खुवालुङ : किरात जातिको सांस्कृतिक आस्थाको केन्द्र

मुख्य समाचार विचार / ब्लग

खुवालुङ : किरात जातिको सांस्कृतिक आस्थाको केन्द्र
शालिक शातासक राई

विषय प्रवेश
मुन्दुमी आस्थाको धरोहर खुवालुङ अहिले भत्काउने÷मास्ने कि बचाउने भन्ने बहस चलिरहेको छ । यो सँगै किराती मुन्दुमी शक्ति केन्द्रको अस्तित्व निकै संकटमा पर्दै गएको देखिन्छ र किरातीहरू बिकास बिरोधी पनि हुन् कि भन्ने भ्रम चल्नु स्वाभाविकै हो । विकासको नाम कुनै जातिको आस्था र विश्वासको धरोहरलाई नष्ट गर्नु मानव अधिकार सम्मत पनि देखिदैन । त्यसैले यहाँ किराती समुदाय, खुवालुङको ऐतिहासिक पक्ष, महत्व, मुन्दुमी व्याख्या आदि बारे व्याख्या गरिनेछ ।

किरात
किरात – इतिहास (जम्मा शासनावधि –१९६३ वर्ष ८ महिना(करीब २००० वर्ष) भएका, नौलाख किराती) ।
किरात – भूगोल (तत्कालीन वल्लो किरात, माझ किरात र पल्लो किरात र यस क्षेत्रमा भएका प्रसिद्ध गढीहरू चौदण्डी, हतुवा, विजयपुर, सागुरी, मझुवा आदि) ।
किरात– महाजाति (राई, लिम्बु, याक्खा, सुनुवार, हायु, जिरेल, सुरेल, थामी ।
किरात – युग, सभ्यता ।
प्रागऐतिहासिक स्थल : खुवालुङ (किराती पुर्खाहरू छुट्टिएको स्थल आजका लिम्बु, राई, याक्खा र कोइँच–सुनुवार)हरूले तमोर, अरुण, दुधकोशी र सुनकोशी पछ्याइ गएका थिए भनिन्छ ।
धार्मिक तथा सांस्कृतिक : किराती मुन्दुम ÷सस्कार सस्कृतिहरूमा अनिवार्य अनिवार्य अनिवार्य उल्लेख हुने ।
अवस्थिति : त्रिवेणी (दुधकोशी, अरुण, तमोरको संमस्थल) भोजपुर, उदयपुर, धनकुटा र सुनसरीको सिमाना ।
शाब्दिक अर्थमा : भाषावैज्ञानिक दृष्टिले कु÷खु = पानी वा नदी; वा= पानी बुझाउँछ भने लुङ= ढुंगा हुन्छ । यो बिन्दूमा पानी बुझाउने शब्द खु र वा आएका छन् भने यहाँबाट क्रमशः वा प्रत्यय लागेका र खु प्रत्यय लागेका खोलाका नामहरू सुरू हुन्छन् । जस्तैः संखुवा, इखुवा, चिर्खुवा, पिखुवा, सावा, लेगुवा, अपसुवा, केकसुवा, पिलुवा, केवा, लिखु, बल्खु, काकु आदि ।
शब्द निर्माण ः किराती भाषामा खु+वा+ लुङ = खुवालुङ, पानीभित्रको ढुंगा भन्ने बुझिन्छ ।

खुवालुङ क्षेत्रको ऐतिहासिकता
समाजविज्ञानलाई हेर्दा मानव जातिको विकास र इतिहास नदीनाला, खोलाहरूको किनारहरूबाट भएको देखिन्छ । किराती सभ्यताको विकास हुने क्रममा ऐतिहासिक स्थल खुवालुङ क्षेत्र पनि एक हो । यस क्षेत्रको बराह क्षेत्र, कोकाहखोला, चतराघाट, आदि किराती सामरिक महत्वको स्थल हो र राजनितिक महत्वको ऐतिहासिक तथा पुरातात्विक मैनामैनी गढी हुन् । सप्तकोशी किनारका यो क्षेत्रमा किरातीहरूले लामो समयसम्म राजकीय सत्ताको अभ्यास र विकास गरेका थिए । त्यसको केन्द्र भनेको वर्तमानको बेलका गढी हो ।

लामो समय सप्तकोशी किनारमा स्थापित गरेको शासनको यो केन्द्रसँग सांस्कृतिक हिसाबले सम्बन्धित छ । अहिले पनि पुरातात्विक अवशेष पाउन सकिन्छ भने मैनाराजा मैनारानी भन्ने चर्चित गीत अहिले नि सुन्न सकिन्छ । त्यसैगरी बराह क्षेत्र पनि किरातीहरूले स्थापना गरेको प्रागऐतिहासिक स्थल हो । यो क्षेत्रको स्थापना किरातहरूले गरेका हुन् तर पछिल्लो समयमा हिन्दूकृत भएको प्रमाणहरू पाइन्छ । आठपहरिया राईहरूले अहिले पनि जहाँ जसरी मृत्यु भए यो बराह क्षेत्रको कोकाह खोलामा आई अन्तिम मृत्यु संस्कार गर्दै आएका छन् ।

मुन्दुममा नियामादेखि खुवालुङसम्म
किराती समाजमा मुन्दुम अति नै महत्वपूर्ण जीवनदर्शन हो । यसले नै सम्पूर्ण मानव जीवनलाई दिशा निर्देशित गर्दछ । भनौं किराती समाजको जिवन पद्धति नै मुन्दुममा निर्धारित हुन्छ । मुन्दुममा नियामा (हाङ्गो र याङ्सी एलो रिभर नदीको बिच भागमा पर्ने उपत्यका मैदान) लाई व्याख्या गरिएको पाइन्छ । नियामाको विशेषताहरू क) कागुनी फलाएको ठाउँ । ख) अजिङ्जार पुजा गरेको ठाउँ ग) चुल्होको पुजा गरेको ठाउँ । नियामा पछि पैतिकलाम – जोजुलालाम – खैबरलाम – जामबुमालाम– हुँदै योला नाग पुजा र जिमाला सिमाला भएको ठाउँमा आइपुगियो । त्यसपछि नाकिह÷दिल्लिह त्यसपछि थारुह÷बादिह भन्ने ठाउँमा आइ पुगियो । अनि खुवालुङ क्षेत्रमा प्रवेश गर्छौ । र यो क्षेत्रमा हजारौं वर्ष व्यतित भएकाले किरात प्रागऐतिहासिक सभ्यताको उद्गम स्थल खुवालुङलाई मानिन्छ ।

किरात एउटा सभ्यता हो । सभ्यताभित्र हजारौँ वर्ष व्यतित हुने भएकोले यसमा त्यस जातिको भौतिक विकासको इतिहास जीवित रहेको हुन्छ । भौतिक सम्पन्नताको सूचक मानव जातिको सभ्यता हो । यसको अभिव्यक्ति मानिसको रहनसहन, भेषभूषा र व्यवहारबाट हुन्छ । किरात सभ्यता आदिम आधुनिक नायकहरू पुर्खाहरू हेच्छाकुप्पा, रैछकुले र दिदीबहिनी तयामा– खियामाबाट प्रारम्भ भएको मानिन्छ । तर यो आधुनिक युगभन्दा आदिम पुर्खाहरू मुकुबुङ जेठा (भोटे), हर्कबुङ (किरात) माइला र रिब्लबुङ (थारू) कान्छा तीन दाजुभाइ पुर्खाहरू मानिन्छ जसले हजारौ वर्ष यही खुवालुङ क्षेत्रमा बिताएका थिए । किरात सभ्यताले घर निर्माण र खेतीपाती आधुनिक राज्यको प्रादुर्भाव सम्मको विरासत बोकेको पाइन्छ । यी खुवालुङ किरात सभ्यताको प्रतीक हुन् । सभ्याताको गर्भबाट नै भाषा, धर्म, लिपि, सस्कार– सस्कृतिको विकास भएको हुन्छ । साथै लामो समयसम्म राजकीय अभ्याससमेत गरेको पाइछ ।

आदिम किरात पुर्खाहरू छुट्टिएको स्थल
खुवालुङ (आजका लिम्बु, राई, याक्खा र कोइँच–सुनुवार)हरूले तमोर, अरूण, दुधकोशी र सुनकोशी पछ्याइ गएका थिए भनिन्छ । मानव विकासको सभ्यता आदिम पुर्खाहरू मुकुबुङ (भोटे) जेठा, हर्कबुङ (किरात) माइला र रिब्लबुङ, थारू (खम्बुहाङ÷मेत्नाहाङ) कान्छा तीन दाजुभाइहरू थिए । जब उनीहरू खुवालुङ थिए त्यो ढोका बन्द थियो ,जेठा मुकुबुङ्ले केकी (जुरेरी) चराको भोग दिएपछि ढोका खुल्यो र पार गरे तर माइला भाइ हर्कबुङ भने पार गर्न सकेन । अनि दाइलाई सोध्दा रगत पार्नु अनि तर्न सकिन्छ भनेपछि हर्कबुङले आफ्नो साथमा भएको चेलीको खुट्टाको कान्छी औंला मागेर काटी रगत दियो र पार ग¥यो । तर चेलीको रगत रोकिएन । बाटोमा जाँदै गर्दा चेलीको रगत केराको पातमा खस्यो र बाख्राले खायो । तुरून्त चेलीको मृत्यु भयो । त्यसैले राईहरू बाख्रा कुलपित्रमा चलाउँदैनन् र मासु खान नहुने जनविश्वास छ ।
समय कालान्तरमा कान्छा रिब्लबुङ त्यहाँ पुग्दा पार गर्न सकेन । दाइहरू कता गयो भन्ने कुरा पनि पत्ता लगाउन सकेन किनकि दाइहरूले केरा बोट काट्दै संकेतका रूपमा छोड्ने गथ्र्यो । तर त्यहाँ पुग्दा केरा पूरा उम्रिसकेको थियो । उनी त्यसपछि तराईतिर नै बसोबस गरे । जेठा मुकुबुङको सन्तानले कहुँदै हिमाली भेगसम्म पुगेर हिमाल काट्न नसकेर हिमाल आसपास नै बसोबास गरे । माइला हर्कबुङको सन्तानहरू कोही सुनकोशीको किनारमा आसपासमा बसोबास गरे । उनीहरू सुनुवार भयो । कोही दुधकोशी पाछा हुँदै सोलुखम्बुको आसपासमा बसोबास गरे । कालान्तरमा राई भाषिक समूहको कुलुङ, चाम्लिङ, थुलुङ, बायुङ, खालिङ, वाम्बुले, बान्तावा, दुङमाली, साम्पाङ, दुमी, नाछिरिङ भए । कोही अरुण नदी पछ्याउँदै संखुुवासभा, क्षेत्रमा बसोबास गरे । कालान्तरमा उनीहरू याक्खा, मेवाहाङ, याम्फु, लोहोरुङ राई भाषिक समुदायमा भए । कोही तमोर नदी पछ्याउँदै त्यसको आसपासमा बसोबास गर्न थाले, उनीहरू लिम्बु समुदाय । त्यसैगरी आठपहरिया, छिलिङ, छिन्ताङ, मुगाली आदि राई भाषिक समूह भए भन्ने इतिहासहरूको दस्ताबेजमा उल्लेख छ ।

मुन्दुमी शक्ति केन्द्रको रूपमा स्थापित : खुवालुङ
किराती समाजको जिवनदर्शन मुन्दुम हो । यसले नै सम्पूर्ण मानव जीवनलाई दिशा निर्देशित गर्दछ । भनौं किराती समाजको जिवनपद्धति नै मुन्दुममा निर्धारित हुन्छ । उक्त खुवालुङ हाम्रो मुन्दुमी नक्छोङ, धामी, माङपाहरूले आफ्नो धार्मिक कार्य गर्दा खुवालुङमा आएर शक्ति आर्जन गरी आफ्नो कार्यसिद्धि गर्ने गर्दछन् । किराती नोछुङ तयामी रिसिमी मुन्दुमी रिसिया भन्ने र गाउने बेलामा उनीहरू नियामा अर्थात् मधेशबाट हिमाल हिमचुलीतिर जाने गर्दछन् अर्थात् पहाड पर्वततिर अर्थात् आफू बसेको थातथलोमा आउनको लागि सप्तकोशी नदी पछ्याउँदै आउँछन् । सप्तकोशीको मिलनविन्दु त्रिवेणीमा आइपुगेपछि खुवालुङमा बिसाउँछन् । र के कस्तो हुन्छ ? भविष्यमा भनी जोखाना हेर्ने गर्दछन् । थकाइ मरेपछि फेरि अगाडि बढ्छन् । खुवालुङबाट भने धामी तथा बिजुवाहरूका बाटो फाट्छ अर्थात् छुट्टिन्छ । दुधकोशी नदीलाई पछ्याउँदै जाने कि अरुण नदीलाई पछ्याउने वा तमोर नदीलाई पछ्याउने हो ? यो कुरा धामी बिजुवाले बसोबास गरेको ठाउँ वा बिरामी बसोबास गरेको स्थानले निर्धारण गर्दछ । उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुतिर बसोबास गर्ने धामी बिजुवा वा दुधकोशी नदी पछ्याउँदछन् । त्यसपछि आफ्नो थातथलोबाट आउने खोला पछ्याउँदै गाउँ प्रवेश गर्दछन् ।

जस्तैः साप्सुवा खोला, मखुवा खोला, इर्खुवा, चिर्खुवा, अपुवा आदि खोलाहरू पछाउँदै जान्छन् । धनकुटा, तेह्रथुममा बसोबास गर्ने राई धामी र बिजुवाहरूले तमोर नदी पछ्याउँदछन् । भोजपुर र संखुवासभामा बसोबास गर्ने राई धामी तथा बिजुवाहरूले अरुण नदी पछ्याँउदै आई गाउँबाट आउने खोला पछ्याउँदै गाउँ पुग्दछन् । थातथलोबाट आउने खोला पछ्याउँदै गाउँ पुग्दछन् । आठपहरिया राईले बराहलाई माङ (देब) प्रतीकको रूपमा लिई मृत्यु संस्कार गर्नु अहिले धनकुटाबाट पैदल हिंडेर आउने गर्छन् । तर अन्य राईहरू भने आफ्नो संस्कारलाई परिमार्जित गरी मुन्दुममा मात्र आउने गर्दछन् । यो ढुंगा किराती नोछुङ÷बिजुवाहरूले मुन्दुमी शक्ति केन्द्रको रूपमा लिने गर्दछन् । यो ठाउँ अति प्राचीन र ऐतिहासिक भएकाले किरात राईहरूले यसलाई आफ्नो साँस्कृतिक प्रतीकको रूपमा अपनत्व ग्रहण गरेको छ । यसरी वर्तमानमा मुन्दुमी मार्गको रूपमा पनि स्थापित भएको देखिन्छ ।

प्रागऐतिहासिक राजकीय अभ्यास गरेको स्थलः खुवालुङ क्षेत्र
मानव सभ्यताको विकास खोला किनार, नदीहरूको किनार क्षेत्रबाट विकास भएको देखिन्छ । खुवालुङ नदी किनार पर्दछ । इतिहसकार जीपी सिंहका अनुसार यस क्षेत्रमा बेलका कोट पर्दछ । यस कोटमा भिम भन्ने किरातीले राज्य गर्दथ्यो । राजकीय अभ्यास लामो समय गरेका थिए । जसको भग्नावशेषको रूपमा मैनामैनी गढी अहिले पनि छँदैछ । मैनाराजा मैनीरानीको बारे धेरै गीत संगीत बनेको छ । चर्चाको शिखरमा पुगेको छ । अहिले उत्खनन गर्ने हो भने पुरातात्विक सामरिक महत्वको गढी पाउन सकिन्छ । यो क्षेत्रमा करिब १५०० वर्ष पहिले मात्र अन्य जातिहरूको प्रवेश देखिन्छ । संस्कृतिविदहरूका अनुसार बराहा क्षेत्र पहिले किरातहरूले नै स्थापना गराएको थिए । बिष्णुपादुकाको सुलिकोट, सुर्यकुण्ड आदिसँग पनि सामरिक महत्व राख्दछ । तर पछिल्लो समय अन्य समुदायको प्रवेश भएपछि सांस्कृतिक अन्तर्घुलन भई अहिले किरातहरू यो क्षेत्रबाट बिस्थापित भएको देखिन्छ । किरातहरूको प्रागऐतिहासिक राजकीय अभ्यासको स्थल हो ।

खुवालुङको कस्तो अवस्थामा छ त वा कुन हो त ?
किराती आस्था र धरोहर बोकेको खुवालुङलाई पछिल्लो समय तामेढुंगा (तामाको आकार र रङ भएकोले) र कहिले काहीं ज्यानमारे (ज्यान पनि अभर परेर मरेको हुन सक्छ त्यस कारण) ढुंगा पनि स्थानीय क्षेत्रमा भन्दछन् । यो दुवै तर्क र नामाकारण बिच कुनै सत्यता छैन । यसको ऐतिहासिकता महत्व थाहा नभएरमात्र यस्तो भनिएको देखिन्छ । मुन्दुममा वर्णित खुवालुङ नोछुङहरूका अनुसार पानीभित्र छ र हिउँदताका पानी घट्दा कोशीको बहाव कम हुँदा केही भाग देखिन्छ । तर वर्षादको समयमा यो भाग देखिदैन । यो पानीभित्र भएकाले यसको महत्व छ किनकि किराती मुन्दुममा नोछुङहरू रिसिया गाउँदै पानीलाई मुलबाटो बताउँछन् । यदि पाखाको भए खोलामा कयौ यस्ता ढुंगोहरू छन्, जुन मुन्दुममा वर्णन पाइन्न । माङपा, धामी बिजुवाहरूले खुवालुङलाई अदृश्य मुत्दुमी ढुंगा हो भनेको पाइन्छ । रिसिमी, तयामी, नोछुङहरूका अनुसार त्रिवेणी संगम स्थलको विशाल पानीको बहावमाझ ठूलो ढुंगाको टुप्पो देखिन्छ, त्यसैलाई खुवालुङ हो भनेर विश्वास गर्दछन् । यसरी दृश्य र अदृश्य जस्तो भए तापनि खुवालुङप्रति किरात राई जातिको अगाध आस्था रहेको पाइन्छ । यो तमोर नदी मिसिएपछि समुद्रमा देखिने ढुंगा हो किनकि यो पार गरेपछि मात्र आदिम पुर्खाहरू कोही तमोर किनारै–किनार, कोही अरुण, कोही दुधकोशी भएर बाटो लागेको देखिन्छ । यसबारे कुनै भ्रम पर्नु आवश्यक छैन ।

खुवालुङ क्षेत्र संरक्षण समिति गठन
मुन्दुमी आस्थाको केन्द्र खुवालुङ बाचाऔ अभियानमा अहिले सरोकारवाला संघ–संस्थाहरू किरात राई यायोक्खा (किराया) लगायत विभिन्न संस्थाहरू अग्रसर भएका छन् । किराया सुनसरीको अध्यक्ष श्री बलराम राई नेतृत्वमा अहिले १७ सदस्यीय संरक्षण समिति बनेको छ । जसमा किराया धनकुटा, किराया भोजपुर, किराया उदयपुर, किरात धर्म संघघ लगायत सबैको सहभागिता रहेको छ । जसले खुवालुङ बचाऔं अभियानले राज्यको विभिन्न तहमा आ–आफ्नो माग तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम गर्दै आएको छ ।
त्यसैगरी एकयवद्धता जाहेर गर्दै आन्दोलनरत अन्य सस्थाहरू तपशिल रहेका छन् । किरात राई यायोक्खा, किरात धर्म संघ नेपाल, किरात राई सांस्कृतिक कलाकार संघ, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज सेवा, किरात याक्खा छुम्मा, याम्फु किरात समाज, किरात राई सुम्निमा संघ, किरात राई विद्यार्थी संघ, आदिवासी जनजाति साहित्यकार महासंघ, बृहत् नागरिक आन्दोलन लगायत छन् ।

अबको बाटो,
खुवालुङ क्षेत्र बृहत्तर गुरूयोजना बनाई संरक्षण गर्नुपर्ने । धार्मिक पर्यटकीय क्षेत्रको बिकास गर्नुपर्ने । हिन्दू समुदायको पशुपति, मुस्लिमहरूको मक्कामदिना, क्रिस्चियनहरूको जेरूसेलम जस्तै किरातहरूको खुवालुङ विकास हुनुपर्ने ।
किराती आस्था र धरोहर बोकेको खुवालुङ सबैको साझा सम्पदा हो । यसको ऐतिहासिक, सामरिक महत्वको आफ्नो गौरवमय इतिहास छ । तर यसको अस्तित्व पछिल्लो समयमा संकट पर्दै आएको देखिन्छ । आदिवासी समुदायको आस्था विश्वास माथि राज्यबाट पटक पटक प्रहार हुँदैआएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन ८ मा विराटनगर पुगेर सप्तकोसीस्थित खुवालुङलाई ‘क्रेन लगाएर फुटाउने’ अभिव्यक्ति दिए । उनले भनेका थिए, ‘त्यहाँ बाधा भएको एउटा ढुंगो, त्यसलाई क्रेन लगाएर फुटाउँदै छौं र नदीको बाटो क्लियर गर्दै छौं स्टिमरका लागि ।’ हो, राज्यका कार्यकारीको यही अभिव्यक्तिले किरातीहरूको मर्ममाथि प्रहार हुन पुगेको छ ।

आदिवासी समुदायसँग सामरिक–सांस्कृतिक महत्व राख्ने मौलिक सम्पदाहरू ऐतिहासिक तथा पुरातात्विक ठाउँलाई मास्ने अभिव्यक्ति ज्यादै दुःखद कुरा हो । यसैको परिणाम स्वरूप खुवालुङ अस्तित्वको बहस आज चलिरहेको छ । तर किरातीहरू विकास बिरोधी हुन् भन्ने ठान्नु गम्भीर गल्ती हुनेछ । किरातीहरू विकास प्रेमी, न्याय प्रेमी पनि हुन् र उनीहरूको अस्तित्व पहिचान पनि जोगिनु पर्छ । यही नेपाली माटोको सुगन्ध बोकेका किरात जातिको अस्तित्वमाथि धावा बोल्नु आफैंमा अपराध हो । यदि व्यवहार क्रेन चलाइएमा त्यसको परिणाम उल्टो हुनसक्छ ।

(लेखक किरात राई सास्कृतिक कलाकार संघ केन्द्रीय उपाध्यक्ष, किरात राई प्रज्ञा–परिषदका सदस्य, खुवालुङ क्षेत्र सरक्षण समितिका सल्लाकार हुनुहुन्छ ।)


(‘इक लिब्जु–भुम्जु’ त्रैमासिक वर्ष ७ अंक ११, पूर्णाङ्क ८४, २०७७ माघ–चैत (किरात येले संवत् ३८००÷सन् २०२१)मा प्रकाशित लेख यहाँ प्रस्तुत गरिएको हो । सम्पादक)

 

Leave a Reply

Your email address will not be published.