महामारीको बेला बेलायतदेखि नेपालको यात्रा झरझराउँदो सम्झना, लिब्जुधाम र हलेसीधाममा बि. मुक्काचोको मनोकामना

विचार / ब्लग

यात्रा संस्मरण : दश वर्षपछि जन्मथलो नेपाल पुग्दा

बी. मुक्काचो

कुनै यात्राको लागि धेरै तामझाम र तयारी चाहिन्न । जिन्दगी आफंै एक यात्रा हो । दश वर्ष अगाडि मेरो पापाको असामयिक निधन हुँदा विना योजना र तयारी नेपाल पुगेको थिएँ ।

आफू जन्मेको गाउँ ठाउँ पुग्नसमेत यत्रो तयारी र योजना गर्नु पर्ने देशमा आइपुगिएछ भन्ने लागेको पनि वर्षौं भइसकेको थियो । नेपाल जाने उत्कट इच्छाले सताउँथ्यो । नोस्टाल्जिए हुन्थ्यो । तर वाम्बुलेमा ‘त्वामल्वा बाःम ह्वामल्वा आबा’ (मनमा छ तनमा छैन) भनेजस्तो हुन्थ्यो । जे त होला भनेर नेपाल यात्राको लागि झोलीतुम्बी कसें । अलि जबरजस्ती तथा ज्याद्रो खालको माइन्डसेट बनाएँ ।

लिब्जुधामको दर्शन गर्दै लेखक

कोभिड– १९ महामारीले विश्व मानव समुदायलाई त्राहिमाम बनाउँदै आएको पनि वर्ष दिनभन्दा बढी भइसकेको छ । बेलायतमा यो महामारी संक्रमणको दोस्रो लहरले गाँजेर देश लकडाउनमा थियो । फलतः स्वदेश र विदेश अर्थात् आन्तरिक तथा बाह्य उडान यात्रामा कडा निशेधाज्ञा थपियो । लन्डनको हिथ्रो बिमानस्थलमा पीसीआर टेस्टलगायत अनेकन कागज पत्रहरूको जाँचबुझपछि अन्तत मेरो नेपाल यात्रा सुरु भयो ।

दश वर्षपछि आफ्नो मातृभूमि टेक्न पाउँदा र आमाको पाउ चरण ढोग्नु पाउँदा खुशीले भावविभोर भएँ । पहिलो हप्ता काठमाडौंै बित्यो । दोस्रो हप्ता पोखरा घुमघामका साथै बहिनी ज्वाइँ र भान्जी भानिसलाई भेट्न पुगें । बाह्र वर्षपछि पनि फेवाताल उस्तै शीतल, शान्त र स्निग्ध लाग्यो । किनारमा केही सुन्दर पार्क बनेर विकास र सुधारसमेत भएको पाएँ । त्यही किनारको पार्कमा पोखरा लिटरेचर फेस्टिवल आयोजना हुने भेन्युको पनि याद आयो ।

अढाइ दशकपछि काठमाडौंको सुन्दरीजल घुम्नु जाँदा त्यहाँको शान्त वातावरण, हरियाली र स्वच्छ पानीले कलेज जीवन जवानीको याद दिलायो । सुन्दरीजल घुमेर फर्किंदै गर्दा बीपी संग्रहालयमा पसियो र गोकर्ण रिसोर्टमा कफी लन्च खान बसियो ।
आमा, साइला मामा, भाइ मेडल, भतिजहरू राजेन्द्र (चाले) र युबर्ण जाबासँग राजधानी नजिकैको चन्द्रागिरी हिल्स घुम्नु गयौं । अब उपत्यकावासीहरूले केबुलकार चढ्नलाई पहिलाको जस्तो गोर्खाको मनकामना पुग्नु पर्दैन भन्ने विकास निर्माणको ज्वलन्त उदाहरण हो नेपालको । नयाँ वर्ष २०७८ को उपलक्ष्यमा काठमाडौंमा रहेका रिनुवाले भाइ भतिजहरूसँग फुटसल खेलेर सानोतिनो भेट भलाकुसारी ग¥यौं ।

नयाँ वर्ष मनाएपछि गाउँघरको यात्रा तय गरियो । केही दिन थलापरेपछि तंग्रिदै गरेका मेडल भाइको अनुभवी हातमा मोटरसाइकलको ह्यान्दल थियो । म त्यति एडभेन्चरस यानेकि साहसिक मनोबल भएको मान्छे छुइनँ । त्यसैले लामो दुरीको यात्रा मोटर साइकलको पछाडि यात्रु हुने मनसाय त थिएन । तर मसँग अरु विकल्प पनि थिए ।

उहिले आमा बाबा सुनकोशी र रोसीखोलाको तीर हुँदै ऊबेलाको नेपाल (काठमाडौं) आइपुग्नु भएको बाटो अहिले बीपी हाईवे र पुष्पलाल लोकमार्गले गर्दा छोटो र सुगम बनाएपछि दोस्रो पटक यात्रा गर्दै थिएँ । पहिलो पटक साइला भाइ नवलसँग जाँदा सडक बन्दै गरेको र कच्ची थियो । त्यति बेला गाडीमा भएकोले बाटोभरि निदाएरै घुर्मी पुगियो । यसपाली भने धुलिखेलदेखि घुर्मीसम्मै रमिता हेरेर गयौं । मुल्कोट, खुर्कोट, ग्वालटार, सोखुबेंसो हुँदै बहादुराखोलासम्म पुग्दा मलाई प्रायः गाउँ ठाउँंहरू नौलो र रमाइलो लाग्यो ।

सुनकोशी पारि हर्कपुरदेखि उकालो लागेपछि त आफ्नै गाउँठाउँं पुगेजस्तो भयो । वैशाख महिनाको प्रचन्ड घाम र गर्मीलाई चुनौती दिन हामी हिलेपानीको मितेरी भन्ज्याङमा एकछिन शीतल खायौं । उहिले हामी कटारी स्कुल पढेर फर्किदा यो हिलेपानी भन्ज्याङमा ठूलठूला वरका झ्याम्म छहारीमुनि फेदमा ठूलो लाम्चो परेका ढुंगाको चौतारी हुन्थ्यो । त्यही बिसाउँथ्यौं । सिद्धिचरण मार्ग र पुष्पलाल मार्गको संगम यस थलोमा उहिलेका वर र चौतारी छैनन् । केही बेर बिसाएर चिसो पियौँ । उहिले जाँड पिउँथ्यौं। गाउँघरका चेलिबेटी हिलेपान्चे मामुहरूले जाँडको पसल राख्थे ।

त्यसपछि सिद्धिचरण मार्ग छोडेर चियोभन्ज्याङ पुग्ने मार्ग पछ्याएर सोक्मटार हुँदै जयरामघाट पुग्यौं । त्यहाँको अलिकति लोकल माछा, खुर्सानी र राम्भेन्डा किनेर झोलामा हाल्यौं । पुष्लालमार्ग छाडेर दुधकोशी कोरिडोरतर्फ तीरैतीर लाग्यौं । रोम्दुखोला, सोदुखोला, सिस्कुबेँसी हुँदै खचापु गाउँ टेक्यौं । त्यहाँको स्थानीय दाजुभाइहरू इन्द्र, दीर्घराज लगायतसँगको छोटो मीठो भेटघाट भयो । गडतीरको बाटो छोडेर अब सिधै उकालो रिनुवाल गाउँतर्फ मोडियो । रोडोमो बेँसी हुँदै सेप्नाल पुछारतिर मोटर बाइकमा गुडेर ध्याप्ती पुछारको प्ल्यासुलुङको बरपिपल भएको चौतारा आइपुग्दा पहिला गोठाला गएको र भोट मधेस गर्दा बिश्राम गरेको झझल्को आयो । हाम्रो गाउँमा पनि मोटर बाटोको विकासले छलाङ मारेको महसुस भयो । उहिले अल्लारे छँदासम्म यो सडक भन्ने विषय कल्पनातित थियो । जन्मथलो ब्ओकुला कोल्पुम भन्ज्याङ आइपुग्दा पश्चिम क्षितिजमा घाम डुब्नै लागेको थियो । त्यसको लालिमाले वामद्यालको दृश्य झनै आत्मीय र रमणीय तुल्याएको थियो । एउटा संयोग मैले उल्लेख गर्नै पर्छ– काठमाडौंदेखि ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ वामद्याल रिनुवाल घरसम्म मलाई मोटरसाइकलमा यात्रा गराउने मेडल राई मेरा साख्खै भाइ हुन् । उनी यही वडापालिकाका वर्तमान वडाध्यक्ष हुन् । उनकै कार्यकालमा यस भेगमा सडक संजाल जोडिएकोमा गर्व लागेको छ ।

बीस वर्षपछि लिब्जुको दर्शन
उसबखत हातमा घडी थिएन । भाले बास्नेबित्तिकै जुरुक्क उठेँ । सानो डोकोभित्र बोरामा करिब ३५ किलो वजनको रोडा ढुंगाको भारी कुममा बोकेर उकालो लागेँ । तार्कोम गाउँ पुग्दा झिसमिसे उज्यालो भएको थियो । थोप्लोम गाउँमा पुगेपछि साइनोले भतिज लीला राईलाई उनको घर पछाडि भेटें । उनले पनि मेरो जस्तै डोको र उस्तै वजन बोकेका थिए । हामी दुईजना डोको क्यारी गरेर (बाटोमा अलि अलि दौडेर) किर्सेपुगाउँ उकालो हुँदै लिब्जुथान पुग्यौं । डोको भारी बिसायौं । हामी दुवै यसपाली लाहुरे हुन पाऔं वा सकौं भनेर कामना ग¥यौं । त्यसपछि उही भारीसहित ओरालिएका थियौं ।

अर्को पटक खचापुका भतिज कर्मराजसँग पनि त्यसरी नै भालेको डाकमा उठेर रनिङ गर्दै लिब्जुथान पुग्यौं । भर्ती हुन सकौं भनेर दर्शन र कामना ग¥यौं । भगवानको कृपा, आमा बाउ वा आफन्तहरूको आशिर्वाद, आफ्नो भाग्य र परिश्रमले होला, संयोगवस हामी तीनै जना लाहुरे भयौं । म र कर्मराज ब्रिटिस अनि लीला सिंगापुर ।

त्यसरी दुइ दशक अगाडि दुई पटक लिब्जु दर्शन गर्न पुगेको थिएँ । तेस्रो पटक जाने चाँजो मिलाउन सकिनँ । मानवीय स्वभावले नै स्वतः स्वार्थी हुन्छ । कुनै बेला आस्था राखेर आफ्नो कामना पूरा गर्न दर्शन गरेको आराध्यदेवप्रति समेत स्वार्थी भएको पीडाले मलाई सताइरहन्थ्यो ।

यसपालीको नेपाल भ्रमणमा भने जसरी भए पनि लिब्जु दर्शन गर्न जाने विचारप्रति अडिग थिएँ । त्यसैले गाउँघर पुगेको भोलि बिहानै उठेर लिब्जुथानतिर पाइला चालेँ । सकेसम्म छिटो पुगेर फर्किने योजना थियो । सखारै मुक्सुम्थेपबाट हिंडेर बगाले इस्पुको बाटो हुँदै देउरालीडाँडा पुग्दा मेरी फुफुको कान्छा छोरा (सिजन) ले मलाई त्यहाँ पर्खिरहेको रहेछ । भेटेर सँगै उकालो लाग्यौं । तार्कोम र थोप्लोम हुँदै किर्सेपुगाउँ पुगेपछि पुरानो दोकान भेट्यौं । मेरो शुभचिन्तक र सहयोगी साइला तामाङ दाइसँग एकछिन बातमा¥यौं । उहाँसँग भेट नभएको पनि बीस एक्काइस वर्ष भएको थियो ।

लिब्जुधामको दर्शन गर्न उक्लिदै गर्दा लेखक

लिब्जुथान उक्लिदै गर्दा अगाडिको बाटोमा सिमेन्ट बालुवा मिसाएर बनाइएको खुड्किलाहरू र दायाँ–बायाँ फलामको रेलिङले उकालो चढ्न केही सहज भएको थियो । उकालोमा आराम गर्ने एउटा सानो टहरा बनाइएको रहेछ । पानी सुविधाको लागि टहराको माथि हिलट्याँकी राखिएको देखियो । एकाबिहानै चराचुरुङ्गीहरूको चिरबिर आवाज र शान्त वातावरणले ज्यादै मनमोहक र स्वर्गीय आनन्दको अनुभूति भयो।

लिब्जुको दर्शन ग¥यौं, धुपधाप गरेर घण्टा बजाइयो । बिहानै उत्तरबाट चोमोलुङ्को सिरेटोले हानिरहेको चौतर्फी रुखबिरुवा जंगलले घेरिएको शान्त लिब्जु उपो (लिब्जु बाजे)को दर्शन वाहऽ क्या आनन्द लाग्यो । दर्शनपछि देवता थानको पुर्वी मोहडाको भिरालोबाट करिब दश मिटर तल झ¥यौं । त्यहाँको एउटा चुन्केलुङ (चुच्चेढुंगा) मा चढेर वाक्साको थापागाउँ, गैरीगाउँ, ध्याम्नाल, नचचुगाउँ र मोलीतिर एकछिन रमिता हे¥यौं ।

त्यसपछि भाइ र म लिब्जुसामा थानको पश्चिमतर्फ पुरानो बाटो पछ्याएर ओरालो झ¥यौं । यो बाटोबाट तल साततल डाँडा पुग्छ, जहाँं विश्राम गर्ने टहरा पनि बनाइएको रहेछ । म त्यो बाटो भएर पहिलो पटक लिब्जुबाट झरेको थिएँ । किर्सेपुबाट उकालो अर्थात् दक्षिणतिरबाट चढेको भन्दा पश्चिमतिरको बाटोचाहिं प्राकृतिक रूपले अझ धेरै सुन्दर लाग्यो । अब भविष्यमा यदि त्यो बाटोलाई विकसित रूप दिने हो भने सकेसम्म त्यहाँको रुख बिरुवा तथा वनस्पतिलाई संरक्षण गर्न सकियो भने लिब्जुको प्राकृतिक स्वरूपको विनास हुने छैन । लिब्जुलाई धार्मिक तथा पर्यटकीय गन्तव्य स्थलको रूपमा विकसित गर्दै लान स्थानीय जनता, स्थानीय सरकार र प्रदेश सरकारको निरन्तर प्रयास र समन्वय होस् भन्ने शुभकामना छ ।

लिब्जुधामको दर्शनपछि साततल डाँडामा लेखक

लिब्जुबाट झर्दैगर्दा उभौली जेठ पुर्णिमामा बजार लाग्ने ठाउँं हिटीमा फोटो खिच्यौं । त्यसपछि तिम्ले, बगाले (कटुवाल) गाउँ, कामीगाउँ र खत्रीगाउँ डुल्दै स्वालेवा पार्कमा आइपुग्यौं । सामाजिक संजालमा अरुले खिचेर राखेको फोटो भिडियो देख्दा जाउँजाउँ लाग्ने पहिचान स्तम्भ तथा सुन्दर स्वालेवा पार्क, ब्ओकुला र पोन्दोप हाइकिङ ट्रेल पुग्ने मेरो रहर पनि यसपाली पुरा भयो ।

लिब्जुबाट झर्दै गर्दा ढ्वाङ्कुम चोकमा फोटो सेसन र स्वालेवा पार्क भ्रमणपछि सोझो र सजिलो बाटो पछ्याएर म सिधै घर फर्किन सक्थेँ । तर त्यसो गरिनँ । गैरीगाउँ, फलामटार, ज्यार्काकु हुँदै सार्की गाउँबाट उकालो लागेर फेरि तार्कोम पुगेँ । हालसालै निर्माण गरिएको तार्कोम फुटसल मैदान हेरेँ । करिब पाउने दुई सय वर्ष अगाडि राणाकालमा मेरो जुजुबाजे बाघबर्ण राईले बनाउनु भएको झिङगटी (इँटावाला) घरको अवशेषको अगाडि पनि फोटो खिचें ।

तार्कोम गाउँमा मनकुमारको आमा अर्थात् पुरानो गल्लावाला यमबहादुर (खुलजीत) राईको श्रीमती; साइनोले फुफुसँग छोटो मिठो कुरा गरेँ । रिनुवालमा मेरो मावली बजु पर्ने बगमसरी (धुमपरी) राई उमो कान्छीलगायत अरु थुप्रै इस्टमित्रहरूसँग भेट भलाकुसारी गर्दै छक्काल दिनमा मुक्सुम्थेप घर आइपुगेँ ।

घरमा खाजा खाएपछि त्यही दिन बेलुकापख फेरि मेरो बाउबाजेले कमाउनु भएको खेतखलिहान कोलपुमको गराहरूमा टहलिन गएँ । त्यो मेरो इभिनिङ वाकजस्तो पनि थियो । एक जमानामा हाम्रो क्षेत्रको नामुद र शक्तिशाली धामी तथा नाक्सो मानिने सुन्दलाल राईलाई उहाँकै निवास कोलपुम खेतमा ढोगभेट गर्न पुगेको थिएँ । उहाँले नै हाम्रो गाउँ रिनुवाल तल वानाङ्कुमा अवस्थित प्रसिद्ध ककनीदेवता थान र ध्याप्तिङखान्ड भनेर चिनिने अर्थात् दर्शन गरिने महादेव थानको पत्तालगाउनु भएको थियो । हालसालै उहाँ (सुन्दलाल राई)को असामयिक निधनको खबरले म स्तब्ध भएँ ।

पूर्वको पशुपतिनाथ हलेसी महादेवको दर्शन

अरु त लौरी के लौरी घँघौरीको पो लौरी
तिमी त जान्छौ डुँगै चढी हामी त जान्छौं पौरी
(अथवा अरु त जान्छन् डुँगै तरी हामी त जान्छौं पौडी)

हलेसीधाम

यतिबेला मैले सम्झिरहेको छु हाम्रो गाउँमा गाइने ख्याली भाकाको गीति लहर । म सानो छँदा पहिलो पटक हलेसी मेला जाँदा मेरो पापाले घोपाटारको गाजले खोला दोभानमा पौडी खेलेर दुधकोशी तर्नु भएको मिठो पल ।

हामी सबै डुँगा चढेर पारि त¥यौं । संयोगवस त्यही दिन उँबु गाउँ पञ्चायतको तत्कालिन प्रधानपञ्च भीमबहादुर राई र मोली गाउँ पञ्चायतको प्रधानपञ्च बुद्धराज राईको घोडाहरू पनि पालैपालो डुँगामा तारिएको देखेँ । त्यो पनि मेरोलाई अर्को रमाइलोको विषय थियो ।

पापाचै पौडेर नै दुधकोशी तर्नुभयो । त्यति बेलाको हिसाबमा दुई रुपैयाँ लाग्ने डुँगाको खेवा जोगाउनु भयो । मेरो बाल मानसपटलमा गौरवान्वित प्रभाव छोड्नु भयो । त्यसपछि हामी माझीगाउँ हुँदै खोक्सेली खोला तरेर मंगलटारको उकालो लाग्यौं । घुर्चुक बनको घरी उकालो घरी ओरालो बाटो हिँडेर बेलुकापख जस्केल पँधेरो भन्ने ठाउँंमा घरबाट बोकेको चाम्रे र गहुँको रोटीको खाजा खान बिसायौं । साँझ पर्दा बल्ल हलेसी मेला पुगेका थियौं ।

पहिलो पटक त्यसरी हलेसी मेला पुगेको सम्झना ताजै छ । त्यसपछि त कति पटक पुगियो कति । दुई पटक खचापु गाउँको मुनि ह्वरेङगु र द्वायोम्फु (चिउरीबोटे) मा दुधकोशी जँघार तरेर हात्तीवन, बाङ्मा, बोजे, गेलुङखोला, दुर्छिम, कातिके हुँदै गइयो । धेरैजसो चै घोपाटार पुल तरेरै गइन्थ्यो ।

यसपाली भने मेडल भाइसँग मोटरसाइकलमा हलेसी दर्शन गर्न पुग्यौं । रिनुवालको मुक्सुम्थेप घरबाट बिहान कोलपुम ध्याप्ती हुँदै खचापु झ¥यौं । मसार खोला तरेर युम्ला बेंसी (कार्की बेंसी पनि भन्छन्) हुँदै घोपाटार पुगेपछि एकछिन बिश्राम लिएर वारिपारि रमिता हे¥यौं ।

मंगलटार पुछारको बरबोटेमा पुग्दैगर्दा भाइलाई बाइक रोक्न लगाएँ । प्रायः चैत महिनामा पर्ने रामनवमी मेलाको बेला पारेर हलेसी मेला जाँदा टन्टलापुर घाम र गर्मीले गर्दा मंगलटार बरको फेदमा पुगेपछि शितल नखाई चित्तैबुझ्दैन थियो । त्यहाँबाट हेर्दा सौम्य र नीलो दुधकोशी सलल बगेर पर महादेव बेंसी हुँदै डाँडाकाँडाहरूको बीचबाट क्षितिजमा बिलाएको जस्तो लाग्थ्यो । खोटाङ जिल्लातिर पर्ने दुधकोशी किनारमा रहेको फराकिलो समथर खेत खोक्सेली बेंसीको ठुलो धन्सार (धान राख्ने ठुलो भकारी) रहर लाग्दो देखिन्थ्यो । निरौला बेंसीको खेतका गराहरू उस्तै सुन्दर र रहर लाग्दा हुन्थे । ती सबै जस्ताको त्यस्तै रहेछन् । पुरानो धन्सारमात्र देखिएन । बरु त्यहाँ नजिकै मन्दिर बनाइको रहेछ । त्यही पुरानो मंगलटार बरको छेउमा उभिएर दृश्यावलोकन गर्दा फरक त्यतिमात्र पाइयो ।

पहिला हामी पैदल बाटो जाँदा माथि घुर्चुकवनको लामो बाटो भएर हलेसी पुगिन्थ्यो । अहिले सडक बाटो तल घुर्चुक भन्ने गाउँ उकालो हुँदै गएको रहेछ ।

आजभन्दा पच्चीस वर्ष पहिलाको हलेसी र अहिलेको त्रिधार्मिक स्थल हलेसीमा आकाश र जमिनको फरक पाइयो । यसपाली पनि मेरा भाइ र म रामनवमीकै दिन हलेसी पुगेका थियौं । तर त्यहाँ पहिलाजस्तो बजार भर्न आउने र श्रद्धालुहरूको घुइँचो र लावालस्कर थिएन । न लाउडस्पिकरमा बजिरहेका म्युसिकल आवाजको रौनक नै थियो । सुनिएन वाम्बुले राईहरूले गाउने राम्दले भाकाको गीत र भेटिएन हलेसी भाका गाउँने तन्नेरी तरुनीहरू लर्को । पूर्वको हाक्पारे र साकेला (साकेला सिली नाच्दा गाइने गीत) सुनिएन । पहिला जस्तो ठूलाठूला सुङ्गुर, बङ्गुर, राँगा र खसीको गोसखाना पनि देखिएन । राडीपाखी दोकान र मधेसीका लावालस्कर भाँडा पसलहरू पाइएन ।

हलेसी त मल्टीस्टोरि बिल्डिङ घर, होटल र रिसोर्टहरूले गर्दा पहिलेका जस्ता मेला होइन, बाह्रैमास व्यापार चल्ने ठूलो बजार, नगर सहरजस्तो भइसकेछ । हलेसी तुवाचुङ नगरपालिका त्यसैले बनाइएको रहेछ । जेहोस हलेसी महादेवको दर्शन र गुम्बालाई परिक्रमा गरेपछि फर्कियौं ।

घर फर्किदा वाम्बुले राईहरूको अर्को पित्रीदेव मानिने भुम्जु डाँडा पनि चढ्ने योजना थियो । तर, झाप्पा गाउँबाट कदुवा झर्ने मोटरबाटो तत्कालका निम्ति बिग्रे भत्केको खबर पायौं । त्यसैले हामी च्यास्मिटारदेखि सिधै कदुवा हुँदै जयराम पुल झ¥यौं । त्यही दिन रिनुवालमा पित्रीकार्य चौतारा पूजा थियो । आइपुग्नै पर्ने बाध्यता र समयको पावन्दीले गर्दा भुम्जु दर्शन गर्ने शुभकार्य अर्को पटकलाई साँचेर फर्केको छु ।

अधुरो सपना
वर्षौदेखि नयाँ र पुराना फुट्कर लेखहरूको संकलन गरेर नै किन नहोस्, एउटा पुस्तक प्रकाशन गर्नुहोस्, भन्नुहुन्छ मेरा परम मित्र तथा वरिष्ठ पत्रकार गणेश राईजी । एउटा सम्झनलायक दस्तावेज त रहन्छ तपाईको जीवन पर्यन्त । नेपाल जाँदा त्यो प्रयास पनि गरौं कि भनेर सोचिरहेको थिएँ । अफसोच त्यो सपना यसपाली पनि अधुरै रह्यो ।

नेपालमा रहनु भएका साथीभाइ, इस्टमित्रहरूलाई भेट्ने, पश्चिममा रारा, फोक्सुन्डो ताल, अन्नपूर्ण बेस क्याम्प, मुक्तिनाथ, मनाङ, मुस्ताङ र पूर्वमा पाथीभरा, धरान र भेडेटारजस्ता गन्तव्यहरूमा घुम्न जाने योजनाहरू पनि अधुरै छन् । वस यसपाली लेखनीको बिट मारें ।

(इक लिब्जु–भुम्जु त्रैमासिक वर्ष ८ अंक १२, पूर्णाङ्क ८५, २०७८ वैशाख–असार (किरात येले संवत् ३८००/सन् २०२१) मा प्रकाशित आलेख यहाँ प्रस्तुत गरिएको हो । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *