ब्रायन हप्टन हड्सनको खोजी र अपभ्रंस तथ्य : ज्ञान बायुङ राई

विचार / ब्लग

ब्रायन हप्टन हड्सनको खोजी र अपभ्रंस तथ्य

ज्ञान बायुङ राई

आजको घडीमा, यो संसारमा अकल्पनीय तिव्र भौतिक र प्रविधिको विकास हुँदै आइरहेको छ । यसै क्रममा आ–आफ्नो अस्तित्व, पहिचान, इतिहास, भाषा, संस्कृति, भूगोल र प्रथाजनित चालचलनहरूको संरक्षण, विकास र पुस्तान्तरण गर्नै पर्ने आवश्यकता देखिन्छ । आजको समाजमा भौतिक विकास अपरिहार्य भएको छ भने अर्कोतिर यो ब्रम्हान्ड र वातावरण पर्यावरणलाई प्रतिकुल असर पनि पारेको छ ।

ब्रायन हप्टन हड्सन
हड्सन बेलायती नागरिक थिए । उनी सन् फेब्रुअरी १, १८०० मा जन्मिएका थिए । उनी सन् १८१८ कलिलो उमेरमा बेलायतबाट भारत आए । ब्रिटिस इस्ट इण्डिया कम्पनीमा संलग्न भए । पछि सन् १८२० मा नेपालको लागि राजदूतमा नियुक्त भए । उनी नेपालमा करिब २३ वर्ष लामो समयसम्म बसेको पाइन्छ । उनले नेपालका जातिजाति, भाषाहरूको अध्ययन अनुसन्धान गरेका थिए । हड्सन नेपालबाट फिर्ता भएपछि पनि सन् १८४५–१८५८ सम्म दार्जिलिङमा बसेर थप अध्ययन गरेको थिए । हड्सनलाई प्रकृतिवादी, आदिवासीविद्, मावनशास्त्री भनेर चिनिन्छ । उनी सन १८५८ तिर आफ्नो मातृभूमि बेलायत फर्किए । मे २३, १८९४ लन्डनमा ९४ वर्षको उमेरमा उनी यो संसारबाट बिदा भए । उनले आफ्नो जीवनकालमा खोज अनुसन्धान गरेका दस्तावेजहरू ब्रिटिश लाइब्रेरीमा औपचारिक हिसाबले बुझाएको पाइन्छ ।

हड्सनको अप्रभंस तथ्य
कुनै पनि खोज अनुसन्धान गर्ने मानिसले कि जानेर उपद्रो गर्दछन् कि त नजानेर भुल गर्छन् । यसै क्रममा हड्सनले नेपालमा भएको विभिन्न मौलिक नामलाई, समुदायलाई र भूगोलहरूको असली पहिचानलाई तोडमोड वा अप्रभंस गरी एक प्रतिष्ठित, ऐतिहासिक र परिचित नामलाई अर्को आयातित र प्रतिकुल नामाकरण गरी अभिलेखिकरण गरेको पाइन्छ । हड्सनको दस्तावेजको आधारमा (१) बायुङलाई बाहिङ, (२) वाम्बुलेलाई चौरासिया, (३) याख्खालाई याखा, (४) साम्पाङलाई साङमाङ, (५) नाछिरिङलाई नाछेरेङ, (६) तामाङलाई मुर्मी, (७) मल्ललाई माल, (८) शाहलाई सास आदि । यति मात्र नभएर पल्लो किरातलाई वाल्लो किरात र वाल्लो किरातलाई पल्लो किरात भनेर भनेर झुठ विषयवस्तुसमेत उल्लेख गरिएको पाइन्छ । हड्सनले सन् १८५७–१८५८ मा विशेष गरी यो माथिको उल्लेखित आदिवासीहरूको बारेमा अध्ययन गरेको पाइन्छ, जुन समयमा उनी दार्जिलिङमा बसेको थिए ।

उत्तरऔपनिवेश पहिचान र मौलिकता
यो संसारमा उपनिवेशित भूगोलहरू, मौलिक नामहरू, पहिचानहरूलाई साँच्चै असली पहिचान र मौलिकतामा फर्कदै गरिएको पाइन्छ । प्राचीन कालमा इतिहास जित्ने र बलियाहरूको मात्र इतिहास लेखियो । तर कमजोर, इमानदारी र सोझासिधाको इतिहास सही गतिमा लेखिएन । त्यसै कारणले आज हाम्रो पालोमा प्रजातान्त्रिक र लोकतान्त्रिक राज्यव्यवस्था रहँदा परिस्थितिले र रहरले आ– आफ्नो असली मौलिकता, पहिचान, इतिहास, भूगोल र संस्कृतिलाई बचाउनु र सच्च्याउनु पर्ने देखिन्छ । कतिपय ऐतिहासिक कुराहरूलाई नियोजित तरिकाले ध्वस्त पारिएको हुनाले उत्तरऔनिवेश गर्नुलाई धेरै चुनौतीको साथ सामना गर्नु पर्ने देखिन्छ ।

युवा पिढीको काम र कर्तव्य
यो संसारमा इतिहास, मौलिकता र पहिचान बिनाको कोही पनि छैनन् । आज जति पनि विकास भएका छन् त्यो आदिम काल र प्राचीन समयमा भएको विभिन्न विषयवस्तुहरूको विकासको आधारमा भएको छ । त्यसैले जरा बिनाको रुख हुन सक्दैन । आजको वैज्ञानिक समाजमा विशेष गरी युवा वर्गले बहुपक्षीय विषयवस्तुहरूको गहन खोज र अनुसन्धान गरी ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, व्यवहारिक, सामाजिक र भौतिक विषयवस्तुको दस्तावेजिकरण गर्नु अपरिहार्य छ । आजको बालक भोलिको कर्णधार हुन् । नेपालमा लिखित इतिहास र दस्तावेजिकरणको इतिहास लामो पाइँदैन । त्यसैले हाम्रो इतिहास र बिरासत बचाउन जरुरी देखिन्छ ।

सन्दर्भ स्रोत :
किशोर बायुङ राई, इक लिब्जु–भुम्जु त्रैमासिक, वर्ष–७, अंक–८, २०७७

Brian Hudgson, Journal of the Asiatic Society of Bengal, Vol  XXVII, No. I to V, 1858

raigyan11@gmail.com

Leave a Reply

Your email address will not be published.