अब कसले उकास्ला सन्ध्याको करिअर ?

मनोरन्जन
काठमाडौं ।  टिभीका नियमित दर्शकका लागि भिजे सन्ध्या केसी परिचित अनुहार हो । उनको सौन्दर्य र होस्ट गर्ने शैलीले धेरैलाई ‘दिवाना’ बनाएको छ । टिभी स्क्रिनमा जति सन्ध्याको ‘वाहवाही’ भयो त्यो उनले फिल्मी पर्दाबाट भने कमाउन सकेकी छैनन् । अनमोल केसी स्टारर फिल्म ‘ड्रिम्स’ उनको डेब्यू फिल्म थियो ।
सानो भूमिका अनि त्यसमाथी अनमोल र साम्राज्ञी राज्यलक्ष्मी शाहको बलियो उपस्थिति । सन्ध्या ‘ड्रिम्स’को पर्दामा नै विलय भईन् । हुनत, एउटा कलाकारलाई आफ्नो थोरै भूमिका भएपनि फिल्म हिट भए त्यसले ठूलै राहत दिन्छ । सन्ध्याको हकमा पनि ‘ड्रिम्स’ले उनको फिल्मी करिअरमा एउटा इँटा थप्ने काम भने गरेको छ । तर, उनी यो फिल्मलाई आफ्नो डेब्यू मान्दिनन् ।
उनी भन्छिन्, ‘कमलेको बिहे मेरो डेब्यू फिल्म हो ।’ तर, यो फिल्मको रिलिज उनका लागि ‘आकाशको फल आँखा तरी मर’ भने झैँ भएको छ । फिल्म निर्माण भएको लामो समय भएपनि ‘कमलेको बिहे’को नेपाल रिलिज अझै अन्योलमै छ । यस्तैमा उनी अभिनीत नयाँ फिल्म ‘ह्याप्पी न्यू ईयर’ यसै महिनाको पुष १४ गतेबाट प्रदर्शनमा आयो ।

यो फिल्ममा उनको लिड रोल थियो । तर, फिल्मले बक्स अफिसमा पानी समेत भन्न पाएन । कतिले हिरो-हिरोइनको जोडी नसुहाएको तर्फ पेश गरे भने कतिले सन्ध्याको फिल्म चयन नै गलत रहेको बताए । जस्तै भएपनि यो फिल्म असफल हुँदा सन्ध्याको फिल्मी करिअरमा भने ठूलो चोट पुगेको छ । अब निको कसरि हुन्छ ? त्यो उनले गर्ने उपचारमा नै भर पर्नेछ ।
आफूलाई ‘स्टार’ सम्झिँदै ‘ह्याप्पी न्यू ईयर’का नायक तथा निर्माता कुशल थापाले पोखरामा ६ जना बडिगार्ड लिएर दर्शकमाझ पुग्दा ठूलै आलोचना भएको थियो । यसको धेरथोर असर फिल्ममाथी पनि पर्‍यो । अझ धेरै त सन्ध्याको फूल्न लागेको कलिलो फिल्मी करिअरमाथी नराम्रोसँग परेको छ ।
अब उनलाई भयङ्कर आश भनेकै फिल्म ‘कमलेको बिहे’माथी छ । यो फिल्म ‘ह्याप्पी न्यू ईयर’भन्दा अगाडि दर्शकमाझ आएको भए सन्ध्यालाई केही राहत त मिल्ने थियो होला तर फेरि रित्तो हात फर्किनुभन्दा बाहेक उनले अरु विकल्प भेटिनन् ।
हालैमा उनी, निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘चङ्गाचेट’मा अनुवन्धित भएकी छिन् । खबरअनुसार, उनको यो फिल्ममा मुख्य भूमिका हुनेछ ।
आशा गरौँ- ‘चङ्गाचेट’ र ‘कमलेको बिहे’ले सन्ध्याको करिअरमा एउटा इँटा थप्ने काम गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *