सम्झनाको लहरमा एक अविस्मरणीय अभिभावक लप्टन जितबहादुर राईबारे मान राईको आलेख

विचार / ब्लग

सुमधुर स्मृतिमा लप्टन जितबहादुर राई : जो लिएर होइन दिएर गए

मान राई

यतिखेर मेरो पापसाइला (साइला काका) लप्टन जितबहादुर राईको बारेमा केही लेख्न गइरहेको छु ।
नाम : जितबहादुर राई (वाम्बुले मुक्काचो)
ब्रिटिस गोर्खा सैनिक नं. ४९९३२९ एलटी (क्युजिओ) र जीआर (एमटीओ)
जन्म : १९९५ फाल्गुन, उँबु–८ सिम्काकु, ओखलढुंगा
निधन : २०६४ कार्तिक १०, काठमाडौं
श्रीमती निरु राई, २ छोरा (जीवन र विकास) र छोरी (ज्योतिका राई) ।

बेलायतमा जेठा छोरा, बुहारी र नातिनीका साथ लप्टन जितबहादुर राई र श्रीमती निरु राई दम्पती

बुबा आइबहादुर राई र आमा रासकन्या राईबाट १९९५ साल फाल्गुनमा जन्मनु भएको थियो । चार दाजुभाइ माझमा साइलो हुनुहुन्थ्यो । उहाँको बुवा आइबहादुर राई भूपू गोर्खा सैनिक भारतीय पल्टनबाट ब्रिटिश सैनिक हुनुहुन्थ्यो । आइबहादुर राई १५ जनवरी १९४३ देखि २२ जनवरी १९४७ सम्म सैनिकमा कार्यरत हुनुहुन्थयो । त्यति बेला ब्रिटिशमा भर्ती हुनको निम्ति भारतीय कम्पनीबाट जानु पथ्र्यो । दोस्रो विश्व युद्ध मलायामा परेपश्चात् आइबहादुर राई पुन नफर्किने निर्णयका साथ गाउँघर फर्किनु भएको थियो । उहाँ घर फर्किनु भएको केही वर्षपछि जेठा छोरा सन्जित राई र साइलो छोरा जितबहादुर राई मलाया भर्ती भएका थिए । जितबहादुर भर्ती हुँदा १३ वर्ष उमेरको हुनुहुन्थ्यो । त्यस्तो भर्तीलाई बोय भर्ती भनिन्थ्यो ।

जितबहादुर राई मलाया भर्ती

त्यसरी जितबहादुर राईले सानै उमेरबाट दुःख खेप्न साहस गर्नुभयो । फलत ब्रिटिश आर्मीमा २७ वर्षको जागिर गर्नुभयो । त्यतिन्जे उहाँ ‘लेफ्टिनेन्ट अफिसर’ दर्जा पुगी सक्नुभएको थियो । उतिखेर गाउँघरमा क ख पढ्ने चलन थिएन । तापनि भर्ती भएपछि अंग्रेजीमा राम्रो लेखन र दोहोरो बोल्न सक्ने क्षमता हासिल गर्नु भयो ।

भर्ती हुँदाको क्षण जितबहादुर राई

लप्टन जितबहादुर राईलाई गाउँघरमा ‘पुटा’ भनेर चिनिनु हुन्थ्यो । उहाँ २०३६ सालमा पेन्सन पाकेर पल्टनबाट श्रीमती, दुई छोरा र एक छोरीका साथ गाउँ फर्किनु भयो । पुर्खाको थलो र खेतबारीले अपुग थियो । त्यसैले अलिपर रिचुवामा थप खेतीपाती जोड्नुभयो । माइला दाजुको परिवारलाई रिचुवामा बसाउनु भयो ।

गाउँ फर्के पनि आफ्नो छोराछोरीलाई कसरी र कहाँबाट उच्च शिक्षा दिलाउने भन्ने सोच्नुभयो । शिक्षाको महत्व बुझिसक्नु भएको थियो । छोराछोरीको शिक्षाका निम्ति उहाँ २०३७ सालतिर राजधानी काठमाडौँ बस्न थाल्नुभयो । ललितपुरको धोबीघाटमा आफ्नै पल्टनको क्याप्टेन उद्दिमबहादुर राई (भोजपुरबासी)को निवासमा बस्नुभयो । डेरा बसेर छोराछोरीलाई पढाउने निधो लिनुभयो । त्यसताका काठमाडौंमा वाम्बुलेहरूको बसोबास ज्यादै पातलो थियो ।

उहाँको जेठो दाजु सम्जित राईले ब्रिटिश आर्मीबाट अवकाशपछि धरान– १७ मा बसोबस गर्नुभयो । २०३७ सालमा उहाँको माइला दाजु चक्रबहादुर राई (अर्थात् मेरो पिताजी)को असामयिक निधन हुनपुग्यो । दाजुको मृत्युले उहाँमा दाजुभाइको परिवारप्रतिको सहानुभूति अझ बढ्न थाल्यो । आफ्नो परिवारको जिम्मेदरिता त थियो नै त्यही माथि दाजु माइलोको परिवारको पनि थप हुन पुग्यो ।

लप्टन जितबहादुर राई र श्रीमती निरु राई दम्पती

हाम्रो समाजमा दाजुभाइ नमिलेर, छुट्टिएर टाढा भएका थुप्रै उदाहरण छन् । सम्पत्तिको लोभले दाजुभाइ मनमुटाव भएर टाढा भएका थुप्रै घटनाहरू छन् । तर वहामा त्यो चाहना कहिले पलाएन । बरु आफ्नो बाउबाजेले जोडेका थाकथलो कान्छा भाइलाई सुम्पेर अनि माइला दाजुलाई रिचुवामा खेतिपाती किनेर आफू सहर पस्नु भयो । सम्पत्ति भागबन्डा लगाएर हैन । थप सम्पत्ति जाडेर जिम्मा दिनुभयो ।

माइला दाजुको आकष्मिक निधनपश्चात् दाजुको परिवार सम्हाल्नुभयो । उहाँले आफ्नो भतिज जो यस लेखका लेखकलाई शिक्षा दिलाउन आफ्नो साथ काठमाडौंमा लैजानु भयो । र २०३७ सालको अन्त्यतिर आफ्नो छोराछोरीको साथमा एकै स्कूलमा भर्ना गराउनु भयो । समय आफ्नै गतिमा अघि बढ्दै गयो । हामी हुर्किदै गयौं । आवश्यकताहरू बढ्दै गए । स्कूल महँगिदै गयो । उहाँ हाम्रै निम्ति वैदेशिक रोजगारका निम्ति बहराइन जानुभयो ।

लप्टन जितबहादुर राई

कुनै समय उहाँले मलाई सोध्नु भएको थियो रे ‘म घर आउँदा तिमीलाई खुसी लाग्छ ?’ भनेर । मैले के बुझेको थिएँ त्यतिबेला कि जिम्मेवारी बोक्न कति गाह्रो हुन्छ भनेर । जवाफमा मैले ‘मेरो पापा आउनु भएन ?’ भनेछु क्यारे । म टुहुरो हुनुमा उहाँलाई नि धेरै दुःख लागे थियो । पछिसम्म पापसाइलाले ‘म पनि तिम्रै बाबासरह नै हुँ दुःख नमान’ भन्नुहुन्थ्यो । उहाँले सबै छोराछोरीलाई उत्तिकै माया बाँड्नु हुन्थ्यो । जाने त गइहाले तर रहनेलाई त्यसरी माया नपोखीदिएको भए आज मैले यसरी माया भन्ने बुझ्न पाएको हुँदिनथेँ होला । यसरी पापसाइलाको २७ वर्ष लाहुरे जागिर र १५वर्ष बहराइन अरबमा बित्यो । आफू पिल्सिएर, हरेक दुःख खेपेर हामीलाई शिक्षा दिलाउनु भयो । खुसी राख्नु भयो । केहीको कमी रहन दिनु भएन ।

केही वर्ष पहिलेमात्र व्यवसायको सिलसिलामा बहराइन जाने मौका मिल्यो । त्यहाँ पुगें । मलाई झझल्को लाग्दै थियो कि मेरो पापसाइला यहाँ कतै भेटियला । यता कतै देखिनु होला र वहाँको हात समाएर म भन्ने थिएँ ‘बुडो मान्छे अब दुःख नगर्नुस्’ यी मेरो हातको पाखुरी देखाउँदै, ‘अब यो पाखुरीले जे गर्नुछ गर्नेछ । तपाईं घर फर्केर आराम गर्नुस् ।’ तर कस्तो बिडम्बना हामीसँग नरहनु भएको नौ वर्ष भइसकेको थियो ।

मलाई लाग्छ, तिहारको अवसरमा राजधानीमा ‘रम्बाइन भट्याउने रितुम’ २०४० सालतिर सुरु भयो । त्यति बेला मलाई अझै याद छ १ दिन १ रात हाम्रो निवासमा वाम्बुले दाजुभाइ दिदिबहिनीहरू रम्बाइन भट्याउँदै देउसी खेलेको राम्दले गीत गाएका थिए । त्यही गाउँले परिवेशको पहिरन, त्यस्तै मादल अनि बाँसुरी, गोदावरी, मखमली फूलको माला, अनि सिरमा वाम्बुले टोपी र गलबन्दी औधि रमाइलो मानेका थियौं । त्यस पश्चात् हरेक वर्ष देउसीको लागि निम्तो गर्नु भनेर उँहा भन्नुहुन्थ्यो । त्यो समयबाट सुरु भएको वाम्बुले देउसी अहिले झनै महत्वपूर्ण हँुदै गएको हामीले पाएका छौं । त्यो बेलाबाट राजधानीमा सुरु भएको रम्बाइन भट्याउने हाम्रो रितुम अहिले पनि राजधानीमा निरन्तरता दिनु हुने सम्पूर्ण वाम्बुले परिवारमा ले. जितबहादुर राईको तर्फबाट यस लेखमार्फत् धन्यवाद दिन चाहन्छु ।

२०४० सालतिर ले. जितबहादुर राईको निवास कुसुन्तीमा देउसी खेल्न आएका वाम्बुले राई देउसे टोली रिङरोडमा सामुहिक तस्बिर खिचाएको क्षण, यो समूहको अग्रपंक्ति बीचमा लिब्जुभुम्जुडटकमका प्रधान सम्पादक गणेश वाम्बुले राईसमेत हुनुुहन्छ ।

प्रकृतिको नियम नै यस्तो । आएपछि जानु पनि पर्ने । उहाँ यो धर्तीबाट बिदा हुनुभएको पनि लगभग १३ वर्ष भयो, हामी माझ नरहनु भएको ।

उहाँसम्म पु¥याइ दिने केही माध्यम हुँदो हो त, मेरो सन्देश :

भनि दिनु होला उहाँलाई
मैले जिउन सिकेको छु
दुःखमा नछटपटाई
सुखमा नमात्ति
अलिकति आफ्नालाई
दुःख गर्न,
अलिकति परायालाई
सुख बाँड्न सिकेको छु
सायद तपाईं नहँुदो हो त
कहाँ दुःख गर्न जान्थें होला ?
र, जिन्दगीभरि सुख खोज्दै भौतारिन्थें
कर्म गर्न छोडेर
भैगो, धेरै मन दुखाउन चाहन्न तपाईंको अभावमा
फेरि दुःख पाएछ बिलौना गर्दैछ भन्नु होला
होइन, असाध्य खुसी छु
जीवनसाथी खोजेर हात थमाइदिनु भो
साथ छुटेको छैन बरु
तपाईंको आशिर्वादले
पुनः जन्म स्वरुप नाति र नातिनी काखमा छन्
फेरि जुनी मिल्ने भए तपाईंकै भतिज हुन पाऊँ
आजलाई यत्ति नै
उही तपाईंको ‘मना’ ।

(इक लिब्जु–भुम्जु, वर्ष ६ अंक ६, पूर्णाङ्क ७९, २०७६ कात्तिक–पुस (किरात येले संवत् ३७९८÷सन् २०२०)बाट यो लेख प्रस्तुत गरिएको हो ।–सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *