बाँसुरीको धुनमा रमाउँदै किराती वाम्बुले

पत्रपत्रिका
बिहिबार, १६ साउन २०७६, ०८ : ३३ |  श्याम राई

काठमाडौं – नेपालको पूर्वी क्षेत्र आसपास रहेका किराती वाम्बुले राईहरूको बाँसुरी बजाउने प्रचलन हराउँदै गएको छ। यो प्रचलनलाई जोगाउन उनीहरूले साउन १५ मा बाँसुरी दिवस मनाउने गरेका छन्।

लोक परम्परालाई संरक्षण गर्न वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले ‘बाँसुरी दिवस’ मनाउने चलनलाई यसवर्ष पनि निरन्तता दिएको छ। समाजले तेस्रो पटक बाँसुरी दिवसको आयोजना गरेको हो। इमाडोलमा आयोजित कार्यक्रममा जीवन राई, नवराज राई, विकास राई, अम्बिका राई, दिलकला राई, श्याम वाम्बुले र नवराज राईले बाँसुरी बजाएका थिए भने विष्णु राई र मोतिलाल राईले मादल बजाएका थिए। उनीहरू वाम्बुले राईको विभिन्न भाकाहरूमा बाँसुरी बजाएका थिए।

संस्कृति जोगाउन बाँसुरी दिवस मनाउँदै गएको संस्थाका अध्यक्ष गजुरधन राईले बताएका छन्। ‘परस्परा जोगाउनका लागि यो दिवस किरात वाम्बुले राईको ऐतिहासिक दिन हो,’ उनले भने, ‘पुर्खाहरूले पराम्रादेखि देशभर विभिन्न भाकामा बजाउँदै आएको बाँसुरीको सरंक्षण गर्नु अत्यावश्यक रहेको छ।’ उनले संस्थाको वार्षिक कार्यतालिकामा बाँसुरी दिवस, ढ्वाङकुम चाड र वाम्रास स्थापना दिवसमा मातृभाषा कविता गोष्ठी गर्दै आएको समेत बताए। यो दिन ओखलढुंगा र उदयपुरमा सामूहिक बाँसुरी बजाउने गरेको जानकारी उनले दिए। तथ्यांकअनुसार नेपालभर वाम्बुले भाषा बोल्नेको संख्या झण्डै १४ हजारभन्दा बढी रहेका छ।

कार्यक्रममा सहभागी राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाले बाँसुरीको चलन संसारभर रहेको भएपनि यसले किराती जनजीवनको प्रतिनिधित्व गर्ने बताए। ‘बाँसुरी व्यावसायिक र पहिचान दिलाउने बाजा हो। लोप हुँदै गएको मौलिक बाँसुरीलाई वाम्बुले राईहरुले संरक्षणमा निरन्तरता दिँदै आएको छ, ’ उनले भने, ‘यसले गाउँघरमा बाँसुरी बजाउन उर्जा मिलेको छ। गाउँघरमा बाँसुरीलाई संरक्षण गर्नको लागि बाँसुरी वाधकबाट प्रशिक्षण दिने तयारी भइरहेको छ।’

असार र साउन १४ सम्म किराती वाम्बुले राईका देवताहरु गुफा बस्ने प्रचलन रहेको छ। यो अवधिमा बाजा बजाउनु हुँदैन भन्ने मान्यता रहेको छ। साउन १५ देखि देवताहरू उपवास सकेर गुफाबाट बाहिर निस्किन्छन्। उनीहरूको स्वागतका लागि सबै उमेर समूहका मानिसहरू बाँसुरी बजाउने गरेका छन्। यस दिन भकारीमा राखिएको नयाँ अन्न आफ्नो पितृहरूलाई चढाउनुपर्ने मान्यता रहेको छ। किराती समुदायको मौलिक बाजा ढोल, झ्याम्टा, चमर र सिकिरी लगायत भएपनि मनोरञ्जनको साधनका रूपमा बाँसुरी, मुरली बढी प्रयोग हुने गरेका छन्।

किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईका अनुसार वाम्बुले राईले मनाउँदै आएको बाँसुरी दिवसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नु जरुरी छ। ‘किरातीहरु सामाजिक, सांस्कृतिक र भाषिक रूपमा धनी हुन्छन्। बाँसुरी बजाउने संस्कृति लोप हुँदै गएको छ। यसको पहिचानलाई जोगाउन संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गनुपर्दछ,’ उनले भने, ‘देवताहरू गुफा बसेको अवधिमा नङ र कपाल काट्न हुँदैन भने महिलाले कपाल कोरेमा भुइँमा झार्न हुँदैन भन्ने मान्यता रहेको छ।’ किरात राई जातिभित्र २८ भाषा बोल्ने समुदाय पर्दछन्।

https://nagariknews.nagariknetwork.com/news/84797/

Leave a Reply

Your email address will not be published.