विषयको उठान
“आखिर नाममा के छ ?”
यो निकै चर्चित वाक्यांश विश्वविख्यात नाटककार विलियम शेक्सपियरले उनको नाटक “रोमियो र जुलियट”मा प्रयोग गरेका थिए । उक्त नाटकमा जुलियटले रोमियोलाई भनेकी हुन्छिन्, “नाममा के छ र ? एउटा गुलाबलाई जे नामले पुकारे पनि त्यसको बासना उत्तिकै मीठो हुन्छ ।” त्यसो त नामै नदिए पनि गुलाबले न बासना दिन छोड्छ न फुल्न नै । आजको युगमा त हरेक कुरालाई बहुआयामबाट हेर्ने चलन छ । त्यसैले हिजोको परिभाषा र बुझाइमा फरक दृष्टिकोण बन्ने गरेको पाइन्छ । अहिलेको तर्क त नाममा के छ र भन्ने भन्दा पनि नाममा के चाहिँ छैन र ? भन्ने कोणबाट बहस हुन थालेको छ । वास्तवमा नाम प्रतिष्ठा र पहिचानसँग जोडिएको छ ।
नेपालको संविधान २०७२ लागू भएपछि स्थानीय निकायको पुर्नसंरचनाका लागि एउटा कार्यविधि नै बनेको थियो । उक्त कार्यविधिले कुनै पनि गाउँपालिका वा नगरपालिकालगायत निकायको पुर्नसंरचना गर्दा जिल्लामा कतिवटा स्थानीय निकाय हुन सक्ने भन्ने कुरा तय भैसकेको थियो भने न्यूनतम जनसंख्यालगायतको आधारसहित प्रावधान बनेको थियो । त्यसैक्रममा उदयपुरको साविकको बाँसबोटे, बलम्ता, ताम्लिछा र बाराहा गाविसलाई एउटा गाउँपालिका बनाउने छलफल भयो । पछि जाँते पनि यतै रहने गरी प्रस्ताव आयो । केन्द्र कहाँ रहने भन्ने विषय पनि पेचिलो बन्दै गइरहेको थियो । यस क्रममा बाराहामा रहँदा पायक पर्ने कुरा आयो । यद्यपि यो बाराहामा रहेको केन्द्रमा विमति रहँदै नै आएको छ ।
सर्वदलीय बैठकमा यस गाउँपालिकाको नाम के रहने भन्ने विषयमा विभिन्न नामहरु आए । किरात राईहरुको जनघनत्व भएको ठाउँमा किरातजन्य पहिचानका नामहरु आउनु अस्वभाविक थिएन । कसैले ‘यलम्बर’ नाम प्रस्तावित गरे भने कसैले ‘भयचुङ’ त कसैले ‘सुनकोशी’ त कसैले ‘लिम्चिङबुङ’ नाम प्रस्तावित गरे । अन्तिम अवस्थासम्म पनि सहमति नजुटिसके पछि गाउँपालिकको नाम सुनकोशी नै पठाउने कार्य भयो । तर यस विषयले सामाजिक संजालहरुमा निकै गर्मागर्मी भैरहेको थियो ।
खासगरी पहिचानधारी र पहिचानविरोधी खेमा भनेर आरोप–प्रत्यारोप लगाउने कार्य भयो । सुनकोशी नाम नै हुनु पर्ने जिकिर गैरकिरातहरुबाट हुनु अस्वभाविक थिएन तर केही किराती बन्धुहरु नै सुनकोशी नामको पछि दौडिन थाले ।
केही समयपश्चात् पुर्नसंरचित स्थानीय निकायका नाम र केन्द्रहरु राजपत्रमा प्रकाशित भयो । सरसर्ती हेर्दै जाँदा ४ वटा गाउँपालिकाको नाम त सुनकोशी नै पो रहेछ । अन्य कुनै नाम नै नभए जस्तो सुनकोशी नै सुनकोशीको नाम देखेर आश्चर्य लाग्यो ।
वास्तवमा हाम्रो गाउँपालिकाको नाम सुनकोशी गाउँपालिका त थियो तर यसमा कुनै तर्क थिएन । साविकका सबै गाविसहरुले सुनकोशी छोएका थिएनन् । त्यसैले मैले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेर हालेँ । स्टाटसको पक्ष र विपक्षमा ह्वार्ती ह्वार्ती टिकाटिप्पणीहरु आए । केहीले त निकै आपत्तिजनक ढंगले टिप्पणी पनि गरे । सम्झिन्छु, केहीले लेखेका थिए– “तपाइँ जस्तो पिएचडी गरेको मान्छेले जातीय कुरा गर्ने ?” कसैले ठोकुवा नै गरेर नाम परिवर्तन हुन सक्दैन भनेर भनेका थिए । भेट हुँदा पनि केहीले सुनकोशी नाम नै ठीक छ भनेर जिकिर गरे, सामाजिक सद्भाव खल्बलिन्छ भने । यसरी सम्झाउनेमा गैरकिरात भन्दा पनि किराती साथीहरु थिए । तिनका नाम अहिले नलिउँ । तर मैले प्रतिवाद गरिरहेँ । जहाँ झण्डै ६० प्रतिशत त राईहरु छन् ।
त्यसो त ०६२-६३ सालको जनआन्दोलनको म्यान्डेट हो । उत्पीडित जातिहरुले आफ्नो स्वपहिचानको खोजी गर्ने समय हो । हिजोको एकल धार्मिक, सांंस्कृतिक र भाषिक सिन्डिकेटका कारण अन्य जाति विशेष गरी आदिवासी जनजातिहरु ओझेलमा परेका छन् । ती गुमेका कुराहरुको क्षतिपूर्ति प्राप्त गर्नु पर्ने हो । तर पनि गुमेका पहिचान प्राप्ति गर्ने कुरा अस्वभाविक होइन । मैले सम्झिएँ एउटा भनाई, “शत्रुसँग त म लडेरै जित्छु तर आफन्तसँग गाह्रो भयो ।” वास्तवमा आफ्नै मान्छेहरु नै नाम परिवर्तन गर्न हुँदैन भनेर मोर्चा कस्सिरहेका थिए ।
नहोला नहोला भनेको स्थानीय निकायको निर्वाचन पनि भयो । निर्वाचनपश्चात् जनप्रतिनिधिहरु चुनिएर आए । जनप्रतिनिधिहरुमध्ये पनि झण्डै ८० प्रतिशत त राई जातिका नै थिए । तर संयोग के थियो भने गाउँपालिकाको प्रमुख र उपप्रमुख चाहिँ राई नै थिए र साविकको बाँसबोटे गाविसका थिए ।
निर्वाचित भैसकेको केही समयपछि गाउँपालिका प्रमुख मेजरकुमार राईले फोनमार्फत् गाउँपालिकाको नामांकनका लागि एउटा कार्यदल बनाउने र उक्त कार्यदलको संयोजक तपाइँ बनिदिनु पर्यो भनेर आग्रह गर्नुभयो । तर मैले यो एउटा औपचारिकता मात्रै हुने कुरा गरेँ र साथै यसले विषयलाई केन्द्रिकृत गर्दै जटिलता सृजना गर्छ भनेर भनेँ । बरु समाधानका निम्ति जनप्रतिनिधिहरुलाई कन्भिन्स गर्नु नै उपयुक्त हुने र अनकूल समयमा निर्णय लिँदा नै बेश हुने भनेर बताएँ । नभन्दै विभिन्न नामहरु पुनः चर्चामा आयो । गाउँपालिका प्रमुखलाई निकै दवाव पनि रह्यो । यद्यपि निर्वाचनपश्चात्को ६ महिनाभित्रमा नाम र केन्द्र संशोधन गरी गाउँपालिकाले निर्णय गरेर पठाएको अवस्थामा परिवर्तन हुने कुरा आएपछि उक्त सुविधालाई प्रयोग गरी नाम परिवर्तनको सिफारिश स्थानीय विकास मन्त्रालयमा पालिका प्रमुखज्यूले पुर्याउनुभयो । रणनीतिका बारेमा पालिका प्रमुखसँग बारम्बार कुराकानी पनि हुने गर्दथ्यो । उहाँले नै पहिलो प्रकाशित हुने सूचीमा होइन, दोस्रो पटकको सूचिमा आउनेगरी मात्र नाम परिवर्तनको लागि सिफारिश गर्ने बताउनुभयो । यो वास्तवमै बुद्धिमतापूर्ण काम थियो । किनकि नाम परिवर्तन हुन सक्ने संभावनालाई लिएर अदालतमा निवेदन हाल्नेसम्मको हर्कत भैसकेको थियो । तर विधिपूर्वक गरिएको यस कार्यलाई उल्ट्याउने कार्य हुने थिएन ।
दोस्रो पटक प्रकाशित सूचीमा साविकको सुनकोशी नाम परिवर्तित भएर ‘लिम्चुङबुङ’ नाम राजपत्रमा प्रकाशित भएर आयो । यो नाम आउन बित्तिकै निकै ठूलो भुइँचालो आयो । पालिका प्रमुखलाई आएको दवाव थेगी नसक्नुको थियो भन्ने कुरालाई म पनि नजिकबाट अनुभूत गर्दछु । म बबुरोलाई पनि पो ग्रयाण्ड डिजाइनरको आरोप लगाइयो । तर खासमा त्यस्तो केही होइन । पालिका प्रमुखज्यूको सकरात्मक कदममा सहयोगीको भूमिका मात्र थियो । नामको विषयमा भारी छलफल भएकै हो । यसका निम्ति पालिका प्रमुखसँग धेरै पटक छलफल भएकै हो । मलाई आरोप लगाउनु पर्ने त्यस्तो केही भूमिका थिएन । लोकतान्त्रिक विधि नै प्रयोग गरेर गरिएको काम थियो ।
नाम परिवर्तनका विषयमा नेपाली कांग्रसबाट उपप्रमुखमा विजयी हुनु हुने रमिला राईको सकरात्मक कदम निकै स्वागतयोग्य छ । किनभने आफ्नो दललाई पहिचानको पक्षधर भनेर भन्ने साथीहरुले नामको विषयमा अवरोध सिर्जना गरेको देख्दा लाग्छ कि परिवर्तन अरुमा देख्ने होइन कि आफूलाई गराउनु निकै सकस हुने रहेछ भन्ने अनुभूत गरेँ । केही साथीहरुको जडताको गहिराई १६ औं शताब्दीसम्मको देखियो ।
गाउँपालिकाको नाम लिम्चुङबुङ भएर आइसकेपछि धेरैले यो नाम उच्चारण गर्न गाह्रो भएको भनेर सतही रुपमा कटाक्ष गरे । शब्दका एम्बुसहरु पड्काए । जातीय नाम भएको भनेर पनि आलोचना गरे । केहीले जातीय गन्ध आयो भनेर भने । तर उक्त भूगोलमा बहुसंख्यक जाति राई भएको र उनीहरुको थात्थलो पनि भएको कारणले उक्त ठाउँमा उनीहरुले पहिचान पाउने कुरा आकाश खस्ने कुरा थिएन । महत्वपूर्ण कुरा के पनि हो भने लिम्चुङबुङ बिल्कुलै जातीय पहिचान मात्रै नभई स्थानीय पहिचान पनि हो । लिम्चुङबुङ गाउँपालिकाको समुद्री सतहदेखि झण्डै १६०० देखि २३०० मिटरको उचाइमा एक प्रकारको यो फूल पाइन्छ । उक्त भेगमा बस्ने सबै जातिका मानिसहरुलाई यो फूलको बारेमा थाहा छ । यसलाई खस नेपाली भाषामा सुन्तारी फूल भनेर पनि भन्ने चलन छ । आयुर्वेदिक दृष्टिकोणले पनि यो सुगन्धित फूलको निकै महत्व छ । किराती समुदायमा भने लिम्चुङबुङ चाहिँ मिथकसँग सम्बन्धित छ । लिम्चुङबुङसम्बन्धि सुनिँदै आएको धेरै मिथकहरु मध्ये एउटा मैले सुनेको मिथकलाई यहाँ प्रस्तुत गरेको छु :
लिम्चुङबुङ सम्बन्धी मिथक
नायम्मा, रिव्याम्मा, सुम्निमा र पारुहाङका दरसन्तानका रुपमा मामा दाकोहमा र पापा पातेसुङ पनि थिए । पापा पातेसुङको अल्पायुमै मृत्यु भएपछि मामा दाकोहमालाई पर्नु पीर प¥यो । उनीहरूका तीन सन्तान थिए । तयामा र खियामा दुई छोरी र खक्चुलुक्पा (यदाकदा रेचेकुप्पा, रैछाकुले, हेच्छाकुप्पा, खाक्चिलुपा पनि भनिने) एक छोरा थिए । यिनीहरूको लालन पालन गर्न मामा दाकोहमालाई मुस्किल प¥यो । दाकोहमाले सल्लाको फल टिपेर ल्याएर आफ्ना नाबालाक छोराछोरीहरूलाई खान दिन्थिन् । तर यसो गरेको एक राक्षस्नी नाचुर्मेले देखी सहन्न थिई । उनले त्यो फलमा तीतो लगाइन् । त्यसपछि ती साना नानीहरूले खान मानेनन् ।
केही नलागेपछि उनी नून लिन भोट जाने निधो गरिन् र छोराछोरीलाई भनिन् – “यो पोका पारेर राखेको यो चिज के हो भनेर नफुकाऊ नछोऊ, म भोटबाट नून लिएर आउँछु, त्यसपछि मात्र खानुपर्छ ।’ दाकोहमा नून लिएर आउँदै थिइन्, आइपुग्न अगाडि बाटामा खोला पर्दथ्यो । त्यहाँ काठको साँघु थियो । दाकोहमा नून लिन भोट गएको कुरा थाहा पाएपछि सत्रुहरूले साँघुलाई तलमुनिबाट काटेर धराप अवस्थामा राखेका थिए । उनी साँघुमा के तर्न लागेकी मात्र थिइन्, साँघु भाँचिएर पानीमा झरिन् ।
आमाको बाटो पर्खेर बसिरहेका नानीहरूले आजित माने । आमा कहिल्यै नआएको देखेर उनीहरू आत्तिए । भोकले उनीहरू निकै गलिसकेका पनि थिए । त्यसैले एकदिन उनीहरूले माथि भारमा झुण्ड्याई राखेको पोकोलाई काठले घोचे । त्यो पोको त खरानीको पोको पो रहेछ । त्यो थाहा पाएर उनीहरु रुनसम्म रोए ।
अब भाइको लालन पालन गर्ने जिम्मा दिदिहरुको काँधमा आइलाग्यो । दुवै दिदिबहिनी खानेकुरा खोज्दै जंगलतिर जान थाले । यहीँ मौकामा नाचुर्मे खक्चुलुक्पा भएको ठाउँमा आउन थाल्यो र खक्चुलुक्पालाई अनेकानेक कुराहरु सोध्ने गर्न थाल्यो । अवोध बालक खक्चुलुक्पाले नाचुर्मेले सोधेको कुरा सबै भन्ने गर्दथ्यो । गिठ्ठा खोज्न गएका दिदिबहिनीका बारेमा खक्चुलुक्पाले भनेपछि नाचुर्मेले तीतो लाइदिइन् । यति धेरै तीतो लगाईदिएकी थिइन् कि खानै नसकिने किसिमको तीतो थियो । दिदिबहिनी खानेकुरा खोज्न गएको मौका छोपेर नाचुर्मेले के लिन गएको भनेर सोधिन् । खक्चुलुक्पाले पनि दिदीहरु जंगलमा भ्याकुर लिन गएको भनेपछि नाचुर्मेले पनि त्यसमा पनि तीतो लगाइदिइन् ।
एक दिन खक्चुलुक्पाका दिदीहरु खानेकुरा खोज्दै गाउँ गए । कसैले केही दिँदैनथे । जाँतो र ढिकीमा छोडिएको रहल पहल धुलो पिठोहरु बटुलेर ल्याएर भात पकाए । तीनवटा ढुंगाको चुलामा पाक्दै गरेको भातको भाँडामा बालशुलभ चकचके खक्चुुलुक्पाले अगुल्ठो टेक्न पुग्दा भात सबै खरानीमा पोखियो । त्यसपछि दिदीहरुले भाइलाई बेस्सरी पिटे । त्यसपछि रुँदै गरेको भाइलाई त्यही छोडेर दिदीहरु पुनः खाने कुराको खोजीमा बाहिर जान्छन् । भाइ रुँदारुँदै त्यही निदाउँछ । दिदीहरु खाने कुरा लिएर आउँदा भाइ निदाएको देख्छ । भाइलाई उठाउन खोज्छ तर उठ्दैन । अनेक गर्दा पनि नउठेपछि भाइ मरेको ठहर गर्छ । त्यसपछि दिदीहरुले भाइलाई सेउलाले छोपछाप गरेर सिरानीमा एउटा कर्द र एक काइँयो केरा राखिदिन्छन् । यदि भाइ ब्यूँझियो भने त्यही केरा खाएर बाँचोस् भन्ने दिदीहरुको चाहना थियो ।
भाइ पनि मरेपछि वियोगले उनीहरु त्यस ठाउँबाट अन्तै जान्छन् । त्यस क्रममा उनीहरु खुवालुङ हुँदै अहिलेको तुवाचुङ डाँडातिर आई पुग्छन् । त्यहाँ आइसकेपछि दिदीले अझ लेकतिर जाने बताइन् तर बहिनीले मानिनन् । बहिनीले औलतिर जाने बताइन् । अनेक गर्दा पनि दिदी र बहिनीबीच कुरा मिल्दैन । त्यसपछि दुवै जनाले सल्लाह गर्दै दिदी र बहिनीले लिम्चुङबुङको बोट रोप्छन् । यसरी रोपेको लिम्चुङ उभौली र उधौलीको बेला आएर हेर्ने र हेर्दा ओइलाएको रहेछ भने दुख बिमार परेको भनेर बुझ्ने है भनेर छुट्टिँदै दिदीचाहिँ लेकतिर र बहिनीचाहिँ औलतिर जान्छिन् । औल झरेको बहिनीलाई बाटामा लाटोकोशेरोले बोलाउँछ, “ए खियामा, म त तिम्रो मामा पो हुँ त ! कता हिँड्न लागेको ?” खियामाले पनि वास्ता नगरी उँधो झरिरहिन् । तर लाटोकोशेरेको छद्मभेष धारण गरेका मामाले पछ्याइ रहन्छ । यसरी बिस्तारै नजिकिँदै गएपछि लाटोकोशेरोले एक दिन थाहै नदिई खियामाको घाँटीमा नङ्ग्रा गाडेर मारिदिन्छ । अनि खानुसम्म खान्छ र हड्डि–कुड्डी त्यहीँ छोड्छ ।
बहिनीसँग भेट होला कि भनेर आएको दिदीले बहिनीले रोपेको लिम्चुङबुङ त ओइलाएको देखिन् । त्यसपछि बहिनीलाई खोज्दै औलतिर झरिन् । बाटोमा त बहिनीको हड्डी कुड्डीमात्र बाँकी थियो । त्यसपछि आफ्नो सुम्निमा र पारुहाङसँग शक्ति माग्दै बहिनीलाई बचाइन् । बहिनीलाई बचाई सकेपछि दिदी तयामाले बहिनीलाई लिएर तुवाचुङ डाँडामा आइन् । त्यसपछि त्यही नै दिदिबहिनी बस्न थाले । केही समयपछि कपडाको लागि तान बुन्न थाले । तान चाहिँ सुनकोशी पारि पुग्ने गरी टाँग्थे रे । तान टाँग्दा अहिलेको लिम्चुङबुङ गाउँपालिकाको केन्द्र रहेको बारासम्म पुग्ने टाँग्थ्यो रे । बारा चाहिँ बारुवा (बारु) जस्तो पोखरी भएकाले बारुवा भन्दै जाँदा कालान्तरमा अपभ्रंश भएर बारा भएको भन्ने जनश्रुति पाइन्छ ।
