बान्तावा भाषाको पुरस्कार घोषणा

मातृभाषा

लिभु संवाददाता
काठमाडौं– बान्तावा भाषा साहित्य प्रवद्र्धन गर्ने स्रष्टालाई यो वर्षको ‘बुङ्वाखा पुरस्कार—२०७५’ प्रदान गर्ने घोषणा गरिएको छ । बुङ्वाखा मासिक पत्रिकाको नाममा यी पुरस्कार स्थापना गरिएका हुन् ।

सगुन सुसारा

यो वर्षको ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार’ मिक्लाजुङ गाउँपालिका ४ (साविक रवि) पाँचथरका सगुन सुसारा (सुसन राई)लाई प्रदान गरिने भएको छ । उहाँको ‘लुङ्टा नÞङ साम्सिबुङ’ बान्तावा गजलसङ्ग्रह कृतिको लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । उहाँ गोरखापत्र दैनिक, बान्तावा पृष्ठका नियमित स्तम्भकार पनि हुनुहुन्छ । उत्तरवर्ती सोचका अभियन्तासमेत रहनुभएका उहाँका नेपाली भाषामा चार वटा कृतिहरू प्रकाशित छन् । पुरस्कारको राशि ताम्रपत्रसहित ४० हजार १ सय ९१ रुपैयाँ रहेको छ । पूर्व मुख्य अञ्चलाधीश स्व. मकर बहादुर बान्तावा र उहाँकी श्रीमती विष्णुदेवी बान्तावाको सम्मानमा उहाँहरूका परिवारले सो पुरस्कारको लागि बुङ्वाखामा अक्षयकोष स्थापना गर्नुभएको हो ।

कृष्णभक्त राई

त्यसैगरी ३० हजार रुपैयाँ राशिको ‘बुङ्वाखा–पञ्चकुमारी सङ्गीत पुरस्कार’ बान्तावा गायक तथा बाद्यवादक कृष्णभक्त राईलाई प्रदान गरिने भएको छ । साँगुरीगढी गाउँपालिका—८ (साविक आहाले) धनकुटामा जन्मिनु भएका राई दृष्टिविहीन संगीतकर्मी हुनुहुन्छ । उहाँले आधा दर्जन जति बान्तावा गीतहरू गाउनुभएको छ । त्यस्तै, उहाँले नेपाली भाषाका १ हजार ३ सय ७५ वटा गीतहरू गाइसक्नुभएको छ । आमा पञ्चकुमारी राईको सम्मानमा दाजुभाइद्वय गीतकार जीवन मुकारुङ र गायक तथा सङ्गीतकार अशोक मुकारुङले सो पुरस्कारको लागि अक्षयकोष स्थापना गर्नुभएको हो ।

टकलाल राई

रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र धनकुटामा कार्यरत तथा बुङ्वाखाको धनकुटा संवाददाता टकलाल राईलाई ‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार’ प्रदान गरिने भएको छ । हतुवागढी गाउँपालिका ६, होम्ताङमा जन्मिनु भएका राई पत्रकार हुनुहुन्छ । यो पुरस्कार बुङ्वाखा सल्लाहकार चन्द्र कुमार हतुवाली र उहाँको परिवारले आफ्ना बजु रनमाया राईको स्मृतिमा स्थापना गर्नुभएको हो । पुरस्कारको राशि ६ हजार रुपैयाँ रहेको छ ।

हरिबहादुर राई

यस्तै, ‘बुङ्वाखा–धनेन्द्र बादिहाङ स्मृति पुरस्कार’ हरिबहादुर राईलाई प्रदान गरिने भएको छ । बुङ्वाखाका नियमित स्तम्भकार राई मिक्लाजुङ गाउँपालिका, मुढे पाँचथरमा जन्मिनु भई हाल झापाको दमकमा बसोबास गर्नुहुन्छ । दाजु उदयपुर निवासी टीकाराम बादिहाङ राईले अल्पायुमै स्वर्गारोहण भएका आफ्ना भाइकोे स्मृतिमा यो पुरस्कार स्थापना गर्नुभएको हो । पुरस्कारको राशि ५ हजार रुपैयाँ र कदरपत्र रहेको छ ।

घोषित पुरस्कार आगामी मंसिर २४ गते बुङ्वाखा मासिकको १४औँ वार्षिकोत्सव तथा १४औं बान्तावा कविता प्रतियोगिता समारोहमा प्रदान गरिने छ । उक्त समारोह प्रदेश नं.१ इलाम जिल्लाको सन्दकपुर गाउँपालिका २ माइमझुवा, टोड्केमा हुने सम्पादक पदम राईले विज्ञप्तिमा जनाउनु भएको छ ।
बान्तावा भाषाको कविता प्रतियोगितामा विजेता कविहरुलाई ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार’ प्रदान गरिने छ । पहिलो, दोस्रो र तेस्रो हुने कविहरूलाई क्रमशः १० हजार, ६ हजार र ४ हजार रुपैयाँ रहेको छ । यो पुरस्कार बान्तावा भाषाका समाचारवाचन तथा अभियन्ता स्वर्गीय श्यामराज दुब्देङहाङ राईको स्मृतिमा उहाँका छोरी मीना राई र भतिजी अञ्जना राईले अक्षयकोष स्थापना गर्नुभएको हो ।

बुङ्वाखा सल्लाहकार हर्कराज हाङको अध्यक्षतामा बसेको बुङ्वाखा पुरस्कार छनोट उपसमिति बैठकले सो निर्णय गरेको हो । बैठकमा अक्षयकोषदाताका सदस्यहरू राजेन्द्र बान्तावा, चन्द्र कुमार हतुवाली, अशोक मुकारुङ र जीवन मुकारुङ तथा बुङ्वाखाको तर्फबाट मनोज साङ्सोन राई, रीता राराहाङ राई, जिडी राई, कार्यक्रम संयोजक तथा सम्पादक पदम राईको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.