तरणको सन्दर्भमा
क्र.सं. विषय उहिले अहिले
१ वाम्बुले भाषाको प्रयोग – उहिले वाम्बुले बस्तीका सीमित वाम्बुलेहरू (पुरुषहरू)ले मात्र नेपाली भाषा बुझ्दथे/ बोल्दथे । घरमा बोलीचालीको माध्यम वाम्बुले हुन्थ्यो । सबै वाम्बुले आमाहरूले आफ्ना बच्चाहरूलाई वाम्बुले भाषा मात्र सिकाउँथे । अहिले सबै वाम्बुलेहरूलाई राम्ररी नेपाली भाषा बुझ्दछन्÷बोल्न आउँछ । धेरै वाम्बुलेहरू मूल बस्ती भन्दा बाहिर पनि छन् । उनीहरूको घरको बोलीचालीको माध्यम वाम्बुले, नेपाली वा दुवैको मिश्रण भएको छ । वाम्बुले आमाहरूले आफ्ना बच्चाहरूलाई वाम्बुले भाषा नसिकाउँन पनि सक्दछन् वा नसिकाइरहेको अवस्था पनि छ ।
२ अन्तर–राई/जातीय विवाह – उहिले अन्तर–जातीय विवाह छँदै थिएन भन्दा पनि हुन्छ । अन्तर–राई विवाह पनि वाम्बुले भाषा जान्ने छिमेकीसँग यदाकदा हुने गर्दथ्यो । यसले भाषिक पुस्तान्तरणमा कुनै असर पार्दैनथ्यो । अहिले अन्तर–राई/जातीय विवाह सामान्य भएको छ । यसले भाषिक पुस्तान्तरणमा उल्लेख्य प्रभाव पारेको छ ।
३ शिक्षा आर्जन र माध्यम – उहिले शिक्षा आर्जनको लागि आफ्नो गाउँघरभन्दा बाहिर जाने चलन थिएन । अहिले उच्च शिक्षाको लागि गाउँघर छोडेर अन्यत्र जाने प्रचलन बढेको छ । बोलीचालीको भाषा (साझा भाषा) र शिक्षाको माध्यम अन्य (नेपाली र अंग्रेजी) भएकाले वाम्बुले बालबालिकाहरू आफ्नो मातृभाषाबाट क्रमशः टाढिंदै गएको अवस्था छ ।
४ रोजगार र अवसरको खोजीमा बसाइँ–सराइ – उहिले लाहुर, आफ्नै वा छिमेकी देशमा काम गर्न जाने र पछि फर्केर आउँने चलन थियो । अहिले अर्थ र अवसरको खोजीमा आफ्नै देश वा विदेश जाने चलन बढेको छ । अर्थोपार्जनको क्रममा वा सोपश्चात् देशका मुख्य शहर÷बजारहरू वा विदेश (जस्तै बेलायत) मा बस्ने प्रचलन पनि बढेको छ ।
५ प्रतिभा पलायन –अहिले उच्च शिक्षा हासिल गरेपछि कतिपय वाम्बुले प्रतिभाहरू गाउँघर नफर्कने समस्या पनि देखिएको छ ।
६ अवसरको लागि अन्य भाषा – अहिले केही गर्नलाई केही बन्नलाई विदेश त विदेश नै भयो स्वदेशमा पनि नेपालीको अतिरिक्त अंग्रेजी भाषाको ज्ञान र सीप अनिवार्य भएको सन्दर्भमा वाम्बुले लगायत अन्य भाषाहरू संरक्षणमा थप चुनौती थपिएको छ ।

माथि तालिकामा उल्लेख गरिएका बुँदाहरू केही उदाहरण मात्र हुन् जसले वाम्बुले भाषाको अस्तित्वमा संकट थपेका छन् । यीभन्दा बाहेक अरू पनि धेरै कारणहरू हुन छन् – ‘हाम्रा राष्ट्रिय नीति, भाषिक नीति, शैक्षिक नीति, सामाजिक संरचना, ज्ञान तथा चेतना स्तर, आर्थिक स्थिति, वैवाहिक सम्बन्ध, आधुनिकीकरण, बसाइँसराइ÷वैदेशिक रोजगार, सोचाइमा परिवर्तन, सामूहिक वा ऐक्यवद्ध भावनाको न्यूनता, प्रयास र प्रतिबद्धतामा कमी, उदासिनता आदि विभिन्न कारणले मातृभाषीहरूको संख्या एकातिर घट्ने क्रम बढिरहेको छ भने अर्कोतिर हाम्रा मातृभाषाहरू संकटग्रस्तबाट लोपोेन्मुखमा जाने क्रम बढिरहेको छ ।’ (राई, अविनाथ, जनगणनामा राई मातृभाषाहरु ः एक समीक्षा । निप्सुङ वर्ष–१०, पूर्णांक–१८, भदौ–२०६० । किराया, केन्द्रीय कार्य समिति, काठमाडौं ।)

वाम्बुले राई (सायद अन्य मातृभाषीहरूको सन्दर्भमा पनि लागू हुन सक्छ) शिक्षाको लागि मूल थातथलो छोडेर बाहिर जानु, उतै जागिर खानु र अन्तर–राई वा अन्तर्जातीय विवाह गर्नुले पनि भाषिक पुस्तान्तरणमा गम्भीर समस्या पैदा गरेको देखिन्छ । उदाहरणको लागि म मेरै परिवारबाट शुरू गर्दछु – मैले बान्तवा राईकी चेली बिहे गरेको हुँ, र मेरा भतिजाहरू गणेश (वाम्बुले भाषा–साहित्यका सशक्त अभियन्ता)ले लुङ्खिम राईकी चेली तथा प्रदीप (व्याकुल माइला)ले पुमा राईकी चेली बिहे गरेका हुन् । हामी तीनै जना वाम्बुले भाषा उन्नयनको शुरूवाती चरणदेखि नै सक्रिय रूपमा संलग्न हुँदै सहकार्य गर्दै आएका छौं । तर मेरा छोरा र छोरी, मेरो नाति (गणेशको छोरा) र मेरी नातिनी (प्रदीपकी छोरी)ले वाम्बुले भाषा बुझ्दैनन्बो/ल्दैनन् किनभने उनीहरूका आमाहरू गैर–वाम्बुले राईका चेलीहरू हुन् ।

मातृभाषा भनेको आमाको काखमा बसेर सिकिने भाषा हो; जुन् उनीहरूका आमाहरूलाई वाम्बुले राई मातृभाषाको बारेमा यथेष्ट ज्ञान छैन । त्यस्तै, वाम्रास, केन्द्रीय कार्य समितिका वर्तमान अध्यक्ष भान्जा गजुरधन राईले पनि याक्खा (कुनै बेला राई नै भनिन्थ्यो)की चेली र वाम्बुले साहित्यको श्रीवृद्धिमा टेवा पुगोस् भनेर ‘लिब्जु–भुम्जु पुरस्कार’ संस्थापन गर्ने कवि÷वरिष्ठ पत्रकार भतिजा पुष्पहरि क्याम्पाराईले अन्तर्जातीय बिहे गर्नु भएकोले उहाँहरूको बारेमा पनि केही लेखिरहन परेन । यी केही प्रतिनिधि उदाहरणहरू मात्र हुन् । यस्ता उदाहरणहरू धेरै छन् । हाम्रो मात्र होइन कतिपय स्वजातीय (वाम्बुले) नै बिहे गर्नेहरूको प्रकरणमा पनि प्रभावकारी तवरमा भाषिक हस्तान्तरण नभइरहेको अवस्था पनि रहेका पाइन्छन् । नेपालमा बस्नेका छोराछोरीहरूको भाषिक हालत त यस्ता छन् भने बेलायत वा अन्य देशमा बस्ने इष्टमित्रहरूहरूको छोराछोरीको बारेमा कुरा ग¥यो भने कुरैको दुःख हुन्छ जस्तो लाग्छ । माथि उल्लेख गरिएभैंm घरमा वाम्बुले भाषाको (अ)प्रयोग, मूल बस्तीहरू छोडेर जाने बढ्दो क्रम, फर्किएर नआउँने प्रवृत्तिहरू, वैवाहिक सम्बन्ध आदि जस्ता प्रसंगहरूले वाम्बुले मातृभाषा असजिलो बाटोबाट गुज्रिरहेको र भविष्यमा वाम्बुले भाषाको अहिलेको स्थिति खस्किने सम्भावनालाई स्पष्ट रूपमा इंगित गरेको छ ।


३. वाम्बुले राई भाषा संरक्षणका उपायहरू
भाषिक दृष्टिकोणबाट वाम्बुले मातृभाषाको वर्तमान स्थिति सबल र सुदृढ देखिएता पनि माथि उल्लेख गरिएका विभिन्न कारणहरूले यसमा पर्न सक्ने प्रतिकूल प्रभावबाट जोगाउँन विभिन्न कष्टप्रद बाटाहरू हिँड्नु पर्ने देखिन्छ । कथंकदाचित हाम्रो भाषा म¥यो वा लोप भयो भने हाम्रो इतिहास, हाम्रो संस्कृति र हाम्रो पहिचान (अस्तित्व) पनि मर्नेछ । यसको जिम्मेवारी हामी सबै वाम्बुलेले दामासाहीको हिसाबले लिनु पर्नेछ किनभने यो सामाजिक सम्पत्तिको संरक्षक, पालक, प्रयोगकर्ता र बराबर हकवाला हामी वाम्बुले राई नै हौं अरू होइनन् । यदि यो म¥यो भने कि उल्टो (लान्ठो) कि सुल्टो (सिन्ठो) तरिकाले संस्कार गर्ने भन्ने कुुरा मात्र बाँकी रहन्छ किनभने पुनर्जीवन दिन प्रायः असम्भव हुन्छ । यदि दिइ हालेमा पनि त्यसका वक्ताहरू हुँदैनन् – वक्ताविनाको भाषाको अर्थ पनि रहँदैन । वर्तमान स्थितिको अध्ययन–विश्लेषणको पृष्ठभूमिमा भोलिको सम्भावित (भयावह) परिदृश्यको परिकल्पना गरिएको हो । बेला बितेको छैन, तर बेलैमा यथोचित उपायहरू नअपनाएमा अहिलेको परिकल्पना यथार्थमा अनुवाद नहोला भन्न सकिन्न ।
प्रस्तुत पृष्ठभूमिमा व्यक्तिगत, पारिवारिक र सामूहिक/संस्थागत स्तरमा कसरी आफ्नो मातृभाषा लगायत संस्कार र संस्कृतिको संरक्षण गर्न सकिन्छ भन्ने सम्बन्धमा तपसिल बमोजिम बुँदागत उपायहरू प्रस्तुत गर्ने जमर्को गरेको छु ।

३.१ व्यक्तिगत स्तरमा
व्यक्तिले वाम्बुले कुलमा जन्मेको सामान्य व्यक्तिलाई जनाउँदछ । यसले विशेष प्रतिभा भएको जस्तै भाषाविद्, साहित्यकार, पत्रकार, लेखक, संस्कृतिविद्, शिक्षक÷शिक्षिका, कलाकार (गायक, वाद्यवादक÷संगीतकार, नृत्यकर्मी, मोडल समेत), धामी, नाक्सो–ङाबुचो, प्रशासक आदिलाई समेत जनाउँदछ । प्रत्येक व्यक्तिमा तपसिलमा उल्लिखित ३ (तीन) किसिमका भावना हुन आवश्यक देखिन्छः
♣ गौरवको अनुभूति – कुन जाति वा वंशमा जन्मिने आफ्नो हातमा हुँदैन । तर जुन वंशमा जन्मिएको हो त्यो जन्माइमा गर्व गर्ने आफ्नो हातमा हुन्छ । त्यसैले वाम्बुले वंशमा जन्मेकोमा गर्व गरौं – वाम्बुले हुनुमा गर्व गरौं ।

♣ चासो, चिन्ता र माया – वाम्बुले हुनुमा गर्व गर्दै वाम्बुले भाषा, संस्कार र संस्कृतिको सम्बन्धमा सँधै चासो र चिन्ता गर्दै माया गरौं ।

♣ अठोट – वाम्बुले भाषा, संस्कार र संस्कृतिको संरक्षण, विकास र संवद्र्धनको लागि व्यक्तिगत हैसियतमा केही गर्ने अठोट गरौं । यसमा भौतिक योगदानको साथै भावनात्मक योगदान (जस्तै – हौसला, मार्गदर्शन, रचनात्मक पृष्ठपोषण, धन्यवाद ज्ञापन, आभार व्यक्त आदि) पनि पर्दछन् ।

३.२ पारिवारिक स्तरमा
व्यक्तिको पहिलो विद्यालय भनेको नै घर हो र शिक्षक–शिक्षिका तथा सहपाठीहरू भनेको परिवारका सदस्यहरू हुन् । शैशवकालमा सिकिएका÷सिकाइएका कुराहरू आजन्म याद हुने हुनाले मातृभाषाको सन्दर्भमा पारिवारिक स्तरमा तपसिल बमोजिमको बरव्यवहार हुनपर्ने देखिन्छः
♣ घरपरिवारमा मातृभाषा (वाम्बुले) मा बोल्ने
♣ बालबालिकासँग मातृभाषामा संवाद गर्ने
♣ बालबालिकालाई मातृभाषा बोल्न र लेख्न प्रोत्साहित गर्ने
♣ वाम्बुले भाषा (वाम्बुले योर) नजान्ने बुहारीहरूलाई आफ्नो भाषा सिकाउँने
♣ बोलीचालीमा शिष्ट र आदरार्थी शब्दहरू प्रयोग गर्ने
♣ संस्कारजन्य कार्यहरू (खाउमो, न्वांगी, कुनाकाप्चाका देवीदेउताहरूको धूपधँुवार, चिन्ता, बाहिरका देवीदेउताहरूको पूजाआजा, सामूहिक पूजाआजा, बिहेबटुलो, होम, धूपबाती आदि) मा बालबालिकालाई पनि यथोचित सहभागी गराउँने ।

३.२ सामुदायिक वा संस्थागत स्तरमा
व्यक्ति–व्यक्ति मिलेर कुनै निश्चित सामूहिक उद्देश्य हासिल गर्न संगठन गरिएको संस्थापन नै समुदाय वा संस्था हो । वाम्बुले राईको सन्दर्भमा वाम्बुले राई समाज, नेपाल (वाम्रास), केन्द्रीय कार्य समिति र सो अन्तर्गत वाम्रास, जिल्ला कार्य समितिहरू (विदेशमा समेत), वाम्बुले राई शिक्षक संगठन (वाराशिस) र वाम्बुले राई युथ स्पोर्टस क्लब स्थापना भएका छन् । साथै, वाम्बुले (राई) साहित्य प्रकाशनले पनि वाम्बुले भाषाको एक मात्र पत्रिका ‘लिब्जु–भुम्जु’ लामो समयसम्म प्रकाशित गरेको छ । यी संस्थागत पहलहरूले वाम्बुले वाङ्मयको फाँटमा विभिन्न हैसियत र क्षमतामा उल्लेखनीय योगदान पु¥याउँदै आएका छन् । यस योगदानको लागि आभार व्यक्त गर्दै यसको निरन्तरताको साथै थप व्यापकताको पनि अपेक्षा गरिएको छ ।

गाउँघर छोडेर जानेहरूको आफ्नो भाषा, संस्कार र संस्कृति प्रति अगाध माया छ । केही गरौं भन्ने भावना पनि छ । तर, परिस्थितिजन्य प्रतिकूलताहरूले गर्दा आफ्ना सोच र भावनालाई कार्यमा अनुवाद गर्न सकिरहेका छैनन् – मौलिक संस्कारजन्य कुराहरू पालना गर्ने कुरा त परै छाडौं आफ्नै बालबालिकालाई आफ्नो मातृभाषा हस्तान्तरण गर्न नसकेको पीडा सहेर बस्नु परेको अवस्था छ । एकातिर आप्रवासनमा रहेका बालबालिकाहरूको संख्या धेरै भएको अर्कोतिर मूल थातथलोका बालबालिकाहरू पनि शिक्षालाई पछ्याउँने क्रममा आफ्ना मातृभाषाबाट टाढिदै गएका वा जाने क्रममा रहेका देखिन्छन् । यो हाम्रो मातृभाषाको लागि भयंकर ठूलो चुनौती हो किनभने भाषा सुरक्षित हुनको लागि निर्वाधरूपमा अन्तर–पुस्ता भाषा हस्तान्तरण हुनु पर्दछ । तथापि, खुसीको कुरा के हो भने हाम्रा मूल थातथलोका वाम्बुले बस्तीहरूका वाम्बुलेहरू अझ पनि आफ्नो मातृभाषाबाट मात्र संवाद गर्दछन् र आफ्ना बालबालिकालाई आफ्नै भाषा हस्तान्तरण गर्दैछन् । यसले अझ निकै वर्षसम्म हाम्रो भाषा अस्तित्वमा रहन्छ भन्ने प्रत्याभूति गराउँदछ । यद्यपि, भाषा हस्तान्तरण गरिएका बालबालिका बाहिर जाने र फर्किएर नआउँने सम्भावनाको चुनौती भने यथावत नै रहेको छ ।

२०६८ माघ २७ र २८ गते खोटाङको जयरामघाटस्थित श्री दुधकोशी निमावि प्राँगणमा आयोजित वाम्बुले राई मातृभाषी शिक्षकहरुको कार्यशाला गोष्ठीमा सहभागीहरु।

आफ्नो भाषा, संस्कार र संस्कृति संरक्षणको लागि वाम्रासका कार्य समितिहरू अझ विस्तार हुनुको साथै यस कार्यको लागि गाउँँगाउँ वा टोलटोलमा वाम्बुले युवा समूह पनि संगठित हुनुपर्ने देखिन्छ । साथै, स्थानीय सरकार÷जनप्रतिनिधिहरू, चेतनशील वर्गहरू लगायत वाम्बुले भएकोमा गर्व गर्नेहरूको पहल र सहयोग पनि उत्तिकै महत्वपूर्ण र अपेक्षित रहेको छ । मूल वाम्बुले बस्तीहरूलाई लक्षित गरेर कार्यक्रमहरू संचालन गरिनु पर्दछ; जुन हुँदै आएको पनि छ – प्रशंसनीय छ । त्यसो भन्दैमा शहरबजारलाई बिर्सन हुँदैन किनभने त्यतातिर पनि धेरै वाम्बुले बालबालिका र तिनका अभिभावकहरू बसोबास गर्दछन् । वाम्बुले भाषा संरक्षण, विकास र संवद्र्धनको लागि तपसिल बमोजिम संस्थागत पहलहरू गर्न उपयुक्त देखिन्छः

वाम्बुले भाषा बोलाइ
३.२.१ घरपरिवारमा बोलचाल गर्न आफ्नो मातृभाषा मात्र प्रयोग गर्न प्रोत्साहित गर्ने
३.२.२ वाम्बुले–वाम्बुले बीच बोलचाल गर्दा आफ्नो वाम्बुले भाषा मात्र प्रयोग गर्न प्रोत्साहित गर्ने (शुरूमा भेट्दा ‘जिउ बाम’ को अभिवादन, अनि ‘ड्अुसास् बानुम/बाङ्चिम/बानिम ?’, आभार व्यक्त गर्दा ‘हौवा बाम’, छुट्टिने बेला ‘द्वाइ दुमिङ्चि/दुम्कि ?’ आदिको प्रयोगले वाम्बुले संवादमा सहजता ल्याउँन सक्छ) ।
३.२.३ बोल्दा होस् वा लेख्दा सकभर ठेट (अरू भाषा नमिसिएको) वाम्बुले शब्दहरू प्रयोग गर्नु पर्दछ । यदि ठेट शब्द नभेटिएमा नजिकको र सोपनि नभेटिएमा मात्र अर्को भाषाको शब्द प्रयोग गर्नु पर्दछ । कुनै नितान्त नयाँ शब्द प्रयोग गर्नुपर्ने र सोको लागि संस्थागत निर्णय आवश्यक भएमा सो पनि गर्नु पर्दछ ।
३.२.४ वाम्बुले सम्बन्धी आयोजना हुने कार्यक्रमहरूमा वाम्बुले भाषा प्रयोगमा जोड दिनु पर्दछ । यसले संचालन (उद्घोषण) देखि मन्तव्य प्रस्तुतीकरण र समापनसम्म कै प्रक्रिया जनाउँछ ।
३.२.५ वाम्बुले युवा तथा बालबालिकालाई वाम्बुले भाषाबाट कसरी उद्घोषण र प्रस्तुतीकरण गर्ने सम्बन्धमा अभिमूखीकरण तालिम प्रदान गर्नपर्ने देखिन्छ ।
शिक्षा तथा चेतनामूलक कार्यक्रमहरू
३.२.६ वाम्बुले भाषाको परिचय, महत्व र उपादेयता सम्बन्धमा जनचेतना र अपनत्व अभिवृद्धि गर्न वाम्बुले बस्तीहरूमा व्यापक प्रचारप्रसार गर्ने (माध्यमहरू – पर्चा (पम्फ्लेट), पुस्तिका (ब्रोचर), पत्रिका, स्थानीय एफ.एम. रेडियो, पत्रिका आदि) ।
३.२.७ मूल वाम्बुले बस्तीहरूलाई लक्षित गर्दै वाम्बुले भाषाको परिचय, महत्व र उपादेयता सम्बन्धी चेतना अभिवृद्धि कर्यक्रमहरू संचालन गर्ने ।
३.२.८ वाम्बुले भाषा सम्बन्धी तालिम, गोष्ठी र कार्यशालाहरू आयोजना गर्ने ।
३.२.९ स्थानीय स्तरमा वाम्बुले कविता, कथा, निबन्ध, वक्तृत्व कला र हाजिरी जवाफ कार्यक्रमहरू संचालन गर्ने ।
३.२.१० वाम्बुले भाषामा अनौपचारिक शिक्षा (प्रौढ कक्षा) संचालन गर्ने ।
३.२.११ वाम्बुले भाषामा शुरूमा प्राथमिक तहको औपचारिक शिक्षा संचालन गर्ने । यसलाई क्रमशः स्तरोन्नति गर्दै माध्यमिक तहसम्म पु¥याउँने ।
३.२.१२ स्थानीय स्तरमा वाम्बुले भाषामा नियमित रूपमा पत्रिका प्रकाशित गर्ने ।
स्थानीय स्तरमा संकलन तथा लेखन गर्नुपर्ने विषयवस्तुहरू
३.२.१३ वाम्बुले लोककथाहरू
३.२.१४ वाम्बुले मिथक र मान्यताहरू (उदा. – मि हुरवाँ पाहुना ब्लाम्मे, करैल्वा हेपा जाइवाँ खुच्च्याम बेबा ज्वालिम्मे आदि)
३.२.१५ वाम्बुले उखान र उखानटुक्काहरू (उदा. – राका पाइङ् आका दुम्मे, हेपा ना खाम्सि ला या आलुम्सि आदि)
३.२.१६ वाम्बुले बस्तीका नामहरू (उदा. – खान्दुङ, खुलुमो, प्वाक्वाङ्चेप, ब्रासिब, ब्आन्चिका, ब्आलेम आदि) ।
३.२.१७ वाम्बुले बस्तीका वनस्पतिका नामहरू (उदा. – फ्वा¥वाचि – ओखर, ब्याकुमान्चि – निबारो, ब्अ्यालेन्चि – बिमिरो, भ्रुतुमान्चि – अमला आदि) ।
३.२.१८ वाम्बुले नामहरू (उपनाम, बोलाउँने नाम वा साल्चो ड्अि समेत)
३.२.१९ वाम्बुले मौलिक भेषभूषाहरू (महिला र पुरुष)
३.२.२० वाम्बुले घरेलु औषधोपचार विधिहरू (उदा. – गनु (गानो) पौवाँ गुतुलुम च्वासाख् भुंडिल् क्याप्चाम, भुंडिल्वाम क्वाक्ते तानैपाचाम (गनु प््रवाक्चाम), तातो वाल्वान ह्वाप्चाम, गरुङ लुङ रोच्चाम आदि)
३.२.२१ वाम्बुले मौलिक यन्त्रउपकरणहरू र त्यसका अंग (पार्टपूर्जा)हरूको नाम (उदा. – साम्फा, राङ्टा, वाइतो, थुरि, तालेम्बु आदि) ।
३.२.२२ वाम्बुले वाद्यवादन यन्त्रहरू र मौलिक लोकलयहरू (उदा. – राम्दले, सोरूमा, संगिना, सालमाया, लौलौ आदि)
३.२.२३ घर (कुनाकाप्चा) का देउदेउताहरूको नाम र मान्ने विधिहरू (सरसामाग्री सहित)
३.२.२४ घर बाहिरका देउदेउताहरूको नाम र मान्ने विधिहरू (सरसामाग्री सहित)
३.२.२५ सामूहिक रूपमा पूजा गरिने देउदेउताहरूको नाम र मान्ने विधिहरू (सरसामाग्री सहित)
३.२.२६ न्वारान, पास्नी, छेवार÷गुन्यूचोली, बिहे र मृत्यु संस्कारका विधिहरू (सरसामाग्री सहित)
३.२.२७ वाम्बुले मौलिक संस्कार (खाउमो खास्यार्मो) को स्वाम्दि लेखन (सरसामाग्री सहित)

अभिलेखीकरण
३.२.२८ अभिलेख केन्द्र (Documentation Centre) को स्थापना – कुनै पनि विषय वा वस्तुको लेखेर, श्रव्य वा दृष्यको माध्यमबाट अभिलेख राख्ने क्रिया वा प्रक्रियालाई अभिलेखीकरण भनिन्छ । यसलाई दस्तावेजीकरण वा प्रलेखीकरण पनि भनिन्छ । वाम्बुले भाषा, संस्कार र संस्कृतिको वर्तमान अवस्था र प्रवृत्तिलाई सूक्ष्म विश्लेषण गर्दा अभिलेखीकरणतर्पm उन्मुख हुनु आवश्यक मात्र नभएर अनिवार्य नै भएको देखिन्छ । मुद्रित (किताब÷पत्रिकाको रूपमा प्रकाशित) र विद्युतीय (डिजिटल) दुवै रूपमा अभिलेख राख्नु पर्ने देखिन्छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास), केन्द्रीय कार्यालय, जसको आफ्नै कार्यालय भवनसमेत भएको, ले अभिलेख केन्द्र (Documentation Centre) स्थापना गर्नु उपयुक्त हुन्छ । उक्त केन्द्रमा अन्य समकालीन किरात राईहरूको साथै वाम्बुले राई सम्बन्धी प्रकाशित सम्पूर्ण किताबहरू, पत्रिकाहरू र अन्य सामाग्रीहरू संग्रहित गरिनु पर्दछ । साथै, वाम्बुले सम्बन्धी श्रव्य–दृष्य सामाग्रीहरू (Discs, Tapes, Memories, Photographs etc.) को विद्युतीय अभिलेख (Digital Archive) गरिनु पर्दछ । यदि यसो भएमा एकातिर हाम्रो भाषा, संस्कार र संस्कृतिको केही हदसम्म संरक्षण हुन्छ भने अर्कोतिर वाम्बुले सम्बन्धी अध्ययन–अनुसन्धान गर्नेहरूलाई समेत सहयोग पु¥याउँन सकिन्छ । अभिलेख केन्द्र स्थापना र संचालनको लागि विशेष पहल गर्नु हुन म, एक सल्लाहकारको हैसियतले, वाम्रास, केन्द्रीय कार्य समितिका पदाधिकारीहरूलाई यसै आलेखमार्पmत् सल्लाह दिनको साथै विशेष अनुरोध गर्न चाहन्छु । साथै, प्रशंगवश भन्नु पर्दा वाम्रास, केन्द्रीय कार्यालयको वेबसाइट निर्माण तथा संचालन गर्नु पनि समीचीन नै देखिन्छ ।

३.२.२९ भाषिक अभिलेखीकरण (Language Documentation) – हाम्रो मातृभाषा अप्ठ्यारो स्थितिमा छ । भावी दिनहरूमा यसको अस्तित्व (जीवन्तता) संकटापन्न हुने देखिन्छ । संकटापन्न पछिका चरणहरू झन् कहाली लाग्दो र भयावह हुनेछन् । यो त्यहीँ काल वा क्षण हो जुनबेला प्रायः हामी सबै वाम्बुले पुस्ताले आफ्नो मातृभाषा बोल्दछौं, र यसको संरक्षण, विकास र संवद्र्धनमा लागिपरेका छौं । यसैबेला हाम्रो मातृभाषाको शब्दकोश, शब्दसंग्रह, व्याकरण र हाम्रा कथ्य परम्पराहरू (उदा. – कथाहरू, गीतहरू, धार्मिक संस्कारहरू आदि) लाई लेखाइ र श्रव्य–दृश्यको माध्यमबाट अभिलेखीकरण; जसलाई भाषिक अभिलेखीकरण (Language Documentation) भनिन्छ, गर्नेमा जोड दिनु पर्दछ । यदि सुरक्षित अभिलेख राखिएमा हाम्रा भावी सन्ततिहरू र भाषावैज्ञानिकहरूलाई अध्ययन–विश्लेषण गर्न सजिलो हुने मात्र नभएर कथंकदाचित हाम्रो भाषा लोप हुने अवस्थामा पुगेमा यस अभिलेखीकरणले पुनर्जीवन (Revitalization) दिन सक्दछ । भाषिक अभिलेखीकरणमा वाम्बुले भाषाको ध्वनिविज्ञान (Phonetics), वर्णविज्ञान वा भाषाको ध्वनि प्रणाली (Phonology), रूपविज्ञान वा शब्दहरूको आन्तरिक संरचना अध्ययन (Morphology), वाक्यविन्यास वा व्याकरणीय वाक्य बन्न शब्दहरू कसरी जोडिन्छन् भन्ने अध्ययन (Syntax), शब्दार्थ विज्ञान वा शब्दार्थ र वाक्य संरचना (Semantics), व्यावहारिक वा वाम्बुलेहरूले कसरी भाषा प्रयोग गर्छन् भन्ने अध्ययन (Pragmatics), शैली (Style), र उखानटुक्का तथा भनाइ (Paremiography) जस्ता भाषिक कथन (Language Documentation) समावेश हुनै पर्दछ ।

वाम्बुले राई शिक्षक समाज (वाराशिस)बाट अपेक्षा

३.२.३० समाजमा सम्मानित, मर्यादित र आदरणीयमध्यको पद÷पेशा हो – शिक्षक । जहाँ पनि शिक्षकहरूको सम्मान र आदर हुन्छ किनभने उहाँहरू ज्ञान र परिज्ञानका संवाहक हुुनुहुन्छ । अरुभन्दा पृथक चेतना हुने र अरूलाई बुद्धि–विवेक प्रदान गर्ने भएकोले शिक्षकलाई चेतनशील, बुद्धिजीवी र प्रबुद्ध वर्गमा राख्ने गरिन्छ । तिनै वर्गका स्थानीय वाम्बुले शिक्षक मित्रहरूले वाम्बुले राई शिक्षक समाज (वाराशिस) नेपाल नामक संस्था स्थापना गर्नु भएको सुन्दा अत्यन्त खुसी लागेको छ । मैले यसलाई पेशागत हकहितको लागि पक्षपोषण गर्ने एक वाम्बुले शिक्षक संगठनको रूपमा मात्र नरही वाम्रास, केन्द्रीय कार्य समितिको प्राज्ञिक समिति र स्थानीय ‘थिंक ट्याङ्क’को रूपमा पनि रहनु पर्ने मान्यता राखेको छु । जसरी किरात राई यायोक्खाको किरात राई प्रज्ञा परिषद् छ त्यसरी नै यसलाई वाम्रासको प्रज्ञा परिषद् ठानेको छु । प्रस्तुत सन्दर्भमा वाम्बुले राईसँग सम्बन्धित सम्पूर्ण प्राज्ञिक कार्यहरू (भाषा, संस्कार, संस्कृति, इतिहास, गीतसंगीत आदि)को अध्ययन–अनुसन्धान, लेखन र आन्तरिकीकरणमा यस संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरेको छु ।

वाम्बुले राई शिक्षक समाज (वाराशिस)को पहलमा मानेभन्ज्याङ गाउँपालिकाद्वारा वाम्बुले राई भाषाको कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम स्विकृति पत्र र कार्यदल ।

३.२.३१ वाम्बुले राईसँग सम्बन्धित गर्नुपर्ने प्राज्ञिक कार्यहरूको सूची लामो भएता पनि अत्यावश्यकता (Urgency) को आधारमा हाललाई वाम्बुले भाषा संरक्षण, विकास र संवद्र्धनलाई उच्च प्राथमिकता दिनुपर्ने देखिन्छ । शब्दावलीको सन्दर्भमा बुझिराख्नु पर्ने कुरा के छ भने भाषा संरक्षणले भाषा लोप वा अज्ञात हुनबाट बचाउँन गरिने प्रयासलाई जनाउँदछ, भाषा विकासले लेखीकरण (Graphization), मानकीकरण (Standardization) र आधुनिकीकरण (Modernization) जनाउँछ, र भाषा संवद्र्धनले अरु भाषाको वर्चस्व रहँदारहँदै पनि मातृभाषी वक्ताहरूले आफ्नो भाषा प्रयोगलाई निरन्तरता दिनुलाई जनाउँछ । भाषा संरक्षणको क्रममा यस संगठनले गत वर्ष पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशाला गोष्ठी आयोजना गरेको सुन्दा अत्यन्त खुसी लागेको थियो । यो ज्यादै सह्रनीय शुरूवात हो । आफ्नो भाषा प्रतिको दायित्ववोध हो । (गोष्ठीको प्रतिवेदन हात नलागे पनि) यस कार्यको मुक्तकण्ठले प्रशंसा गर्दछु । कम से शुरूवाती पहल भएको छ । पाठ्यक्रम तयारीलाई अन्तिम रूप दिनु होला भन्ने अनुरोध छ ।

३.२.३२ पाठ्यक्रम तयार भएपछिको अर्को कदम भनेको सोको आधारमा पाठ्यपुस्तक तयार गर्नु हो । पाठ्यपुस्तकलाई शब्दकोश र व्याकरणले निर्देशित गर्नु पर्दछ । अहिलेको सन्दर्भमा शब्दकोश (अद्यावधिक गर्नुपर्ने) निर्माण भइसकेको भएता पनि व्याकरण भने नबनेको अवस्था हो । व्याकरणको सम्बन्धमा राष्ट्रिय भाषा नीति सुझाव आयोगको प्रतिवेदन, २०५० ले, ‘नेपालका राष्ट्रिय भाषाहरूको व्याकरण तयार गर्दा सर्वप्रथम शैक्षिक प्रयोजनलाई ध्यानमा राखी आधारभूत शैक्षणिक व्याकरण (Pedagogical Grammar) को निर्माण गर्नु बढी उपयुक्त देखिन्छ’ भनी उल्लेख गरेको छ ।

तसर्थ, हाललाई शैक्षणिक व्याकरण निर्माण गर्ने तर्पm विशेष पहल गर्नु होला । यो तयार भएपछि सन्दर्भ व्याकरण (Reference Grammar) तयार गर्नुपर्ने हुन्छ । व्याकरण तयार गर्दा वाम्बुले ध्वनिविज्ञान (Phonetics), वर्णविज्ञान वा ध्वनि प्रणाली (Phonology), रूपविज्ञान (Morphology),  वाक्यविन्यास (Syntax), वाक्य संरचना (Semantics) र शैली (Style) को पनि सकेसम्म अध्ययन गर्नु होला । यदि यसो भएमा मानकीकरण, शब्दविन्यास (हिज्जे) लगायतमा सुविधामात्र नपुगेर हाम्रो मातृभाषा भाषाविज्ञानको दृष्टिकोणले पनि सबल हुनेछ ।

३.२.३३ पाठ्यपुस्तक तयार गर्दा गन्ती (ख्रिप्सिवा)को महत्वपूर्ण स्थान रहन्छ तर हाम्रो भाषामा चाहिँदा मात्रामा संख्यावाचक शब्दहरू छैनन् । तसर्थ, यस सम्बन्धमा पनि व्यापक छलफल गरी निक्र्याैलमा पुग्नु होला । मबाट प्रस्तावित वाम्बुले गन्ती ः ख्रिप्सिवा लाई पनि सन्दर्भ सामाग्रीको रूपमा लिनु होला । (राई, अविनाथ, वाम्बुले गन्ती ः ख्रिप्सिवा । लिब्जु–भुम्जु, पूर्णांक ४८, २०६८ (पुनर्मुद्रणः पूर्णांक ५९, २०७१) ।

३.२.३४ हाम्रो मातृभाषामा सामान्य बोलीचाली र मुन्धुमी शब्दहरू मात्र पाइन्छन् तर पाठ्यपुस्तकको लागि नयाँ–नयाँ शब्दहरू (उदा. – वन, वातावरण, विकास, विकेन्द्रीकरण, विज्ञान, विधान इत्यादि) प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्तै पाठ (Lesson),   अध्याय (Chapter), अभ्यास (Exercise) आदि आदि पनि उत्तिकै प्रयोग गरिने शब्दहरू हुन् ।

यसका लागि नयाँ शब्द निर्माण गर्ने, कुनै भाषाबाट सापटी लिने, यथा (तत्सम) रूपमा प्रयोग गर्ने वा मूलस्वरूपमा केही परिमार्जन गरेर (तद्भव) प्रयोग गर्ने सम्बन्धमा निर्णय÷निक्र्यौल गरिनु पर्दछ । यसलाई भाषा विकासको आधुनिकीकरण (Modernization) गर्ने भनिन्छ । नेपाली भाषामा चलनचल्तीमा रहेका बोलीचाली, प्रशासनिक (निर्माण–विकाससँग सम्बन्धित समेत), प्राविधिक, कानुनी लगायतका शब्दहरूलाई वाम्बुले भाषामा रूपान्तरण गर्न निर्णय गर्ने वा रूपान्तरण निर्णयको लागि वाम्रास, केन्द्रीय कार्यसमितिमा सिफारिस गर्ने कार्य पनि वाराशिसबाट नै हुनु उपयुक्त देखिन्छ ।

३.२.३५ यी माथिका कथनहरू सामान्य मार्गदर्शन हुन् । आपैm बौद्धिक व्यक्तित्व हुनुहुन्छ । आपूm हिंड्ने बाटो आपैm तय गर्न स्वतन्त्र हुनुहुन्छ । संगठनभित्र समिति, उप–समिति बनाएर हुन्छ वा व्यक्तिगत रूपमा हुन्छ कार्य विभाजन गरेर आफ्नो मातृभाषाको लागि केही योगदान दिनु हुनेछ भन्ने ठूलो आशा र अपेक्षा राखेका छौं । यो एकदम अनुकूल समय पनि हो जस्तो लाग्दछ – किनभने हाम्रो मूल थातथलो भनेको नै मानेभञ्ज्याङ गाउँपालिकाका बस्तीहरू हुन् र हाल त्यहाँको स्थानीय सरकारको नेतृत्व वाम्बुले राईहरूबाट भएको छ, अन्य वाम्बुले जनप्रतिनिधिहरू आफ्नो भाषा, संस्कार र संस्कृतिको संरक्षणको पक्षधर हुनुहुन्छ र शिक्षा क्षेत्र हेर्ने सरकारी प्रतिनिधि समेत वाम्बुले राई नै हुनुहुन्छ । अझ मुख्य कुरा त हाम्रो भाषा बोल्ने, हाम्रो भाषा जान्ने, हाम्रो संस्कार र संस्कृति जान्नेबुझ्ने सबै–सबै त्यहीँ हुनुहुन्छ । यस्तो सुनौलो कालखण्डमा पनि केही नगरे कहिले गर्ने ? स्रोतको आवश्यक परेमा स्थानीय सरकार, भाषा आयोग, वाम्रास, केन्द्रीय कार्यालय वा शुभेच्छुकहरूलाई सम्झनु होला ।

३.२.३६ माथि उल्लेख गरिएभैंm हामीले भाषिक अभिलेखीकरण (Language Documentation) मा जोड दिनु पर्दछ । यो भनेको लेखाइ र श्रव्य–दृश्यको माध्यमबाट प्रलेखीकरण गर्नु हो । वाम्बुले भाषा, संस्कार र संस्कृतिको संरक्षण, विकास र संवद्र्धनको लागि तपाईँहरूबाट हुने कुनै पनि सिर्जनात्मक, रचनात्मक र सकारात्मक कामको लागि मेरो हरहमेसा साथ, सहयोग र सहमति रहने वचन दिंदै शुभकामना पनि दिन चाहन्छु ।

४. उपसंहार
भाषा बोल्न जान्ने (बोल्न नजान्ने होइन) अन्तिम वक्ताको मृत्यसँगै त्यो भाषाको पनि मृत्यु भएको मानिन्छ । हाम्रै वाम्बुले बस्तीहरूको छिमेकी च्यास्मिटार गाउँ (हाल हलेसी तुवाचुङ गाउँपालिका, खोटाङ) का राईहरूले कुनैबेला बोल्ने तिलुङ मातृभाषाको हाल एक जना पनि वक्ता नभएको कारणले सो भाषाको मृत्यु भएको प्रकरणलाई उदाहरणको रूपमा लिन सकिन्छ ।

कुनै पनि भाषाको मरन भए पनि त्यसलाई व्युताउँन वा पुनर्जीवन दिन सकिन्छ भनेर भाषाशास्त्रले भन्दछ – उदाहरणको लागि हाल इजरायलमा सरकारी भाषाको रूपमा प्रयोग हुने हिब्रु भाषालाई लिन सकिन्छ । इजरायलको यो मामिलालाई अपवादको रूपमा लिनुपर्ने हुन्छ किनभने कुनै पनि मृत भाषालाई पुनरुद्धार गरेर सरकारी भाषाको रूपमा स्थापित गर्न सानोतिनो प्रयास, प्रतिबद्धता र प्राथमिकताले सम्भव हुँदैन । हाम्रो जस्तो सानो समूहले बोल्ने मातृभाषा/हरू मरेमा त्यसलाई पुनर्जीवन दिने कार्य असम्भव प्रायः नै देखिन्छ किनभने पुनर्जीवनलाई चाहिने आधारभूत दस्तावेज नै अभिलेखीकरण गरिएको हुँदैन ।

यदि पुनर्जीवन दिने काम भएमा पनि त्यो केवल प्राज्ञिक अभ्यास (Academic Exercise) मा मात्र सीमित हुनेछ, पुनर्जीवित भाषा पुनः मर्ने प्रबल सम्भावना छ किनभने त्यसलाई सिकेर बोल्नेहरू नै हुँदैनन् – भाषा सिकाइ प्रक्रियामा हामी नेपालीहरूमा निकै कमीकमजोरीहरू छन् भन्ने कुरा प्राथमिक विद्यालयबाट विश्वविद्यालय स्तरसम्म नै पढ्दा पनि हाम्रो अंग्रेजी भाषा नसुध्रेबाट सुस्पष्ट हुन्छ । त्यसकारण हाम्रो मातृभाषालाई त्यो दुरावस्थामा पुग्नबाट जोगाउँन अहिले नै हामी सबैजना सजग र सचेत हुनु पर्दछ ।

सानो उमेरदेखि नै आफ्नो मातृभाषाको सम्बन्धमा केही गरौं भन्ने रहर थियो । त्यो रहर पछि गएर शौख (Passion) मा परिणत भयो । लामो समयदेखि आफ्नो मातृभाषाको फाँटमा संलग्न भई आपूmबाट हुन सक्ने योगदान दिन पाएकोमा आपूmलाई ठूलो भाग्यमानी ठानेको छु । वास्तवमा आफ्नो मातृभाषाप्रतिको उत्कण्ठा, अभिलाषा र अनुरागको अभिव्यक्ति हो – यो आलेख ।

यहाँ प्रस्तुत गरिएका संरक्षणका उपायहरू सांकेतिक (Indicative) हुन् किनभने यीभन्दा अरू पनि धेरै हुन सक्दछन् । यिनीहरू (व्याकरण र पाठ्यपुस्तक बाहेक) को कार्यान्वयन पनि माथि उल्लिखित क्रमानुसार नगर्दा हुन्छ किनभने यिनीहरूले एक अर्कालाई परिपूरण, समपूरण वा अनुपूरण गर्दछन् । त्यस्तै व्यक्तिगत, पारिवारिक र सामुदायिक÷संस्थागत रूपमा गरिने भनिएता पनि आफ्नो क्षमता र अनुकूलता अनुसार जसले जुन गरे पनि हुन्छ । एक वाक्यमा भन्नुपर्दा हाम्रो पहिचान (अस्तित्व)को रूपमा रहेको हाम्रो मातृभाषालाई चिरकालपर्यन्त अर्थात् यस धरतीमा हामी वाम्बुले राईहरू रहुन्जेल बचाउने प्रयास गरौं भन्ने यस आलेखको आशय हो । वाम्बुले हुनुमा गर्व गरौं, वाम्बुले भाषा, संस्कार र संस्कृतिको सम्बन्धमा सधैं चासो र चिन्ता गरौं, र सोको संरक्षण, विकास र संवद्र्धनको लागि केही गर्ने अठोट गरौं भन्ने आग्रहलाई फेरि एक पटक दोहो¥याउँदै बिदा हुन्छु । धन्यवाद ।
०००

पिपलबोट, नखिपोट
ललितपुर ।

२०६८ माघ २७ र २८ गते खोटाङको जयरामघाटस्थित श्री दुधकोशी निमावि प्राँगणमा आयोजित वाम्बुले राई मातृभाषी शिक्षकहरुको कार्यशाला गोष्ठीमा सहभागीहरु तथा प्रमुख अतिथि पूर्वसांसद लघुधन राई (स्व.)।
तस्बिरहरु – गणेश वाम्बुले राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *