नेपाल सरकारका पूर्व-उपसचिव तथा कोशकार अविनाथ राईका ती सुदूर संस्मरण : ‘सुन साइँली छपन्न कटेसी रमाउँला…’

विचार / ब्लग

‘सुन साइँली छपन्न कटेसी रमाउँला…’ : सन्दर्भ अवकाशित जीवन

अविनाथ राई

फोटो साभार : इन्द्रकुमार चोङटेली

अन्ततः जागिरे जीवनबाट अवकाश भइयो । सेवानिवृत्त भइयो । यो कुनै आकस्मिक वा अप्रत्याशित थिएन । अन्ठाउन्न वर्ष पुगेपछि अनिवार्य अवकाश हुनु पर्ने सरकारी नियम अनुसार सेवाबाट अलग भइएकोले यो अति सामान्य वा प्राकृतिक प्रकृतिको प्रक्रिया थियो । तरैपनि, मेरा नजिकका आफन्तहरू, जसलाई मेरो वास्तविक उमेर थाहा थियो, ले यो बहिर्गमन प्रति आश्चर्य र आशंका व्यक्त गर्नु भएको पनि पाएँ । उहाँहरूको यो जिज्ञासा एक किसिमले सही पनि थियो किनभने म छपन्न वर्ष मात्र कटेको थिएँ अथवा अन्ठाउन्न वर्ष पुग्न करिब २ वर्ष १ महिना नै बाँकी थियो । यस सम्बन्धमा प्रवेशिका (एस.एल.सी.) परीक्षा दिन सोह्र वर्ष पुग्नु पर्ने प्रावधान अनुसार शिक्षक र अभिभावकले उमेर बढाइ दिनु भएको रहेछ र सोही अनुसार नागरिकता बनाइएको र त्यो नागरिकताको आधारमा निजामती सेवामा प्रवेश गरिएकोले यो रिटायरमेन्ट (सेवानिवृत्त) वास्तविक भन्दा अगाडि हुन गएको हो भनेर स्पष्ट गर्न चाहन्छु । करिब ३२ वर्ष (२०४२–२०७४) लामो जागिर खाइसकेको सन्दर्भमा अरू दुई वर्षको सम्बन्धमा खासै गुनासो गर्ने, असन्तोष व्यक्त गर्ने ठाउँ छैन । यति भन्दाभन्दै पनि पदोन्नति (सह–सचिव) हुन करिब छ महिना बाँकी हुँदा अवकाश हुनु पर्दा अलिकति खिन्नता बोध भने हुँदो रहेछ ! तथापि यो खिन्नता बोधले केही अर्थ भने राख्दैन ।

मातापिता तथा दाजुहरूले पढ्नु पर्छ भनेर सानैदेखि स्कुल पठाउनु भयो । पढेपछि के हुन्छ भन्ने थाहा नपाउनपाउदै आज्ञ पालन गर्दै पढ्ने काम गरियो । पढाइलाई पछ्याउने सिलसिलामा नौ वर्षको उमेरमा गाउँघर र प्रवेशिका परीक्षा उत्तीर्ण गरी पन्ध्र वर्षको उमेरमा जिल्ला छोडेर काठमाडौं आइयो । आवश्यकता र आपूर्तिको सन्तुलन मिलाउन सानोतिनो स्रोतको व्यवस्थापन गर्दै सरासर वाणिज्य शास्त्रमा स्नातक तह उत्तीर्ण गरियो । स्नातक पछि भने जीवनलाई स्थायित्व दिन केही गर्नु पर्छ भन्ने चेतना पलाएथ्यो । तर के गर्ने ? ‘समझ’ भन्दा बाहिर थियो । स्नातक गरे पनि उमेर अल्लारे थियो मानसिकता अपरिपक्व थियो ।

त्यसताका रत्नपार्कको खुलामन्च अगाडिको चउरमा चटक देखाएर औषधि बिक्री गरिन्थ्यो र भविष्य बताउने मानिसहरू पनि लहरै बस्थे । अब के गर्दा ठीक हुन्छ भनेर उनीहरूलाई नै सोध्न मन लाग्यो । उनीहरूमध्ये अलि जान्ने जस्तो देखिनेको अगाडि गएर अनुशासित विद्यार्थी जस्तो गरेर बसें । पाँच रूपैयाँ दर रहेछ त्यो पनि दिएँ । उसले मेरो हात र अनुहार हेर्दै फलाक्न थालेथे – तिम्रो मनमा पाप छैन, राति धेरै सपना देख्छौ तर बिहान उठेर सम्झदा धेरै बिर्सन्छौ, तिम्रो हातमा पैसा धेरैबेर रहदैन ……. मिलाउदै गयो । म दङ्ग पर्दै गएँ । मनमनमा प्रशंसा गर्दै गएँ । त्यसै क्रममा मेरो अनुहार हेर्दै भन्यो ‘पछि गएर आई.ए. सम्म पास गर्छौ …. !’ मलाई एक्कासी झड्का लागेथ्यो । रिसले अघि दिएको पैसा टपक्क टिप्दै भनेथेँ –‘बाजे तिमी फटाहा रहेछौ … मैले स्नातक पास गरेकोले अब के गर्दा ठीक हुन्छ भनेर पो सोध्न आएको …. ।’ ऊ अवाक मतिर हेर्दै थियो । किंकर्तव्यविमूढ ! भिड बढ्न थालेकोले दानदक्षिणा गरेको पैसा के फिर्ता लानु भनेर उसैको अछेता भएको थालमा फालिदिएर त्यहाँबाट हिंडेथेँ । पछि थाहा भयो त्यो बाजे र म त एउटै टोल (पुरानो बानेश्वर) मा बस्दा रहेछौं !

हामी निम्न वा मध्यमवर्गीय परिवारको सन्तानले पढ्नुको अर्थ जागिर खानु पनि हुँदो रहेछ । यो कुरा काठमाण्डूमा रहदाबस्दा थाहा पाइसकेको थिएँ । त्यसैले जागिरलाई नै जीवनयापन र वृत्तिविकासको माध्यम बनाउने अठोट गरेथेँ – त्यो पनि अधिकृतस्तरबाट मात्र शुरू गर्ने । त्यसैताका (२०३८ सालतिर) कर्मचारी संचय कोषमा शाखा अधिकृतको विज्ञापन खुलेथ्यो । मैले पनि परीक्षा दिएथेँ । लिखितमा उत्तीर्ण पनि भएँ तर मौखिकपछिको नतिजामा वैकल्पिकमा राखिएथेँ । ‘सोर्सफोर्स’ जोडले लाग्थ्यो – आफ्नो भने न समाउने हाँगो न टेक्ने अखेटो ! त्यसैबेला एक जना नेताजी, जसले मेरो साथीको भनसुन गरेका थिए र साथी पास पनि भएका थिए, ले ‘भनसुन बिना पनि तिम्रो नाम कसरी वैकल्पिक आयो ?’ भनेका कुरा अझ याद आउँछ । यस आश्चर्यमिस्रित अभिव्यक्तिले एकातर्पm पहिलो प्रयासमा नै राम्रो गरेछु र त लिखितमा उत्तीर्ण गरेर बिना आफ्नो मान्छे वैकल्पिकमा निकाल्न सफल भएँ भन्ने गौरवानुभूति भएथ्यो भने अर्कोतिर जागिर खान आफ्नो ‘ठूलो मान्छे’ नै चाहिने रहेछ भनेर खिन्नता बोध भएथ्यो । त्यसपछि, सूचना विभागमा लेखक÷अनुवादक (अधिकृत तह) को जागिर खुल्यो । जाँच दिए उत्तीर्ण गरें तर फेरि वैकल्पिकमा नै राखिएँ । नाम नै फेर्न मन लागेथ्यो – वैकल्पिक राई । जागिर प्रतिको मोह क्रमशः क्षीण हुँदै थियो ।

त्यसैबीच, नेपाल ओरिन्ड म्याग्नेसाइट कं.लि. नामक सार्वजनिक संस्थानमा लेखा सम्बन्धी काम गर्ने एउटा पदको लागि विज्ञापन खुल्यो – आशा थिएन तर त्यहाँ भने उत्तीर्ण भएछु – नियुक्ति पत्र लिन आउनु भन्ने पत्रिकामा सूचना पढेपछि मात्र थाहा भयो । खुसीको सीमा रहेनथ्यो । तर त्यो पनि क्षणिक मात्र रह्यो । नियुक्ति पत्र लिन जाँदा मात्र थाहा दिइयो त्यो त साइट अफिस (उपत्यका बाहिर) को लागि पो रहेछ । मैले जान नसक्ने असमर्थता व्यक्त गर्दै काठमाण्डूभित्रै मिलाइ दिन अनुरोध गर्दा सुनुवाइ त परै जाओस् राजिनामा पो माग गरियो । नियुक्ति पत्र नै नलिएको व्यक्तिबाट किन राजिनामा भन्दा वैकल्पिकलाई नियुक्ति दिन सजिलो हुन्छ भन्ने उत्तर पाएथेँ । मेरो कारणले कसैले जागिर पाउँछ भने किन राजिनामा नलेख्ने भनेर राजिनामा दिएथेँ । लाग्यो – मेरो मान्छे भएको भए त्यहाँ पनि काठमाडौं बस्ने वातावरण बन्न सक्थ्यो । लाग्यो – नेपालमा जागिर खान हामीजस्ता ‘निमुखा’को बसको कुरा होइन । त्यसैत्यसै जागिर प्रति वितृष्णा र घृणा हुन थाल्यो । त्यसपछि मन नलागिनलागि नै एक–दुई ठाउँमा जाँच दिइयो तर निक्लेन । लाग्यो – ठीकै भयो । यदि निक्लेको भए अर्को चरणमा विशेष व्यक्तिको ‘कृपा’ खोज्नु पथ्र्यो जुन मसित थिएन ।

जागिरको लागि प्रयासरत हुँदाहुँदै पनि शंकरदेव क्याम्पसमा स्नातकोत्तर तहको लागि भर्ना भएको थिएँ । बिहान सत्रको थियो । जागिरे बन्ने प्रयासको असफलताले पढाइमा पनि केही बाधा पु¥याएको थियो । नेपालमा जागिर पाइन्न भन्ने सोचले दिमागमा यति जरो गाड्यो कि तत्कालीन मेरो जिन्दगीको कुनै पनि क्षणमा कहिले पनि नसोचेको कुरा सोच्न पुगेछु – त्यो थियो वैदेशिक रोजगार । ‘खोजे भेटिन्छ’ भने भैंm विदेश जाने साथीभाइ र लाने एजेन्ट पनि भेटिएथे । एजेन्टले इराकको लागि विभिन्न भ्याकेन्सी आएको जानकारी दिए अनुरूप हामीले विभिन्न पदको लागि आवेदन दिएथ्यौं । सल्लाहले नै सोमध्येको ठूलो पदमा मेरो नाम राखिएको थियो । पासपोर्ट सहित कसैले एडभान्स पनि बुझाएथे । हामी केहीले भने अन्तरवार्तामा पास भएपछि मात्र बुझाउने भनेर पासपोर्ट मात्र बुझाएथ्यौं । चरम असन्तुष्टिको उपज भएकोले मनमा किञ्चित मात्रामा पनि उत्साह र उमंग थिएन ।

वैदेशिक रोजगारको कुरा कसैलाई पनि भनेका थिएनौं – भन्ने कुरा पनि थिएन । तर पनि नराम्रो कुरा चाँडै फैलिन्छ भने भैंm काठमाडौंका केही साथीभाइ मात्र नभएर गाउँघर सम्मै पुगेछ । कुनै साथीभाइले ‘नजानू’ भनेर सम्झाएका थिए भने कसैले ‘प्रतिभा पलायन’ भनेर दुःख व्यक्त र व्यंग्य गरेका थिए । उत्ता गाउँघरमा भने एउटाले ‘त्यत्रो पढेको मान्छे विदेशमा जागिर खान जाने भएछ, कुन पदमा रहेछ ?’ भनेर सोध्दा अर्कोले उत्तर दिएको थियो रे – ‘निकै ठूलै पद हो रे राष्ट्रपति हो कि क्या हो ।’ यो सुन्दा हाँसो थोरै दुःख धेरै लागेथ्यो – मलाई मेरो गाउँघरले कति विश्वास गरेको रहेछ भनेर । पढेर नेपालमा नै ठूलोमान्छे बन्न भन्ने उहाँहरूको विश्वासमा घात गरिरहेको छु ठानेर । विदेशबाट अन्तरवार्ता लिने मान्छे आएको र अन्तरवार्ता मिति पनि तोकिएको थाहा भयो । तर अन्तरवार्ताको दिन पहिले नै अन्तरवार्ता लिन आउने र यहाँको लोकल एजेन्टलाई हनुमान ढोका पु¥याइयो भन्ने सुनियो । कम्पनी सही भए पनि उताबाट आउने एजेन्ट भने फेक (नक्कली) भएको थाहा पाएर साथीभाइले प्रहरी कारवाही गरेका रहेछन् । एडभान्स दिने साथीभाइले पैसा फिर्ता पाए/पाएनन् तर आफूले भने पासपोर्ट फिर्ता ल्याइयो । यसको साथै विदेश जाने मोह पनि भंग भयो ।

वैवाहिक जीवनको ३४औं वर्षगाँठ श्रीमती मिली राईका साथ

यस घटनापछि विदेश नजाने बरू नेपालमा नै जागिर बाहेक अरू नै केही गर्ने विचार मनमा आएथ्यो । धेरै सोचविचारपछि गलैचा कारखाना चलाउने सोच गरे अनुरूप ‘डेबोनायर कार्पेट इण्डष्ट्रिज’ नामको गलैचा कारखाना विधिवत दर्ता गरेर संचालन गरिएथ्यो । उत्पादन र निर्यात गर्ने सोच अनुरूप संचालनमा ल्याइएकोमा अर्थ र सीपको अभावमा सोचेजस्तो भएन – विदेश निर्यात गर्ने सोच साकार भएन । स्थानीय बिक्रीले संचालन खर्च मात्र धान्न सक्थ्यो – तथापि गरिएको लगानी र कार्यरत कामदारलाई ध्यानमा राखेर दुई वर्ष पुगेपछि पनि निरन्तरता दिइएथ्यो तर मनले भने यसको पनि विकल्प खोजिरहेथ्यो तर विकल्प ? कर्मचारी संचय कोष र अन्य ठाउँमा जागिर पाएका साथीहरू पनि लोक सेवा आयोगको जाँच दिएर सरकारी जागिरमा पस्दै थिए । त्यसताका प्रत्येक छ महिनामा लोक सेवा आयोगले विज्ञापन गथ्र्यो ।

लोक सेवा आयोगको परीक्षा प्रणाली निष्पक्ष हुन्छ भन्ने पनि सुनेको थिएँ – त्यसैले मलाई पनि कोसिस गर्न मन लाग्यो । शुरूमा परीक्षण (ट्रायल) को रूपमा एउटा परीक्षा दिएँ – त्यस अनुभवबाट राम्ररी तयार गरे पास गर्न सकिन्छ भन्ने लाग्यो । त्यसैले आउने परीक्षाको तयारीमा लागेथेँ – त्यसैबेला (२०४१ जेठताका) मेरा पूजनीय पिताजीको हृदयाघातको कारणले असामयिक निधन भएको अप्रिय–अकल्पनीय खबर आयो । बल्लतल्ल संगालेको–संभालेको मन फेरि छरपस्ट भयो – भग्न र दग्ध भयो । पिताजीले मेरो बिहे भएको हेर्ने धोको थियो किनभने उहाँको सन्तानमध्ये ममात्र बाँकी थिएँ, पिताजीले म ‘सेक्सन अफिसर/बडाहाकिम’ (सानोमा मलाई थैथै गर्दै त्यसै भन्नु हुन्थ्यो) भएको हेर्न चाहनु हुन्थ्यो – त्यो कुनै पनि पूरा भएन । पूरा गर्न सकिनँ । आत्मग्लानी भएथ्यो । हीनताबोध भएथ्यो । धरधरी रोएथेँ – हिक्का नआउन्जेलसम्म रोएथेँ मलाई माया गर्ने मेरो आदरणीय पिताजीलाई सम्झेर – मेरो पिताजीको कुनै पनि इच्छा पूरा गर्न नसकेको सम्झेर !

