दक्षिण कोरियामा कार्यरत युवा एम.बी. थुलुङको लकडाउन अनुभूति : लकडाउनले दिएको पीडा

प्रवास विचार / ब्लग
एम.बी. थुलुङ

नेपाली जनताले लकडाउनको सास्ती खेपेर बसेको आज ६० औ दिन भएर खानेहरुको दाँजोमा कमाएर खानेहरुको लागि यो समय साच्चै कष्टपुर्ण छ। बिगत ३ महिनादेखि बिश्व कोरोना कोभिद-१९ महामारीबाट आतंकित छ। जुन भाइरसको प्रत्यक्ष असर युरोपियन मुलुक देखि ठुल-ठुला धनी  राष्ट्रहरु कुनै पनि अछुतो रहेनन्। चिनको वुहान प्रान्तबाट फैलिएको महामारी मानव बिनाशको खतरा हुन सक्ने सुचना अनलाइन संञ्चार माध्यमबाट प्रवाह भयो तसर्थ भएर पनि छोड्यो। फेसबुक प्रयोग दाताहरुले आफुले जाने बुझे जति बेला बखत फेसबुक लाइभ बसेर जनचेतना फैलाए कोहीले स्टाटस मार्फत कोरोनाबाट बाचौ र बचाऊ अभियानको उर्दी गरेका थिए।

म दक्षिण कोरियाको एउटा ग्रामिण इलाकामा कम्पनीभित्र काम गर्छु। यहाँ पनि कोरोना महामारीले उग्र रुप लिदै गयो संक्रमित संख्या उल्लेख्य रुपमा बढेर गयो। कम्पनी मालिक र मेनेजरहरुले पहिले जस्तो सामान्य जमघटबाट टाढा बस्न आग्रह गरे पानी पिउने ठाँउ र कम्पनीको खाना खाने मेस हलमा आवतजावतको फरक दैनिकी सुरु भयो। आवश्यक काममा छुट्टीको दिन बाहिर नहिड्ने आफु बसेको कोठा किचेन सफा राख्ने र बाहिर हिड्दा अनिवार्य माक्स लगाउन सुझाए। तर कोरियानहरु आफैले भने कहिले माक्स लगाएनन् । कहिलेकाही लगाउदा पनि माक्स भन्दा नाक बाहिरै देखाउथे । केही समयपछि कोरियामा माक्सको हाहाकार भयो। मार्ट र मेडिकलमा चाहिएको बेला माक्स किन्न पाउदैन थियो। माक्स कुन दिन किन्न पाइन्छ, मोबाइलमा मेसेज आउथ्यो । समय तालिका हेरेर आइडी कार्ड बोकेर मेडिकल पुग्नु पर्थ्यो। मेडिकलमा माक्स किन्नेको लाइन देख्दा ०७२ सालको भुकम्पसँगै इन्डियाले नेपालमा गरेको नाकाबन्दीको प्रभाव सम्झिन्छु। जुन ग्यास स्टोरमा देखिएको दैनिक सेवाग्राहीको लस्कर लाइनको याद दिलाउथ्यो।

समय छिपिदै गयो । नेपालमा समेत कोरोना महामारीको असर देखिन थाल्यो। यही मेसोमा काठमाडौ उपत्यका ललितपुरको ठैबमा बस्दै आएको मेरो छोरी र जहान छुटिए। नेपाली उखान छ `नाङ्लो ठटाएर हात्ती तर्साउने ।´ हामी यही समाजमा हुर्केको छौ। कोरोनाकै त्रासले बिगत बर्षभन्दा विद्यालय स्तरमा लिइने बार्षिक परिक्षा छिट्टै संचालन भयो। परिक्षा सकिने लगत्तै लामो समय विद्यालय बन्द हुने हल्लाले बजार पिट्यो । नभन्दै बन्द भएरै छोड्यो। छोरी खुशिको कक्षा-५को परिक्षा ०७६ चैत्र ७ गते सकिनु बितिकै भोलिको दिन भतिजी बिशलसँग छोरीलाई (ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ वामद्याल) गाँउ पठायौं ।  सानैदेखि गाँउमा लामो समय बस्न नपाएको हुनाले गाँउ फर्किने रहर छोरी खुशीफुरी  राईको अत्यधिक थियो। काठमाडौमा हुदा हरेक बेलुका भिडियो कलमा बोल्ने छोरी गाँउ पुगेपछि मलाई न्यास्रो लाग्यो।

