भोजपुरको हतुवा क्षेत्रका विद्यालयहरुमा बान्तावा भाषाको पठन पाठन हुने

alt
  •  श्रावण ८, २०७७
  •  ब्लाष्ट खबर
  • सन्देश किराती

भोजपुर /  जिल्लाको हतुवागढी गाउँपालिका क्षेत्रका विद्यालयहरुमा राई बान्तावा भाषाको पठन पाठन हुने भएको छ । गाउँपालिकाको सातौ गाउँसभाले नीति तथा कार्यक्रममा भाषालाई प्राथमिकता दिएसंगै हतुवा क्षेत्रका विद्यालयहरुमा बान्तावा भाषाको पठन पाठन हुने भएको हो ।

बान्तावा भाषा पठन पाठनका लागि आर्थिक वर्ष २०७७/०७८ मा पाँच लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । भाषा संरक्षणमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ बजेट विनियोजन गरिएको अध्यक्ष राईले जानकारी दिए । उनले भने “हतुवागढी क्षेत्रका विद्यालयहरुमा अधिकांश बान्तावा भाषी विद्यार्थी अध्ययनरत छन्, गैह्र बान्तावाहरुलाई पनि बान्तावा भाषा बोल्ने समस्या नहुने भएकाले पठन पाठन थप सहज हुनुका साथै भाषा संरक्षणमा सहयोग हुने आशा लिएका छौ ।”

बजेट विनियोजन भएसँगै गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापक, तथा शिक्षकलाई आफ्नो विद्यालयमा भाषा कक्षा पढाई हुने सम्भावना बारे पालिकाको शिक्षा शाखासँग सम्पर्कमा रहन अनुरोध समेत गरिएको छ । यसअघि किरात राई यायोक्खा केन्द्रिय समिति, किरात राई बान्तावा खिम केन्द्र , किरात राई प्रज्ञा परिषद् र बान्तावा भाषाको मासिक पत्रिका बुङ्वाखाले मातृभाषा पढाइ सुरु गर्ने बारे गाउँपालिकालाई अनुरोध गरेको थियो । बुङ्वाखा र बान्तावा खिमले हतुवागढी गाउँपालिकालाई औपचारिक रूपमा छुट्टाछुट्टै पत्र लेखेर भाषा पठन पाठनका लागि अनुरोध गरेको बुङवाखाका सम्पादक पदम वालाहाङ राईले बताए ।

हतुवागढी गाउपालिकाका अधिकाशं वान्तावाहरुले हतुवाली भाषिका बोल्ने गरेका छन् । बान्तावा भाषामा हतुवाली , आम्चोके , दिल्पाली र सावाली गरि ४ वटा भाषिका बोल्ने गरिएका छन् ।

https://www.blastkhabar.com/category/aparadha

प्रकाशित : मङ्गलबार, भदौ ३०, २०७७१८:१७

किरातको संक्षिप्त परिचय