उता भाइ पनि निद्राबाट बिउँझिँदा दिदीहरुलाई देख्दैन । बरु सिरानीमा एउटा कर्द र एक काइँयो केरा देख्छ । रुँदै चारैतिर खोज्छ तर दिदीहरुलाई देख्दैन । थाकेर आएर त्यहीँ केरा खान्छ । अनि केरा रोप्छ । खक्चुलुक्पाले जति चोटि त्यो केरालाई छिटो छिटो बढ भन्थ्यो, त्यति नै छिटो केरा पनि बढ्थ्यो ।
एक दिन नाचुर्मेले भनिन् ‘मलाई एक कोसा केरा त देऊ ।’ खक्चुलुक्पाले दिन्न भन्यो । अनेक गरी नाचुर्मेले फकाएपछि खक्चुलुक्पाले एक कोसा केरा दिने विचार ग¥यो । ‘दिन त दिउला के गरी लान्छौ त ?’ नाचुर्मेले भनिन् – ‘तिम्रो केश लामो छ, त्यसैले बाँधेर देऊन ।’ विचरा खक्चुलुक्पाले नाचुर्मेको चाला बुझेन । उसले आफ्नो केशले बाँधेर नाचुर्मेलाई दियो । त्यही मौका पारी नाचुर्मेले खक्चुलुक्पालाई समाएर एकै पोको बनाई घरमा खान लगिन् । उनले घरमा पुगेपछि आफ्नी छोरीसँग भनिन् ‘मैले खक्चुलुक्पा ल्याएको छु र काटेर खानुपर्छ । म मेरा बाउ माइतीलाई बोलाउन जान्छु । आएपछि खानुपर्छ ।’ अनि छोरीलाई अह्राउँदै नाचुर्मेले भनिन् ‘खक्चुलुक्पाको खुन काठको डुँडमा थापेर राख्नु र भित्रासहरू दैलोमा झुण्ड्याएर राख्नु ।’
नाचुर्मेकी छोरीले खक्चुलुक्पाको लामो केश देखेर सोधिन् – ‘तिम्रो यति लामो केश कसरी बनायौ ?’ उनले भन्यो, ‘मेरा दिदीहरूले आगोमा ठूलो भाँडामा तेल तताएर त्यसपछि ओख्लीमा टाउको उँधो मुन्टी पार्न लगाए । त्यसपछि चाकमा तेल खन्याइदिए पछि मेरो लामो केश भएको हो ।’
नाचुर्मेकी छोरीले पनि मलाई पनि त्यसै गरिदेऊन भनिन् । त्यसो गर्दा खक्चुलुक्पाले ओखलको मुस्लीले उनलाई नै मारी दियो । आमाले भनेझैँ नाचुर्मेकी छोरीको खुन डुँडभरी, भित्रास दैलोभर झुण्ड्याएर राखीदिइन् र छोरीको लुगा लगाएर छोरी जस्तै भएर बस्यो । नाचुर्मे आफ्नो बाउ माइतीलाई बोलाएर आइन् । नाचुर्मेले डुँडको खुन पिइन् र भित्रास निलिन् । अनि भनिन् – ‘तिम्रा मावलीहरू आउँदै छन् । आएपछि दिनू । म सुतेँ ।’
उनी त्यसपछि निदाइन् । नाचुर्मे निदाइ सकेपछि खक्चुलुक्पाले सल्लाको बोटबाट आउने खोटोले आँखामा टाली दियो र सिरानीमा हँसिया राखी दियो । अनि सिस्नु र अन्य काँडाहरूले वरिपरिबाट छोपिदियो । अनि नाचुर्मेका सत्बिऊ, पलबिऊ लगायतका घैया, सिलाम, धान, मकै भुट्ने खपेटा र खरानीसमेत पोको पारेर पर्खिबस्यो । नाचुर्मे उठ्दा त आँखा टालिएको यता उता गर्दा काँडाले घोच्न थाल्यो, सिस्नुले पोल्न थाल्यो । यही बेला रेचेकुप्पाले भन्यो, ‘छोरीको खुन खाने ए नाचुर्मे ? तेरो सिरानीमा हँसिया छ त्यसैले पन्छाउनू ।’
यो कुरा सुनेपछि नाचुर्मेले भनिन् । ‘आप्पुई मैले छोरीको खुन खाएँ ? ए खक्चुलुक्पा तँ जिउँदै छस् ?’ यही बेला खक्चुलुक्पा उठेर कुलेलम ठोक्यो । नाचुर्मेले लखेट्न थालिन् । बाटामा लखेट्दै जाँदा खक्चुलुक्पाले बोकेको सतबिऊ, पलबिऊ फुक्यो । र त्यो नाचुर्मेले देखिन् । हैन यसले त मेरो सतबिऊ, पलबिऊ पो बोकेको रहेछ भनेर अझै खेद्दै जाँदा त सिलाम छरिएर झाडी बन्न पुग्यो, यसले त घोच्न पनि थाल्यो । तैपनि उनले खेद्न छोडिनन् । त्यसपछि मकै भुट्ने खपेटा नै फ्याँकी दियो । त्यसबाट ठूला–ठूला भीर–पहराहरू बने ।
यो देखेर तल बसिरहेको खक्चुलुक्पालाई नाचुर्मेले सोधिन्, ‘यत्रो भिरबाट तल कसरी झरिस् त ? म त उत्तानो परेर लडी झरेको हुँ’ भनेर खक्चुलुक्पाले भन्यो । नाचुर्मेले अझै खेदिरहिन् । उसले बोकेको खरानी फाल्दा कुहिरो बन्न पुग्यो । त्यसै बखत उनले बोकी राखेको अण्डा पनि फालि दियो । अण्डा फुटेर यत्रतत्र नदी नाला बनेछन् । नाचुर्मेले खक्चुलुक्पालाई फेरि सोधिन् – ‘यत्रो नदी कसरी पार गर्यौ ?’ खक्चुलुक्पाले पनि भनेछ– ‘मेरो हातमा पखेटा राखें, त्यसपछि तैरिँदै तैरिँदै पार गरेपछि आइपुगेँ ।’ नाचुर्मेले पनि त्यसै गर्दा उनी त्यही बगेर मरिन् ।
त्यसपछि ऊ किनारै किनार घुमी हिँड्न थाल्यो । उसले त्यसबेला सम्ममा एउटा सानो छाप्रो पनि बनाइ सकेको थियो । ऊ दिनहुँ माछा मार्न भनी समुद्रमा जान्थ्यो । तर उसको बल्छीले माछा होइन, खालि ढुंगामात्र अल्झाई रहन्थ्यो । त्यसपछि उसलाई ढुंगाप्रति असाध्यै शंका लाग्न थाल्यो । उसले एक दिन आफ्नो बल्छीमा परेको त्यही ढुंगा फुर्लुङमा लिएर आई घरको भारमाथि राख्यो । र ऊ फेरि माछा मार्न भनेर पुनः समुद्रमा गयो । घरमा फर्किएर आउँदा त घरमा पहिले नै भान्सा तयार भैसकेको हुन्थ्यो । पहिल्यै नै भाँडाकुँडा, चोटा कोठा सफा सुग्घर भइसकेको हुन्थ्यो । यस्तो अवस्था देखेर खक्चुलुक्पा अचम्ममा प¥यो । त्यही बेला छिमेकीले भन्यो कि तिमी नाङ्लो र कुचोले छलिएर बस्नू । जब एक जना केटी आउँछिन्, उसलाई उम्कन नदिइ समाएर राख्नू । कसम खुवाएपछि मात्र छोड्नु ।
त्यसपछि खक्चुलुक्पा माछा मार्न नगई त्यसैगरी नाङ्लो र कुचोमा छलिएर बस्यो । केहीबेरपछि एउटी झरीझुत्त गहनाले भरिपूर्ण भएकी केटी बुइँगलबाट भूइँमा झरिन् । उनले झरेर घर सफा गर्न कुचो खोजिन् । जब उनले कुचो र नाङ्लो लिन के हात बढाएकी मात्र थिइन् त्यही बेला खक्चुलुक्पाले त्यस केटीको नाडीमा च्याप्प समायो । खक्चुलुक्पाले त्यसरी नाडीमा समाएपछि ती केटीले चिच्याइन् । उनले भनिन् –‘मलाई यसरी नसमाऊ, मेरो नौ नाडी गल्छ, म लङ्गडी हुन्छु ।’ तर खक्चुलुक्पाले भने छोडेन । उसले बरु भन्यो –‘यदि तिमीले मसँग बिहे गर्छु भनी कसम खायौ भने मात्र म तिमीलाई छाडिदिन्छु । नत्र भने म एक, दुई, तीन छाड्दिनँ ।’
यसरी खक्चुलुक्पाले त्यस केटीलाई भनेपछि अन्ततः उनलाई मान्न कर लाग्यो । त्यो केटी आफू भने नागकी छोरी भएको र ढुँङ्गाको स्वरूप लिएर आएको कुरा बताइन् । ती दुइ जना सँगै–सँगै बस्न थाले । धेरै वर्ष बितिसक्दा पनि उनीहरूबाट जाय जन्म हुन सकेन । खक्चुलुक्पाले नयाँ अन्न अनाज खाँदा बिरामी भई हाल्दथ्यो । त्यसपछि नागकी छोरीले मेरा बा आमालाई भेट्न जाऔं भनी प्रस्ताव राखिन् । तर खक्चुलुक्पाले कसरी जाने, म त पानी मुनि जान सक्दिनँ भनेर जान इन्कार ग¥यो ।
नागकी छोरीले भनी – ‘म भित्र पस्दा मेरो आङमा छलिएर भित्र पस, पानीले तिमीलाई केही हँुदैन । यसरी उनीहरू दुवै नागराजा नागरानीको दरबारमा पुगे । उनीहरू दरबारमा पुग्दा नागराजा भने थिएनन् । नागरानी र नागकी छोरी मिलेर नागराजा आउनु अगाडि नै नागरानीको ज्वाइँ खक्चुलुक्पालाई लुकाए । साँझ परेपछि नाग राजा आए । नाग राजाले सोध्यो –‘यहाँ को आएको छ ? मान्छेको गन्ध आइरहेको छ । कोही आएको छ ?’
नागरानी आमाले भनिन्– ‘छैन छैन, कोही आएको छैन । हाम्री छोरीको माथि धर्तीमा मनष्यसँग लसपस भयो होला । त्यसैले त्यस्तो गन्ध आएको होला ।’ दोस्रो दिन पनि नागराजा साँझ घर फर्किदा मनुष्यको गन्ध आउँदा फेरि पनि कोही हुनुपर्छ भनी जिकिर गर्दै सोधे । नागरानी आमाले पनि यसरी कति दिन टार्ने भनेर नागराजासँग कसम खान आग्रह गर्दै भनिन् – ‘यदि हजुरले केही गर्नु हुन्न भने अवश्य भन्छौँ । तर हजुरले केही गर्दिन भनेर कसम खानुपर्छ ।’
नागराजाले पनि भन्यो, ‘ठीकै छ म केही गर्दिनँ । तर मेरो छोरीलाई जसले बन्धुवारी नाछुवारी–हिरामोती दिन्छ, त्यही केटालाई मात्र दिन्छु । त्यही बेला नागरानी छोरीलाई छ भन्न लगाइन् । छोरीले ज्वाइँले बन्धुव।री नाछुवारी लिएर आएको छ भनेर आफ्ना बा नागराजलाई भनिन् । त्यसपछि नागराजले हुन्छ भने ।
हत्तपत्त आफ्नो बन्धुवारी नाछुवारी ज्वाइँलाई दिइन् र छोरीलाई दिन लगाइन् । त्यसपछि उनीहरूको वैधानिक तवरले विवाह सम्पन्न भयो । बा–आमाको आशिर्वाद लिएर नागकी छोरी र खक्चुलुक्पा पृथ्वी लोकमा निस्किए । उनीहरू बाहिर निस्कनु अघि उनीहरूलाई नागराजा नागरानीले आशिर्वाद दिँदै भने, ‘अन्नपानीको खेतीपाती गरी खानू । खेतीपाती गर्न अदुवा, घैया आदिका बिऊबिजन लैजाऊ । नयाँ अन्न खाँदा रोग व्याधी लाग्न सक्छ ।’ त्यसबेला यो झ्याम्टा बजाएर हामीलाई सम्झिनु भन्दै झ्याम्टा पनि दिई दिए । उनीहरू पनि आज्ञा लिएर धर्तीमा आए । आमाले छोरीलाई दिएको हिरामोती ज्वाइँलाई पृथ्वीमा जाँदा हराउन सक्छ, आँधीहुरी, वायू आदिले खोसेर उडाएर लैजान सक्छ भनेर भनेकी थिइन् । आमा र छोरी मिलेर यो प्रपञ्चमात्र मिलाएका थिए । ज्वाइँले नदेख्ने गरी छोरीले आमाको गरगहना पृथ्वीलोकमा आउनुपूर्व नै बुझाई दिएकी दिइन् ।
पृथ्वीमा आएर ज्वाइँ खक्चुलुक्पाले आफ्नी श्रीमतीको बन्धुवारी, नाछुवारी हेर्न मागे । तर उनको साथमा त थिएन । उल्टै नागकी छोरीले भनिन् ‘आमाले तिमीलाई पहिल्यै भन्नु भएको थियो कि होस्, विचार गर्नू । वायूले उडायो होला ।’ यो कुरा सुनेपछि तपा (लोग्ने) खक्चुलुक्पा पनि हिस्रिक्क भयो । केही समयको अन्तरालमा उनीहरूबाट जायजन्म भयो । उनीहरूले नयाँ सृष्टि आरम्भ गर्नु पर्ने भयो । व्यवहार चलाउनु पर्ने भयो । त्यसो भएको हुनाले एउटा नयाँ घरको खाँचो भयो । घरको लागि खाँबाहरू काट्नु पर्ने भयो । उनले आफ्नो श्रीमानसँग भने चिभेको पुच्छरको आकारको खाँबो ल्याउन अह्राइन् । ल्याइएको खाँबो गाड्नु पर्ने भयो । त्यो खक्चुलुक्पाकी श्रीमतीले गाड्न तम्सिइन् । उनले के गाड्न लागेकी थिइन् त्यति बेलै अगाडि राखेको बच्चा नै खाँबो गाड्ने खाल्टोमा खसालिन् । त्यसपछि त्यही खाल्डोले भोग लियो ।
त्यसै अर्थले आजभोलि पनि घर बनाउँदा छम्दाम (घरपूजा) गर्ने चलन चलिरहेको पाइन्छ । छमदाम (घरपूजा) गर्ने बेला दाजुभाइ छोरी चेलीसमेत बोलाउनु पर्ने हुन्छ । खक्चुलुक्पाले तुवाचुङ डाँडामा रहेका आफ्ना दिदीहरू तयामा र खियामा बोलाउने योजना बनायो । तर कसरी कसलाई खोज्न पठाउने भन्ने कुराले अन्यौलमा पा¥यो । त्यसपछि निकै सोच विचार गरेर बाख्रालाई लिन पठायो । बाटोमा घाँस भेटेपछि त्यति कै घाँस खानमा मात्रै अल्झियो । जुम्रालाई पठायो । कहिल्यै पुगेन । उपियालाई पठायो उही ओछ्यानमा चेप्टियो । अनि खक्चुुलुक्पाले सुँगूरलाई लिन पठायो । सुँगुर त तयामा र खियामाले एउटा खोरमा मज्जाले थुनेर राखे ।
केही नलागेपछि खक्चुलुक्पाले भाले पठायो । भालेले त बास्दा ‘खक्चुलुुक्पा हँ ऽहँ ऽहँ ऽऽ’ भन्यो । यो सुनेर तयामा र खियामाले अचम्म माने, किनभने भालेले त उनीहरूको भाइको नाम पो काढिरहेको थियो । त्यसपछि उनीहरूले भालेलाई सोध्न पछ्याउँदै हिँडे । तयामा र खियामा एउटा डाँडामा पुग्दा भाले अर्को डाँडामा पुगेर खक्चुलुक्पा हँ हँ भन्दै अगाडि दौडिहाल्थ्यो । एवम् रीतले भालेले तयामा र खियामालाई खक्चुलुक्पा भएको ठाउँमा पु¥यायो । तर उनीहरूले घरैमा जान भने सर्मिन्दा माने किनभने उनीहरूलाई भाइले छमदाम गर्न लागिरहेको कुरा थाहा थिएन । र उनीहरूले आफू आउँदा कोसेली पनि लिएर आएका थिएनन् । उनीहरू परै उभिए । उनीहरू परै उभिएर हेरिरहेको खक्चुलुक्पाले देख्यो ।
अनेकगरी बोलाउँदा पनि आएनन् । त्यसपछि खक्चुलुक्पाले एउटा बलाम बनायो र त्यहाँ भाकिम्लाको अमिलो दाना झुन्ड्यायो । यो देखेपछि तयामा र खियामाको मुखै रसायो । त्यसपछि उनीहरू बलाममा झुण्ड्याएको अमिलोमा झुत्तिए । त्यसपछि उनीहरूले सल्लाह गरेर आ–आफ्नो पखेटाबाट आठ आठ वटा प्वाख चुँडाएर त्यसैलाई कोसेलीका रुपमा दिए । यसरी १६ वटा प्वाँँख दिएका कारणले सोधनी वापत १६ वटा तामाको भाँडा दिनु पर्ने चलन केही समय अघिसम्मन पनि छदैँ थियो । तर यो संख्या घट्दै गएर छोरी चेलीहरूलाई दुईवटा मात्र तामाको भाँडा दिने चलन रहेको छ ।
उता यही बेला खक्चुलुक्पाले मुन्दुम गाउँदै आइपुग्दा शरीरमा जोडले कम्प पैदा हुन थाल्छ । उनी भालासँग घर बाहिर निस्कन्छन् र जमिनमा भाला गाडी एउटा तातो ढुंगा निकाल्छन् । त्यसलाई चोखो जाँडले खन्याएपछि वाफ भएर उड्छ । त्यस ढुंगालाई नै भूमेदेव साकेला मानी पूजा गरिन थालिएको हो भनेर भनिन्छ । यसरी दिदी भाइको लामो समयपछि भेट भएको कारणले हर्सोल्लासपूर्वक केही दिनसम्म साकेला (सिली) नाच्छन् । ढोल, झ्याम्टा बजाउँछन् ।
अन्तमा
लिम्चुङ शब्दलाई विविध भाषी राईहरुले फरक फरक शब्द प्रयोग गर्ने गरेको पाइन्छ । त्यस्तै गरी लिम्चुङबुङ सम्बन्धिको मिथक पनि खोला टोलाअनुसार फरक छ । मैले यहाँ प्रयोग गरेका पात्रका नामहरु कोयी भाषामा आधारित छ । यो मिथक मैले राजबहादुर राई र बेदमाया राईलगायतबाट सुनेको हुँ ।
किराती समूदायमा लिम्चुङबुङ फूलको विशेष महत्व छ । यो फूलले किराती सभ्यताका आरम्भकर्ता दिदी तयामा र बहिनी खियामासँग सम्बन्धित छ । तयामा र खियामाको सम्मानस्वरुप गाउँघरतिर छोरी चेलीहरुले यो फूल कपालमा सिउरिने गर्दछ । सांस्कृतिक महत्वका हिसाबले पनि यो फूलको छुट्टै गरिमा छ । अहिले लिम्चुङबुङ गाउँपालिकामा जो कोही पाहुना आउँदा यही फूल दिएर स्वागत गर्ने चलन आरम्भ भैसकेको छ । अझ यसलाई व्यवसायिकरण गर्ने गरी प्रारम्भिक छलफल सुरु भएको छ ।
पालिकाका प्रमुखज्यूले एकजना विज्ञसँग कुराकानी भएको र भारतमा निर्यात गर्नेसम्मको कुरा भएको केही दिन अघि बताउनु भएको थियो । खासगरी यसको पात जडिबुटिका दृष्टिले निकै महत्वको रहेछ । मर्किएको बेला वा सुनिएको बेला हामीले प्रयोग गर्ने मुभ पनि यसैबाट बन्दो रहेछ । यहीँबाटै थुप्रै अन्य औषधि बन्दो रहेछ । आफ्नो नाभिमा रहेको विणा थाहा नपाएर जसरी कस्तुरीले सुगन्धको खोजीमा भौतारिँदै दोडिरहेझैं हामी पनि स्थानीय सोत पहिचान गर्न नसकेर कस्तुरीझैं भौतारी रहेका त रहेन छौं ? जय लिम्चुङबुङ !
(लेखक त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान केन्द्रीय विभागमा कार्यरत उपप्राध्यापक तथा युवा भाषाशास्त्री हुनुहुन्छ ।)
(लिब्जु–भुम्जु त्रैमासिक वर्ष २५ अंक १, पूर्णाङ्क ७३, २०७५ वैशाख–असार, किरात येले संवत् ३७९७/सन् २०१८बाट ।)