कोसेली – सृष्टि ब्युँझाउने आवाज – झुमा लिम्बू

पत्रपत्रिका
इक्सा खाम्बेक (ब्रह्माण्ड) टक्क रोकिएको बेला मान्छेले सृष्टि फेरि ब्युँझाउन होमा हो मिलाउँदै हाक्पारे गाउन थाल्छन् । अन्ततः हाक्पारे त्यस भूभागका आदिम जाति लिम्बूले गाउने सबैभन्दा जेठो, मीठो र शास्त्रीय संगीत बनिदिन्छ ।

माघ ११, २०७६

झुमा लिम्बू

हाक्पारे, ‘एऽऽ’ भन्दै सुरु हुन्छ र ‘ओरिल्लो’ भनेपछि टुंगिन्छ । त्यसैले एऽऽ भन्दै अब के भनौं भने, यो आलेख पढिरहेका मान्यजन, इष्टमित्र र साथीभाइलगायत यस ब्रह्माण्डमा रहेका सबै जीव, रूख, बोटबिरुवा अनि सुन्दर फूलहरू तथा दिवंगत भइसकेका प्रिय आत्माहरू, हामी आज मुन्धुमभित्रको हाक्पारे संगीतबारे कुरा गर्दै छौँ ।

हाक्पारेको उठानमा फूल, युवती, यौन र संगीतको चर्चा छ । मुन्धुममा भनिएको छ, ‘उहिलेउहिले पृथ्वी लोकमा फूलको कमी हुँदा पुर्खा साङवोक्को सामलाङगावा र फुङवोक्को फङलाङगावाले खदिन लेप्पेना फूलको बिरुवा भेट्टाउँछन् । त्यसलाई पहाड–पर्वत र खोलानालाका छेउछाउ रोप्छन् तर त्यो सर्दैन । अन्ततः मुदक्कुम सेवा (घुन्सा खोला) मा रोप्दा त्यहाँचाहिँ सर्छ । छोटो समयमै फूलले चारै दिशा ढाक्छ । फूलले पृथ्वी नै जग्मगाएर सुहाएको अवसरमा त्यही फूलको सुवाससँगै परम सुन्दरी नेत्ती हाङमा फुङ तिअन्नामा प्रकट हुन्छिन् । त्यतिबेलै अःवासो सदेन हाङवाले उनलाई आफ्नो बनाउने प्रस्ताव राख्छन् । तर, ती सुन्दरीले केही सर्त राख्छिन् ।हामी नेपालको रैथाने संगीतमा हाक्पारे संगीतको मुन्धुमी मिथकको कुरा अथवा हाक्पारे प्रागइतिहासको कुरा गर्दै छौं । यो मिथकलाई लेखको रूपमा उतारेर पाठकमाझ राख्दै छौँ । सुन्नुहोस्, हाक्पारे इतिहास ।

सर्तहरू हाङवाले पूरा गर्न सक्दैनन् र युवतीले हाङवाको प्रस्ताव अस्वीकार गर्छिन् । र, पृथ्वीलोकमा आफ्नो शिर ढलेको भनी अलप हुन्छिन् । त्यसपछि पूरा ब्रह्माण्ड निष्प्राण हुन्छ— हावा बहन छोड्छ, पानी बग्न छोड्छ, ब्रह्माण्ड टक्क रोकिएको अनुभूत हुन्छ । रूख, बिरुवा र फूलहरू सबै ओइलिन थाल्छन्, ढल्न थाल्छन् । यसपछि ब्रह्माण्डमा विरह छाउँछ । चराहरू विरह गाउन थाल्छन् । यस्तो अवस्थामा मान्छेहरूबीच पृथ्वी जगाउने, ब्रह्माण्ड जगाउनेबारे सल्लाह हुन्छ ।’

अब हामी पनि हाम्रा आदिम पुर्खा सामवोको, फुङवोकोले जस्तै फूल खोज्न थालौँ । जगत्का सारा जीवजनावर र पन्छीको नामको फूल जगाऔं । आदिम पुर्खा तरुनी/तन्नेरी नेत्तिहाङमा फुङ तिअन्नामा र अवासो सदेनहाङवाको नाममा सिङजाङगो याम्चाङगो फूङ (धँयेरो फूल) जगाउँदै मानव समाजको सबै उमेर र पुस्ताको नाउँमा फूल जगाउने मुन्धुम गाउन थालौँ । आदिम गायक सामकेलो केलो केवाफुङवा, साङवाङ तोक्लामुक्पा, साङगोतीमा, आङगोतीमा, साम्लो खाङलाङवा, साम्लो अक्तवा, साम्लो फुलुम साम्बा, साम्लो पैनावाहरूले जस्तै हाक्पारे गाएर यो ब्रह्माण्डका सारा सृष्टि फेरि जीवित पारौँ । सबै फूलहरू फेरि जगाऔँ । सृष्टिका सबै फूल जगाएपछि फेरि यस ब्रह्माण्डमा प्रेम फैलिनेछ र सृष्टि अगाडि बढ्नेछ । यही विश्वासमा गाइँदै आएको हाक्पारे अहिलेसम्म पनि त्यही विश्वासमै गाइएको पाइन्छ ।

मुन्धुम संगीतअन्तर्गत पर्ने हाक्पारे साम्लो (गीत) लिम्बू जातिको संगीत परम्पराको एक विशिष्ट विधा हो । ‘नोटेसन’, ‘टाइमिङ’ र ‘मेलोडी’ को आरोह–अवरोह, शब्द उपयोग, शब्द चयन, शब्द रचनाको हिसाबले यसमा विशिष्ट प्रकारको सांगीतिक विशेषता छ । हाक्पारे ‘लो पिच’ बाट सुरु हुन्छ र बिस्तारै ‘हाई पिच’ को उत्कर्षमा पुग्छ । त्यसपछि स्वरमा मीठास कायम राख्दै फेरि लो पिचमा ओर्लिन्छ । हाक्पारे लिम्बू समुदायको प्राचीन संगीत परम्परा हो । र, अहिले पनि गाउँघरमा विभिन्न पर्व र उत्सवहरूमा प्रचलित छ ।
हाक्पारे साम्लो तङसिङ (अनुष्ठान) हरूमा पनि गाइन्छ । यसका विभिन्न खण्डमध्ये जब फुङवा चाङमा खण्ड आउँछ, त्यहाँ नेत्तिफुङ (जोवनको प्रतीक फूल) को चर्चा चल्छ । जीवनको सार्थकता, सरसता र दीर्घजीवनका लागि जोवनफूल सधैँ जगमग बनाइराख्ने आह्वान त्यस चरणमा भेटिन्छ ।

वनको क्षणभंगुरता, चोलुङ (प्रतिष्ठा), मिक्किफुङ (प्रेम), नाहाङमा (सम्मान), साङसे निङवा (सद्भाव), आभामलुङ (पारस्परिकता), यङवा (करुणा), सेसेनिङवा (सद्चेतना) आदिको पनि यसमा उल्लेख हुन्छ । त्यसका साथै, मुजोक्लुङ खाजोक्लुङ (सृष्टि) देखि सभ्यतामा चलिआएको समाजभित्र रहेका सबै कुराहरू हाक्पारेमा समेटिएको छ । हाक्पारे गाउँदा एक जनाले गाएर विषय उठान गर्छ र बाँकी सहभागीहरूले ‘ओरिल्लो’, ‘ओसाक्क’ र ‘ओ रो’ जस्ता सही थाप्ने शब्दमार्फत गायनलाई सघाउँदै जान्छन् । अर्थात् गीतमै प्रश्न उठाउँदै र उल्लिखित विषयलाई थप प्रस्ट पार्दै लैजान्छन् । समसामयिक विषयदेखि गम्भीर विषयसम्म चर्चा र विश्लेषण हुने हुनाले यो गायनलाई समसामयिक लोक गायनअन्तर्गत पनि राखेर बुझ्न सकिन्छ ।

रैथाने भाषा त्यहाँको भूबनोटबाट निर्धारित भएजस्तै संगीत पनि भूबनोटसँग सम्बन्धित र प्रभावित हुन्छ । लिम्बूहरूको मूल थलो कहीँ अत्यन्तै भिरालो, विशाल चट्टानले बनेको पहाड र कहीँ समथर पनि छ । हाक्पारेको नोटेसन हेर्‍यौँ भने त्यसको संगीत बनोटमा पनि ती ठाउँहरूको प्रभाव भेटिन्छ । लिम्बू भाषाको बनावटबाट र यी जाति कस्तो ठाउँमा बस्छन् भन्ने सजिलै थाहा पाउन सकिन्छ । जस्तै अरू भाषामा तल–माथि, वर–पर चारै दिशाबाट कसैलाई बोलाउँदा ‘यता आऊ’ भने पुग्छ । तर, लिम्बू भाषामा माथिबाट तलकालाई बोलाउँदा ‘येः’ भनिन्छ । तलबाट माथिकालाई बोलाउँदा ‘थाङेः’ भनिन्छ । सम्म ठाउँ अथवा वर–पर बोलाउँदा भने ‘फेरेः’ भनिन्छ ।
ताप्लेजुङको तम्बरखोला क्षेत्र लिम्बू जाति बस्ने ठाउँमध्ये भिरालो र खोलैखोला भएको ठाउँ हो । त्यो ठाउँमा जन्मे–हुर्केकाले गाउने भाकालाई मौवाखोला अर्थात् धनकुटा, तेह्रथुम, पाँचथरलगायतकाले गाउने खिट्का अथवा दिने मुड नै फरक पर्छ ।

त्यस्तै चारखोला इलाम, पाँचथरतिर गाइने भाका ताप्लेजुङ अथवा अन्य ठाउँकाले गाउँदा पनि त्यस्तै फरक महसुस हुन्छ । कहीँ बाह्रै महिना तम्बरसँगसँगै सुसेल्दै त्यहीँको भीरपाखामा ठोक्किदैँ फेरि तम्बरमा मिसिँदै–निस्किँदै गरेको भान हुने गायन भेटिन्छ भने कहीँ डाँडा, अक्करमा ठोक्किएर गुन्जिएको प्राकृतिक स्वाद भेटिन्छ । हाक्पारेको उठान ताप्लेजुङतिरबाट भएकाले होला, त्यसको आलापको उठान र बोल आलापजस्ता ठाउँमा गाउने शैली सुन्दर र गम्भीर सुनिन्छ, जुन अरूतिरकाले गाउँदा भेटिँदैन । त्यसको अर्कै स्वरूप भेटिन्छ । छोटो साधना र प्रयासबाट यो गायनमा पूर्णता खोज्न सम्भव छैन ।

हाक्पारे जान्ने येवा, फेदाङमा, साम्बा, आङसी र तुम्याङहाङहरूसँग सोधखोज गर्दा माथि सेवादेन, तावादेन, पान्दोलुङ, तम्बरखोलातिर र हाक्पारा छत्तर, मेन्छयायेम कोक्मा (डाँडा) हरूका नाम आए । ती ठाउँमा पुगेर हेर्दा कुनै समय ती कति स्रोतसाधनहीन र दुर्गम थिए भन्ने अनुमान गर्न सकिन्छ । त्यस्तो अवस्थामा प्रकृतिलाई नै स्रोत र साधन बनाएर संगीतको साधना गरिँदै आएको महसुस गर्न सकिन्छ । उदाहरणका लागि गाउँदै, डुल्दै र दैनिकीहरू सम्पन्न गर्दै गर्दा जुन पहरा अथवा चट्टानको प्रतिध्वनि राम्रो आयो अथवा आफ्नो स्वरसँग मिलेको जस्तो सुनियो, तिनै ठाउँमा बसेर गाउने गरियो । किनभने ठाउँपिच्छे सुनिने प्रतिध्वनि फरक हुन्छ, आफूले निकालेको आवाजको स्केलमा बस्दैन । फर्किएको प्रतिध्वनिको स्केल तल–माथि भएर आउँछ अर्थात् आफ्नो स्केलसँग मिल्दैन ।

जुन डाँडामा उभिएर गाउँदा आवाज जति पर पुर्‍याउन सकिन्छ, त्यहाँ पुगेर गाउने चलन त्यसैकारण बस्दै गयो । कालान्तरमा आएर ती ठाउँ मिथकबाट लोकइतिहासमा रूपान्तरित हुँदै गरेको अनुमान गर्न सकिन्छ । हाक्पारे र पालाम गायनसँग सम्बन्धित ठाउँहरू भौगोलिक हिसाबले पनि फरक महत्त्वका छन् । ती ठाउँहरूले सांस्कृतिक महत्त्व/आस्था बोकेकैले अहिले आएर तिनलाई विभिन्न धार्मिक आस्थासँग पनि जोडेको पाइन्छ ।

संखुवासभा, तेह्रथुम र ताप्लेजुङ जोडिने एक पर्यटकीय स्थल गुफा पोखरीका शिरमा मेन्छयायेम डाँडा छ । लगभग ३२०० मिटर उचाइको यस डाँडामा लस्करै तरुनीहरू धान नाचेर उभिएजस्तो देखिएकाले यसको नाम नै मेन्छयायेम रहन पुग्यो । यस ठाउँलाई तरुनी/तन्नेरीको सिद्धि अथवा प्रतिष्ठाको ठाउँ (चोत्लुङ) मानिन्छ । मेन्छ्या भनेको तरुनी, येम भनेको उभिनु भन्ने अर्थ लाग्छ । सोही ठाउँमा केवाफुङबा, साम्लोतिमाहरूले हाक्पारे गाएको किंवदन्ती पनि छ । त्यस्तै ताप्लेजुङको पान्दोलुङ पनि राम्रो प्रतिध्वनि आउने गाउँको रूपमा चिनिन्छ । ताप्लेजुङको सिसाङवा र हाङसाङवा (खोला) को बीचमा मेन्थुक्मा सङगमबुङ भन्ने ठाउँमा थकाइ मार्ने चौताराजस्तो ढुंगामा बसेर सामकेलो केवाफुङवा र फुङजिरी फुङगाप्पोवाले हाक्पारे गाएको किंवदन्ती छ । हाल त्यो ढुंगा पहिरोले बगाइसके तापनि धनकुटा र पाँचथर जोड्ने तम्बरपारी पाँचथरमा हाक्पारा गाउँ नै छ । तल खोलालाई हाक्पारा घाट भनेर चिनिन्छ । त्यो ठाउँमा हाक्पारे गाउँदा अति मीठो सुनिने भएर नै हाक्पारा नाम रहन गएको स्थानीयहरूको भनाइ छ ।

खोलावारि धनकुटापट्टिबाट पारी पाँचथरपट्टि फर्केर गाउँदा साँच्चै अरू साथीहरूले मीठो स्वरमा कोरस गरिदिएको भान जोकसैलाई पनि हुन्छ । पारि पहराको र वारिपट्टिको डिलको उचाइ ठिक्क मिलेर त्यस्तो आवाज आएको हुनुपर्छ । धनकुटाको राजारानी गाउँमा साम्लो लुङथुङ छ, जसलाई संगीत साधकहरूको सिद्धिस्थल मानिन्छ । यी केही उदाहरण हुन् संगीतको भूबनोटसँगको संगमबारे ।
मान्छेले समाजमा बस्न थालेको समय केलाउँदै जाँदा कुनै अदृश्य शक्ति छ, जसले यो ब्रह्माण्डको रचनादेखि अहिलेसम्म चलाइआएको छ । त्यो शक्तिको नाम ठाउँअनुसार फरक–फरक हुन गयो । कसैले भगवान् भने, कसैले अल्लाह भने, कसैले के–के । तीबाहेक अनेकौँ आस्थाहरूको जन्म भयो । त्यही सन्दर्भमा लिम्बूले मानेको एक शक्ति हो तागेरा निङवाफु माङ ।

यस शक्तिको अर्थ धर्म र राजनीतिमा परिणत हुनुपूर्व, त्यस अदृश्य शक्तिले ठाउँ, समुदायअनुसार फरक नाम पाएको बेला, सिक्नलाई कुनै पाठशाला र विश्वविद्यालय थिएनन् । पुजारी, पादरी, धामी–झाँक्री, लामा, फेदाङमा, इमाम र येवा आदि नामका जान्ने गुन्नेहरूले जुन शक्तिको महिमा गाउनुपूर्व बिरामीलाई निको पार्न संगीत सुनाएर उपचार गर्ने विधि यही हाम्रो नेपालमै थियो, जुन ठाउँ अहिले पनि प्रचलित र सुरक्षित छ । एलोपेथिक उपचार विधि त कल्पना बाहिरै हुँदा र सम्भवतः आयुर्वेद/जडीबुटी चलाउने विधि पनि विकास नभएको बेलामा कोही मान्छे बिरामी पर्दा संगीत नै थेरापी थियो । सिद्धिस्थलबाट गीत गाइदिएपछि बिरामी निको हुने विश्वास कतिपयको अहिले पनि छ ।

हाक्पारे साम्लो के स्पष्ट गर्छ भने आदिम घुमन्ते फिरन्ते युग अर्थात् माथिल्लो ढुंगे युग (अप्पर पेलियोलिथिक युग, करिब ५ देखि १० हजार वर्षपूर्व) बाट नै डुल्दै–घुम्दै गाउन सुरु भएको हो । त्यसबेला घर बनाएर बस्ने चलन आइनसकेकोले ओढार, भीरपाखा, खोलानाला, डाँडा र हाक्पारातेम्बे अर्थात् समथर मैदानमा समेत बसेर गाउन थालियो । यही शैलीको गीत हाक्पारे साम्लोको रूपमा प्रसिद्ध हुन गएको हो ।

ब्रह्माण्डको गति नै रोकिएर विरह व्याप्त भएको बखत पृथ्वीवासीको पहिलो आवाज नै हाक्पारे संगीत हुनु र त्यो आवाजसँगै सारा जीवजनावर, बोटबिरुवा, नेत्तिफुङ (जोवनफूल) हरू फेरि जाग्न थाल्नु, तब हावा बहनु र एकसाथ पानी पनि बग्न थाल्नुले हाक्पारे एक विशिष्ट र महत्त्वपूर्ण संगीत ध्वनि हो भनेर पुष्टि हुन्छ । अकल्पनीय अवस्थामा केवाफुङवा र सामलोतिमाहरूलाई पुकारेर उनीहरूले जस्तै गाउन थाल्दा ब्रह्माण्डमा पुनर्सृष्टि भएको सत्य आफ्नो ठाउँमा होला तर धरतीको एक मानव समुदायलाई भने अनेक मिथक र कथाहरूमार्फत ज्ञान र दर्शन दिँदै आएको छ, हाक्पारेले ।

हाक्पारे संगीतलाई अहिलेको विश्वसंगीतअन्तर्गत नेपाली लोकसंगीतको परिभाषाअनुसार हेर्दा समसामयिक परिस्थितिअनुसार गाइने प्राचीन लोक तथा मौलिक गीत भन्न सकिन्छ । मुन्धुमअनुसार अनेक संस्कारमा गाइए पनि मृत्यु संस्कारमा गाउन थालेको एक उदाहरण दिनुपर्दा प्राचीनकालमा तेत्लार लामियोङमा हो, जसलाई इरेरे इधुक्नामा पनि भनिन्छ । उसको अन्तिम मृत्यु संस्कार खाउमा गरेपछि नावारा फियामलिङवा र नावारा फियामलिङमाले इनु फाताप हाक्पारे गाउने परम्परा बसाले । आज पनि अन्तिम मृत्यु संस्कारपछि रातभरि गाउने प्रचलन छ । यो गाउने सबै अवसरमा गायक/गायिकालाई सुङ्गुरको मासु, रक्सी र तोङ्बा चढाएर सम्मान गर्ने परम्परा आज पनि छ ।

मुन्धुमअनुसार जीवनको हरेक महत्त्वपूर्ण कर्मकाण्डपछि हाक्पारे गाइयो भने मात्र त्यसले पूर्णता पाउँछ । एउटा समाज चलाउँदा संगीतको महत्त्व कति रहेछ भन्ने कुराको पुष्टि हुँदै गर्दा, हाम्रै मात्र देशमा पनि यस्ता समाज र समुदाय प्रशस्त छन् भन्ने कुराको उत्तिकै महत्त्व छ । भौगोलिक, भाषिक अथवा अनेक हिसाबले जे जति समुदाय छन्, ती सबैजसोका आ–आफ्नै संगीत छन्, होलान् । संगीतको यस्तो मौलिक अस्तित्वलाई हामीले जति जगेर्ना गर्नुपर्ने हो त्यति हुन नसक्नु आफैँमा बडो चिन्तापूर्ण कुरा हो । यस्तो लाग्छ, हामी आफ्नै माटो चिन्दैनौँ, माटोको सुगन्ध चिन्दैनौँ, आफ्नो अनुहार चिन्दैनौं, आफ्नो आवाज चिन्दैनौं । यो सबै कुरा नचिनेपछि हामीलाई हाम्रो पहिचानबारे र हाम्रो मुलुकमा रहेको सौन्दर्ययुक्त विविधताबारे ज्ञान नहुनु आश्चर्य होइन ।

नेपाल विविध भाषा, संस्कृति, भूबनोट, वनस्पति, जनावर–पन्छीमा गर्व गर्न सकिने मुलुक हो भन्ने अघिल्ला पुस्ताले बुझेनन् । तर, नयाँ पुस्ताले पनि बुझेनन् भने हामी अहिलेका पुस्ताको इतिहास नामेट हुनेछ । हामी सबैले एकआपसका भाषा, संगीत र संस्कृतिको अन्तरमनदेखि स्वीकार गर्ने र त्यसमा गर्व गर्ने अभ्यास गर्नु जरुरी छ । मानव सभ्यतालाई यहाँसम्म ल्याई पुर्‍याउने मुख्य कडीमध्ये कला संस्कृति हो । अनेक संस्कृति मिलेर एउटा सभ्यता अगाडि बढ्छ भन्ने यस लोकले बुझोस् । हाक्पारेजस्ता विभिन्न मौलिक र विराट परम्परा नेपालको पहिचान बनोस् ।
ओरिल्लो ऽऽ ।

प्रकाशित : माघ ११, २०७६ ०९:३९

https://ekantipur.com/koseli/2020/01/25/157992446872813252.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *