इतिहास विरासतमा तीन बायुङ राई व्यक्तित्व : भीसी अगमसिंह राई, राजनीतिज्ञद्वय बलबहादुर राई र गोपाल राई

मुख्य समाचार विचार / ब्लग

भीसी अगमसिंह राई, राजनीतिज्ञद्वय बलबहादुर राई र गोपाल राई
–गणेश वाम्बुले राई

नेपालको राजनीतिक इतिहासमा भेटिने पात्रमध्ये बलबहादुर राई र गोपाल राई अब्बल नाम हुन् । बलबहादुर राईले नेपालमा राणाशासनको अन्त्यदेखि गणतन्त्र बहालीसम्मको योगदान गरे भने गोपालले तीस वर्षे पंचायती शासन व्यवस्थाको अन्त्यका निम्ति गाउँघरको कुनाकन्दरका युवाहरूमाझ झिल्को बनेर भूमिका निर्वाह गर्दै गणतन्त्र भित्र्याइन्जेलसम्म नेतृत्व गरे । त्यसैगरी दोस्रो विश्वयुद्धमा ब्रिटिस गोर्खा फौजबाट लडेका अगनसिंह राई (गाउँघरमा अगमसिंह राई भनिन्थ्यो)ले सर्वोच्च पदक भिक्टोरिया क्रस (भीसी) हासिल गरे । यी तीनैजना व्यक्तित्व किरात राई जातिभित्र बायुङ कुल (जसलाई बाहिङ वा रुम्दाली पनि भनेर चिनिन्छ)मा जन्मिएका नक्षत्र हुन् । तिनै व्यक्तित्वबारे संक्षेपमा चर्चा गर्न लागिएको छ ।

१९ पटक कार्यबाहक प्रधानमन्त्री बलबहादुर राई
बलबहादुर राई नेपालको प्रजातान्त्रिक आन्दोलन र निष्ठावान राजनीतिज्ञका रूपमा परिचित व्यक्तित्व हुन् । मेलम्चीको पानी र काठमाडौं उपत्यकाको जनजीवनसित भरखरै जोडिएको छ । सिन्धुपाल्चोक मेलम्चीको पानी २०७७ फागुन २२ गते काठमाडौंको सुन्दरीजलमा मिसिन आइपुगेको छ । त्यतिखेर सायदै सम्झिए होलान्, बलबहादुर राईलाई । बलबहादुर राई आवास तथा भौतिक योजनामन्त्री छँदा खुबै चर्चाको विषय थियो– मेलम्ची खानेपानी आयोजना । उतिखेरका मन्त्री राईले संसदमा लिखित भाषण प्रस्तुत गर्दा ‘मेलम्ची खानेपानी’ भन्नुपर्नेमा ‘मेलम्ची रवानेपानी’ भनेर उच्चारण गर्दा हाँसोको विषय बनेको थियो ।


बलबहादुरको जन्म १९७७ फागुन ६ गते ओखलढुंगाको मोली–३ मा भएको थियो । बलबहादुर राई बायुङ÷बाहिङ राई परिवारमा नवलसिंह राई र भविमाया राईको साइँला छोराका रूपमा जन्मिएका थिए । उनी बायुङको तोलोचा पाछाका थिए । बायुङ÷बाहिङ भाषा र उनको मावलीको वाम्बुले भाषामा पित्रिबुझाउन सक्थे । यसो त नेता बलबहादुर राई छिमेकमा बोलिने मगर, तामाङलगायत भाषामा फरर भाषण गर्थे भने संस्कृत र खस–नेपाली भाषाको पनि ज्ञान राख्थे ।

२००४ सालदेखि जारी राणाशासनविरुद्धको भूमिगत आन्दोलनमा उनी संलग्न थिए । बलबहादुरले प्रजातन्त्रको निम्ति जेल, नेल मात्र भोगेनन्, सर्वस्वसहित भारततर्फ निर्वासनको जीवन पनि व्यतीत गरे । २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेस पार्टीका उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए ।

