नेपालको विविधतालाई राष्ट्रिय गौरवको रुपमा र पर्यटकीय व्यवसायिक रुपले महत्वपूर्ण छ । ती विविधता भित्रका भाषा संस्कार र संस्कृतिको संरक्षणको कुरा उठाए निजको नामको अगाडि वा पछाडि जातिवादी उपनाम थपिदिने चलन नभएको होइन । तर यी कुराहरुको संरक्षण विना विविधतायुक्त देशको परिचयसमेत सदा बाँच्न सक्दैन । वास्तवमै कुनै निश्चित भाषा, धर्म, संस्कार र संस्कृतिको गहिराइभित्र पसेर अध्ययन गर्ने हो भने जीवनलाई अर्कै आनन्दको अनुभूति दिने रस र सौन्दर्यपन त्यस भित्र पाइन्छ । सिंगो मानव सृष्टिलाई जिउन पर्याप्त हुने अनेकन दर्शनहरु भेटिन्छन् ।
नेपालको इतिहासलाई भाषिक र सांस्कृतिक चस्माले हेर्ने हो भने राज्यले निश्चित धर्म संस्कारलाई प्रश्रय दिने र बाँकीलाई इतिहासमा समेत असंग्रहित हुने गरी सिलसिलावद्ध रुपमा पाखा लगाउने रणनीति पाइन्छ । देशभित्रका आदिवासी भाषा संस्कारहरु अतिक्रमणको चेपुवामा परिरहेको बेला एकाएक धार्मिक मिसाइलको रुपमा वैदेशिक धर्मद्वारा वैदिक सनातन धर्ममाथि आक्रमण र अतिक्रमण भैरहेको कुरा मुलुकमा अहिले चर्चाको विषय बनेको छ । हामीले बारम्बार भाषा संस्कार संस्कृतिमाथि भएको प्रहार, यसको महत्व अनि संरक्षणको कुरा उठाइरहेका नै थियौं । अब हाम्रो मुद्दा राष्ट्रिय मुद्दा भएको छ । सबै भाषा संस्कार संस्कृतिको संरक्षण विविधताको लागि अनिवार्य शर्त हो ।
नेपालको भाषिक र सांस्कृतिक विविधताको आकाशमा चम्किएका ताराहरुमध्ये एउटा ध्रुवतारा वाम्बुले भाषा र संस्कार पनि हुन् । भनौं जो आदिम कालदेखि अनवरत रुपमा बग्दै आएको एउटा नदी हो । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले वाम्बुले राईहरुको भाषा, संस्कार, संस्कृति, इतिहास(पहिचान)लाई विभिन्न माध्यमबाट डो¥याउँदै आएको छ । यस समाजले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्नको लागि संगठन र सञ्जाललाई विस्तार गरेको छ । विभिन्न परिस्थिति र घटना क्रमले थप संघसंस्थाहरु जन्मिने क्रम जारी छ । ती संस्थाहरुको वैधानिकता र जीवन प्रवाहको लागि निर्धारित विधि र कानून बमोजिम संचालन हुनुपर्ने आवश्यकता र बाध्यता छ । जस्तो, लिब्जु उपो सामाथान संरक्षण समाज, ढ्वाङ्कुमटार संरक्षण समाज आदि । त्यस्ता संस्थाहरुको जन्मले वाम्बुले राईहरुको मुख्य उद्देश्यमा टेवा पु¥याएता पनि समाजिक र सांगठनिक रुपमा एकाकार हुने विन्दु चाहिएको छ । तसर्थ समय भित्रै एउटा केन्द्रविन्दुको निर्धारण आवश्यकता छ ।
मुख्य कुरा के हो भने वाम्बुले राईहरुको श्रीवृद्धिको लागि विभिन्न संघसंस्थाहरुको जन्म सुखद भए पनि आम वाम्बुलेजनहरु सांगठनिक रुपमा विभाजित हुँदै जाने, वाम्बुलेसँग प्रत्यक्ष र परोक्ष रुपमा सरोकार राख्ने विषयउपर चिन्ता, चासो, बुझाइ र उद्देश्य समान भएपनि कार्यप्रणालीमा एकरुपता हुन नसक्ने कठिनाइहरु भविष्यमा देखा पर्न सक्ने भएको हँुदा ती सबै तहतप्का, भूगोलका संघसंस्थाहरुको साझा विन्दु (मुल कुडु) को निर्धारण गरेर अघि बढ्नु दुरदर्शी हुने देखिन्छ ।
उपाय के छ ?
वाम्बुले राई समाज सिंगो वाम्बुले राईहरुको सर्वोच्च संस्थाको रुपमा स्वीकार गरिएको छ । वाम्रासलाई वाम्बुले राईहरुसँग सरोकार राख्ने तमाम समाज वा संघसंस्थाहरुको महासमाज हुने किसिमबाट बाँकी संस्थाहरुको नीति, नियम र विधान तयार गर्न सकिन्छ । स्थापित भैसकेको संस्थाहरुको विधानलाई संशोधन गरी वाम्राससँग प्रत्यक्ष रुपमा जोड्न सकिन्छ । एउटा वडाभित्र संचालित सम्पूर्ण विद्यालयहरुको विद्यालय व्यवस्थापन समितिमा त्यस वडाको निर्वाचित वडा अध्यक्ष स्वतः पदेन सदस्य रहन्छ । देशको प्रधानमन्त्री देश भित्रका सम्पूर्ण विश्वविद्यालयहरुको कुलपति रहन्छ । त्यसरी नै वाम्बुले राईसँग सरोकार राख्ने संघसंस्था वा समाजको कार्यसमितिमा वाम्बुले राई समाजको अध्यक्ष स्वतः पदेन सदस्य हुने व्यवस्था सम्बन्धित संघसंस्थाको विधानमै व्यवस्था गर्नु सर्वोत्तम उपाय हुनेछ । विधि, विधान, पद्धति र कानूनी व्यवस्थाको सन्दर्भमा हामीले विभिन्न संघ, संस्था वा राज्य संचालन पद्धितिबाट समेत रिफ्रेन्स लिन सकिन्छ । अधिकार बाँडफाँडको कुरा होस् वा संगठनात्मक हाइरार्कीको कुरा । छलफल र सहमतिको माध्यमबाट अगाडि बढ्नु छँदैछ ।
नेपाल राज्य कै अधिकार बाँडफाँडलाई हेर्ने हो भने राष्ट्रिय गौरवका आयोजना सडक लगायतको कुरामा संघीय सरकारको अधिकार र जिम्मेवारी रहने । क्रमशः योजना आवश्यकताको आधारमा प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकारभित्र रहने व्यवस्था रहेको छ । त्यसैगरी समग्र वाम्बुलेहरुसँग सरोकार राख्ने संघ–संस्थामा वाम्रास केन्द्रीय कार्यसमितिको उपस्थिति रहने । जस्तो, लिब्जु उपो सामाथान संरक्षण समिति । ढ्वांकुमटार संरक्षण समिति आदि । साथै भावी दिनमा ओखलढुंगा, खोटाङको वाम्बुले आदिम बस्तीमा स्थापना हुने संस्थाहरुमा वाम्रास जिल्ला कार्यसमितिको उपस्थिति रहने । स्थानीय क्लब वा संस्थाहरु निमार्ण भएमा वाम्रास वडा कार्यसमितिको उपस्थिति रहने व्यवस्था गर्न सकिन्छ । अथवा वाम्बुले राई समाजको विधानमा व्यवस्था रहेको सांगठनिक संरचना अनुरुपको प्रतिनिधित्व रहने गरी सबैलाई समेट्दै गोलबद्ध भएर अगाडि बढ्न सकिन्छ ।
हामीले यस किसिमबाट संगठनहरुको कनेक्टिभिटी सेट गरेमा भाषा, संस्कार, संस्कृति, इतिहासको खोज अनुसन्धान केन्द्रहरु । भविष्यमा बन्ने भुम्जु उपो सामाथान संरक्षण समाज, दिभजु, त्याम्ली दह, साम्फा¥याम डाँडा जस्ता महत्वपूर्ण सयौं संघ–संस्थाको निर्माण जस्ता कार्यमा यस प्रणालीले ठोस रोडम्यापको रुपमा कार्य गर्छ । वाम्बुले राई समुदायको हितमा स्थापित यस्ता संस्थाहरुको चुस्तदुरुस्त र प्रभावकारी कार्यसंचालनले समुदायलाई उच्च प्रतिफल दिनेछ । साझा केन्द्र विन्दु वाम्रास रहेमा अन्ततः यस समाजले समग्र वाम्बुलेहरुलाई एउटै विन्दुमा एकतृत गरेर लानेछ । एउटा संजालभित्र रहेर अगाडि बढ्न सक्दा संगठनात्मक मजवुती र लक्ष्य प्राप्तिमा प्रभावकारिता आउनुको साथै आफूहरु बीचको एकता सदा उज्वल देखिन्छ । संस्थाहरुको काम, कर्तव्य, अधिकार र जिम्मेवारीका कुराहरु छलफलले निर्धारण गर्न सक्ने कुरा हो ।
वाम्बुले राई भाषाको कविता गोष्ठीमा स्थानीय क्लबहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिहेका छन् भने स्थानीय सरकारले समेत चासो देखाइरहेको बेला सम्पूर्ण सरोकारवाला संस्थाहरु एक भएर अगाडि बढेमा हाम्रा साझा अभियान मजवुत र प्रभावकारी हुनेमा कुनै शंका देखिँदैन । वाम्रास फराकिलो हुन समुदायको लागि हितकर छ । जनगणना प्रशिक्षण, भाषा गोष्ठी, संस्कार संस्कृतिको सम्मेलन होस् वा सो कुराहरुको संरक्षणको निम्ति बन्ने प्रतिष्ठानहरु वा स्वालेवा पार्क जस्ता विभिन्न सम्पदाहरुको निमार्ण होस् । यस्ता साझा उद्देश्यका लागि साझा बाटोको अवलम्बन आवश्यक छ र सम्भव पनि छ । जय वाम्रास ।
(लेखक वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्रीय कार्यसमितिको सचिव हुनुहुन्छ । यहाँ प्रस्तुत उहाँको निजी विचार हो । सम्पादक)