म पिताजीको कामको लागि घर गएथेँ – सदा हराभरा लाग्ने आफ्नो रस्तीवस्ती उराठ र उजाड लागेथ्यो । काम सकिवरि मन नलागि नलागि फर्कदा मध्य बर्खा (असार–साउन) को समय थियो । भान्जा तप्ताले बहादुरा खोलाको बाटो हुँदै कटारीसम्म छोड्न आएको थियो । कटारी (तित्रिबोट) मा दाइ दस्तीको बाबुकोमा केही दिन बसेर फेरि बाटा लागेथेँ । मिर्चैया पुगेर मात्र गाडी चढ्न पाइन्थ्यो । मन एक तमासको भएको थियो – अशान्त, उद्विग्न र बेचैन । मिर्चैया पुगेपछि जुन गाडी पहिले आउँछ त्यसैमा चढ्छु भन्ने सोचेकै बेला एउटा गाडी आएकोले त्यसमा चढेथेँ – धरान जाने गाडी रहेछ । भानुचोकमा ओर्लेपछि मात्र अलि चेत खुलेथ्यो – अब के गर्ने ? एकपटक काठमाडौंमा भेट हुँदा भान्जा लाखबहादुर (जो स्वर्गिय भैसक्नु भयो) ले धरानको राँगा चोक (हाल रमाइलो चोक) मा आएर मेरो नाम लिए सबैले चिन्छन् भनेर भन्नु भएको सम्भेंm । उहाँ त्यतिबेला धरानमा घर बनाउने नाम चलेको ठेकेदार हुनुहुन्थ्यो । अनि सोध्दैखोज्दै राँगा चोक पुगेर भान्जाको नाम लिंदा साँच्चिकै उहाँको बस्ने ठाउँ पत्ता लाएथेँ । भान्जाको डेरामा पुग्दा ‘मामा आउनु भयो’ भनेर कति खुसी हुनु भएको थियो । मामालाई भान्जाले गर्ने स्वागत सत्कार र आतिथ्यमा अलिकति पनि कमी हुन दिनुभएनथ्यो भान्जाले । सायद आक्रान्त र शिथिल शरीरले त्यसैको चाहना पनि गर्दै थियो । धरानमा चार–पाँच दिन बसेर भान्जा तथा परिवारसँग विदावरि भएर काठमाडौं फर्केथें । काठमाडौं आएपछि साथीभाइले – ‘धरानमा कत्तिको गर्मी छ ? लामखुट्टे कत्तिको लाग्छ ?’ भनेर सोध्दा मैले उत्तर दिन सकिनथेँ ।

निजामती सेवामा विदेश भ्रमणको क्षण

काठमाडौं आएपछि आफूलाई पुनः संगाल्दै–संभाल्दै लोक सेवा परीक्षाको लागि पुरानै लयमा फर्काएको थिएँ । जाँच दिएँ – राम्रै भएथ्यो । अलि फुर्सदिलो भइएकोले एक पटक फेरि पनि ज्योतिषिको जान मन लागेकोले तत्कालीन राजज्योतिष (मंगलराज जोशी)को घर पाटनमा गएथेँ । उहाँका सहायकले मेरो हात हेर्दै के गर्नु हुन्छ भनी सोध्दा लोक सेवाको जाँच दिएर बसेको छु भन्दा कुन्नी के ग्रहले गर्दा यसपटक सफल हुन मुश्किल छ अर्को पटक कोसिस गर्नु होला भनेका थिए । किन पो गएछु जस्तो भएथ्यो । लोक सेवा आयोगको लिखित परीक्षाको नतिजा निस्क्यो – उत्तीर्ण भएछु । खुसी लाग्नु स्वभाविकै थियो – खुसी भएथेँ । तर, त्यो खुसी क्षणिक हो भन्ने कुरा पहिलेका नजिरहरू र ज्योतिषका भनाइले पुष्टि गरेको थियो । तर पनि वौद्धिक लगायत मौखिक परीक्षाको लागि राम्ररी तयारी गर्न भने छोडिनथेँ । सबै राम्रो भयो – अन्ततः लोक सेवा आयोगको अन्तिम नतिजा आएथ्यो – उत्तीर्ण भएछु ! हो म शाखा अधिकृत अर्थात् सेक्सन अफिसर भएछु !! मैले खुद आफ्नै आँखाले सूचना पाटिमा टाँसिएको नतिजामा आफ्नो नाम हेरेको !!!

लोक सेवा आयोग निष्पक्ष हुन्छ भनेको साँच्चै हो रहेछ – श्रद्धानत भएँ, अझ छु र रहने छु । (यस संवैधानिक निकायको निष्पक्षता त्यसबेला पनि अनुभव गरेथेँ जुनबेला २०४९ सालमा समूह परिवर्तनको लागि जाँच दिएर पास भएथेँ । सत्तारूढ राजनैतिक पार्टीका कट्टर समर्थक मित्रहरूमध्ये केही जना बाहेक अरू पास भएनन् थे । यदि निष्पक्षता नहुँदो हो त म जस्ता निमुखाको पास हुने कुनै गुञ्जयास अलिकति पनि हुँदैनथ्यो । त्यसैले पनि होला अहिले पनि कमलपोखरीतिर जाँदा लोक सेवा आयोगको केन्द्रीय कार्यालय देख्ने वित्तिकै कुनै मन्दिर भैंm नमन गर्दछु) । नतिजा हेरेर कमलपोखरीबाट फर्कदै गर्दा पाटनतिर हेर्दै लोप्पा ख्वाएथेँ –‘इ तेरो ज्योतिष विद्या !’ भनेर । त्यसदेखि आजसम्मै, यसमा म गल्ती पनि हुन सक्छु, ज्योतिष विद्याको भविष्यवाणी क्षेत्रमा मेरो आस्था र विश्वास रत्तिभर छैन ।

निजामती सेवामा विदेश भ्रमणको क्षण

यसरी २०४२ साल असारदेखि शुरू भएथ्यो – मेरो सरकारी जागिरे जीवन । स्टाफ कलेजको सेवा प्रवेश तालिम पछि साझा विकास अधिकृतको रूपमा जोमसोम, मुस्ताङ, त्यसपछि साझा प्रशिक्षकको रूपमा साझा विकास प्रशिक्षण केन्द्रमा छ वर्ष, त्यसपछि समूह परिवर्तन गरेर अर्थ मन्त्रालय र अन्तर्गतका विभाग र कार्यालयहरू र अन्तिम अर्थात् अवकाश प्राप्त गर्ने बेलामा वरिष्ठ प्रशिक्षकको रूपमा राजस्व प्रशासन तालिम केन्द्रमा ।

संक्षेपमा भन्नु पर्दा शुरूको मुस्ताङबाहेक बाँकी जागिर काठमाडौं उपत्यकामा नै खाइयो । २०४९ सालमा लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर समूह परिवर्तन गरी अर्थ मन्त्रालय प्रवेश गरियो । अनि सो मन्त्रालय अन्तर्गतबाट नै जागिर टुंग्याइयो । अर्थ मन्त्रालय गएर पनि बढी मन्त्रालयमा नै बढी बसियो । मन्त्रालयको तत्कालीन महाशाखामध्ये एकाधबाहेक प्राय सबै महाशाखामा काम गर्ने शुभ अवस पाइयो । बजेट तथा कार्यक्रम महाशाखा र वैदेशिक सहायता समन्वय महाशाखा (हाल अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा) मा सबैभन्दा बढी अवधि काम गरें । त्यसपछि क्रमशः आ.का.वि. महाशाखा, राजस्व महाशाखा र प्रशासन महाशाखा । विभागमा आन्तरिक राजस्व विभाग र राजस्व प्रशासन तालिम केन्द्र (दुई पटक) मा काम गरियो । कार्यालय तीन पटक गइयो । जहाँ काम गरियो निष्ठा, लगन र उत्तरदायित्वका साथ गरियो । प्रचलन र पद्धतिमा रहेर गरियो । यसले एउटा आत्मसन्तुष्टि पनि दिंदो रहेछ – जुन मलाई दियो । निष्ठा, लगन र उत्तरदायित्व बोधले काम गराइमा रमाइलोपना पनि ल्याउँदो रहेछ । भनिन्छ, कर्तव्य कठोर पनि हुन्छ । यदि त्यो कठोरतालाई सर्लक्क पन्छाउने हो भने निर्धक्कसाथ निसंकोच भन्न सक्छु – मेरो जागिरे जीवन रमाइलो थियो । रमाएरै प्रवेश गरें रमाएरै बहिर्गमन भएँ । जागिर अवधि लामो भएकोले संगालिएका र भोगिएका अनुभव र सुखदुःखका क्षणहरू पनि लामै छन् । विषय वा प्रसंग मिलेमा पछि लेख्ने नै छु । हाललाई विदाइका दिनहरू बारे केही लेख्दैछु ।

निजामती सेवा कालमा

जसैजसै अवकाश हुने दिन अर्थात् २०७४ साल असार ६ गते नजिकनजिक आउँदै थियो तसैतसै मनमा उद्विग्न, बेचैनको साथसाथै प्रसन्नता पनि बढ्दै थियो । कस्तो समिश्रित अनुभूति ! त्यति बेला नै राजस्व समूहका नवप्रवेशी शाखा अधिकृतहरूको तीन महिने सेवा प्रवेश तालिम पनि चल्दै थियो; जुन जेठ ३१ गते सकिन्थ्यो । त्यो कार्यक्रमको संयोजक भइएकोले निकै व्यस्त हुनुपर्दा केही दिनपछि जागिर सिद्धिदैछ भन्ने कुरा पनि कहिले त भुलिन्थ्यो । यसको समापनपछि मात्र पेन्सनपट्टा लगायतका काममा लाग्ने सोचिएको थियो । आखिरमा समापन अर्थात् प्रमाणपत्र वितरण गरी विदाइ गर्ने दिन पनि आयो । प्रमुख अतिथिको रूपमा मन्त्रालयबाट सह–सचिव विष्णुप्रसाद नेपाललाई आमन्त्रण गरिएको थियो । उहाँले मन्तव्य दिने क्रममा मलाई धन्यवाद र शुभकामना दिनु हुँदा ‘ए म त जाँदैछु’ भनेर अलि दुखेको थिएँ भने सहभागीहरूलाई मेरो जस्तो आचरणको हुनु भनेर सुझाव दिनु हुँदा दंग परेको थिएँ ।

कार्यक्रमको बीचमा सहभागीहरूको तर्पmबाट भनेर एक जना मित्रले समय माग्नु हुँदा संयोजकको हैसियतले हुन्छ भनेथेँ – त्यो त मलाई विदाइ स्वरूप उपहार र फूलमाला लगाइ दिनलाई पो रहेछ ! उपहार दिनु भयो – पूmलमाला लगाइ दिनु भयो । अनि मलाई समर्पित एउटा विदाइ गजल वाचन गरियो । आफ्नो लागि आपैmले समय दिएको जस्तो देखिंदा अत्यन्त असहज र असजिलो लागेथ्यो । यो कुरा पछि आफ्नो भनाइ राख्दा स्पष्ट पारेको थिएँ । साथीहरूको यो माया, ममता र आदरले म कति गर्वित थिएँ । गुरू–शिष्यको सम्बन्ध सुमधुर र आदरणीय हुन नसकिरहेको वर्तमान परिदृश्यमा यो अचम्म र अनुकरणीय हुन गएको थियो । सहभागीहरूको तर्पmबाट भनेर सहभागी मित्र शा.अ. हिमाल गौतमद्वारा रचित र वाचित विदाइ गजल यस्तो थियो – आदरणीय गुरू अविनाथ राई प्रति समर्पित विदाइ गजल :
सरलाई बिदाइ गर्ने भन्दा यति पीर प¥या छैन
परेलीका डिल नाघी झण्डै आँसु झ¥या छैन
माया, स्नेह, मार्गदर्शन पाइरह्यौ आएदेखि
स्मृतिका पानादेखि बसाइ अझ स¥या छैन
मिलनपछि विछोड हुने प्रकृतिकै नियम यो
घुमिर’ने चक्र रैछ माया हाम्रो ह¥या छैन
कतै मन दुखे होलान् सँगै बस्दा हाँसखेल गर्दा
अन्जान ठानी क्षमा गर्नु मानमर्दन ग¥या छैन
भेट हुँदा बोल्नु होला यी दिनहरू संझिएर
शरीर टाढा भए पनि मनको नाता म¥या छैन ।

कर दिवसमा पुरस्कृत हुँदा

कार्यक्रमको अन्त्यपछि फोटो खिचेका थियौं । आभारी छु मित्रहरू । तपार्इँहरूको माया, प्रेम र सद्भाव मेरो सम्पत्तिका रूपमा रहनेछन् । मेरो पनि तपार्इँ प्रत्येकको उज्ज्वल र समुन्न भविष्यको लागि धेरैधेरै शुभकामना दिन चाहन्छु । शुभेच्छा प्रकट गर्न चाहन्छु ।

 

अन्त्यमा त्यो दिन पनि आयो जुन दिनको व्यग्र प्रतीक्षा गरिएथ्यो । त्यो दिन जुन दिन राज्यले करिब ३२ वर्ष अगाडि बोक्न दिएको जिम्मेवारीको बोझिलो भारी बिसाउनु थियो । त्यो दिन जुन दिन आफ्ना युवा वयका ऊर्जाशील क्षण समर्पण गरेको सेवाबाट सधैंको लागि अलग हुनु थियो । वास्तवमा जागिरेहरूको दुई वटा परिवार हुँदो रहेछ; एउटा घर परिवार र अर्को कार्यालय परिवार । कार्यालय परिवारको पनि उत्तिकै माया लाग्दो रहेछ । मेरो कार्यालय परिवारका सदस्यहरू अत्यन्त मिलनसार, सहयोगी र भद्र हुनुहुन्थ्यो । जसले भूकम्पको त्यो त्रासदीपूर्ण क्षणमा समेत मलाई साथ र सहयोग दिनु भएको थियो । हो म त्यहीं कार्यालय परिवारलाई छोडेर जाँदै थिएँ । भरे मैले विदाइ मन्तव्य दिंदा कतै गला अवरूद्ध हुने त होइन भनेर अलिकति डर मन लागेथ्यो ।