बलबहादुर राणाशासन, निर्दलीय पञ्चायत, राजतन्त्रदेखि गणतन्त्रसम्मका हरेक राजनीतिक घटनामा नेतृत्वकर्ता थिए । उनी ०४८ सालपछि दुई पटक निर्वाचित सांसद र एक पटक राष्ट्रिय सभाका सदस्य बने । तीन पटक मन्त्री तथा मन्त्रिमण्डलको ज्येष्ठताका आधारमा १९ पटक कार्यबाहक प्रधानमन्त्री भए । वरिष्ठ पत्रकार तथा कांग्रेसका नेता होमनाथ दाहाल निष्ठावान राजनीतिज्ञका रूपमा बलबहादुर राईलाई चर्चा गर्नुहुन्छ । दाहालकै शब्दमा साधारण शिक्षा हासिल गरेका राईले प्रजातन्त्रको मूल्य र मान्यतासँग कहिल्यै सम्झौता गर्नु भएन। मूलतः ०७ सालको क्रान्ति पूर्वी पहाडबाट सुरु भएको थियो र भोजपुर ओखलढुंगाका पढे लेखेका धेरै राईहरूले त्यसको नेतृत्व गरेका थिए । नेपाली कांग्रेस पार्टीको आह्वानमा क्रान्ति भएको थियो । तिनैमध्ये बलबहादुर राई एक हुनुहुन्थ्यो जो, प्रजातन्त्र माथि राजाबाट प्रहार हुँदा सधै अग्रपंक्तिमा रहेर संघर्ष गर्नु भयो । ०६२–६३ को जन आन्दोलनमा ८५ वर्षको उमेरमा पनि उहाँको सक्रियताले सम्पूर्ण स्वतन्त्रता प्रेमी युवाहरूमा ऊर्जा थपेको थियो उहाँको धरपकड राष्ट्रिय र अन्तर्राष्ट्रिय संचार माध्यममा विशेष चर्चाको विषय भएको थियो ।

२०६२ सालमा राजा ज्ञानेन्द्र शाहको पतनपछि पुनःस्थापित संसदमा उनले ज्येष्ठ सदस्यको हैसियतले सभामुखको जिम्मेवारी निर्वाह गरेका थिए । २०६७ असार २० गते नेता बलबहादुरको निधन भयो । उनको सम्मानमा सरकारले २०७३ सालमा दस रुपैयाँ मूल्यको हुलाक टिकट ‘बलबहादुर राई, राजनीतिज्ञ (विसं १९७७–२०६७)’ प्रकाशन गरेको छ । यिनै नेताको सम्झनामा ‘बलबहादुर राई स्मृति प्रतिष्ठान, २०६७’ संस्था गठन भई विद्यमान रहेको छ । उक्त प्रतिष्ठानले २०६८ सालमा ‘बलबहादुर राई स्मृति ग्रन्थ’ प्रकाशित गरेको पाइन्छ । साथै, प्रतिष्ठानले वार्षिक मुखपत्र ‘साम्थी’ (निष्ठा) नामक पत्रिका २०६८ र २०७० गरी दुई अंक प्रकाशित गरेको छ ।

बलबहादुर राईले ‘बाहिङ राईमध्ये तोलोचा थरको जन्मँदाको कर्मकाण्ड’, ‘बाहिङ राईहरूको विवाहकर्म’, ‘बाहिङ राईमध्ये तोलोचा थरेको मृत्युसंस्कार मुन्धुम’ लेखेका थिए भने उक्त लेख ‘लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकामा छापिएको पाइन्छ । ‘खारिएको घिउ मिठो हुन्छ, एक पटकको असफलताले जीवन कहिल्यै असफल हुँदैन’ भन्ने सद्विचार राख्ने राजनीतिज्ञ बलबहादुर राई इतिहास, हिन्दु धर्मशास्त्र, मुन्धुमका समेत जानकार थिए ।

राज्यमन्त्री गोपाल राई
गोपाल राईको जन्म ओखलढुंगा जिल्ला मानेभन्ज्याङ गाउँपालिका–१ (साबिक मोली गाविस वडा नं.३) मोली गाउँमा बायुङ/बाहिङ राई परिवारमा भएको थियो । उनी राजनीतिज्ञ बलबहादुर राईका माइला दाजु कुलबहादुर राईका जेठा छोरा थिए । पारिवारिक पृष्ठभूमि राजनीति तथा शिक्षाप्रति सचेत परिवारमा जन्मे हुर्केका गोपाल राई सुकुटे ज्यान अनि तार्किक र प्रभावशाली बोलीका धनी थिए । २०२६ सालमा त्रिचन्द्र कलेजमा पढ्दै गर्दा नेपाल विद्यार्थी संघमा आवद्ध भई प्रतिबन्धित अवस्थामा आन्दोलनमा संलग्न भएका थिए । न्युरोडबाट निस्किएको जुलुसको नेतृत्व गर्दैगर्दा प्रहरीले गिरफ्तार गरी डेढ महिना त्रिपुरेश्वरस्थित बन्दीगृहमा जेल हालिएका थिए ।

गोपाल राई

त्यसपछि गोपाल राई नेपाली कांग्रेस पार्टी संवद्ध तरुण दलका एक कुशल संगठक नेताका रूपमा चिनिए, सहरदेखि गाउँघरसम्म । पंचायतकालमा यिनै ज्यानधारी नेताले पूर्व ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, उदयपुर, रामेछापलगायत जिल्लाका युवाहरूको मनमा राजनीतिक चेतना र क्रान्तिको आगो सल्काएका थिए । त्यसको कडी ओखलढुंगा र सोलुको सीमानामा २०३१ सालमा घटेको ‘टिम्बुरबोटे काण्ड’ एक थियो । फलतः भनेर पंचायतकालमा ओखलढुंगा जिल्लालाई ‘५६ सहिद भूमि’ भनेर चिनाए ।

टिम्बुरबोटे काण्डपछि गोपाल राई ८ वर्ष भारतमा निर्वासित जीवन बिताएका थिए । २०३६ सालमा जनमत संग्रह घोषणा भएपछि २०३७ साल जेठमा जेल र निर्वासनमा रहेका राजनीतिज्ञले आम माफी पाएका थिए । राजनीतिक संगठन विस्तार, पटक पटक जेल, नेल, सर्वस्वहरण, निर्वासित जीवन बिताएका गोपाल राई एक अब्बल नेतृत्वकर्ता सावित थिए । २०४६ सालको शान्तिपूर्ण आन्दोलनमा गोपाल राई उदयपुरको गाईघाट जेलमा राखिएका थिए । सोही आन्दोलनले २०४६ चैत २६ गते राजाबाट बहुदलीय प्रजातन्त्र घोषणापछि जेलमुक्त भएका थिए ।

बहुदलीय प्रजातन्त्र घोषणापछि गोपाल राईले ओखलढुंगा र उदयपुर जिल्लालाई आफ्नो राजनीतिक थलो बनाउन चाहेका थिए । तर, पार्टीले उनलाई २०४८ सालको चुनावमा खोटाङ जिल्ला क्षेत्र नं.२ बाट प्रतिनिधि सभाको उम्मेदवार बनायो । उनी झिनो अन्तरले पराजित भए । २०५१ सालको मध्यावधि निर्वाचनमा उनलाई पार्टीले टिकट दिएन । उनी ओखलढुंगाको दुवै क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिए, तर विजय पाउन सकेनन् । २०५६ सालको चुनावमा ओखलढुंगा क्षेत्र नं.२ बाट पार्टीले उम्मेदवारी दिएपछि जितेर सांसद बने । सांसद भएलगत्तै सोही वर्ष चैतमा भूमि सुधार तथा व्यवस्था राज्यमन्त्री बने । २०५७ माघमा भएको मन्त्रीमण्डल पुनःगठनमा उनी अर्थ राज्यमन्त्री बनेका थिए ।

राजा ज्ञानेन्द्रले २०५९ असोजमा शेरबहादुर देउवा नेतृत्वका सरकारलाई निलम्बन गरी सत्ता हात लिएपछि दोस्रो जनआन्दोलनको लहर चल्यो । जनआन्दोलनमा गोपाल राईहरूको सक्रिय नेतृत्व रह्यो । अन्ततः २०६२/६३ को १९ दिने जनआन्दोलनको बलले राजा ज्ञानेन्द्र परास्त भए । देश नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो । त्यसपछि कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०६३ जेठ ११ गते मन्त्रिपरिषद गठन भयो । सो मन्त्रिपरिषदमा गोपाल राईले वन तथा भू–संरक्षण राज्यमन्त्रीको जिम्मेवारी पाए । विश्व वन्यजन्तु कोषले ताप्लेजुङ जिल्लाको घुन्सा क्षेत्रमा संचालन गरेका प्रकृति संरक्षण कार्यक्रम कन्चनजंगा संरक्षण क्षेत्र व्यवस्थापन परिषद सरोकारवालाई हस्तान्तरण कार्यक्रम राखेको थियो । सो कार्यक्रममा सहभागी भई फर्किने क्रममा राज्यमन्त्री राई र श्रीमती मीना राईलगायत स्वदेश तथा विदेशका २४ जना विशिष्टविज्ञहरू २०६३ असोज ७ गते हेलिकोप्टर दुर्घटना भई निधन भयो ।

साधारण जीवन र आफ्नो कर्ममा विश्वास गर्ने गोपाल राई धन सम्पत्ति जम्मा गरेर नराख्ने, अरुको दुःखमा आफूले मागेर भएपनि सहयोग गर्ने नेता थिए । त्रिभुवन विश्वविद्यालयबाट स्नातक शिक्षा हासिल गरेको राई विशेष गरी क्रान्तिका पुस्तक पढ्न मनपराउँथे । यिनै नेताको सम्झनामा ‘गोपाल–मीना राई स्मृति प्रतिष्ठान, नेपाल’ नामक संस्था विद्यमान रहेको छ । प्रतिष्ठानले ‘गोपाल–मीना राई स्मृति ग्रन्थ’ भाग–१, २०६४ असोजमा प्रकाशित गरेको पाइन्छ ।

भीसी अगनसिंह राई
पहिलो विश्वयुद्धमा नेपालका गोर्खाली सैनिकहरूले देखाएको वीरताको विश्वभर प्रसंशा अटल बन्यो । तत्कालीन गोर्खा अफिसर सर राल्प टर्नरले गोर्खाहरूको प्रसंशा गर्दै भनेका थिए, ‘वीरहरूका पनि वीर, उदारहरूका पनि उदार, तपाईंहरू भन्दा विश्वसनीय मित्रहरू भएको कुनै देश देखेको छैन ।’ पहिलो र दोस्रो विश्वयुद्ध र त्यसपछि बेलायतले लडेका हङकङ, मलेसिया, साइप्रस, बोर्नेओ, फोकल्यान्ड, कोसोबो हुँदै इराक तथा अफगानिस्तानमा समेत गोर्खाहरू लडेका छन् । दुई सय वर्षभन्दा बढी गोर्खा भर्तीको इतिहासमा १३ जना गोर्खा सैनिकहरूले ‘भिक्टोरिया क्रस’ (भीसी) पदक पाएका छन् ।


त्यसमा अगनसिंह राई एक हुन्, जसले सिंगो किरात राई जातिमै एक्लो बहादुर ताराका रूपमा रहेका छन् । अगनसिंह राई वि.सं.१९७७ वैशाखमा ओखलढुंगाको आपस्वारा गाउँमा रुम्दाली राईकुलमा जन्मिएका थिए । बुवा कीर्तिमान राई र आमा आशारिखा राईको सुपुत्र उनी रुम्दालीको खारायुल्चा पाछाका थिए ।

उनी सन् १९४१ मा ब्रिटिस–इन्डिया सैनिकमा भर्ती भए । १९४४ जुन २६ मा बर्माको बिसेनपुरमा शत्रुको गोलाबारीमाझ लडाइँको नेतृत्व अगनसिंहले गरेका थिए । शत्रुको मोर्चामा आक्रमण गरी पराजित गर्ने अदम्य साहस प्रदर्शन गरेवापत उनी सर्वोच्च पदक भीसीबाट सम्मानित भएका थिए । उतिखेर क्याप्टेन दर्जासहित भीसी वीरता पाएका राईले ‘नेपालको तीन (श्री ३) सरकारको तर्फबाट पनि ‘हामी बडो खसुशी छौं’ भन्ने पत्र प्राप्त गरेका बताएका छन् । २०५७ जेठ १४ मा उनको निधन भयो । बहादुरीको सम्मानमा बेलायत सरकारले अगनसिंहको मुहारअंकित हुलाक टिकट प्रकाशन गरेको छ ।

भीसी राईको २ छोरा र ३ छोरी छन् । जेठा छोरी रेवतीप्रसाद राई भारतीय सेनाका अवकाशप्राप्त कर्णेल रहेका हुन् । खोजकर्ता जुद्धबहादुर राईका अनुसार कर्णेल राई परिवार भारतको बागडुग्रामा बसोबास गर्छन् । कान्छो छोरा विक्रम राई ब्रिटिस गोर्खा सैनिकबाट अवकाश लिई बेलायतमा बसोबास गर्दै आएका छन् ।

भीसी राईको स्मृतिमा ठोस कामहरू केही गरिएको छैन । ब्रिटिस गोरखा सैनिक संघ (गेसो)ले आफ्नो प्रकाशन ‘गोर्खा सैनिक आवाज’ मासिक (वर्ष ८, अंक १२, चैत २०५६, मार्च–अप्रिल, २०००)मा आवरण तस्बिर र भीसी राईको बारेमा लेख प्रकाशित गरेको पाइन्छ । किरात राई यायोक्खाले भीसी राईको तस्बिर अंकित भित्तेपात्रो प्रकाशित गरेको छ । भीसीको तस्बिर अंकित यी दुवै प्रकाशनका निम्ति यायोक्खा केन्द्रीय कार्यसमितिका तत्कालीन कोषाध्यक्ष पुरन्जन राईले गरेका थिए । किरात राई यायोक्खा जिल्ला कार्यसमिति ओखलढुंगाले भवन निर्माण गरी ‘भीसी अगनसिंह राई स्मृति कक्ष’ निर्माण प्रक्रिया अघि बढाएको निवर्तमान अध्यक्ष दीपेन्द्र रुम्दाली राईले जनाएको छ । वीर गोर्खालीको शान भीसी अगनसिंह राईको स्मृतिमा सरकार र सम्बन्धित समुदायले चासो दिन सकेको पाइन्न ।

यी ३ व्यक्तित्वको भाषिक समुदायको चासो कता ?
२०४६ सालको राजनीतिक परिवर्तन र नेपाल अधिराज्यको संविधान, २०४७ जारी भएपछि संघसंस्था खोल्ने, जाति, भाषा, संस्कार, संस्कृति संरक्षण तथा मातृभाषामा पत्रपत्रिका प्रकाशन गर्ने लगायतका स्वतन्त्रता मिल्यो । नेपालको अन्तरिम संविधान, २०६३ र नेपालको संविधान (२०७२)ले त्यो स्वतन्त्रतालाई अझ प्रवद्र्धन गरेको अवस्था विद्यमान छ ।

यस आलेखमा उल्लेखित तीनै जना व्यक्तित्व किरात राई जातिको प्रतिनिधित्व गर्ने पात्र हुन् । समुदायमा आफूलाई बायुङ राई, रुम्दाली राई भन्दछन् । लिखतमा कतै बाहिङ, बायुङ, रुम्दाली, नेचाली, बनुङ, बाइङ, बायङ, रेके भन्ने गरिएको पाइन्छ । कुनै पनि जातिको समग्र पहिचान भनेको मौलिक आदिम भूमि, मातृभाषा, साहित्य, संस्कृति प्रमुख हुन् । बायुङ भाषा, मुन्धुम संस्कृति, संस्कार परम्पराको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यले सामाजिक संस्था जन्माइएका छन् ।

बाहिङ किरात मुलुखिम नामक संस्था (सन् २००४, जुलाई ११ मा) काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता प्राप्त छ । यो संस्थाले ‘बाहिङ राई जाति’को सट्टा किरात ‘बाहिङ जाति’ भनेर अघि बढेको देखिन्छ । मुलथलोमा रहेका बाहिङले आफूलाई बायुङ राई भनेर चिनाउने गरेका छन् । सायद त्यसैले हुनसक्छ २०७७ सालमा आएर किरात बायुङ राई सुम्निखिम नामको अर्को संस्था गठन भएको छ । एउटै उद्देश्य, एउटै लक्ष्यका दुई संस्था आपसमा ‘राई’ शब्दलाई लिएर समाज विभाजित गरेर अघि बढेको देखिएको स्थिति छ । इतिहासको संरक्षण गर्ने हो भने यसरी निश्चिन व्यक्तिको स्वार्थ अनुकुल बनाएर समाज विच्छेद तुल्याउनु मनासिव होइन । यदि पुर्खाको विरासतलाई निरन्तता दिने हो भने माथिका तीन व्यक्तित्वहरूको इतिहास बच्ने छ । यसैगरी विश्वको सर्वोच्च शिखर चोमोलुङ्मा आरोहण गर्ने पहिलो किरात राई इन्द्रबहादुर राई पनि ओखलढुंगाकै बाहिङ राई हुन् । उनी बाहिङ जाति भएर चोमोलुङ शिखरको सफल आरोहण गरेको रेकर्ड पाइन्न ।

बाहिङ किरात मुलुखिम

राईको इतिहास मेट्ने नै हो भने ‘१९ पटक कार्यवाहक प्रधानमन्त्री बलबहादुर बाहिङ’, ‘पूर्वराज्यमन्त्री गोपाल बाहिङ’, ‘भीसी अगनसिंह बाहिङ’, ‘सर्वोच्च शिखर चोमोलुङ्मा आरोही इन्द्रबहादुर बाहिङ’ भनेर कुन रेकर्डमा खोज्ने ? सवाल गम्भीर छ । यसतर्फ बाहिङ किरात मुलुखिम र किरात बायुङ राई सुम्निखिमका जिम्मेवार पदाधिकारी सदस्यहरूले समाज र पुर्खालाई साक्षी राखेर एकीकृत ढंगले अघि बढ्न जरुरी छ ।

किरात बायुङ राई सुम्निखिम

बाहिङ होस् या बायुङ भाषा, तुम्लो (मुन्दुम) संस्कृतिको संरक्षण गर्ने त्यही एउटै समाजले हो । इतिहासप्रति गौरवगान गर्ने त्यही समाजले हो, जसलाई समुन्नत तुल्याउनु वर्तमान पुस्ताको हातमा छ । छिमेकी वाम्बुले राईले भन्ने यत्ति हो कि तपाईहरू व्यक्तिगत निर्णयभन्दा माथि उठेर इतिहासको विरासतलाई स्वामित्व लिनबाट आफैंले आफैंलाई बन्चित नगराउनु होस् । इतिहास पढेर जानिन्छ, फर्काएर आफू अनुकुल बनाउन सकिन्न । एक पटक निर्माण भएको इतिहास नष्ट हुनबाट जोगाउन सकिन्छ तर सच्याउन सकिंदैन । इतिहासमा कोरिएको सुनाम, थर वा जातिलाई पुनःस्मरण गर्न सकिन्छ तर बिर्सिन खोज्नु पुर्खा प्रतिको अपमान हो ।

आनिमोखोला । धन्यवाद ।

मानेभन्ज्याङ–६, ओखलढुंगा, प्रदेश–१, नेपाल ।
हाल– ललितपुर महानगरपालिका–१४, नखिपोट, वाग्मती प्रदेश ।

Leave a Reply

Your email address will not be published.