प्राज्ञ नारद मणि हार्तम्छाली “कलाङ”को डायरी – फेरी काठमाण्डौले बोलायो र प्राज्ञ बनायो !

कला साहित्य -संस्कृति विचार / ब्लग
फेरी काठमाण्डौले बोलायो र प्राज्ञ बनायो !
नारद मणि हार्तम्छाली “कलाङ”
फेरी तिमी गीत गाऊ
तिमी गीत गाऊ,
नारा पनि लगाऊ
र गाउँ–घर पनि आऊ ।
म थुप्रै शब्द र लयहरु
तिमीतिर मोडी दिने छु ,
म थुप्रै आवाज र जोशहरु
तिमीलाई जोडी दिनेछु,
फेरी तिमी गीत गाऊ
अब तिम्रो ‘नारा’मा
तारा’को ‘पारा’ आउँछ ।
तिमी बाजा बजाऊ,
झण्डा पनि समाऊ
र आफन्तकैमा जाऊ
म थुप्रै मादल र सारंगीहरु
तिमीलाई रोजी दिनेछु,
म थुप्रै आँसु, रगत र पसिना
तिमीलाई खोजी दिनेछु ।
फेरी तिमी बाजा बजाऊ
अब तिम्रो झण्डामा शहीद मुस्कुराउँछ ।
तिमी कलम समाऊ,
बन्दुक पनि काँधमा लगाऊ
र बस्तीतिर पनि आऊ ।
म थुप्रै वाक्य र कथा–कुथुंग्रीहरु
तिमीलाई सुनाइदिनेछु ।
म थुप्रै बारुद र छर्राहरु
तिमीलाई बटुली दिनेछु ।
फेरी कलम समाऊ
अब तिम्रो बन्दुकको खिया हराउँछ ।
तिमी कुची चलाऊ, पोस्टर पनि रंगाऊ
र मान्छेसँगै जाऊ,
म थुप्रै रेखा र रङका प्रकृतिहरु
तिमीलाई देखाइदिनेछु
म थुप्रै रुप र रसका जीवनहरु
तिमीलाई भेटाइ दिनेछु
फेरी तिमी कुची समाऊ
अब तिम्रो पोस्टरमा
नौलो संसार जग्मगाउँ !
(रचना मि.२०४४,काठ. साभारः बैसाखे चिउला–२०५३)
माथिका मेरा रचना–भावनामा भावुक भएर म वि.सं.२०५३/५४मा जसरी पनि दशबाह्र वर्ष गाउँघर मै बसेर साँस्कृतिक–सामाजिक, राजनीतिक तथा परिवारिक विशेषानुभव गर्ने गरेर नै आफ्नो गृहजिल्ला फिरेको थिएँ । हुन पनि, म भोजपुर अरुणछेउमा जन्मेर पाखुरा बढेपछि पढ्ने–बढ्ने अवसर खोज्दै धरानहँुदै काठमाण्डौ सुटुक्कै लागेको थिएँ । अतः भोजपुरे नागरिक हुनाको पूर्वकर्तव्य निभाए कै थिइँन भने स्थानियस्तरमा कला, सङ्गित, साहित्य र सँस्कृतिको लागि नवयुवाहरूलाई उर्जासहित प्रोत्साहन तथा साथ, सहयोग र नेतृत्वसमेत गर्नुपर्ने अवस्था साथै मैले पूर्वीग्रामिण जनजीवन र पर्यावरणको खास अनुभव र अध्ययन पनि गर्न पाएको थिइँन । त्योे आवश्यकता पनि रहेको हो र अझै छ ।
त्यस्तै, त्यो वेला(२०५३) साङ्पाङगाउँमा माओवादी जनयुद्धको द्वन्द सूरु भइसकेकोले समाजमा अस्तव्यस्त थियो । अरु पार्टीकाहरूले राजनीति गर्न र जनप्रतिनीधि हुनपनि विशेष आँट र केही विशेषता भएकै व्यक्तिहरूको नेतृृत्व हुनपर्ने अवस्थाको माग भयोे । अर्कोकुरा, गाउँमा आमा–बा एक्लै हुनुहुन्थ्योः दाजुभाइ तथा बैनीहरू कोही विदेशै कोही काठमाण्डौ पढाई–बसाई, अझ मेरो विशेष भावनात्मक र संम्वेदनसील पक्ष तः मेरो जीवनसाथी रीतालाई पनि मैले अन्याय गरेको थिएँः कारण २०४६ जनआन्दोलनकै शुरुवेलाताका पार्टीको स्वीकृति र विदा पाएर गाउँमा हाम्रो विवाह भयो तर विवाहको तीन-चारदिन मै नवबेहुली छाडेर जनआन्दोलन(२०४६)को साँस्कृतिक नेतृत्व गर्न काठमाण्डौ आएँ र आए कै भोलीपल्ट(फागुन–२) नै पक्डाउमा, सेण्ट्रलजेल परेँको थिएँ । उनको शिक्षक जागिर गाउँ मै, फेरी मेरो पेसा र सक्सके ठाउँ शहर, त्यसैले हाम्रो बसाई र भेट्घाट उधौली वा उभौलीको मात्रै थियो भने मेरा ससुराली, राजविक्रम राई माओबादीको एरिया–कमाण्डर, नाताको कारण हाम्रोमा पनि प्रशासनिक खानतलासी र प्रेसर भइरहनेहँुदा मेरो उपस्थिति त्यहा परिवार लागि पनि जरुरत रह्यो ।
एउटा जीवन जैविकरुपले वाँच्न सक्नुपर्ने अवस्था र आवश्यकता सँगसँगै सामाजिक–साँस्कृतिक र राजनीतिकरुपले पनि वाँच्न र भविश्य साँच्न खोजिदोरहेछ । तर सामान्यतः केही–कोहीको इच्छा भन्दा अलिक फरक भने म जस्ता सक्सकेहरूलाई बढी हुँदोरहेछ । काठमाण्डौको स्थाई जागिर र बाघबजारको न्यूआर्ट पसलको मालिक(!) भएर आर्थिक–भौतिक रमझममा रम्न छाडेर फेरी गाउँतिरै हल्लिन खोज्ने व्यक्ति–म एकार्थले अनौठो जीव—पढेलेखेको मूर्ख मानिन्थ्येँ, कोही–कसैको आँखा र भाषामा । तर पनि, मैले गाउँ(जिल्ला)मा आफ्नो गतिविधि र भूमिका यसरी तीनचरण र मुख्यतय तीनै विधागत क्षेत्रहरूमा बढाएँ । एकः स्थानिय जनप्रतिनीधि, देउराली, गा.वि.स., अध्यक्ष(२०५३–५६), दुईः वामपन्थी पार्टी कार्यकर्ता र प्रगतिवादी साँस्कृतिक कर्मी (कला, सङ्गित र साहित्य) र तीनः परिवारिक जिम्मेवारीसँगै सामुदायिक तथा सामाजिक कार्यकर्ता ।
पहिलो चरणमा, गा.वि.स.अध्यक्ष भएर जनप्रतिनीधिको भुमिकामा अढाई बर्ष विताएँ तर त्यसपछि एमाले पार्टी फूट्यो अल्पमतमा परेँ(माले) । पुनः चुनाव ने.क.पा.(माले)बाटै जितेर बाँकी अध्यक्ष–पदाबधिको कार्यकाल–जिम्मेवारी पुरा गर्ने सोचले राजीनामा दिएँ तर त्यो पदको लागी चुनावै भएन तवः पार्टीमा जि.क.सदस्यको जिम्मेवारी मात्रै निभाएँ ।
यसरी नै दोस्रो चरणको क्रममा, साल्पापोखरी, च्याग्रेपोखरी र नागछाँगा अवलोकन–अध्ययनसहित भोजपुरका दृष्यचित्रहरू बनाउने मौका पाएँ । त्यहीक्रममा मेरा मौलिक रचनाहरूः बैशाखे चिउला (कविता र गीत)–२०५३, पछि कलाङ(साहित्य विविध)–२०५६, पुस्तक र कलाङ (लोकाधुनिक गीति एल्वम)–२०५८ पनि सार्वजनिक भयो भने गाउँको विद्यालयहरूमा व्यानर र स्टेज–दृष्यचित्रहरू पेण्टिङ गरेँ तथा चित्रकला, संङ्गित–नृत्य तथा अभिनय प्रशिक्षणहरू पनि चलाएँ । त्यसरी नै भोजपुर जिल्लाका २७वटा गा.वि.स.हरूका एफ्.सी.चाएल्डहरूलाई (ल्पान इन्टरनेषनल, भोजपुर) १५÷१५दिने(आवासिय, एक महिना) चित्र, गायन, नृत्य र नाटक, दुई उपकेन्द्रहरू(टक्सार र घोरेटार)मा तथा त्यस्तै विद्यार्थीहरूलाई वालभित्ते पत्रिका सम्पादन तथा प्रकाशन प्रशिक्षण समेतको परियोजना, निमार्ण र मूख्य प्रशिक्षण संचालन मेरै नेतृत्वमा भयो ।
त्यही संस्थाको लगानीमा सामुदायीक विकास सम्बन्धी पत्रिकाः पाईला–६(एकअङ्क) र बालसाहित्य संकलनः भोजपुरे कोथाहरु(२अङ्क) सम्पादन गर्ने अवसर पनि पाएँ । त्यही बेला भोजपुर, टक्सार र घोरेटारमा मेरा चित्रहरुको प्रर्दशनी समेत दुई-तीन पटक भयो । त्यही समयदेखिका मेरा कविता, लेख, अन्तरवार्ता साथै गीतहरु भोजपुर, धरान, विराटनगर र काठमाडौंका केही पत्र पत्रिकाहरुमा विशेस प्रकाशित भएका छन् । यही प्रसंगमै खार्तम्छा, नेपालेडाँडा, कुदाक–काउले र दोभाने गा.वि.स. हरुको विधालयहरुका रजतजयन्ती तथा वार्षिक उत्सवहरुमा साँस्कृतिक कार्यक्रमहरुको नाँचगान प्रशिक्षकको रुपमा तथा चित्रकला र गायन प्रतियोगितामा निर्णायकको रुपमा भुमिका निभाउने अवसरसमेत भयो । त्यो वातावरणले नवपुस्ताहरूप्रति यस्ता भावना पनि ममा पलायो ।
मेरा भोगाइ…. पालुवाहरुलाई
मेरा आँखामा नाच्छन् पालुवाहरु
हावा बतास र साँझ बिहानसँगै
मैले माटो र मान्छेकोे माया पाएँ
र, एउटा युगलाई सुम्सुम्याएँ ।
भोली फेरी उनिहरूले पनि
मैले जस्तै हार्दिकता पाउनेछन
र, आउने पुस्तालाई जिम्मा लाउनेछन ।
म जति बाँचे एउटा भूमिका चैँ निभाएँ,
बाँच्छन् उनीहरु पनि अवश्य, बिहान देखेरै ठम्याएँ ।
बरु स्वाभाविकतामा नियमितता छ/ छैन ?
यो नै वास्तविकतामा खोज्दैँँ आएँ र
केही तन–मन दुखाइ यो दुनियाँमा रमाएँ ।
जिन्दगी मान्छेलाई भारी हुँदैन
छुन खोजेँ मान्छे– मान्छेहरुको मन ।
संसार यात्रीहरुलाई काँडाघारी हुँदैन,
छाम्न खोेजेँ युग युगको यौवन
धर्ती–आकाश फराकिला छन्,
घाम–जुन र ताराहरु सधैँ चहकिला छन्,
जीवनलाई पैताला र टुप्पीबाट हेर्न सके
प्रकृतिको बहुरुपलाई कार्यानुरुप फेर्न सके ।
मेरो भावनामा रुन्छन् हाँस्छन्
छुनमुनाउँदै मौलाएका पातहरु
मैले सङ्लो मन–मस्तिष्कको
धरातल मात्र दिए पुग्छ ।
आफ्नो आकाश आफैँ खोज्लान्,
फैलाएर उनीहरुले चकचके हातहरु
मैले मेरो कर्तव्यको
आत्मविश्वास मात्र लिए पुग्छ ।
र.मि.२०५६-0४-२९, (कलाङ पुस्तकबाट साभार)
यसरी जीवनको ५०औं वसन्तको उमेरमा फेरी (समाजशास्त्र) पि.जी. क्याम्पस, विराटनगरको विद्यार्थी भएर स्नातकोत्तर उत्तिण गरें । त्यस पछि गाँउमै शिर्जनाको सानो संसार–यो नाटक होईन भन्ने नाटक निर्देशन गरें भने सामुदायिक पत्रिका संगम(२०६४–६५)को सम्पादन गर्न पनि भ्याएं । यसैगरी साम्पाङ गा.वि.स. को बहप्चा भन्ने ठाउँमा ठूलो ढुगांको भित्तामा मूर्ति बनाउने मौका पनि मिल्यो ।
यसरी, २०६२/६३ जनयुद्ध पछि माओवादी पार्टी, पूर्वीकमाण्डमा क.साईला को नेतृत्वमा साँस्कृतिक प्रशिक्षक भई केही दिन संखुवासभा, तेह्रथुम र धनकुटा लगायत ठाउहरू डुलेँ, कोशी–मेची र सगरमाथा साथै जनकपुर अंचलको संगित प्रशिक्षण( मा नाटक र बाद्यवादनको १०/१० दिने संगीत प्रशिक्षक (विराटनगर र वर्दिवास, सिन्धुलीगढी) हँुने अवसर पाएँ । त्यही अवधिहरुमा रचना गरिएका चित्रहरु ८/१० वटा प्रर्दशित र १२/१५ वटा अप्रर्दशीत छन् भने केही चित्रहरु विक्री भई सकेका छन् ।
उक्त माथिका, तीनपक्षलाई विचारेर गाउँ गएको म, परिवारसँग बस्दै गाउँको स्थानीय जनराजनीतिमा परिक्षण त गरें तर त्यसमा त्यती सफल भईन—ममाः कुटनितिमा कम—कलामा चाँही दम रहेछ भन्ने लाग्यो । गाउँको स्थानीय समुदायगत सामाजिक मनोविज्ञान केही बुझें, ग्रामिण विकासको रणनितिक योजना गर्ने आधारभुत ज्ञान थाहा पाएँ । प्लान इन्टरनेषनल, ¥याप(जी.टी.जेड.) सामुहिक अभियान जस्ता एन.जी.ओ., आइ.एन.जी.ओ. मार्फत पनि समाजको अध्ययन र अनुभव गर्ने मौका भयो । त्यसैको उत्प्रेणा तथा गा.वि.स.को अनुभवले समाजशास्त्रमा एम.ए. अध्ययन गरें तर पनि मेरो उमेर र समयको लगानी अनुसार उत्पादन (रचना–सिर्जना) खास हुन सकेको छैन । मेरा सिर्जनाहरूमा भरखरै भने तेस्रो कविता संग्रह “सामबुङ” प्रकाशन भएकोछ तर एक आधुनिक गीति एल्बम र चित्र–मूर्तिहरु ३०÷४० वटा प्रर्दशन लायक तयारीमा छ ।
त्यही बीचमा पहिलो पटक काठमाडौमा प्राज्ञ बन्न आउँदा तर मुद्धापरी नियुक्ति नपाउँदा तथा ३÷४वर्ष शहरतिरै हल्लिँदा ठूलो पर्दाका चलचित्र प्रतिबिम्ब (किशोर रानाज्यूको निर्देशनमा) अभिनय गर्ने मौका मिल्यो । संस्कृति सम्वन्धि कार्यपत्रहरू लेख्ने (नेपाली पहिचान र नेपाली संस्कृति तथा किराँती संगितमा हाक्पारे… आदि,) एउटा विशेष सिर्जनाको अनुभवः मूर्तिकला कृति निर्माणको रुपमा सहिद तथा बेपत्ता स्मृति स्तम्भ (ए.ने.क.पा.पार्टीको निर्माणमा त्यही पार्कमा) दशफिट अग्लो ढुङ्गामा मूर्ति रचनाको मूख्य नेतृत्व गर्ने ठूलो अवसर पनि पाएँ । विभिन्न कला प्रदर्शनीमा सहभागी बन्ने मौका मिल्यो।
यी कामहरुको नामको आधारमा राष्ट्रिय प्रतिभा पुरस्कार–२०६८, पारिजात कला पुरस्कार–२०६९, उत्कृष्ट कार्यपत्र (नेपाली पहिचान), –पुरस्कार, राष्ट्रिय सम्मेलन—२०७०, कुलचन्द्र गौतम स्मृति संस्था—२०६४, काठमाडौं । लगायतका केही सम्मान र पुरस्कारहरु पाउन सफल भएं । (त्यहीक्रममा, प्राज्ञको नियुक्ति भएपछि पनि मैले टेलिचलचित्र सिँहदरबार (छिरिङ रितार शेर्पाज्यूको निर्देशनमा) चरित्रपात्रको भुमिका र दोख चलचित्र (अनुप बरालज्यूको निर्देशनमा)मा एकलोक गीतमा समुह–गायनको भुमिका समेत निभाउने मौका पाँए ।)
अन्त्यमा, यसरी १०/१२ वर्ष गाँउको नियमीत आधार बसाईको अनुभवले राजनितिक भन्दा पनि साँस्कृति कर्मि नै हुन प्राकृतिक न्याय हुने होकी ! भन्ने लाग्न थालेकै बेला २०६६ सालमा मलाई नेपाल सरकारले प्राज्ञ हुन बोलायो र यो रचनामा पनि मेरो त्यो बेलाको भाव आयो ।
काठमाडौँले फेरी बोलायो
म, भोजपूर एउटा पहाडलाई ढाकेर
‘साल्पा–सिलिचुङ’ लाई काँधमा राखेर
चोमोलुङ शिरमा हिँउको फेटा चम्काउँदै
ट्याम्के, मैयुङ र साउने डाँडामा पाइला लम्काउँदै
लौरेडाँडामा लौरो चढाउँदै
अरुणकोसीको छालसँगै उरालिँदै बरालिँदै
सप्तकोशी दोभानको बगर–बगरमा
माङलुङ खोजिरहेको थिएँ
फेरी काठमाडौँले बोलायो
मेरो पुनर्जवानी बढेर आयो ।
यो भोजपुर चुप लाग्दैन एकान्तमा पनि
‘सामे’ समाएर ‘सुप्तुलुङ’मा
बखान्दैछ ‘रिसिया – हाक्पारे’ धुन
तर घामको धेरै नाम, काम र दाम फलाकिँदा
चैते डढेलोले निस्सासिँदैछ शुभ सङ्केतको जून
त्यसैले ‘हेन्खामाङले’ तुप्लाको झण्डा उठायो
तर निनाहाङले ‘सोलेवा’ को डण्डा उज्यालो
र पनि दुवैलाई ‘माङ्छयाम–दिछ्याम’ मा दोप्क्याउँदै थिएँ
‘सुङ्सा’ पसेको ‘खुवालुङ’ मा
बैँस बिटुलिएको पाछाहरु छुट्याउँदै थिएँ
फेरी काठमाडौँले बोलायो
र मेरो मन झन् खल्बलायो ।
चुलामा, ‘चावालुङ’ ‘फक्त्तालुङ’ र
‘तावालुङ’ साक्षी राखेर
हिजोका पाइलाहरु चाल्दै ‘संसारी’ भाकेर
‘माङ–मीङ’को द्वन्द समायोजनमा भिडेको थिएँ
मूल खावा वरिपरि
छुनेमाङ–न्वागीमा बागीमा बामे सर्दै
‘साक्खेवा टाङ्’ मा महासम्मेलन गर्दै
कालो र सेतो लिसो छुट्याउँदै
भोलिपर्सिको यारी खुट्याउँदै हिँडेको थिएँ
फेरी काठमाडौँले बोलायो
अब मेरो जोखाना राम्रो आयो
‘तावा’/ ‘रोको’ मात्रै भन्थे प्रायः मुखले
मेरो सातो–बोलाउने र शीर–उठाउने
सायाचोक्मा भने जानेको थिएन प्रायः अरुले
‘सेहे–वायुले’÷‘जागित्रा’लाई जितैकै छु आफैँले
अब धामीझाँक्री फुक्फाक् नगर्नु कसैले ।
कुल देवी–देउताको कुलो पहिल्याई
मूल मान्छेको पाउ–शिर खोज्दै थिएँ
फल फल्ने बोटबिरुवाको फूल चढाई
देउराली–चौतारीमा जम्मै पीर पोख्दै थिएँ
फेरी काठमाडौले बोलायो
अब मेरो हातपाउ झन् सल्बलायो ।
(मिः २०६६, साभारः प्रतिभा प्रवाह, पू.—२०, २०६९)
(प्राज्ञ नारदमणि हार्तम्छालीले आफ्नो फेसबुक वालमा २०७७ मंसिर ११ गते पोस्ट गर्नुभएकोबाट साभार गरिएको हो । माझकिरात भोजपुर निवासी हार्तम्छाली साम्पाङ भाषी राई हुनुहुन्छ । सम्पादक)

Leave a Reply

Your email address will not be published.