श्रद्धान्जली – सम्झनामा भागुते दाजु ! अलबिदा भागुते दाजु !!

प्रदेश प्रदेश १ विचार / ब्लग

गणेश वाम्बुले राई

नाम : तुलबहादुर राई
चिनिने नाम : भागुते
पाछा : वाम्बुले द्वार्वाङचा
जन्म : वि.सं.२००६ चैत १२ गते, मानेभन्ज्याङ गाउँपालिका–६ सोक्मटार, ओखलढुंगा
निधन : २०७६ पुस ६ गते । अल्सर व्यथाका कारण म्याक्स इन्टरनेसनल हस्पिटलमा उपचारको क्रममा बिराटनगर, मोरङमा निधन भएको छ ।

स्वर्गीय तुलबहादुर राई उपचारको क्रममा उहाँको छोरा डिजन राईको फेसबुक वालबाट लिइएको फोटो

पिके इलुओम्ब (पाण्डब राई)ले आफ्नो फेसबुक वालमा लेख्नु भएको छ :-

अलबिदा भागुते दाजु

आज फेरि भ्रुतुमान्चिमा ठुलो पहाड भत्किएको छ
देखिएको सपनाहरु पुरा नहुँदै बिचैमा अड्किएको छ

सुर्तीको बोटहरुले पालुवा पाउने आश थिए
जमिन मुनि गडिएर सबैको भरोसाहरु खड्किएको छ

आकाशका ताराहरु चम्किदै अँध्यारोमा बास बस्दै थिए
बिहानीमा झस्किदा खुशीका भण्डारहरु पड्किएको छ

गाउँबेसी गर्दै हिंडेका बिसौना उकालोको घुम्तीहरुले
तपाईंको सुन्दर पाइलाहरुको यादमा तड्पिएको छ

‘ओ भागुते दाजु होउ’ भन्ने आवाज खानद्याल डाँडाको
पारि खोटाङ ठोक्किएर बेंसीमा सुन्दा बदलिएको छ

आज साँच्चै भ्रुतुमान्चिमा ठुलो पहाड भत्किएको छ
देखेको सपनाहरु सबै बन्द आँखाभित्र अड्किएको छ

‘पोर पनि आऊ है कान्छा म र हामी जुजुम’
उखान मात्र रहने भयो दाजु ! तपाईंको आत्माले स्वर्गमा बास गरोस् ।
भ्रुतुमान्छी सपरिवारको तर्फबाट हार्दिक श्रद्धान्जली ।

पाण्डब भाइ बेलायतमा हुनुहुन्छ । उहाँ भावाचाचो गौरुङ पाछाको हुनुहुन्छ । उहाँले आफ्नो घरसँगै छिमेकी अभिभावक भागुते दाजु निधनप्रति सामाजिक सञ्जाल फेसबुकमा अविस्मरणीय श्रद्धान्जली व्यक्त गर्नु भएको शब्दले मलाई पनि छोयो । भागुते दाजु मेरो पनि वंशज दाजु हुनुहुन्थ्यो । हामी वाम्बुले राई द्वार्वाङ्चा पाछाको एकै वंशका हौं ।
हाम्रो द्वार्वाङ्चा वंश खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ (साबिक बाहुनीडाँडा–५) त्याम्तुकु गाउँबाट ओखलढुंगा हिलेपानी तरेको हो । द्वार्वाङ्चा दाजुभाइ अझै त्याम्तुकुमै हुनुहुन्छ । ओखलढुंगा बसाई सररे आएपछि थाहा भएको पुर्खा मानबीर हुनुहुन्थ्यो । मानबीरको तीन छोरा थिए– दिक्पाल, सुखपाल र अर्जुन ।
सुखपालको ६ सन्तान थिए– जेठा निराधन, माइला बिन्द्रमान (पाँखु), साइला लालकृष्ण, काइला धौलबहादुर (रापाते), ठाइला हर्कध्वज र कान्छा बिर्जलाल । ठाइला हर्कध्वजको छोरा बीरसिंह थिए भने म (गणेश) बीरसिंहको नाति परें ।
निराधनको तीन भाइ छोरा थिए– जेठा मेघवर्ण, माइला भिमलाल (सापते) र कान्छा खड्गबहादुर (नाक्सो) ।
मेघवर्णको तीन जना छोरा थिए– जेठा बोजे, माइला जंगे र कान्छा दलबहादुर (कुटे) । माइला जंगेको एकमात्र छोरा थिए– तुले । उनै तुले (तुलबहादुर राई)को यही २०७६ पुस ६ गते उपचारको क्रममा निधन भएको हो । उहाँलाई उहिल्यै बैसमा ‘भागुते’ भनेर परिचित हुनुहुन्थ्यो ।
तुलबहादुर राईले मनरत्ना राईसँग विवाह गर्नुभयो । भाउजू अझै हुनुहुन्छ । भागुते दाजुको तीनजना छोरा जेठा ललिकुमार (स्वर्गीय), माइला नबिन र कान्छा डिजन तथा एक छोरी भक्तिमाया छन् । ललिकुमारको एक छोरा छन्– सन्देश । नबिनको तीन छोरी (कृष्टिना, ग्रीस्मा, प्रिज्मा) र डिजनको जायजन्म हुन बाँकी छ ।

‘पोर पनि आऊ है कान्छा म र हामी जुजुम’
यो शब्द ज्यादै मार्मिक छ । खासमा कथा जस्तो बनेको छ । उहिले दुधकोसी र सुनकोसीको संगम जोर्ती दोभानमा माघे संक्रान्ति मेला लाग्थ्यो । ओखलढुंगाबाट दुधकोसी पारि खोटाङ र सुनकोसी पारि उदयपुर जिल्ला रहेका छन् । डुँगा तरेर भोटदेखि मधेससम्म नुन, फलाम, बेसाहा बोक्न जानु पथ्र्यो । जोर्तीघाटमा वारि ओखलढुंगातर्फ भिरालो ठाउँ छ । सुनकोसी पारि उदयपुरतर्फ केही सम्म बगर, ढुंगा र ओढार भएको ठाउँ छ । माघेसंक्रान्ति मेलामा उदयपुर, खोटाङ, सिन्धुली र ओखलढुंगाका मानिसहरु कोसीको पूजा गर्ने र मेला भर्ने गर्दथे । उहिले करिब चार दशक अघिसम्म ।

त्यसरी माघेसंक्रान्ति मेला भर्नेहरू चौरासेहरू (ओखलढुंगातर्फका राईहरू) र ख्वाँजेली (उदयपुर महाभारत पर्वतभन्दा उत्तरतर्फ खोंजमा बस्ने मान्छेहरू खासगरी मगर र सुनुवार) बीच लाप्पा खेल्ने चलन थियो । ख्वाँजेलीहरूको मान्छेसँग फौदारी खेल्ने छुट्टै विशेषता थियो । त्यो हो, लाठी घुमाएर मान्छे सखाप पार्ने । पुसको अन्तिम दिन दिनभरि बोकाको पाठा, भाले, परेवा, हाँस आदि लिएर जोर्तीघाट दोभानमा आउँछन् । माथि बनपाखातिर अमलाको फलसहितको हाँगा लिएर कोसी छेउमा खिरिलो र सुरिलो ढुंगा ठड्याउँछन् । काँचो धागोले बेर्छन् । सिंदूर, सुपारी, अमलाको दाना, एउटा सिक्का, अक्षता तयारी गर्छन् । त्यसपछि भोग दिएर पूजा गर्दछन् । साँझ पर्दै जाँदा टपरा, ठहरमा ग्रहदशा कटाउने भेटी, दियो, फूलहरु, फलाहारहरु राखेर दियो बाल्दै बगाउँछन् । जोर्तीको वारिपारि साह्रै रमिता लाग्दो हुन्छ । बुढापाकाहरु रातभरि जाग्राम बस्छन् । वारिपारि तन्नेरी तरुनीहरु मादल लिएर नाचगान गर्दै आइपुग्छन् । जाँड, रक्सीको सुरमा रातभरि रंगरवास गर्दछन् । कति केटाहरूले तरुनी फकाएर लैजान्छन् । भगाउँछन् ।

जबतक बिहानीपख हुन्छ, जात्रालुहरु निद्राले चूर हुन्छन् । जाँड, रक्सीको सुर (मात) चढिरहेको हुन्छ । अनि एकले अर्कोसँग निहुँ खोज्न थाल्छन् । आफ्नो गाउँघरको भन्दा पनि ख्वाँजेलीले चौरासेहरुसँग निहुँ खोज्छन् । अथवा चौरासेले ख्वाँजेलीहरुसँग निहुँ खोज्छन् । निहुँ खोजेसँगै जुझ्न पनि थाल्छन् । केटाहरुले अर्को पक्षको केटाहरुसँग अथवा केटीको निहँु झिकेर झगडाको बिउ उमार्छन् । आफ्नो छोरीचेलीहरुले चाहिं माइती दाजुभाइलाई छुटाउने कोशिस गर्छन् । केटाहरु त्यतिखेर झनझनै बलियो बन्दै फौदारी गर्न थाल्छन् । अरु कसैले केही नगरे पनि नाँगो खुट्टा बगरको बालुवाभरि उफ्रिपाफ्री गर्दै लडिबुडी खेल्छ । रमिता हेर्दाहेर्दै ख्वाँजेली र चौरासहरुबीच जुझोबाझो चल्छ ।

नराम्रो हुन नदिन त्यसरी फौदारी गर्ने चौरासेले पक्षलाई डुँगामा तारेर वारि ओखलढुंगातर्फ ल्याउँछन् । ख्वाँजेली र चौरासेबीच कतिको मित साइनो हुन्छ । कतिले त्यही माघेसंक्रान्ति मेलामा कोसीलाई साँक्षी राखेर मित लगाउने पनि गर्दछन् । त्यसरी मित साइनोसमेत हुनेहरुबीच फाटो नआओस् भनेर मातेर फौदारी गर्ने स्वभावीहरुलाई छिटो–छिटो हिलेपानी, सोक्मटारतर्फ तार्ने गर्दछन् । कुनै बेला भागुते दाजुले माघेसंक्रान्तिको बिहान मेलाबाट फर्किने बेला जोर्तीघाटमा भन्नुभएको थियो रे ‘पोर पनि आऊ है कान्छा म र हामी जुजुम ।’

भागुत दाजुले वास्तवमै भन्न खोज्नु भएको शब्दार्थ ‘आघौं पनि आऊ है कान्छा (मितभाइ) तिमी हामी जुझौं÷लाप्पा खेलौं’ हो । तर, वाम्बुले राई समाजमा उहिले खसकुरा (खस नेपाली भाषा) बोल्ने चलन थिएन । वाम्बुले राई मातृभाषामात्र बोल्ने बानी थियो । त्यसैले पोर (पोहोर) भन्नु र आघौं भन्नुमा उस्तै सम्झिनु भयो अथवा अर्थ छुटाउन सक्नु भएन । तिमी हामी जुझौं भन्नुपर्नेमा ‘म र हामी जुजुम्’ भन्नुभयो । त्यो कुरा समाजमा लोककथाझैं बन्यो । पंक्तिकार उमेरले ५० वर्ष टेकिसक्दा र ३० वर्ष टेक्दैका पाण्डब राईको पुस्ताले भागुते दाजुलाई सम्झिने काइदा बनेको छ ।

अहिले पनि दुधकोसी र सुनकोसीमा अनि जोर्घीघाटमा पूजा हुने गर्छ, तर उहिलेजस्तो धेरै धेरै चार चौरासका मान्छेहरु हुन्नन् । किनभने उहिले जोर्तीघाटको बाटो मधेस झर्नको निम्ति सबैभन्दा छोटो हुन्थ्यो । कटारी–ओखलढुंगा सिद्धिचरण मार्ग सडक बनेपछि जोर्तीघाटको बाटो बिरानो बन्यो । वारिपारि मान्छे डुँगामा तार्ने ठेक्का लाग्न छाडेको वर्षौं भयो । तैपनि भागुते दाजुको सम्झना त्यही जोर्तीघाटमा अल्झिरहेको छ– ‘पोर पनि आऊ है कान्छा म र हामी जुजुम ।’ वस यत्ति नै, अलविदा भागुते दाजु । तपाईको आत्मालाई पुर्खाहरुको साथ मिलोस् । हार्दिक श्रद्धान्जली । शोकसन्तप्त परिवारजनप्रति समवेदना ।

हाल– ललितपुर महानगरपालिका–१४ नखिपोट, प्रदेश नं.३, नेपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *