समाज एकभन्दा धेरै मानिसहरूको समुदाय हो । समाजले एउटै रहनसहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समूहलाई बुझाउँछ । यसले कुनै विशेष उद्देश्य लिएर निर्माण गरिएका संघ, संस्थालाई पनि बुझाउने गर्दछ । उदारणका लागि वाम्बुले राई समाज, थारु समाज, नेवार समाज आदि । ‘समाज’ शब्दले गाउँटोल वा सहरका बेग्लाबेग्लै घरमा बस्ने व्यक्तिहरूको समूहलाई बुझाउँछ । समाज समष्टि हो । समाज परिवारको एकाईहरूको सम्पूर्णता हो । (नेपाली विकिपिडियाबाट)
व्यक्तिको समूह समुदाय जसको सामाजिक, आर्थिक, सांस्कृतिक समानता हुन्छ । निश्चित भूगोलको सीमाभित्र उनीहरूको बसोबास रहन्छ । उनीहरू विशिष्ट पहिचान कायम रहन्छ । आदिम कालदेखि एकै थलोमा बसोबास गर्दै आएका समुदाय नै आदिवासीका रूपमा परिभाषित गरिएको पाइन्छ । आफ्नै भूगोल, इतिहास, धर्म, संस्कृति, परम्परा, बोलीचाली (भाषा), रहनसहन, उत्पत्ति कथा, मूल्यमान्यताहरू हुन्छन् । परापूर्वकालदेखि रहेको थातथलोलाई उनीहरू हत्तपत्त छाड्दैनन् । छाड्ने प्रयास गर्दा पनि एकाध सदस्यमात्र बाहिरिन्छन् । सिंगो परिवार, समाज, समुदाय त्यहीं रहिरहन्छ ।
परिवार र समाजले निर्माण गरेको निश्चित नियम, परिधि, नैतिकता आदिले व्यक्तिलाई बाँधेको हुन्छ । आपसी मेलमिलाप पारस्परिक सम्बन्ध, पारिवारिक, सामुदायिक वा सार्वजनिक जिम्मेवारी यसैको कडी हो । मानव सचेत चेतनशील र विवेकशील सर्वश्रेष्ठ पशु हो । बलियोले निर्धोलाई शोषण गर्ने पाशविक व्यवहार हो । त्यसैले पनि परिवारमा समान व्यवहार गर्ने, समुदायलाई एकसूत्रमा बाँध्ने, एकले अर्कोमाथि थिचोमिचो, शोषण हुन नदिने समुदायले बाँधेको परम्परागत प्रथा हुन् । प्रत्येक समुदायले आफ्नो सामुदायिक परिस्थितिअनुसार अनौपचारिक नियम बाँधेको हुन्छ । नीति, नियम, पद्धति समुदायले बाँधेको हुन्छ ।
यसरी हरेक समाज, समुदायहरूको आ–आफ्नै विशिष्ट पहिचान बनेको हुन्छ । मानवीय स्वभावहरू आपसमा मिल्दाजुल्दा पनि छन् । यद्यपि बहुल समाजको विशिष्टता आ–आफ्नै खालका हुन्छन् । देश, काल, परिस्थितिअनुसार राजनीतिक व्यवस्था, कानूनी व्यवस्था नयाँ नयाँ बन्दै जान्छ । यद्यपि समुदायको परम्परा उही रहन्छ । हत्तपत्त परिवर्तन हुनसक्दैन । त्यसमा कतिपय रुढिबुढी पनि रहन्छ । त्यसलाई हत्तपत्त त्याग्दैनन् ।
किरात वाम्बुले राई समाज पनि यस्तै खाले एक समुदाय हो । निश्चित भूगोल, भाषा, संस्कृति, परम्पराहरू रहेका छन् । समयको परिवर्तनसँगै व्यक्तिको इच्छा समूहमा फरक देखिनु पर्ने, अरुको नजरमा आकर्षक हुनु, परिवर्तनको संवाहकका रूपमा चिनिनु, आर्थिक हैसियत, सामाजिक हैसियत उच्च हुनु आदि मानवीव स्वभाव हो । पछिल्ला दशकमा परम्परागत ग्रामीण भूगोलबाट बाहिरिएर शिक्षाको उज्यालो खोज्दै, रोजगारी खोज्दै, नयाँ अवसर पहिल्याउँदै नगर, सहर, परदेश, विदेश जाने क्रम बढेको छ । तैपनि वाम्बुले राई समाजको मौलिक चरित्र भने उही परम्परागत नै हुनुपर्छ । त्यही ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली या भनौं दुधकोशी र सुनकोशीको आसपास परिधिमा निर्मित लोकपरम्परा नै सबैभन्दा खाँटी हो भनेर आम वाम्बुले राईहरूले बुझ्ने गरेका छन् । यही परिवेशमा निर्माण भएका पुख्र्यौली रहनसहन प्रमुख मानेर आधुनिक सभ्यताको नयाँ स्वरूप निर्माण भएको छ । वाम्बुले पहिरन, वाम्बुले टोपी, वाम्बुले गरगहना आदि इत्यादि । जय वाम्बुले ।
इक लिब्जु–भुम्जु त्रैमासिक, वर्ष ६ अंक ७, २०७६ माघ–चैत (लिब्जु–भुम्जु पत्रिकाको निरन्तरता पूर्णाङ्क ८०)