समय, सन्दर्भ र ओखलढुंगा
जीवन यात्रा सरल रेखाझैं सिधा हुँदैन । कहीं बाङ्गो, कहीं घुमाउरो भएर हिंड्छ भन्ने सुनेकी थिएँ । साँच्चै रहेछ । यही बाङ्गोटिङ्गो रेखासँगै सांगीतिक यात्रा सुरु गरेको पनि झण्डै २ दशक हुन लागेछ । यही क्रममा तीतामीठा, रमाइला नरमाइला अनुभव र अनुभूतिहरु सँगाल्दै यात्रा अबिरल बढिरहेछ । यिनै यात्राको सिलसिला नै भन्नु पर्छ स्वदेशका केही सांगीतिक कार्यक्रममा सहभागी भएका सम्झनाहरु मेरो स्मृतिपटलमा खिलझैं भएर बसेका छन् । यद्यपि खासै उल्लेख्य सम्झनाहरु होइनन् तापनि जसलाई म कहिल्यै बिर्सन सक्दिनँ । त्यो नै मेरा लागि उल्लेख्य हुन् भन्ने लाग्दछ । त्यसैले यहाँ म त्यस्ता केही क्षण र विचारहरु समेट्न लागिरहेकी छु । जसले मलाई मेरो सांगीतिक जीवनमा गर्व गर्ने सुनौलो अवसर दिएको छ ।
कुरा नेचा महोत्सवको हो । युवा चेतना तथा विकासले भर्खरै पाइला टेक्दै गरेको खोटाङ र ओखलढुंगा जिल्लाको सीमानासँग जोडिएको सोलुखुम्बुको एउटा सुन्दर पहाडी गाउँ हो, नेचा । साहित्य, कला र संगीत पारखीहरुका लागि नेचा एक उद्गम थलो नै हो भन्दा सायद अन्यथा नहोला । नेचा महोत्सव आयोजना गरेर देश विदेशसम्म छरिएर बसेका नेचाबासी साहित्य, कला र संगीतप्रेमीहरु मात्र नभएर खेलकूद तथा अन्य प्रतिभाहरुलाई समेट्दै एक भव्य कार्यक्रम सम्पन्न गर्नु चानचुने कुरो थिएन । यही क्रममा मलाई पनि एक संगीतकर्मीको नाताले निमन्त्रणा गरेर सहभागी गराएकोमा म सदैव नेचा र नेचाबासीहरुप्रति आभारी छु ।
असोज महिना थियो । वर्षा यामले आँसु पुछ्दै हिउँदलाई निम्ताइरहेको समय । सिमसिम पानी परिरहेको । सिरसिर हावा बहिरहेको शितल मौसम । काठमाडौंबाट उडेर रुम्जाटारको विमानस्थलमा उत्रेपछि मलाई लिन आएका भाइहरुसँग उकालो लाग्यौं । रुम्जाटारदेखि ७/८ घण्टाको पैदल बाटो रहेछ नेचा पुग्न । त्यसै दिन नेचा पुग्न मुस्किल थियो । त्यसमाथि दिनभरिको दर्के झरीको हिंडाई । लेकाली लेउसँग भिड्दै कहीं चिप्लिंदै । कहीं खेतै खेत । कहीं खरबारीको बाटो त कहीं पात्लेघारीको कटुस टिप्दै हिंडिरह्यौं । सबैभन्दा अचम्मको कुरो भूइँबाटोका जुकाको आक्रमण त छँदै थियो, आकाश माथिबाट पनि जुकाहरुको पर्रा छुटेर टाउकोमा वर्षेको देख्दा मेरो सातो उड्यो । मुस्किलले छाताले छेक्दै आफूभन्दा लामो लामो पाइला चाल्दै बल्लबल्ल जंगल छिचोल्यौं । दिनभरिको दर्केझरीको कारण नेचा पुग्नु एक दुई घण्टा अगावै बीच बाटोमा बास बस्नु पर्दाको पीडा सम्झिदा लाग्छ– अब यस्तो दिन कहिल्यै नआओस् जिन्दगीमा ।
याक्साजस्तो घरमा ओढ्ने–ओछ्याउनेको त कुरै नगरौं सुत्ने ठाउँसम्म नभएर त्यही घरकी बहिनीको सानो खाटमा पेसो लागेर रात बिताउनु परेको कुरा चाहेर पनि बिर्सन सकिन्न । मकै, भटमास र मोहीको भरमा सुतेकालाई कसरी निन्द्रा लागोस् पनि ? भोको पेटले न शान्तले निदाउन दिन्थ्यो न आरामले सुत्नै पाइन्थ्यो । हल न चल भएर कोल्टे परेर सुतेको हामी दुवैजना बिहानसम्म ज्यूँकात्यूँ अवस्थामै उठ्यौं । मैले गर्दा बहिनीले समेत दु:ख खप्नु परेकोमा माया लागेर आयो । ७/८ घण्टाको बाटोलाई मात्र २ घण्टाको भनी–भनी ढाँटी कुरा गरेकोमा मेरो मन क्रुद्व भएर आयो । पहिला नै वास्तविकता थाहा भएको भए सोही बमोजिम मानसिकता बन्थ्यो ।
अनपेक्षित कष्ट व्यहोर्नु पर्दा आयोजकहरु विशेषगरी जसले मसँग सम्पर्क गरे उनीहरुप्रति आक्रोश नजागेको पनि होइन तर त्यो अन्तिम विकल्प थिएन । जसरी नि गन्तव्य त टेक्नु नै थियो मैले । त्यसैले यात्रा फेरि अगाडि बढायौं । आखिर मान्छे हो, दु:ख, पीडा, रिस, आवेगहरुलाई संमयले नै पुर्दै बिर्सादै जाँदो रहेछ । भोलिपल्ट नेचा पुग्दा त्यहाँको सांस्कृतिक माहौल, स्टेज व्यवस्थापन, दर्शकहरुको बाक्लो उपस्थिति र चहल–पहल, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, खेलकूद, पिङ्, रोटे पिङ् आदि देखेपछि भने अघिल्लो दिनका आवेगहरु कता हराएर गए पत्तै भएन । त्यो दिन महोत्सवको समापनको अन्तिम दिन रहेछ । कार्यक्रमको मध्यभागदेखि फेरि दर्के झरी । तर किन्चित दर्शकहरु चटपटाएनन् । छाता ओढेरै अन्तिमसम्म कार्यक्रमबाट आनन्द लिएको पाउँदा लाग्यो– यस्तो पो हुनुपर्छ दर्शकहरु, तब न चल्छ जोश–जाँगर कलाकारहरुलाई ।
यहाँ सन्दर्भ ओखलढुंगाको हो । तर म नेचाको कुरा गरिरहेको छु । कुरा यसकारण कि राष्ट्र र साहित्यको गौरव भनेर चिनिने युग कवि सिद्धिचरण श्रेष्ठको नाम मैले आफ्नो विद्यालय जीवनकालदेखि नै सुनेकी हुँ । उनको कविता ‘मेरो प्यारो ओखलढुंगा’ लाई हल्ली–हल्ली स्वरमा स्वर खाप्दै साथीहरुसँग कण्ठ पारेको अहिलेझैं लाग्छ । तर समय गन्दा युगौं भइसकेछ । तिनै युग कविको जन्मभूमि ओखलढुंगाको रुम्जाटार टेक्ने अवसर मैले त्यही बेला पाएकी हुँ । जतिखेर म नेचा महोत्सवमा भाग लिन जाँदै थिएँ । त्यो क्षण मेरो लागि यति ऐतिहासिक बनेर बस्यो कि सिद्धिचरणको नाम सुन्नासाथ प्रथमत: म नेचा सम्झिन्छु अनि ओखलढुंगा, त्यसपछि रुम्जाटार । बस, यसरी नेचासँग जोडिएको ओखलढुंगा मोह र सम्बन्ध उत्तिकै महत्वपूर्ण छन् मेरो लागि । मैले यसो भनिरहँदा एउटा प्रश्न उब्जिन्छ म भित्र– के युग कवि सिद्धिचरणको कविता ‘मेरो प्यारो ओखलढुंगा’ कै कारणले यसले यत्ति प्रसिद्धि पाएको हो ? अथवा सिद्धिचरणको जन्मभूमि भएकोले ? तर म अनुत्तरित नै रहन्छु । किनभने यसबारेमा म नितान्त कोरा मान्छे । एकदिन फेरि यही प्रश्न ओखलढुंगाका मेरा केही युवा मित्रहरुले बल्झाएर गए ।
‘फोकुल सन्देश’ नामक पत्रिका प्रकाशनमा जुटिरहेका मित्रहरुले मेरो आफ्नो अनुभव र सांगीतिक यात्रा सम्बन्धी लेख मागेर मलाई यतिखेर यो कलम समाउन हौसला दिए । भनौं बाध्य तुल्याए । यद्यपि म कुनै लेखक वा कलमवाज होइन । तापनि मेरो आफ्नो विचार र अनुभवबारे भनेकाले कुनै नाइनास्ति नगरी सहमति जनाएँ । र यो कलम समाउने आँट गर्दैछु । यसलाई आँट भनौं या दुस्साहस जेसुकै भने पनि यहाँ मैले सुनेजाने बुझेसम्मका आफ्ना विचार र अनुभवहरुलाई बाँड्ने जमर्को गरिरहेछु ।
भनिसकें म ओखलढुंगा सम्बन्धी कुनै विशेष जानकार त होइन तापनि कवि सिद्धिचरण श्रेष्ठको ह्दयमा सदैव बास गरिरहने सुनकोसी, तामाकोसी र रोसी नदीका एक प्रेमिल प्रशंसक अवश्य हुँ । कविले भनेझैं अनेकन पहाड, पर्वत फोरेर बहिरहेका यी नदीहरुसँग साक्षात्कार हुने मेरा अधुरा रहरहरु पछिल्लो अवधि आएर विमान माथिबाट नै सही ओखलढुंगाकै आकाश माथिबाट अवलोकन गर्न पाएकीमा आंशिक रुपमा पूरा भएको महसुस गरें । म एक संगीतकर्मी भएको नाताले पनि यहाँ भन्नैपर्छ कि ओखलढुंगा मोह बढ्नुको अर्को कारण यसै भूमिकी एक होनाहार सन्तति एवं हाम्रा अग्रज गायिका मेलवादेवी लामिछाने गुरुङ पनि एक हुन् ।
जसको सांगीतिक जीवन मेरा लागिमात्र नभएर आम नेपाली संगीतकर्मीहरुका लागि नै एक पठनीय आयाम हुनुपर्दछ । किनभने राणा शासनकालमै दरबारभित्रकी एक गायिका भएर पनि तत्कालिन कुरीति र कुसंस्कारहरु विरुद्ध गीत गाएर सामाजिक चेतना फैलाउने प्रयत्न गरिन् । गीत संगीतलाई केवल दरबारभित्रका राजा महाराजाहरुलाई मनोरञ्जन गराउने साधनको रुपमा मात्र लिइने त्यो समयमा पनि संगीत क्षेत्रमा लाग्नु भनेको जंगली काँडामाथि हामफाल्नु जत्तिकै कठोर थियो । तर, मेलवाले त्यो आँट गरिन् । नेपाली संगीत क्षेत्रमा सबभन्दा पहिला गीत रेकर्ड गराएर नयाँ इतिहास रचना गरिन् । एक परिवर्तनकामी संगीतकर्मीको रुपमा आफूलाई उभ्याइन् जसको कारण दरबारबाट निस्कासित भई भारत निर्वासित हुनुपर्यो । अन्तत: ग्याँस (स्टोभ) पड्किएर निधन हुनु पर्यो ।
यसरी ओखलढुंगाका यी दुई सुन्दर गौरवशाली आभूषणहरुले आ–आफ्नो क्षेत्रमा आफ्नो स्थान त बनाए नै त्यो भन्दा पनि उनीहरुले ओखलढुंगाको गरिमालाई अझ उच्च बनाउनमा सहयोग पनि पुर्याए । आज ओखलढुंगाको नाम नसुन्ने नेपाली बिरलै होलान् जसको श्रेय यी दुई व्यक्तित्वहरुलाई नै जान्छ । हामीलाई थाहा छ मान्छे र माटोको सम्बन्ध अत्यन्तै गहिरो र निकट हुन्छ र हुनु पर्छ । यहाँ माटो भन्नाले जन्मभूमि भन्न खोजिएको हो । कुनै पनि मान्छे माटो बिना न सार्वभौम हुन सक्छ न त मान्छे बिना माटो नै सार्वभौम बन्न सक्छ । त्यसैले यी दुई राष्ट्रिय आभूषणहरुका सम्बन्ध ओखलढुंगासँग अत्यन्तै निकट र प्रगाढ भएता पनि यी दुई पक्षबीच कुनै एउटाको उपस्थिति नभएमा अर्कोको उपस्थिति निस्सार र अर्थहिन हुन जान्छ । यस अर्थमा मेलवादेवी र सिद्धिचरण श्रेष्ठ ओखलढुंगाबासीले कहिल्यै बिर्सन नहुने अमर इतिहास हुन् भन्दा अतियुक्ति नहोला । त्यसैले यहाँ बुझ्नु पर्ने कुरा एक अर्काको गरिमा बढाउनुमा सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । यस सन्दर्भमा हामीले उनलाई बिर्सेमा हाम्रो गम्भिर भूल हुनेछ र इतिहासले हामीलाई माफी दिनेछैन ।
पछिल्लो अवधिमा राष्ट्रिय गानका रचनाकार प्रदिपकुमार वाम्बुले राई उर्फ व्याकुल माइलाको जन्म पनि यही भूमिमा भएको थाहा पाउँदा ओखलढुंगाको गरिमा र महत्व अरु बढेको मैले महसुस गरें । लाग्यो, ओखलढुंगा साँच्चै कला साहित्यका लागि एक उर्वर भूमि नै रहेछ । मानौं यसका हरेक सन्तान जन्मदै साहित्यकार, कलाकार वा संगीतकार भएर जन्मन्छन् । मैले पनि माइलाका केही गीतहरु (वाम्बुले भाषामा समेत) गाउने अवसर पाउँदा आफूलाई सगौरव भाग्यमानी महसुस गरेकी छु ।
माथि भनिएझैं हिजो अस्तिसम्म पनि साहित्य, कला र संगीतले चेतना परिवर्तन गर्ने सामथ्र्य राख्दछ भन्ने कुरोलाई आत्मसात गर्न नसकेर केवल सस्तो मनोरञ्जनको साधन ठान्ने निम्न कोटीको मानसिकतामा परिवर्तन आएको धेरै भएको छैन । झन् त्यस समयमा संगीतको पछि लाग्नु कलाकर्मीहरुको लागि ठूलो चुनौती थियो । तर त्यसको कुनै प्रवाह नगरी संगीतमै जीवन गाल्ने मेलवादेवी नेपाली गीत संगीतको किन्नरी हुन् भन्नमा अतियुक्ति नहोला । यहाँ मैले उनलाई उच्च सम्मानका साथ उजागर गरेर समकालिन अन्य संगीतकर्मीहरुलाई छायाँमा पार्न खोजेको होइन । मात्र के भने जब हामी साहित्य र ओखलढुंगाको कुरा गर्छौं सिद्धिचरण स्वत: तानिएर आएझैं नेपाली गीतसंगीतको कुरा गर्दा मेलवादेवी पनि स्वत: तानिएर आउनुपर्छ । उनलाई छुटाउनु भनेको सिङ्गो संगीत क्षेत्रलाई ओझेलमा पार्नु हो । जसले गर्दा सिङ्गै संगीत क्षेत्र नै अन्यायमा पर्न जान्छ । त्यसैले मलाई लाग्छ प्रारम्भिक नेपाली संगीतको पर्याय नै हुन् मेलवादेवी ।
वर्तमान अवस्थामा हामी नेपाली संगीतकर्मीहरु आ–आफ्नो रुचि, मूल्य र मान्यतानुसार सांगीतिक बाटो हिंडिरहेका छौं तापनि वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि हामी नेपाली संगीतकर्मीहरुले हिंडेको बाटो भने मेलवाले हिंडेकै बाटो पछ्याएझैं प्रतित भइरहेछ अहिले । किनभने १९९० सालमा उनले भूकम्पबारे गीत गाएर सर्वसाधारणलाई सन्देश सम्प्रेषण गरेकी थिइन् । हामी पनि यसपाली भूकम्प विषयक गीत गाएर हाम्रो समाजलाई सुसूचित गराउँदै पीडितहरुका आलो घाउमा मल्हम पट्टी लगाउने काम गर्यौं । यसरी हेर्दा सिधै मेलवादेवीको अनुकरण गरेको भन्न त नमिल्ला तर उतिबेलै उनले हिंडेको डोरो बाटो यतिबेला हामीले पहिल्याइरहेको अवस्था भने पक्कै हो । र संगीतलाई मनोरञ्जन गर्ने साधनमात्र ठान्ने संकीर्ण धारणालाई च्यातेर आपतकालिन अवस्थामा एकजुट हुन सक्ने ज्वलन्त सन्देश पनि हामीले सम्प्रेषण गर्यौं । जसलाई संगीत क्षेत्रको लागि एक सकरात्मक संकेत मान्नु पर्छ । एउटा भनाई छ– रात नढली बिहान हुँदैन । पक्कै हो, अब सांगीतिक क्षेत्रका कालो रातहरु बिस्तारै ढल्दै जाँदैछन् । हामी बिहानीको प्रतिक्षामा छौं ।
(लेखिका आभा मुकारुङ चर्चित गायिका हुनुहुन्छ ।)
फोकुल सन्देश २०७२ बाट