मान राईको ठम्याइमा : एक असल नागरिक र कर्तव्य पालना

विचार / ब्लग

मान राई
सानो मुलुक, सानो अर्थतन्त्र, अस्थिर सरकार अनि लथालिङ्ग समाज । वास्तवमा नै उदेक अनि उराठ लाग्दो छ हाम्रो युगको हाम्रो समय । हामीले नै उमारेको यो समय । प्रजातन्त्र, स्वतन्त्र, लोकतन्त्रको खोक्रो समय ।

बिगततिर फर्केर त्यही वा उही पो ठिक थियो कि भनेर कुरी कुरी हुनुभन्दा यथार्थबिहीन समाचारको आधारमा गाली थोपर्नु भन्दा, लोकतन्त्रको आडले बल पलाएर अरू माथि दोष थोपर्न ठडिएको त्यो औँला, एकचोटि आफैतिर तेर्साएर सोध्ने कि ? मैले चै के गर्न सकेँ समाजको निम्ति ? एक सच्चा नागरिकको हैसियतले मुलुकको निम्ति ? र यो मुलुकलाई चाहिने असल नागरिको खाँचोको निम्ति ? सायद यसको जवाफ दिन सक्ने क्षमता हामीमा नहोला । त्यसैले तर्कबितर्क गर्दै आलोचनामात्र गर्छौँ ।

यहाँ सामाजिक पद धारण गरेर, सरकारी पद प्राप्त गरेर ‘असल नागरिक’ कहलिन आतुर देखिनेको पनि कमी छैन । ‘असल नागरिक’ त्यो हो जसले देस विकासको परिकल्पना गर्न पूर्व ‘राम्रो समाज’ को परिकल्पना गरोस् र खाँचो उसैको छ ।

खैर, ओखलढुङ्गाको उँबु क्षेत्रमा निवासी, परापूर्वकाल, इतिहासले लेख्न भ्याउनुपूर्व त्यस क्षेत्रमा निवासी, खेतीपातीमा रमाउने, आफ्नै मौलिक भाषामा बोल्न, लेख्न रुचाउने, आफ्नै संस्कार–सँस्कृति डोराउने, जगेर्ना गर्न कोशिस गर्ने हामी वाम्बुले राई, यस मुलुकका ‘अर्गानिक सिटिज’ (आदिवासी) । अवसरको कमीले हामी ‘जनजाति’ नामकरणको परिधिभित्र बाँधिन पुग्यौँ, यो लोकतान्त्रिक युगमा । यो नामकरणको परिधिले हामी ‘अर्गानिक सिटिज’लाई युगौँसम्म ‘पिछडिएको नागरिक’ भनेर पच्छाइरहने छ । हामी अरुले उत्थान गरिएको भनेर बुझिने छौँ ।

हामी ‘जनजाति’ उबेला नै नेपाल आमाका अब्बल र असल नागरिक कहलाइसकेका थियौँ । राजा यलम्बर सम्म त नपुगौँ । जति बेला हामी आफ्नो भुमिको रक्षा गरी अरुको भलाईको निम्ति लडेर ‘बहादुर गोर्खा’को तक्मा हासिल गरेका थियौं । तर आजको तितो सत्य ‘बहादुर गोर्खा’ तक्माको पछि लागिरहँदा हामी बिदेश पलायनको बाटोतिर उन्मुख छौँ ।

लोकतन्त्रमा अलोकतन्त्रको उदाहरण भोगेको सम्झना मैले यहाँ पल्टाउन चाहेँ ।

गत एक दुई वर्षको कुरा हो । मेरो गाउँको समाचार आयो दाजु–भाइ मिलेर आफ्नै पहलमा घर–घरमा मोटर बाटो पुर्याउने रे । हामी नबसेर घर ताला लागेको भए पनि राम्रो कुरामा समाजलाई हात दिनुपर्छ भन्ने मान्यताले एक दुई रुपैयाँ भए पनि पठाउने घर सल्लाह अनुरुप त्यो गरियो ।

केही महिना पश्चात् बिहान घाम झुल्किँदै थियो । गाउँबाट दिदीको फोन आयो । ‘भाइ तिमीहरूको घुरेनबारीमा डोजर लाग्यो है । हामीले गाउँलेहरूलाई बाबाबिन्ति चढाउँदा पनि उल्टो हामीलाई हातपात गरे ।’ दिदीको स्ष्टोक्ति थियो ।

त्यहाँ भएका सम्बन्धित केही व्यक्तिहरूसँग फोनमा कुरा गर्दा पनि विभिन्न बहाना बनाई व्यक्तिगत अनि पुर्खाले तुल्याइ दिएको सम्पत्ति माथि बिना मन्जुरी डोजर चलाए । त्यसो त गाउँ समाजले सल्लाह मागेको खण्डमा छाती ठूलो पार्ने वाला नै थियौँ । हामीमा बाटोको निम्ति अन्य विभिन्न बिकल्प थिए, त्यो कृषियोग्य आवादी जमिनबाहेक । तर त्यसो गरिएन र पनि हामी समाजको निम्ति भनेर मन बुझाएर बस्यौँ ।

के लोकतन्त्र भनेको गाउँबाट सहर गएर बसेकाहरूको आवादी जग्गामाथि मनोमानी ढंगले डोजर चलाउनु हो ? वा हामी गाउँघरमा पु¥याएको योगदानलाई धुलो सम्झिने गाउँले प्रवृत्ति हो ? यसो गरिरहँदा मलाई भाँडिएको समाजको आभास भैरहेको थियो भने त्यो समाजको अगुवाहरू लोकतन्त्रका अलोकतान्त्रिक नागरिक ।
मेरो व्यावसायिक बिदेश यात्रामा त्यो विकसित समाज र असल नागरिकहरू देख्दा, हाम्रो समाज र नागरिकसँग तुलना गर्न पुग्थेँ । म आफू के गर्दैछु र के गर्न सक्छु एक असल नागरिक बन्न भन्ने सोंचले चिमोटिरहन्छ ।

यसै सन्दर्भमा एक विदेश यात्राबाट फर्किदै गर्दा हाम्रो विमान स्थलमा ‘भिजिट नेपाल २०२०’ को बोर्ड देखियो । पर्यटन दिवस मनाइदैछ भन्ने फाट्टफुट्ट सुन्नमा आएको थियो । त्यो बोर्डले आगन्तुक स्वागत गर्दैगरेको देख्न पाउँदा खुसीले फोटो खिच्ने रहर जाग्यो । आफ्नो फेसबुकको वालमा पोस्ट गर्न पनि भ्याइयो (हेनुस् तस्बिर) ।

मेरो पोस्टले विभिन्न देश र विदेशका साथीसँगीहरू ‘पर्यटन दिवस’बारे सुचित पनि भए । थप जानकारी लिन पनि उत्सुक भए । त्यसैगरी कतै मौखिक र कतै त्यही फोटोलाई सेयर गर्दै विदेशी साथी तथा चिनेजानेका पाहुनाहरूलाई आफ्नो मुलुक घुम्न आउन प्रेरित गर्न कोशिस पनि गरियो । दुर्भाग्यवस कोभिड–१९ को महामारी संक्रमणले ‘नेपाल भ्रमण वर्ष’ परिकल्पनाको कोखमा नै सिमित रह्यो । मैले आफ्नो फेसबुकमार्फत् क्षमा मागे ‘सन् २०२० मा मेरो नेपाल प्रकृतिको सौन्दर्यले बिराजमान भएको अबलोकन गराउने प्रतिबद्धता जनाएको थिएँ तर त्यो अफ्सोचमात्र बन्न पुग्यो …सौभाग्यले आउँदो वर्ष ।

म यस मुलुकको सानो नागरिकको हैसियतले मैले गर्न सक्ने र मेरो दायित्व र कर्तब्य भन्नु नै समाज र सरकारले कोशिस गरेको राम्रो कार्यमा साथ दिनु हो । सहभागिता जनाउनु हो । एक असल नागरिकले पालना गर्नु पर्ने कर्तव्य निभाउनु पर्ने दायित्व यही नै हुन सक्ने मेरो बुझाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *