हलि- बलिउडका ‘चोर’ सेलिब्रिटी

मनोरन्जन

केही मानिसको चोर्ने बानी हुन्छ। पैसा नभएर होइन, उनीहरू बानीले बाध्य भएर चोर्ने गर्छन्। मन पर्ने सामान देख्यो कि उनीहरू आफूलाई चोर्नबाट रोक्न सक्दैनन्। यो लत एउटा मानसिक समस्या हो। जसलाई ‘क्लेप्टोमेनिया’ भनिन्छ। यस समस्याबाट पीडितलाई ‘क्लेप्टोमेनिएक’ भन्ने गरिन्छ। कतिपय सेलिब्रिटी पनि यस समस्याबाट पीडित छन्। केहीले आफैँ खुलासा गरेका छन् भने केही चोरी गर्दै समातिएका छन्ः

ब्रिट्नी स्पियर्स
प्रसिद्ध अमेरिकन पपस्टार ब्रिटनी स्पियर्सलाई चोर्ने लत छ। विभिन्न स्टोरबाट उनले सामान चोर्ने गरेको कुरा धेरै पटक खुलासा भएको छ। ग्यास स्टेसनबाट डिस्पोजेबल लाइटर, एउटा स्टोरबाट नक्कली कपाल (विग) चोरी गर्दै उनी भेटिएकी थिइन्।

मेगन फक्स
लाखौँ प्रशंसक भएकी हलिउड अभिनेत्री मेगन फक्स पनि चोरी गर्छिन् भन्ने कुरा पत्याउन गाह्रो छ। तर, उनी पनि ‘क्लेप्टोमेनिएक’ हुन्। उनी धेरै पटक पसलबाट सामान चोरी गर्दा समातिएकी छिन्। सात डलर मूल्यको लिपग्लस चोरी गर्दा समातिएकी उनलाई त्यसपछि त्यस मार्टमा प्रवेश गर्नबाट प्रतिबन्ध नै लगाइयो।

लिन्ड्से लोहान
अमेरिकी अभिनेत्री लिन्डसे लोहानलाई लागुऔषधको लतसँगै चोरीको लत पनि छ। एक पटक उनी क्यालिफोर्नियाको एउटा स्टोरबाट नेकलेस चोरी गर्दा पक्राउ परेकी थिइन्। २५ हजार डलर पर्ने नेकलेस चोरी गर्दा उनी सीसीटीभी क्यामरामा कैद भएकी थिइन्। यति मात्र होइन, विभिन्न पसलबाट ड्रेस, ब्रासलेट, जुत्तालगायत सामान चोर्दै गर्दा उनी समातिएकी छिन्।

फराह फसेट
सन् १९७० को दशककी हलिउड अभिनेत्री फराह फसेट पनि ‘क्लेप्टोमेनिया’ की शिकार हुन्। ‘चार्लिज एन्जेल्स’ फिल्मकी यी अभिनेत्री दुई पटक अलग–अलग बुटिकबाट ड्रेस चोरी गर्दा समातिएकी थिइन्।

विनोना राइडर

विनोनाको सुन्दरता देख्दा कसैले पत्याउन सक्दैन– यी सुन्दरी चोर्न सक्छिन्। तर, ‘क्लेप्टोमेनिया डिसअर्डर’बाट पीडित उनी एक पटक पाँच हजार डलर मूल्यको सामान चोरी गर्दा पक्राउ परेकी थिइन्। त्यसपछि उनले ६ हजार ३ सय ५५ डलर जरिवाना तिर्नुपरेको थियो।

जेनिफर क्याप्रिएटी
प्रसिद्ध टेनिस खेलाडी जेनिफरलाई पनि चोर्ने बानी छ। एक पटक उनी १५ डलर पर्ने औँठी चोर्दै गरेकी भेटिइन्। तर, आफूले चोरी नगरेको र गल्तीले औँठी आफ्नो हातमा आएको उनले बताएकी थिइन्।

रेक्स रिड
सामान्यतया ‘क्लेप्टोमेनिया’लाई महिलासँग जोडेर हेरिन्छ। तर, पुरुष पनि यस मानसिक समस्याबाट पीडित हुन्छन्। फिल्म समीक्षक तथा टेलिभिजन प्रस्तोता रेक्स रिड पनि यस समस्याबाट पीडित छन्। सन् २००० मा उनी एउटा पसलबाट सीडी चोर्दै गर्दा समातिएका थिए।

Leave a Reply

Your email address will not be published.