शहरको तुलनामा गाँउ घरमा इन्टरनेटको पहुँच कमै हुन्छ। दैनिक नम्बरमा फोन गरेर बोल्न सम्भव हुदैन । माथि दाप्चुकको हाम्रो घर भन्दा छोरीले मामा घर धरै रुचाउछिन् । यो बाल्यकालमा सबैलाई महसुस हुने बाल्य रोग नै भन्दा हुन्छ। घर पुगेको २ दिनको दाप्चुक बसाइ पछि मामा घर सोदु झरिन् । फोन गरेर बोल्दा गाँउ घरको रमाइलो कुरा सुनाउछिन् । ‘मामा प्रकाशहरि राई `क्वारो कान्छा´ को छोरा प्रलय दाजुपनि ओखलढुङ्गाबाट घर आउनु भएको रहेछ पापा’ भन्दै अरु सुनाइन् ।  बारीमा किम्बु पाकेको हुनाले बिहान बेलुका किम्बुकै रुखमा चढेको र काँचो आँप पनि फलिसकेको हुनाले हावा चलेपछि आँप झर्ने आशामा रुखको फेदमा पुगेको आफ्नो रमाइलो कथा सुनाउ छिन्। सँगै ठुलो रुख चढ्न नसकेकोमा गुनासो पनि पोखिन् । यतिमात्रै होइन राती कदुवा जंगलमा बाघ गर्जेको, दिउसो घोरल मयुरहरु कराएको सुनेको आफ्नो दैनिकी रमाउदै सुनाउछिन्। अनि मलाई भने सधै मासु नखान सुझाउछिन् किनकि धेरै मासु खादा कोरोना रोग लाग्न सक्ने छोरी खुशिको बुझाइ छ अनि छोरीलाई खुशि पार्न उनको बचनमा सहमती जनाउछु।

लकडाउनको संघारमा साइत नजुरेको लगन घरमा आफ्नै दाईको छोरा भतिजको बिबाह ०७७ बैशाख ४ गते थियो। बिबाहमा लाग्ने खर्चको जोहो गर्ने जिम्मा मेरो थियो। बेहुला-बेहुलीलाई लत्ताकपडादेखि बिहेमा आवश्यक सामाग्री । मैले पैसा पठाएपछि गाँउबाट मेरो भतिज आएरसँगै किनमेल गर्ने सल्लाहले नै छोरीलाई गाँउ पठाएर मेरो जहान काठमाडौमा रोकिएको थिइन्। कम्पनीमा तलब आउनलाई महिना मरेपछि पनि १० औ दिन कुर्नु पर्थ्यो। तलब पर्खिदा बिहे नभेटिने भएपछि साथीभाइ गुहार्न थाले। पैसाको चाँजोपाँजो पनि मिल्यो । नेपालमा लकडाउन पनि सुरु भयो। लकडाउनकै प्रभाव बन्दाबन्दीले न गाँउबाट भतिज आउन सक्यो नत काठमाडौंबाट गाँउ फर्किन नै संभव भयो। घरमा भने बिबाहको तिब्र तयारी भैसकेको थियो। गाँउ टोल, समुदाय, समाजमा चल्ने जाड रक्सी पाहुना पाछालाई निम्तो गाजाबाजा बजाउने दमाईको टुङ्गो गरि सकियो । बिडम्बना कोरोनाकै कहरले लकडाउनको प्रभाव गाँउमा समेत पुगिसकेको थियो। स्थानीय सरकार गाँउ पालिकाले बिबाह, ब्रतबन्ध, छेवार, पास्नी जस्तो कार्य गरेर भोज भतेर नगर्न बिज्ञाप्ती नै निकालेको थियो। जसको प्रत्यक्ष असरले बिबाह रोकियो । पाकीसकेको जाड रक्सी सही ठाँउमा सदुपयोग गर्न पाइएन । त्यसैले दोहोरो खर्चको भार झेल्नु परेको छ।

अर्को हाम्रो परिवारको लागि अप्रिय घट्ना घट्यो । नेपालमा लकडाउन सुरु भएको दोस्रो हप्ता मानेभञ्ज्याङ गाँउपालिका वडा नं. ६ माथिल्लो रिचुवा घर भइ वैदेशिक रोजगारीमा रहेका साउदी अरबको जुबेलस्थित Nassar S.al hajri cont com मा ०७६ चैत्र २२ गते सनिवार मेरो भेनाजु यज्ञ बहादुर राई बित्नु भयो। शारिरिक रुपमा अस्वास्थ्य रहेको अघिल्लो दिन कोठामा साथीलाई सुनाएको रहेछ। घट्ना घटेको दिनै घरमा भेनाजुको साथीहरुले दिदीलाई खबर दिए पनि परदेशमा बस्ने आफन्तले भने त्यसको भोलि मात्रा थाहा पायौ। तुरुन्त घरमा फोन गरेर दिदीसँग नालिबेलि बुझ्न खोजे। सत्यकुराको चिरफार पछि दिदी सँगै फोनमा धेरै बेर रोएको छु। साथमा भान्जाभान्जीको कारुणिक आवाज । भान्जा साम्फुज्ञान राई एकोहोरो रोए । एक शब्द गुनासो पोख्न सकेन । सानै उमेरमा टुहुरा बन्नुको नमिठो भोगाइ । ‘जसरी जहिले हुन्छ हाम्रो पापा नेपाल ल्याउनु पर्छ है `क्वारो कान्छा´ पापाले हामीलाई छोडेर जानु भएपनि अन्तिम पापाको अनुहार हेरेर चित्त बुझाउछौ।’ भान्जी सिमा हाङ्मा राईको आग्रहपुर्ण बचन र मुटु हल्लाउने बोलिले फेरि पनि भक्कानिएँ । छोरा मान्छे रुनु स्वाभावले नसुहाए पनि दुख, पिडा र आँशुले कहिले छोरा मान्छे नभन्ने रहेछ। यतिबेला मेरो भेनाजुको पार्थिव शरीर कहाँको शव गृहमा कुन अबस्थामा छ। कम्पनीले कुनै जानकारी नगराएको साउदीबाट प्रेम योगि भाईले भन्नु हुन्छ। आफु जन्मेको माटो भुगोल उहाँको परिवार र आफन्त सधै उहाँको पर्खाइमा हुने छौ।

अन्तमा कुनै पनि डाक्टरी ओखती मुलोले जाति हुन नसक्ने पिडा माथि झनै नुन चुक छर्की दिने जिल्ला प्रशासन कार्यलय ओखलढुङ्गाले निकालेको बिज्ञप्ती जहा लेखिएको थियो। वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको र हाल कोभिद-१९ महामारीको त्रासले शवलाई नेपाल ल्याउदा समुदाय स्तरमा कोरोनाको भयावह फैलिन सक्ने हुनाले शवलाई संबन्धित मुलुकमै अन्त्येष्टि गर्नको लागि मृतकको परिवारलाई मनो सामाजिक परामर्श दिएर सहमती सहजीकरणको बाटो खोजिएको थियो। कोरोना संक्रमित होकि होइन भनेर त डाक्टर रिपोर्टको आवश्यक हुन्छ। त्यतिकै अडकलबाजिको भरमा आफ्नो मान्छेको लाशलाई किरा फट्याङ्ग्रा झैं फाल्न कसको मनले दिन्छ। त्यसैले भगवानसँग प्रार्थना छ विश्वले यो विशम महामारीबाट चाँडै मुक्ति पाओस् र मेरो भेनाजुको पार्थिव शरीरको माग दावी गर्न सहज वातावरण सृजना होस् । यसै लेखमार्फत् नेपाल सरकारको ध्यानाकर्षण गर्न पनि चाहन्छु । हो, विश्व महामारीले गाँजेको छ तर कोरोना भाइरस नलागेका तर अकालमा विदेशमा ज्यान गुमाउन पुगेका नेपाली नागरिकको लासलाई प्रमाण जुटाएर स्वदेश फर्काउने व्यवस्था गरियोस् ।

 

मानेभन्ज्याङ गा.पा. वडा नं.३, वामद्याल, ओखलढुंगा, नेपाल

हाल : सउल, दक्षिण कोरिया 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *