घुन्सा हेलिकोप्टर दुर्घटनाको १५औं स्मृति दिवसका सन्दर्भमा युवानेता गोपाल राई : ऐसेलुको कांडा मेरो भागमा पर्यो, किरात संस्कार जिउँदो रह्यो

विचार / ब्लग

स्मृतिमा युवानेता गोपाल राई : ऐसेलुको कांडा मेरो भागमा पर्यो, किरात संस्कार जिउँदो रह्यो
–गणेश राई

मैले गोपाल राई भन्ने नाम सानैमा सुनेको थिएँ । उतिखेर अर्थात् २०३५ सालतिर ओखलढुंगाको मानेभञ्ज्याङ्गस्थित भगवती माविमा चार कक्षादेखि पढ्दै थियौं । गैरीगाउँमा डेरा थियो । हाम्रा साथी बागधन र बागजोर दाजुभाइले भन्थे– ‘हाम्रो मामा गोपाल राईको टाउकोको लाख रुपे तोकेको थियो ।’ त्यतिखेर लाग्थ्यो, कस्तो मान्छे रैछ त्यो । टाउको ठूलै थियो क्याहो जस्तो लाग्थ्यो । एमपी बलबहादुर राई (ओखढुंगाका कांग्रेस नेता, राष्ट्रिय सभाका सदस्य तथा पूर्व मन्त्री) को नाम भने बाजेका पालादेखि नै सुने जानेको थिएँ । एमपी बाजे त बाजेका दौतरी पनि हुनुहुन्छ ।

२०३६ सालको जनमत संग्रह र दश रुपैयाँ
हामी मानेभञ्ज्याङ्ग स्कुलबाट फर्किदै थियौं, दुई दौतरी । बाटोमा उदयपुरगाउँका भू.पू.ब्रिटिस क्याप्टेन टीकाबहादुर राई र उनका एक साथीसित भेटभयो । हामी ‘नमस्कार बाजे’ मात्र भन्न भ्याएका थियौं । क्याप्टेन बाजेले हामी दुवैलाई दश–दश रुपैयाँ निकालेर हातमा थमाए । र भने– ‘लु बाबु हो यो पैसा लिएर बाबु–आमालाई दिनू । अनि भन्नु कि निर्दलमा भोट हाल्नु पर्छ, त्यसैले यो पैसा पठाएको भन्नु है ।’ हामीले पैसा पनि लियौं घरमा पु¥यायौं र सुनायौं । तर, भोट हाल्नेले कता हाले हामीलाई थाहै भएन ।

यतिखेर याद आयो त्यो २०३६ सालको बहुदल र निर्दलको जनमत संग्रह रहेछ । हामी नाथे– बच्चालाई त त्यत्रो पैसा दिए भने निर्दलको पक्षमा लाग्न, लगाउनका लागि ठेक्का लिनेहरूको हातमा कत्तिचाहिं रुपैयाँ परेको थियो होला ? अनुमान लगाउनै गाह्रो छ । र लोकतान्त्रिक आन्दोलन–२०६२÷६३ पछि मुलुक गणतान्त्रिक बाटोतर्फ लम्किदै संविधानसभाको चुनाव हुनै लाग्दाखेरी फेरि ‘राजा राख्ने÷नराख्ने’बारे जनमत संग्रह गर्नु प¥यो भने यो मुलुकको सबैभन्दा धनी व्यापारी राजाले आफ्नो शिर उठाउन राज्यको ढुकुटी जुनसुकै ढोकाबाट निमुखा जनतालाई बाँडेर मत आफ्नो पक्षमा नपार्लान् भन्ने ठाउँ छैन ।

निहुँ सिसौं बिऊको र गोपाल राईसितको भेट राजनीतिको
२०४४ सालमा उदयपुरको कटारी बजारस्थित त्रिवेणी मावि (हाल उच्चमावि) मा नौ कक्षामा भर्ना भएर पढियो । बिरामी परेकाले एक वर्ष ढिलो गरी ०४६ सालमा एसएलसी दिन पाइयो र उत्तीर्ण पनि भइयो । २०४५ साल चैत १५ गते हो क्यार भारतले नेपालमा नाकाबन्दी ग¥यो । हाहाकार मच्चियो, सहरदेखि गाउँ–गाउँसम्म । यसै बीचमा हामी विद्यार्थीमाझ खैलाबैला मच्चिएको थियो । बहुदलीय आन्दोलन गर्ने भन्नेबारे ।

आन्दोलन ताका मेरा काका लघुधन राई (पूर्व सांसद राष्ट्रिय सभा) काठमाडौंबाट टुप्लुक्क कटारी आइपुग्नुभयो । अनि गोपाल राईसित भेट गर्न लैजानु भयो । ‘हिड केटा गोपाल राईलाई भेट्न । फर्किदा सिसौंको बिऊ लिएर आइज र गाउँमा लगेर रोप् ।’ भन्नुभएको थियो काकाले ।

भित्री मधेसको सानो डाँडाछेउको घरमा पुग्यौं । पातलो ज्यानको हँसिलो व्यक्ति आएर काकासित भलाकुसारी गर्नुभयो । ‘उहाँ हुनुहुन्छ गोपाल काका’, मेरा काकाले मलाई देखाउँदै भन्नुभयो– ‘दाइ यो मेरो सानुदाइको छोरो गणेश, यहीं कटारीमा दश कक्षामा पढ्छ ।’ मैले नमस्कार गरें । गोपाल राईले मसँग पनि हात मिलाउनुभयो । म दङ्ग परें । उहाँ दुई बीच बहुदलीय आन्दोलनको कुरा भयो । मलाई सतर्क गराउँदै गोपाल राईले भन्नुभयो– ‘लहै केटा हो सतर्क रहेर बस, आन्दोलन हँुदैछ ।’ त्यो कुराले मभित्र सुसुप्त रहेको क्रान्तिको चेतनामा अगुल्टो ठोसेजस्तो भएको भान भएको थियो ।

त्यसलगत्तै कुराकानीकै क्रममा गोपाल राईको काठको घर बाहिर निस्किएर उहाँको बगैंचा र सिसौको बोट बगैंचा भएतिर लाग्यौं । यो सिसौको बिऊ टिपेर पहाडमा लगेर रोप्ने कुराकानी भएपछि टिप्यौं र कागजमा पोको पारेर पहाडतिर लग्ने काम गरें । त्यही सिसौको बिऊ दल राखेपछि प्रशस्त मात्रामा उम्रियो । त्यही बिरुवा सारेकोमध्ये ओखलढुंगाको हिलेपानी, सोक्मटारस्थित घरको आँगनमा करिब १८ वर्षे सिसौको रुख आज यमानको तन्नेरी भएर ठडिरहेको छ ।

आन्दोलनकारी गोपाल राईलाई मेरा बाले जोर्ती घाट तारे
सायद २०२६÷२७ सालतिर हुनुपर्छ । आन्दोलन चलिरहेको थिएछ । ओखलढुंगा जिल्ला प्रवेश गर्ने प्रमुखद्वार दुई वटा थियो । एउटा, दुधकोसी र सुनकोसीको संगमस्थल जोर्तीघाट र अर्को त्योभन्दा करिब दश किलोमिटर माथि टोक्सेलघाट तर्नु पथ्र्यो । टोक्सेलघाट बढी प्रचलित थियो भने जोर्तीघाट भरखरै सुरु भएको थियो, नयाँ बाटो । मेरा बाजे बीरसिंह र उँबुका चौधबहादुर राईको नेतृत्वमा पहरा फोरेर घोरेटो बाटो बनाइएको थियो । र, डुँगा चलाउने घाटको ठेक्का पनि गाउँले मिलेर लिएका थिए । त्यसमा बाजेको सँलग्नता थियो ।

बुवाले सुनाउनु भएअनुसार त्यतिखेर टोक्सेलघाट र जोर्तीघाटमा जोसुकैलाई तार्न नहुने माथिबाट उर्दी आएको थियो । सोधबुझा गरेर, नाम, ठेगाना, काम सबै–सबै सोधेरमात्र तार्नु पर्ने उर्दी ‘बडाहाकिम’ले जारी गरेका थिए रे । उर्दी नमान्नेलाई जरिवाना गर्ने भनिएको थियो रे । त्यतिखेर मेरा बुवा जोर्तीघाटमा घटुवारे थिएछन् । आफ्नै दावाली÷उमेरले समकालीन एक युवक (स्व. नेता गोपाल राई र मेरा पिता स्व.सोमबहादुर राईको जन्म २००६ सालमा भएको) उदयपुर कटारीतिरबाट आएर पारि ओखलढुंगातर्फ तारिमागे छन् । माथिको आदेशअनुसार सोधबुझ गर्नुपर्ने तर ती बाठा बटुवा (गोपाल राई) ले पालापुलुक पार्दै घटुवारेलाई आफ्नो पक्षमा पारेर तर्न सफल भएछन् । घर मोली पर्छ भनेर चिनारी पनि दिएपछि झन केको टन्टा तारिहालेछन् ।

बहुदलको बिऊ रोप्न जन्मथलो फिरेका गोपाल राईले ओखलढुंगामा क्रान्तिको बिगुल फुक्न थालेको हल्ला चल्यो । र, बडाहाकिमले ती मान्छे (गोपाल राई)लाई कहिले, कहाँबाट, कसले ओखलढुंगा ता¥यो भन्नेबारे सोधखोज गर्न पठाएछन् । त्यतिखेर पक्राउ पर्ने डरले आफू चुपचाप पारि खोटाङतर्फ (भँगालो)को घरमा गएर बस्नु भएको कुरा मेरा बुवाले सुनाउनु भएको थियो ।

जनआन्दोलन २०४६, एलएलसी र एमपी बाजे बलबहादुर राई
हामी २०४६ साल माघमा एसएलसी दिने तयारीमा थियौं । त्यसअघिको नाकाबन्दीको बेला एक दिन विद्यालय छुट्टी भएर आँपगाछीबाट बजारतर्फ आइरहेका थियौं । त्यतिबेला ‘एमपी बाजे’ बलबहादुर राई दुवै हातमा मट्टितेलको टिन बोकेल आइरहनु भएको भेटें । सानैदेखि बाजेसित घरमा आउजाउ गर्नु हुने एमपी बाजेलाई मैले ‘नमस्कार उपो (बाजे)’ भनेर मातृभाषामा कुराकानी गरें । र, बूढाले मलाई ‘यो मट्टितेल तल जितबहादुर राईको घरसम्म बोक भन्नुभयो ।’

मैले वचन टार्ने कुरै थिएन, मैले त्यसै गरें । तल आएपछि एमपी बाजेलाई मनाउन सफल भएँ अर्थात् एसएलसी दिनको लागि पढ्दै छु तर मट्टितेल नभएर पढाइमा मर्का परेको कुरा सुनाएँ । उहाँले पनि ‘लु यो सानो टिनको मट्टितेल लैजा र राम्ररी पढ्’ भन्नु हुँदा मेरो मनमा हर्षले दश हात माथि उफ्रिएको÷रमाएको थिएँ ।

अनि बजारको मूलबाटो ननिस्किकन सायद जेठ महिना थियो क्यार मकै बारी र खेतको बाटो भएर मेरा झुपडी तित्रिबोट गाउँ पुगेर चुपचाप मट्टितेल पु¥याएँ । खाटमुनि लुकाएर राखेको मट्टितेल कसैल देख्ने कुरो पनि भएन । लालटिन बत्तीमा मधुरो पारेर बर्खाभरि मजाले हरेक रात पढेको थिएँ । छिमेकका दनुवार मित्रहरूले मैले र माइलो भाइले त्यसरी बत्ती बालेको थाहा पाएपछि अनेक गरी पैंचोसमेत माग्न पछिपरेनन् तर दिएनौं ।

जबतक एसएलसी परीक्षा नजिकिदै आयो । गोपाल राई लगायतका नेताहरूको सम्पर्क बारम्बार जारी रह्यो । कहिले के निहँु त कहिले के काम लिएर पुगिन्थ्यो । प्रहरी अधिकृतकै छोरो गोपाल राईको घर प्रहरी कार्यालयसँगै घर थियो । पक्राउ पर्ने डर पनि थियो । तर, सानो फुच्चे हुनुको कारण कसैले लख काट्दैन थिए । पर्चा, पाम्लेट थोरै–थोरै गोजीमा हालेर गाउँतिर पठाउने र राति–राति बाँड्ने काम भयो । कता–कताबाट त्यो कुरो प्रहरी कार्यालयमा पुगेछ । मलगायत मेरा सहपाठीमाथि निगरानी भइरहेको कुरो त्यतिबेलामात्र थाहा पायौं जतिखेर हामी परीक्षाको व्यस्त तयारी गर्दै थियौं ।

हामी ट्युसन पढ्न जान्थ्यौं । त्यतिखेर पनि होसियार रहेर थाहा नपाएजस्तो गरेर हिड्न थाल्यौं । कटारी बजारतिर दिनका दिन सभा, भाषण हुन थाल्यो । हामीले त्यो नाराबाजी, भाषण सुन्नु पर्ने चासो अनि त्यो कुरा मेरा सहपाठी विमल राईका फुपाजु खोटाङका वामपन्थी नेता गणेश राईलाई सुनाउन पुग्नु पथ्र्यो । आन्दोलन चर्किदै थियो । नेताहरू भटाभटी पक्राउ गरिदै थियो ।

तातो कराही उचालेर प्रहरीलाई प्रहार गर्ने श्रीमती मीना राई
आन्दोलन चर्किदैको बखत एक दिन विश्वराज ढुंगाना सरकोमा ट्युसन पढेर निस्किदा बिहानको एघार बजिसकेको हुँदो हो । मास्तिर प्रहरी चौकी नजिकै गोपाल राईको घरमा ठूलठूलो आवाज आयो । निधो गर्दा आन्दोलनकारी नेता, कार्यकर्ता, परिवारका सदस्य सबैलाई प्रहरीले गिरफ्तार गर्दै थिएछन् । मुकाविला गर्ने क्रममा प्रहरीलाई गोपाल राईकी श्रीमती (मीना राई)ले तिहुन पाकिरहेको तातो कराहीले हाने भन्ने सुन्यौं । प्रहरीले अन्ततः गोपाल राई परिवारका अधिकांश सदस्यलाई गिरफ्तार गरेछन् । हामी युवाहरूको मनमा एक किसिमको जोश चढिरहेको थियो । अर्कोतिर जाँच दिन नपाइएला भन्ने त्रासले मुटुमा ढ्याँग्रो ठोकिरहेको थियो ।

जाँच सुरु हुने बेलामा तित्रिबोट बासस्थानमा बस्ने वातावरण बनेन । ट्युसन पढ्न गएको बेलामा दिनहुँ प्रहरी आएर सोधखोज गर्ने गरेको खबर पाएपछि अलि टाढा बसेर तयारी गर्ने भयौं । जाँच पनि सुरुभयो । हाम्रो जाँच सकिएलगत्तै प्रहरीले हामीलाई गिरफ्तार गर्नेछ भन्ने सुइको पायौं । बजारको अन्तरकुन्तरमा बसेर जसोतसो जाँच सकियो । धन्य प्रहरीले परीक्षा हलबाट कसैलाई गिरफ्तार गरेनन् । नेताहरूसित पहिले नै भएका शर्तअनुसार परीक्षालगत्तै बजारमा हुल बाँधिएर हिंड्ने र नाराबाजी गर्नबाट जोगिदै हिडियो । जाँच सकेपछि डेरामा फर्किएलगत्तै पक्रिने प्रहरीको योजना सफल हुन दिएनौं ।

दश दिनसम्म ती प्रहरीले म बसेको झुपडी तित्रिबोट गाउँमा गएर बसेछन् । छोरी चेलीहरूसित उठबस गरेछन् । भाले, रक्सी खाने काम गरेछन् । त्यो खबर पाएपछि दिनमा कटारीको ठीक पश्चिम ककुरखोला पारि सिन्धुली तर्फको जंगल र साँझ साथीको घर ककुरठाकुर–९ खागे गाउँमा बास बसेर बिताइएको थियो । प्रहरी फर्किए भन्ने खबरलगत्तै राति तित्रिबोट कटेरोमा पुगेर बेलुकी बास र बिहान सबेरै उठेर गाउँ फर्किने योजना बन्यो । सीधै गाउँ जाँदा पक्राउ पर्ने डर छँदै थियो त्यसैले खोटाङको हलेसी चुइचुम्मा नेता गणेश राईको घरतर्फ हान्निएको थिएँ ।

साथमा रहेको पर्चा, पाम्लेटहरू ठाउँ ठाउँमा टाँस्ने काम भयो । गाउँ पुगेर साथीहरूसँग सर्वोच्च कमाण्डर गणेशमानसिंहको फोटोसहिको पर्चा लिएर टाँस्दै हिंड्दा प्रहरी गाउँ पसे भन्ने सुनेपछि बाँकी पर्चाहरू बाख्राको खोरमुनि पियालमा लुकाउनु परेको थियो । नभन्दै चैत २४ गते ऐतिहासिक जनआन्दोलन सफल भएको घोषणा भयो । सबैतिर जनलहर छायो, विशेष गरी हामी तन्नेरीहरूमा ।

राजधानी प्रवेशसँगै कांग्रेसी लहर
जनआन्दोलनसँगै एसएलसी सफलता र त्यतिखेरै गाउँ–गाउँका युवाहरूमा आएको जोश कम आँक्न मिल्दैन । पञ्चायत कालीन प्रधानपञ्चहरूको ज्यादतीप्रति छेडिएको चुनौती साँच्चै अविष्मरणीय थियो । त्यही जोशका साथ राजधानी प्रवेश गरियो । २०४८ सालको आमनिर्वाचनमा ओखलढुंगामा कांग्रेसको बिऊ रोप्ने एमपी बाजे बलबहादुर राईलाई क्षेत्र नम्बर २ बाट पार्टीले टिकट दिएको थियो । उतिखेर राजधानीबाटै उर्लिएको कांग्रेस युवाहरूको लहड क्षेत्र नम्बर १ बाट टिकट पाएका चन्द्रकान्त दाहालसमेतले साथ पाएका थिए । त्यागी नेता बलबहादुरको बल थियो त्यो ।

चारतारे झण्डा अंकित सेतो ह्याट र रुख चिन्ह छापिएको सेतो टिसर्ट लगाएका युवाहरू लस्कर साँच्चै रहरलाग्दो थियो । राजधानीदेखि गाडी रिजर्भ गरेर उदयपुरको कटारीसम्म मोटर यात्रा । त्यसपछि दोस्रो दिन ककुरखोलाको बगर, हरिथुम्का हुँदै महाभारत डांडा उकालोमा लागेक युवाहरू ताँती हिजैजस्तो लाग्छ । बहादुरा खोला हुँदै हर्कपुर सुनकोसी पुल तरेर ओखलढुंगा टेक्दा छाती कम गर्वले फुलिएको थिएन ।

तर, कांग्रेस पार्टीको व्यक्तिवादी नीतिले २०५१ सालको मध्यावधि आमनिर्वाचन हुनपुग्यो । त्यही सँगै एक राजनीतिक शक्ति जंगलतर्फ भूमिगत भयो । उतिखेर भने युवाहरूले त्यागी नेतालाई साथ दिन तयार रहेनौं । युवा नेताको साथ खोज्ने क्रममा गोपाल राईलाई एकमात्र नेताका रुपमा लिएर अघि बढेका थियौं । पार्टीबाट टिकट पाएका साइला काका बलबहादुरविरुद्ध भतिजा गोपालको पक्षमा युवाहरू जोशिएर लाग्यौं । युवानेताको चाहनाले के पो भएन, हामी एकै घरका बाबु र छोराबीच बाझो–बाससमेत झण्डै झण्डै छुटेको थियो । त्यो हाम्रो एक किसिमको भ्रम पनि थियो । राजनीति कस्तो हुन्छ भनेर विश्लेषण गर्न नसक्नु कमजोरी थियो ।

मन्त्री भइरहेकै बेलामा फेरि बुढोनेता बलबहादुरले विरोधको वावजुद दोस्रो पटक पनि विजयी भए । काका–भतिजा पहिले जस्तो थिए त्यस्तै रहे तर हामी युवाहरूमा वितृष्णाको छायाँले छोप्यो । सायद त्यो घाऊ जो जतिले पालेका छौं, जीवनपर्यन्त रहिरनेछ । उतिखेर व्यक्तिगत रुपमा भन्नुपर्दा यो पंक्तिकारले व्यक्तिगत प्रयासमा पाएको एक बोर्डिङ स्कुलको शिक्षक जागीरसमेत गुमाउनु परेको थियो । युवानेताको साथ पाउने आशा उत्तिकैमा सीमित रह्यो ।

युवा नेता गोपाल राईको पालो
युवाले चाहेजस्तो भयो, २०५६ सालमा युवानेता गोपाल राईले नेपाली कांग्रेस पार्टीले टिकट दियो । जनतामाझ चिरपरिचित गोपाल राईको जित सुनिश्चित थियो । राजनीतिक प्रतिस्र्धा छँदै थियो । छ वर्षअघि देखि चाहेको नेतालाई साथ नदिने कुरै थिएन । युवाहरू लागीप¥यौं । जित सम्भव भयो । विजयोल्लाश कतिले कसरी मनाए तर यो पंक्तिकारका केही दाँवालीहरूले आफ्नो डेरामा गोपाल राई बोलाएर सुटुक्क भोज खाएको खबर बिर्सिनसक्नु रह्यो । त्यसपछिका दिनमा युवानेता राज्यमन्त्रीको पद सम्हाल्ने मौका पनि पाए । तर, मुस्किलले भेट भएको थियो कतै सभा समारोहहरूमा । विभाजनको रेखा त्यतिखेरै कोरियो जतिखेर पंक्तिकारका माइला काका लघुधन राईलाई राजा वीरेन्द्रले राष्ट्रिय सभामा मनोनित ग¥यो ।

व्यक्तिगत लाभका निम्ति बलबहादुर राई र गोपाल राईसित कहिल्यै केही माग्न नपुगेका युवाहरू त बाहिर परियो नै, धेरै ठूलो आशा बोकेर भित्री दिलदेखि नै लागिरहेका युवासमेत अन्ततः वैदेशिक रोजगारीमा विलाशिनु परेको घटनालाई व्यक्तिगत कमजोरीका रुपमा लिन सकिन्न । चाहे बलबहादुर राई मन्त्री हुँदाका पीए कर्ण राई होस् या गोपाल राईका पीए महेश मगर । कांग्रेस पार्टीभित्र कहिल्यै सैद्धान्तिक प्रशिक्षण र सांगठनिक नीतिबारे कुनै युवाहरूलाई बुझाउने काम सायद भएन । जो नेताको पछाडि झोला बोकेर लागिप¥यो त्यसलाई मात्र सच्चा कार्यकर्ता ठान्ने प्रवृत्ति आज पनि उस्तै छ । त्यसैले पनि राजनीतिक रुपमा कांग्रेसको गढ मानिएको ओखलढुंगामा अब त्यो गौरव टुटेको छ ।

लोकतान्त्रिक जनआन्दोलनमा गोपाल राई
जनप्रतिनिधिका रुपमा चुनिएका गोपाल राईसित लोकतान्त्रिक जनआन्दोलन २०६२÷६३ मा राजधानीको सडकमा पटक पटक यो पंक्तिकारसित भेट भएको थियो । तर, त्यतिखेर एक नेता र कार्यकर्ता नभई नेता र पत्रकारबीचको भेट थियो । जीवन संघर्षको मैदान नै पत्रकारिता क्षेत्रलाई बनाएपछि जोसुकैसित सडकमा भेट हुनु स्वभाविकै हो । त्यसरी नै भेट हुन्थ्यो– रत्नपार्क, बागबजार, पुतली सडक, न्युरोड, असन, इन्द्रचोकतिर गोपाल राईसित । उहाँहरू गिरफ्तारमा पर्नुहुन्थ्यो हामी अश्रुग्याँसले अधमरो हुँदै फर्किएर त्यही समाचार लेख्थ्यौं, लोकतन्त्रको पक्षमा ।

तर, उहाँसित राजनीतिक कार्यकर्ताको हैसियतमा कहिल्यै कुराकानी भएन । होस् पनि कसरी न कहिल्यै गोपाल राईहरूले कांग्रेसको सदस्यता लिन भनेका छन् या त कुनै पैसावाल जागीरे नै हुनसकियो । लोकतन्त्रको पक्षधर एक स्वतन्त्र पेशामा लागेपछि आफ्नो ठाउँबाट निर्वाह गर्नुपर्ने भूमिका बहन भइरहेकै छ । संघर्षको एउटा नाम नेता गोपाल राई हरेक सडक आन्दोलनमा जोशिला हात मिलाउन भने चुक्नु हुन्नथ्यो ।

ऐसेलुको कांडा मेरो भागमा प¥यो, किरात संस्कार जिउँदो रह्यो
हुने हुनामी विधिले टार्दोरहेन छ । २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सा हेलिकोप्टर दुर्घटनामा परी युवानेता राज्यमन्त्री गोपाल राई तथा श्रीमती मीना राई दम्पत्तिलगायत देशकै उच्चतम विन्दुमा रहेका स्वदेशी र विदेशी व्यक्तित्वहरू २४ जनालाई देशले गुमायो । दुई जना त सहकर्मी पत्रकार नै परे । दुःखद समाचारपछि शोक मनाउनुबाहेक अर्को विकल्प थिएन ।

घुन्सामा लास बटुलिरहेको समाचार रेडियो, टेलिभिजनमा प्रसारण भइरहेको बेला मलाई मेला सहकर्मी पत्रकार पुष्पहरि क्याम्पाराई फोन गर्छन् । ‘गणेशजी, पशुपति वनकालीमा चिहान थलो हेर्ने काम भइरहेको छ । हाम्रो रीतअनुसार चिहान लगाउने ठाउँमा ऐसेलुको काँडा चाहिदोरहेछ, म त्यत्ति धेरै पटक यो ठाउँमा नआएकोले भेउ पाइएन, कहाँ पाइन्छ ?’ मैले भनें– जंगल वरपर नै पाइएला । किरात संस्कारअनुसार मृत्युपछि चिहान लगाउनु पर्ने रीति छ । चिहान लगाइसकेपछि मलामीहरू बाटामा आगो बालेर त्यसमाथि राखिएको काँडा टेक्दै फर्किनु पर्ने परम्परा छ । सायद त्यसैका निम्ति हुनुपर्छ, पुष्पजीले मलाई सोधबुझ गरेका हुन् ।

दोस्रो दिन पनि लास आइपुगेन । पुष्पजीलगायत मित्रहरूले चेप्टो चिहान ढुंगा (वाम्बुले राई भाषामा ह्यार्बा लुङ) जुटाउने काम गरेछन् । ऐसेलुको काँडा खोज्ने काम पनि जारी थिएछ तर पाइएन । फेरि पुष्पजीको फोन आयो– ‘गणेशजी ऐसेलुको काँडा पाइएन, खोजेर ल्याउने काम तपाईको ।’ चिहान ढुंगा मूलबाटोबाट जंगलतिर ओसार्दै गरेका पुष्पलगायत मलामीलाई फेरि भने– एयरपोर्टतर्फ गल्फमैदानतिर पाइएला नि । तर, तेस्रो दिन लास आइपुग्दासम्म पनि नपाइएको खबरले मेरो दिमागमा एक किसिमको ‘नोस्टालजिया’ बन्यो ।

लास शिक्षण अस्पतालमा पोष्टमार्टम भइसक्यो र ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा पु¥याइसकिएको छ । म त्यही भीडमाझमा छु । त्यतिञ्जेल पनि ऐसेलुको काँडा पाइएन, जसरी हुन्छ बन्दोबस्त गर्ने जिम्मा मेरो भागमा आइलाग्यो । उतिखेरै मनमा सुझ्यो, यो कुरा किरातीलाई नै सुनाउनु र सोध्नु वेश हुन्छ । भीडमाझ श्रद्धाञ्जली दिन पंक्तिवद्ध विशिष्ट व्यक्तिदेखि सर्वसाधारण माझ किरात राई यायोक्खाका केन्द्रीय सदस्य सुनील राईसित हठात ‘ऐसेलुको काँडा’ सोध्न पुगें । उहाँले ‘गोदावरी माथि फुल्चोकी वरपरमात्र पाइएला’ भन्ने जवाफ दिनुहुँदा मेरो काँध गलेजस्तै भएको थियो । ‘तैपनि बुझ्छु’ भन्नुभयो । अरुसँग सोधबुझ गर्दा स्वयंभूथानको मुनि पाइने बताए ।

त्यो क्षण मेरो निम्ति अग्नि परीक्षा भनेजस्तै ठानें । लासमा श्रद्धाञ्जली दिने भीड आधाउधि भइरहेको बेला सुनील राईले बोलाएर भन्नुभयो– ‘गणेश भाइ, नोवलकिशोर दाइ (पूर्व राजदूत प्रा.डा.नोवलकिशोर राई)को निवास धोबिघाट होण्डाको सोरुम रिङरोडसँगै ऐसेलुको बोट छ रे ।’ त्यत्ति सुन्नासाथ श्रद्धाञ्जलीका दुई थुँगा फूल सम्हाल्दै लाममा रहनु भएका नोवल सरसित निश्चित गर्न पुगें । त्यसपछि टाउको हलुँगो भयो । र पुष्पजीलाई काँडाको व्यवस्था भएको सुनाएँ ।

मेरो साथमा साथी तिखबीर राई (उँबु,ओखलढुंगा) र जसकुमार राई (केत्तुके, पँखु) हुनुहुन्थ्यो । दुवै जनालाई मेरो भागमा परेको जिम्मेवारीबारे अवगत गराइसकेको थिए“ँ। पुष्पलगायत हामी चारै जना वाम्बुले राई प¥यौं भने गोपाल राई बाहिङ राई पर्नुभयो । किरात राई जाति एक तर भाषा २८ भन्दा बढी छ । भाषासँगै हामी बीचमा सांस्कृतिक संस्कार केही भिन्न रहँदैआएको छ । हामी तीन जना मिलेर ऐसेलुको काँडा लैजाने सल्लाह भयो । र फेरि पुष्पजीले मलामी उपस्थिति रजिष्टर किनेर ल्याउन सुझाउनुभयो ।

पार्टी कार्यालयबाट लास बाटो लाग्ने बित्तिकै हामी तीन जना धोबीघाट रिङरोडसँगै ऐसेलुको काँडा लिन पुग्यौं । हामीले चाहेजस्तै थियो । नजिक बाटाकै मासु पसलेको धारिलो हतियार मागेर मूल र हाँगासहितको ऐसेलुको काँडा काट्यौं । अनि जसकुमारजीको मोटरसाइकलका पछाडि कागजले बेरेर आधा अँगालो ऐसेलुको काँडा बाँध्यौं । म तिखजीको मोटरसाइकल पछाडि र जसजीको पछाडि काँडाको भारी रह्यो । अपरान्हको समय बाटो भीडभाड थियो । त्यतिखेर पानी पनि दर्कियो । भिज्दै तीन वटा रजिष्टर र डटपेन किन्दै पुगियो ।

दिन ढल्किसकेको थियो । पशुपति पूर्वतर्फको वनकाली जंगल सिरमा चिहानघारीमा मलामीको भीड थियो । लासमा अन्तिम श्रद्धाञ्जली दिने काम भइरहेको थियो । काँडा पु¥याएलगत्तै चिहानमा चाहिने सुल्टो र उल्टो लिस्नु बनाउन काँडाको मूल हाँगा छिमल्न थाले, मृतक परिवारका दाजुभाइले । हामी तीनभाइ छक्क प¥यौं । किनभने वाम्बुले राईहरूले जुनसुकै रुखको हाँगा काटेर लिस्नु बनाएर मृतात्माको बाटो खुलाउने गरिदिने परम्परा छ । तर बाहिङ राईमा ऐसेलुको काँडा चाहिने रहेछ भन्ने त्यतिबेलामात्र थाहा पायौं । यदि त्यस्तो थाहा पाएको भए त काँडा बिना डाँठमात्र पु¥याउँथ्यौं नि जस्तो पनि लाग्यो । परम्पराअनुसार सायद त्यो काँडा पनि अन्तिममा चाहिन्थ्यो होला तर रात परिसकेकोले त्यसलाई आगो बालेर सँगै राख्ने र मलामीलाई कुल्चन लगाउन सम्भव नभएको हुनसक्छ ।

ऐसेलुको काँडाले बाटो खोल्यो । काँडाको डाँठबाट लिस्नु बनाएपछि स्वर्गीय राज्यमन्त्री गोपाल राईका बयोवृद्ध साइला काका पूर्व मन्त्री बलबहादुर राईले ‘लौ है किराती मुन्धुमअनुसार विधि सुरु भयो’ भनेर हातको चिण्डोबाट जाँड छर्किनु भयो । त्यसैगरी गोपाल राईका भाइ बुद्धराज राईले भन्नुभयो– ‘अब हाम्रो किराती संस्कार सुरुभयो । सबै महानुभावले अन्यथा नलिई दिनुहोला । लासलाई नछोइदिनु होला ।’

त्यसपछि दुवै चिहानभित्र पसेर एउटा–एउटा उल्टो लिस्नु झिकेर बाहिर फाल्नुभयो । सुल्टो भित्रै रह्यो । जब दागबत्ती दिने बेला भयो तब नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । त्यसपछि हामीले हाम्रा युवा नेता दम्पत्तिलाई सदा–सदाका लागि मट्टी दियौं । अन्तिम विदाइ ग¥यौं ।

२०६३ कात्तिक १९ आइतबार
हाल : कटुञ्जे–९ सिर्जनानगर, भक्तपुर ।

(प्रस्तुत आलेख गोपाल–मीना राई स्मृति प्रतिष्ठान, नेपाल (भाग १)द्वारा प्रकाशित ‘गोपाल–मीना राई स्मृति ग्रन्थ’ (२०६४), पाना नं.६५–७३ रहेको छ । घुन्सा हेलिकोप्टर दुर्घटनाको १५औं स्मृति दिवसका सन्दर्भ पारेर प्रतिष्ठानका अध्यक्ष लेखबहादुर राईको अनुमतिमा अनलाइनमा प्रकाशन गरिएको हो । प्र.सं.)

Leave a Reply

Your email address will not be published.