मेरो विदाइ कार्यक्रम एउटा तालिम कक्षमा गरिएको थियो; जहाँ सबैजना अट्न सक्थ्यो । अपरान्ह साढे दुई बजेतिरबाट शुरू भएको कार्यक्रम समाप्त हुँदा झन्डै ४ बजेको थियो । पहिले मैले बोलेको थिएँ – करिब पन्ध्र–बीस मिनेट । भावनातिर नबगेकोले गला अवरूद्ध हुन पाएनथ्यो । त्यसपछि तालिम प्रमुख अर्जुनप्रसाद पोखरेल (हाल ः सह–सचिव, अर्थ मन्त्रालय) ज्यूले विदाइ मन्तव्य सहित पूmलमाला सहित उपहार दिनु भएको थियो । त्यसपछि कार्यालय परिवारका प्रत्येक सदस्यले रातो टीका लाइदिंदै पुष्पगुच्छा दिनु भएको थियो । मैले के बोलें, अर्जुन सर वा कसैले के बोल्नु भयो भन्ने लेख्न आवश्यक देख्दिन । यतिमात्र भन्छु कार्यक्रम बोझिलो माहौलमा सम्पन्न भएथ्यो । हामी सबैको अनुहार म्लान थियो । अन्त्यमा सबैले सँगै अन्तिम चियापान गरेथ्यौं । मलाई मैले नै प्रयोग गर्ने गरेको गाडीमा घर पु¥याइएको थिएँ । यसरी मेरो जागिरे यात्रा टुंगिएको थियो ।

विदाइको भोलिपल्ट नै मलाई कक्षा लिन स्रोत व्यक्तिको रूपमा डाकिएकोले पनि हुनसक्छ – ममा जुन पीडावोध हुनुपथ्र्यो त्यो नभएको वा विदाइ मन्तव्यमा गला अवरूद्ध हुन्छ कि भन्ने भय थियो त्यो नभएको । कार्यालयको तर्पmबाट कहींकतै गएर मेरो ‘फेरवेल’ को कार्यक्रम राख्न उपयुक्त दिन र समय सोधनी भएकोमा विनम्रतापूर्वक इन्कार गरेको थिएँ । किनभने पहिले यस्तो चलन थिएन र चलन चलाएमा यसलाई निरन्तरता दिन भोलि विविध कारणले बोझिलो हुने थियो । त्यति हुँदाहुँदै पनि भोलिपल्ट कक्षा लिएर फर्किन लाग्दा मित्रहर डिलाराम सापकोटा, ज्योति कोइराला, राजेन्द्र भण्डारी, किरण अर्याल, राजकुमार रुपाखेती र राजिब झाले नजिकैको नाङ्लो बेकरी क्याफेमा लगी छोड्नु भयो । धन्यवाद मित्रहरू तपार्इंहरूको मायालाई आजीवन सँगालेर राख्नेछु ।

अवकाश भएको बेलुका आफू अवकाश भएको जानकारी फेसबुकबाट यसरी जानकारी गराएको थिएँ –
सरकारी सेवामा मिति २०४२ साल असार २५ गते शाखा अधिकृत पदमा प्रवेश गरी आज मिति २०७४ साल असार ६ गते उप–सचिव पदबाट अनिवार्य अवकाश पाइयो । निजामती कर्मचारीको हैसियतले करिब ३२ वर्ष देशको सेवा गर्ने शुभ अवसर प्राप्त भएकोमा अत्यन्त गौरव अनुभूति भएको छ । लोक सेवा आयोग, नेपाल सरकार, अर्थ मन्त्रालयको साथै संवद्ध विभाग÷कार्यालय प्रति आभारी छु । जागिरे जीवन–यात्रालाई सुखद, सुन्दर र अर्थपूर्ण बनाउन सहयोग गर्नुहुने सम्पूर्ण मान्यजन, मित्रजन, नरनाताजन, शुभेच्छुकजन र परिवारजन प्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

उक्त पोस्टको प्रत्युत्तर स्वरूप माया, शुभेच्छा र शुभकामनासहित धेरै राय÷प्रतिक्रिया (कमेन्टस/लाइक) प्राप्त हुँदा लाग्यो अरू केही नभए पनि मलाई माया गर्ने मेरो भलो चाहने धेरैधेरै साथीभाइ इष्टमित्र कमाउन सकेको रहेछु । भन्नु परोइन सबै राय प्रतिक्रियाले मेरो सुखमय, रचनात्मक, सीर्जनशील, सुस्वास्थ्य, सक्रिय, सफल र रमाइलो सेवानिवृत्त जीवनको कामना गरिएको थियो । कसैकसैले सामाजिक सेवा जस्तै स्वयंसेवकको काम गर्ने, ज्येष्ठ नागरिक क्लब खोले ज्येष्ठ नागरिकहरूको सेवा गर्ने, स्थानीय बालबालिकालाई अंग्रेजी पढाउने, नयाँ सोखको विकास गर्ने आदि सुझाव पनि दिनु भएको थियो । सयौं संख्यामा अभिव्यक्त रायमा केके लेखिए त्यो सबै उल्लेख गर्न संभव छैन र व्यवहारिक पनि हुँदैन । त्यसो त धेरै त एउटै व्यहोराको पनि थिए । तथापि, अरूभन्दा अलि पृथक र मलाई छोएका केही रायहरू (कमेन्टस) भने उल्लेख गर्न चाहन्छु :

(क) स्वतन्त्र निजी जीवन : जागिर वास्तवमा एउटा बन्धन पनि हो; जहाँ नियम कानूनको परिधिमा आपूmलाई बाँध्नु पर्छ । जब जागिरको अन्त्य हुन्छ त्यसपछि मात्र आफ्नो निजी÷स्वतन्त्र जीवनको शुरूवात हुन्छ भन्ने आशयका साथ यस्ता राय प्राप्त भएका थिए :
– बधाई र शुभकामना राईजी ! जिन्दगीको रमाईलो बल्ल लुट्न पाउँनु भयो –भोज घिमरे, पूर्व मुख्य सचिव÷राजदूत
– स्वतन्त्रता सबैभन्दा प्यारो हुन्छ । हार्दिक शुभकामना अवि सर ! – दीर्घ मैनाली, सह–सचिव
– आफ्नो जीवन शुरू भएकोमा बधाई – राजेन्द्र पौडेल, उप–सचिव

(ख) अर्को जीवनको शुरूवात : जागिरको अन्त्य हुनु भनेको जीवनको अन्त्य हुनु होइन, एउटा चरण पूरा भएर अर्को चरणमा प्रवेश गरेको मात्र हो, अर्को चरणमा अभैm धेरै गर्नुपर्छ भन्ने कामना साथ प्राप्त राय :
-Happy Second Innings ! – दीपन्द्र शर्मा, सचिव
-I congratulate Rai jee upon his decent retirement from civil service and wish his post-civil service career highly encouraging and progressive from the perspective of enthusiasm and happiness – प्रतापकुमार पाठक, पूर्व सचिव
-Best wishes for your different life ahead – everyone follow you in this big realm ! कैलाश पोखरेल, उप–सचिव
-It’s not retirement actually but changed role that you gonna play for the nation. Mama hope you enjoy a lot in future to come. – भान्जा गजुरधन राई, केन्द्रीय अध्यक्ष, वाम्रास, नेपाल

(ग) व्यक्तिगत प्रसंगहरू : मलाई नजिकबाट चिन्ने केही मित्रहरूले यस्तो लेख्नु भएको थियो :
ड- प्रिय अवि, समयले सुटुक्क नेटो काटेछ हगि । हेर्दा–हेर्दै तिम्रो जीवनको अर्को पाटो शुरू भएछ । तिम्रो त साहित्यमा पनि राम्रो दखल छ । अब भने धेरैबाट लुकेको तिम्रो प्रतिभा व्यापक भई प्रिय भएको हेर्ने इच्छा छ । स्वच्छ छवि लिएर सेवा निवृत्त भएका छौ स्वभावतः गौरवानुभूति भइ रहेको छ । निवृत्त जीवन सुखमय रहोस् । – विनोद भौकाजी, पूर्व उप–सचिव, हाल न्यूजिल्यान्ड (सरकारी सेवामा प्रवेश गर्नमा विनोद दाइको प्रेरणा, साथ र सहयोगको लागि आभारी छु – कृतज्ञता ज्ञापन गर्दछु) ।
-We will miss you in Ministry of Finance. Rai Sir, I wish you a cheerful and active retired life ! – डा. नारायण ढकाल, उप–सचिव
– निजामती सेवाको लामो वृत्तिपथ पार गरी अवकाश हुनु भएकोमा शुभकामना ! नेपालको निजामती सेवाले एक असल, इमान्दार, नैतिक, कर्तव्यनिष्ठ, मेहनती कर्मचारीलाई विदाइ गरेको छ । सेवामा रहनेहरू उहाँको पदचापमा हिंड्न सकौं । उहाँको योगदान अनुकरणीय छ । तपार्इँको ज्ञान, निष्ठा, लगाव सदा सम्झनलायक हुनेछन् । तपाईंको जीवनमा नयाँ यात्रा शुरू भएको छ । यो यात्रा अत्यन्त सफल रहोस् । – शिवलाल तिवारी, सह–सचिव
– थोरै मध्येका असल राष्ट्र सेवक ! – गोपी न्यौपाने, अधिवक्ता/लेखापरीक्षक
(घ) मेरो समुदायको अपेक्षा ः जागिरे अवस्थामा नै पनि २०५० सालदेखि नै आफ्नो जाति (वाम्बुले राई) र मातृभाषाको संरक्षण, उत्थान र विकासको लागि सक्रियरूपमा लागेको हुनाले मेरो जागिरको अन्त्यपछि मेरो समुदायले मबाट अझ बढी अपेक्षा राख्नु स्वभाविकै थियो । केही प्रतिनिधि अपेक्षा यसरी अभिव्यक्त भएका थिए :
– हजूरको अवकाश पछिको जीवन सुखद र सुखमय बनोस् । साथै, तपार्इँले आर्जन गर्नु भएको ज्ञान, सीप र क्षमतालाई हाम्रो समाज÷समुदायलाई माथि उठाउन उपयोग गर्नेछ र समाज÷समुदायलाई माथि उठाउन हजूरको अद्वितीय योगदान रहने अपेक्षा छ यापो (ससुरा) हजूर ! – जुवाइँ शुभराज राई काजी, अध्यक्ष, वाम्रास, कटारी, उदयपुर ।
– अवकाश पछिको जीवनले हामी सारा वाम्बुलेलाई हरेक कोणबाट फाइदा हुनेछ भन्नेमा पूर्ण विश्वस्त छु । – विकास सौगात, केन्द्रीय सचिव, वाम्रास, नेपाल ।
ममा समर्पित सम्पूर्ण शुभ वचनहरू उल्लेख गर्न नसकेकोमा क्षमा चाहन्छु । फेसबुकप्रति कसैको पृथक धारणा होला मेरो भने सकारात्मक धारणा रही आएको छ । मलाई यो बेग्लै संसार लाग्छ जहाँ विभिन्न साथीभाइ रहनु हुन्छ र सुखदुःखका क्षणमा साथ–सहयोग दिनु हुन्छ । यो ऐना जस्तो पनि लाग्छ जहाँ आफ्नो प्रतिविम्ब हेर्न पाइन्छ – नजिक भए नजिक, टाढा भए टाढा नै । म प्रति देखाउनु भएको माया, सदाशयता र सद्भावको लागि सम्पूर्ण आत्मीयजनमा हार्दिक धन्यवाद चाहन्छु ।

भूकम्प, म र मेरो वाहन
२०७२ सालको भूकम्पताका म राजस्व प्रशासन तालिम केन्द्र, हरिहर भवनको कार्यवाहक तालिम प्रमुख थिएँ । त्यसबेला दुई वटा सेवाकालीन (उपसचिवस्तरीय र लेखा अधिकृतस्तरीय) तालिम र एउटा सेवा प्रवेश (लेखा अधिकृतस्तरीय) तालिम संचालनमा थिए । तालिम कक्षहरू लगायत केन्द्रको भौतिक संरचना क्षतिग्रस्त भएकोले ती तालिम कार्यक्रमहरू पुनः संचालन गरी सम्पन्न गर्न ठूलो चुनौतीको सामना गर्नु परेको थियो । सेवाकालीन तालिमबाट आर्जित नम्बरले वृत्ति विकास (बढुवा) समेतमा सहयोग गर्ने हुनाले तालिम निरन्तरताको लागि केही ठूला ठाउँबाट समेत फोन प्राप्त भएको थियो । शुरू गरेपछि समापन गर्नु कर्तव्य अन्तर्गत नै पर्ने भएकोले सेवा प्रवेशबाहेक अन्य दुई वटा तालिमहरू ग्यारेजलाई पालले बेरेर र छिँडिमा पर्दा लगाएर सम्पन्न गरिएथ्यो !

पहिलो ठूलो झड्का (बैशाख १२) लाई पराकम्पहरूले स्मरण गराउँगराउँदै पुनः बैशाख २९ गते अर्को ठूलो झड्काले सातो लिएको थियो । पहिलोमा घरमा नै भएकोले त्यत्तिको डर लागेको थिएन तर दोस्रोमा भने कार्यालयमा ! पहिलो झड्काले थिलथिलो बनाएको संरचनामा भएकोले होला हुनसम्मको डर लागेथ्यो । मलाई अझ सम्झना छ – त्यो दिन एउटा महत्वपूर्ण विषयलाई लिएर मेरो कार्यकक्षमा बैठक बसेका थियौं । अरू बेला भुइँतला बाहिर बरन्डामा सोफा राखेर बस्ने गथ्र्यौ तर त्यो दिन भने बाहिरका प्रतिनिधिहरू समेतको सहभागिता रहने भएकोले माथि चढेका थियौं । बैठक सिद्धिएपश्चात् बैठक पुस्तिकामा सही गरेर सहभागीहरू तल झरेका मात्र के थिए आइ त हाल्यो ! क¥याककुरुक गर्दै पूरै भवन हल्लिएको थियो – म पनि उहाँहरूको पछाडि भागेथेँ । तल पुगेपछि मात्र थाहा पाएथेँ – हातमा मोबाइल र डायरीसम्म थियो तर खुट्टामा भने मोजा मात्रै ! जुत्ता खोलेर बस्ने बानी …. हतारमा नलाइकनै पो कुलेलम ठोकेछु …. अविस्मरणीय रहनेछ ! बाहिर शान्त तर डर, त्रास र संत्रासको वातावरण थियो । नहोस् पनि किन ? प्रकृतिले भर्खरै आफ्नो विद्रुप रूप देखाएको थियो ! गह्रुंगो मनले हामी दिउँसै हिंडेथ्यौं ।

फर्किने क्रममा गाडीमा रेडियो नेपाल सुन्दै थिएँ । कुनै भूगोलवेत्ता वा कुनै विज्ञको अन्तरवार्ता लिइँदै थियो । पुल्चोक (दमकलचोक नजिक) के पुगेको थिएँ – फेरि आइ त हाल्यो ! रेडियोले पनि ‘स्रोताहरू हाम्रो चिया गिलास हल्लिरहेको छ ….. ’ भनिरहेको थियो । त्यहीँबेला जाम पनि भयो – म त ड्राइभिङ सिटमा हल्लिरहेको थिएँ नै म रोकिएको देब्रेतिरको पुरानो घर पनि हल्लिरहेको थियो । मनमा अप्रिय घटनाको आशंका आयो – ‘कुनै पनि बेला म र गाडी यहीँ दबिने छौं … उद्धार हुँदा विभत्स स्थितिमा फेला पारिने छौं ।’ विपतको बेला मनमा अनेकअनेक नजाती कुराहरू आउँदा रहेछन् । तर छिट्टै जाम खुलेथ्यो र निमेषमा नै घर पुगेथेँ । दुःखमा साथ दिएको वा रहेकोले होला त्यस दिनदेखि त्यो गाडी प्रति विशेष माया, मोह र आशक्ति जागेथ्यो । मैले कहिंले पनि त्यसलाई सरकारी वा पराइ ठानिन । आफ्नै ठानेँ, आफ्नैजस्तो स्याहारसुसार गरेँ …. आफ्नै ठानेर मायाले प्रयोग गरेँ । एउटा निर्जीव वस्तुप्रति पनि माथिल्लो स्तरमा नै भावनात्मक लगाव हुन सक्दो रहेछ भन्ने अनुभूत गरेँ । हुन पनि जति अवधि मैले प्रयोग गरेँ अलिकति पनि दुःख दिएन – न छिसिक्क कसैलाई छोयो न ठोकियो नै, अरू त परै जाओस् पन्चरसम्म पनि भएन (जुन पहिलेकाहरू हुने गर्थे) ! मेरो जागिरको अन्तिम दिनमा पनि ड्राइभरमार्पmत् घरसम्म छोड्न आएथ्यो ! धन्यवाद मित्र बा.१ झ ७९२० – तिमीसँगका पलहरू र तिम्रा गुणहरू सदैव सम्झने छु !

जागिर जीवनयापनको आधार मात्र नभएर यो जोखिमपूर्ण लामो यात्रा पनि हो । यो यात्रा सफलतापूर्वक विना विवाद–बेदाग सम्पन्न गर्नु पनि ठूलो उपलब्धि नै ठान्नु पर्ने हुन्छ । जागिरबाट सकुशल अवतरण गर्नेमध्ये म पनि परेकोमा अत्यन्त खुसी लागेको छ । मेरी स्व. ममतामयी आमाले म सानो हुँदा भन्नु भएको सुनेको थिएँ – मान्छेलाई नमरेसम्म दुःखले छोड्दैन । जहिलेको हतारो जहिलेको व्यस्तताले जिन्दगी दुःखकै अखडा जस्तो लागेथ्यो । तर जब म अवकाश भएँ त्यसपछि मात्र चरम सुख र स्वतन्त्रताको अनुभूति भैरहेको छ । मैले कहिले पनि कल्पना गरेको थिइनँ कि मेरो जिन्दगीमा कहिले पनि त्यो क्षण आएँदैन होला जुन क्षणमा पछाडि फर्केर मेरो विगतलाई हेर्न सकौं – समीक्षा गर्न सकौं । तर अचम्म ! आउँदो रहेछ – आयो । जिन्दगीको यस विन्दुबाट मैले विगतलाई नियाल्ने मौका पाइरहेछु । मैले पछाडि फर्केर हेर्दा जुन परिवेश र पृष्ठभूमिबाट आएर जहाँ पुगें – जे हासिल गरें त्यसमा पूर्ण सन्तुष्ट छु । ‘न समाउने हाँगा न टेक्ने अखेटा भएको’ म जस्तो निसहाय निमुखाले शून्यबाट शुरू गरेर यो मुकाममा पुग्नलाई यसलाई ठूलो उपलब्धि ठानेको छु – मानेको छु ।

हो वाञ्छित पदोन्नति भने हुन सकेन – २०४२ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गरेको मान्छ २०७४ सालमा सेवानिवृत्त हुँदा केवल उप–सचिव ! अहिले विश्लेषण गर्दा त्यो पनि मेरै कमजोरीको नै कारण ठहरियो किनभने पदोन्नतिको लागि कहिले पनि लोक सेवा आयोगको परीक्षा दिइएन (पढाइमा कमजोर भएर पनि होइन) । त्यस्तै, आपूmभन्दा माथिका पदाधिकारीहरूसँग कार्यालयबाहेक व्यक्तिगत सम्बन्ध राखिएन – जसले गर्दा कार्य सम्पादन, मूल्यांकनमा असर परी आन्तरिक (फाइल) बढुवामा असर प¥यो । उप–सचिवमा अलि अगाडि बढुवा नहुनुको अर्को कारण थियो – मेरो शैक्षिक प्रमाणपत्र । स्नोतकोत्तर तहमा थेसिस लिएको थिएँ – थेसिस तयार गरी बुझाएपछि भाइबा दिन कीर्तिपुर जानुपथ्र्यो । तोकिएको दिनमा कहिले थेसिस एडभाइजर र कहिले एक्सपर्टको अनुपस्थितिको कारणले निकै पटक धाउनु परेकोले दिक्क भइएथ्यो । पछि बल्ल दुवै जना भेटिएर अन्तरवार्तापछि कति नम्बर चाहिन्छ भनेर सोध्दा ‘राईझोंक’ किकाल्दै भनेथेँ – ‘जति दिन मन लाग्छ दिनोस् म छुटकारामात्र पाउन चाहन्छु ।’ मलाई थाहा थियो प्रथम श्रेणीको लागि मलाइ ६९ चाहिन्थ्यो तर भनिनँ । उनीहरूले केवल दिएछन् – ६० ! प्रथम श्रेणीको लागि ६५ प्रतिशत चाहिएकोमा केवल भयो – ६४ प्रतिशत ! यसले पनि मेरो प्रमोशनमा असर पु¥यायो । त्यो ‘राईझोंक’ मेरो गल्ती थियो ।

गल्तीको नै प्रसंगमा म अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखामा कार्यरत रहँदा एसियाली विकास बैंकको केन्द्रीय कार्यालय, मनिलाको लागि एउट सिट माग भई आएको थियो । मासिक १३ हजार अमेरिकी डलर र अवधि ३ वर्षको थियो । पावरवाला साथीहरू भिड्नु भएको थियो – आपूm भने स्थायी रमिते भएकोले रमिता हेर्दै थिएँ । उहाँहरूको सहमति हुन सकेन । सिनियरलाई पठाउने निक्र्यौलमा पुग्नु भएछ । सिनियर म थिएँ । त्यसैले तत्कालीन अर्थमन्त्री वर्षमान पुनले आफ्नो कार्यकक्षमा बोलाएर ‘जाने हो ?’ भनेर सोध्नु हुँदा –‘छोराछोरी पढ्दैछन् त्यसलै परिवार छोडेर जान सक्ने स्थिति छैन हजूर !’ भनेथेँ । यसपछि ‘हुन्छ भन्नू’ भनेर जोड गर्ने मित्र तथा तत्कालीन मेरो हाकिम लालशंकर घिमिरे (हाल सचिव) मसँग निकै दिन रिसाउनु भएको थियो । त्यसपछि मेरो सट्टा अर्को साथी जानु भएको थियो । यकिनसाथ त भन्न सक्दिनँ तथापि यो पनि मेरो गल्ती थियो कि ? तर छातीमा हात राखेर भन्न सक्छु त्यहाँ नगएकोमा लेश मात्रामा पनि पश्चताप छैन ।

‘क्वाल खातिर’ (एउटा बिस्मात) कविता संग्रह

मैले जिन्दगीमा कहिले पनि ठूलठूला सपना देखिनँ कहिले पनि महत्वकांक्षा पालिन । आफ्नै धुन, लय र गतिमा हिंडेर यो मोडसम्म आइपुगेको हुँ । जिन्दगीको यो दोस्रो पारी (क्भअयलम क्ष्ललष्लनक) मा पनि यो वा त्यो गर्छु भनेर भन्न सक्दिनँ । तथापि, अढाइ दशकदेखि आफ्नो मातृभाषाको उत्थान र उन्नयनको लागि केही गरिरहेकोले सोही विधामा केही गर्ने मन भने छ । मेरो समुदायको अपेक्षा पनि रहेको छ । सेवानिवृत्त पछि मेरो तेस्रो वाम्बुले कृति ‘क्वाल खातिर’ (एउटा बिस्मात) कविता संग्रह प्रकाशित भएको छ । विश्व प्रसिद्ध साहित्यकार चाल्र्स डिकेन्सको उपन्यास ‘डेभिड कप्परफिल्ड’ को सरलीकृत संस्करणको वाम्बुले अनुवाद सम्बन्धी प्रारम्भिक कार्य पनि सकिसकेको छ । व्याकरण निर्माण, शब्दकोश परिमार्जन, पाठ्यपुस्तक निर्माण जस्ता कार्यहरू पनि बाँकी नै छन् । यी कार्यहरू आत्मसन्तुष्टिको लागि गरिनु पर्ने तर प्रचुर मात्रामा समय, श्रम र सीप चाहिने भएकोले हाललाई ‘गरिहाल्नुपर्ने सूची’मा भने परेका छैनन् । भाषाविज्ञान नपढिएको कारणले पनि यसो भन्न बाध्य भइएको हो ।  क्षेत्रमा काम

उपयुक्त गर्ने कसैको इच्छा भएमा सहयोग र सहयात्रा गर्न सदा तत्पर रहेको व्यहोरा जानकारी गराउँछु । सँगसँगै आफ्नो भाषा–साहित्यको विषयमा वाम्बुले समुदाय अलि अनुदार देखिंदा अलि उदार हुन पनि अनुरोध गर्दछु । आपूmले केही गर्ने कोसिस गर्नुहोला अनि अरूलाई पनि प्रोत्साहन दिने बानी बसाल्नु होला – तपाईंको सानो प्रोत्साहनले पनि ठूलो ऊर्जाको काम गरेको हुन्छ । यिनै अनुरोध साथ फेरि अगाडि बढ्न चाहन्छु । त्यसपछि, मलाई आफ्नो भाषामा वाम्बुले कथा संग्रह पनि निकाल्ने रहर छ । हाम्रो मौलिक धार्मिक तथा संस्कृतिहरू सम्बन्धित शब्दहरू संकलन गर्न पनि मन लागेको छ – जुन अहिले गरिरहेको पनि छु । परामर्श (कन्सल्टेन्सी) का कामहरू पनि आइरहेका छन् ……गरिरहेको पनि छु । पूर्व कार्यालयमा कहिलेकहीँ कक्षा लिन पनि जानुपर्छ । सार संक्षेपमा आपूmलाई व्यस्त राख्न कामको खाँचो छैन – व्यस्त नै छु । यत्ति हो कुन पछि कुन गर्ने भन्ने सम्बन्धमा प्राथिमिकीरणको समस्या भने छ । यो नै गर्छु भनेर नभने पनि म स्वास्थ्य र सक्रिय रहेसम्म म आफ्नो भाषा–साहित्य र संस्कृतिको उत्थानको लागि नै गर्ने मेरो अन्तरात्माको आवाज रहेको छ । यो गर्ने ऊर्जा र आशीर्वाद मेरा पितापुर्खा र लिब्जु उपोले प्रदान गरून् ।

वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाबाट सम्मानित हुँदा

अन्ततः म स्वतन्त्र नागरिक भएँ । जागिरमा ‘बाउन्न लात त्रीपन्न घुस्सा’ खानुपर्छ भन्ने कथन छ । तर मैले त्यस्तो लात र घुस्साको अनुभव गर्नु परेन । यात्रा लामो भए पनि कहिले पनि थकाइ र कष्टप्रद महसुुस भएन । सिधा बाटो चयन गरिएकोले पनि होला यो यात्रा यति सहज, सरल र सजिलो भएको हो जस्तो लाग्छ । जागिरमा वाञ्छित प्रगति गर्न नसकिएता पनि सन्तुष्ट नै छु । सबभन्दा ठूलो कुरा त देशको एक दुर्गम गाउँमा सामान्य किसान परिवारमा जन्मेर सरकारी जागिरमा प्रवेश गरी देशको सेवा गर्ने मौका पाएँ – देशको सार्वजनिक वित्त व्यवस्थापन (राजस्व, वैदेशिक सहायता, आन्तरिक ऋण र बजेट व्यवस्थापन)लाई नजिकबाट नियाल्ने वा प्रत्यक्ष सहभागी हुने शुभ अवसर पनि पाएँ । यसलाई मैले आफ्नो उपलब्धि ठानेको छु । अनि सरकारी सेवामा अधिकृत हुने – उप–सचिव हुने पहिलो वाम्बुले राई भइएकोमा पनि गौरवको अनुभूति भइरहेको छ ।

अघि नै उल्लेख गरिसकें रमाइरमाइ जागिरमा प्रवेश गरें, रमाइरमाइ जागिरबाट बहिर्गमन भएँ । जागिरपछिको जीवन झन् रमाइलो भइरहेको छ । कुनै नियमित तालिकामा बाँधिनु पर्दैन – तात्तातो भात खाएर हतारहतार हिंड्नु पर्दैन – सेवाग्राहीहरू सिकायत सुन्नु पर्दैन – कुनै जरुरी पत्रको उत्तर दिनु पर्दैन । न त कुनै बैठकमा नै जानुपर्छ । आराम गर्न शनिबार वा कुनै सार्वजनिक विदाको दिन कुर्नु पर्दैन । काम गर्न मन लाग्यो भने गर, पढ्न मन लाग्यो पढ, लेख्न मन लाग्यो भने लेख, सुत्न मन लाग्यो भने सुत – चिन्ताफिक्री विना पूरै ‘मर्जिको मालिक’ । जीवनमा यस्ता दिनहरू पनि आउछन् भनेर कल्पनासम्म गरेको थिइनँ । चिन्ताफिक्री नुहुनुमा सरकारले दिने निवृत्तिभरण (पेन्सन) हो जसले पारिवारिक पालनपोषण गर्न पुग्छ ।

कलेज पढ्दाताकाको श्यामश्वेत सम्झना

बिहान घरको काम गर्छु, पत्रिका पढ्छु, टोलका साथीभाइसँग चियागफ लडाउँछु, दिउँसो लेखपढ गर्छु, ल्यापटप चलाउँछु, अल्छी लागे टिभी हेर्छु, अझ अल्छी लागे एकछिन निदाउँछु, बेलुकापख फेरि छिमेकी साथीभाइसँग गफसफ–हाँसखेल गर्छु …… बस यसरी नै रमाइरहेको छु । मान्छे वर्तमानमा बाँच्नु पर्छ । भोलिको टुङ्गो हुँदैन । हो वर्तमानमा म यसरी नै बाँचिरहेको छु – आपूmलाई यसरी नै साँचिरहेको छु । भगवान दाहिना भएमा यसरी नै बाँचिरहने छु – साँचिरहने छु । उनै भगवानसँग आरोग्यताको आशीर्वाद पनि माग्दछु । यसरी, खुलेर पूर्ण जीवन हाँसीखुसी जिइरहेको छु । अहिलेको मेरो बचाइ र रमाइ लिएर भिन्न प्रसंगको नै भए पनि कालीप्रसाद बाँस्कोटाको संगीतमा हेमन्त रानाको यो लोकप्रिय गीत रिमिक्स गर्न मन लाग्यो – ‘सुन साइली छपन्न कटेसी रमाउँला …… ।’
०००
नखिपोट, ललितपुर
१ चैत्र २०७४


(लिब्जु–भुम्जु त्रिभाषीय त्रैमासिक, वर्ष २५, पूर्णाङ्क ७३, २०७५ वैशाख–असार (किरात येले संवत् ३७९७/सन् २०१८)मा प्रकाशित लेख अनलाइनमा प्रकाशन गरिएको हो । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *