युवा वैज्ञानिक डा. कमल राई भन्नुहुन्छ– ‘चीनमै स्थायी जागिर, अपार्टमेन्ट किन्ने र सिटिजनसिप लिने प्रस्तावलाई छोडेर स्वदेश फर्केको छु’

विचार / ब्लग

अन्तर्वार्ता :

चीनमै स्थायी जागिर, अपार्टमेन्ट किन्ने र सिटिजनसिप लिने प्रस्तावलाई छोडेर स्वदेश फर्केको छु : युवा वैज्ञानिक डा. कमल राई

डा. कमल राई बायोकेमेस्ट्री र मोलेकुलर बायोलोजी विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल युवा वैज्ञानिक हुनुहुन्छ । चीनको युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेस् (युसीएएस)बाट सन् २०२० मा उपाधि हासिल गर्नुभयो । त्यसअघि त्रिभुवन विश्वविद्यालयबाट माइक्रोबायोलोजी विषयमा स्नातकोत्तर एमएस्सी प्रथम श्रेणी हासिल गरेपछि विद्यावारिधिको ढोका खोलेका हुन् । उत्कृष्टताकै कारण चीनको युनिभर्सिटीबाट छात्रवृत्ति (प्रेसिडेन्टस् फेलोसिप २०१६ अवार्ड) पाएर पीएचडी अध्ययन अवसर पाउनु भएको थियो । त्यसअघि त्रिविबाट बिएस्सी र आईएस्सी गरेका थिए । उहाँ विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्ने सम्भवतः पहिलो वाम्बुले राई हुनुहुन्छ । कमलको दर्जनभन्दा बढी अनुसन्धानात्मक लेखहरू विभिन्न युनिभर्सिटीका जर्नलहरूमा प्रकाशित छन् । विषयगत प्रयोगशालामा प्राविधिक कार्य क्षमतासमेत पारंगत उहाँले त्रिवि र पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापनसमेत गर्नु भएको छ । उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कन्फरेन्स र सेमिनारमा सहभागी भएर विषयगत कार्यपत्र प्रस्तुत गर्नु भएको छ ।

परिवारका साथमा डा. राई

डा. कमल राई वाम्बुले लुवारी पाछाको हुनुहुन्छ । वि.सं.२०४४ वैशाख ३ गते मानेभन्ज्याङ गाउँपालिका (साबिक उँबु–३) सिखाईमा जन्मिनु भएको हो । उहाँ बुवा वरिष्ठ अधिवक्ता हर्कबहादुर राई र आमा खिमा राईको जेठो छोरा हुनुहुन्छ । कान्छो भाइ डा. बिमल राई (एबिबिएस) चिकित्सक छन् । डा. कमलले सम्झना कन्दङवा लिम्बुसँग विवाह गर्नु भई दम्पतीको एक सन्तान (छोरा कुशाङ राई) को जन्म भएको छ ।
चीनमा विद्यावारिधि हासिल गरेपछि हाल नेपालमै रहनु भएका डा. कमल राईसँग लिब्जुभुम्जु डटकमका लागि प्रधान सम्पादक गणेश वाम्बुले राईले २०७८ असार १८ गते गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

डा. साब लिब्जुभुम्जु अनलाइनमा स्वागत छ तपाईंलाई ।    कोभिड–१९ महामारीको दोस्रो लहरले देशैभरि प्रभावित छ । तपाईं सपरिवार सन्चै हुनुहुन्छ ? तपाईं अहिले कहाँ बसेर के गर्दै हुनुहुन्छ ?

धन्यवाद तपाईलाई । म लगायत सम्पूर्ण परिवार सन्चै छौं । अहिले म घरमै बसिरहेको छु । कोरोना महामारीले गर्दा खासै केही गर्न पाएको छैन । तर घरमै बसेर गर्नु पर्ने व्यक्तिगत अध्ययन जारी छ । साइन्टिफिक पेपरहरू हेर्ने अनि भविष्यमा के गर्ने भन्ने बारेमा आफ्नो सोंच बनाउने र त्यो सोंचलाई कसरी पूरा गर्न सकिन्छ भनेर चिन्तन गर्ने काम त निरन्तर चलिरहेको छ । त्यो बाहेक अब पोस्टडक्टरेट अध्ययनको लागि संवाद चलिरहेको छ । छिट्टै निष्कर्ष निस्कँदै छ तर लकडाउनले गर्दा धेरै नै समस्या उत्पन्न भएको छ ।

तपाईंले चीनबाट विद्यावारिधि हासिल गर्दै गर्दा वुहानबाट कोरोना भाइरस (कोभिड–१९) फैलियो । महामारीले तपाईंहरूको अध्ययनमा कुनै बाधा पुग्यो कि ?

कोरोना महमारीले निश्चित प्रभाव पारेको थियो मेरो अध्ययनलाई । करिब दुई महिनाभन्दा बेसी अपार्टमेन्टमै बस्न बाध्य बनायो । मेरो आफ्ने अनुसन्धानका कामहरू ठप्प भयो । व्यक्तिगत तवरमा भन्नु पर्दा एक्लै बस्नु पर्दा निक्कै कठिन भएको थियो । कोरोनाको महामारीले त अझै मेरो रिसर्च अध्ययन गर्ने चाहनालाई अहिले पनि ब्रेक लगाएको छ ।

चीनमा विद्यावारिधि वा स्नातकोत्तर अध्ययन गर्न के के क्राइटेरिया पूरा गर्नु पर्दो रहेछ ? जस्तो, चिनियाँ भाषा कति पढ्नु पर्ने, त्यसपछि पढ्न चाहेको विषयका जीपीए अथवा डिभिजन केस्तो हुनुपर्दोरहेछ ? तपाईंले चीनमा पढ्न छात्रवृत्तिचाहिं कसरी पाउनु भयो ?

चीनमा पीएचडी अध्ययन गर्नलाई पहिले त यहाँ मास्टर्स डिग्रीमा राम्रो पर्सेन्टेज ल्याउनै पर्छ । त्यो भनेको फस्र्ट डिभिजन र त्यो भन्दा माथि हुनुपर्छ । त्यो बाहेक राम्रो युनिभर्सिटीमा अध्ययन गर्नका लागि अंग्रेजी टेस्टको सर्टिफिकेट नि चाहिन्छ । पीएचडी रिसर्च बेस्ड हुन्छ । त्यही भएर सबैभन्दा बेसी महत्वपूर्ण कुरा चाहिं रिसर्च गरेको छ कि छैन ?

प्रयोगशालामा डा. राई

अनि रिसर्चमा विद्यार्थीको जानकारी कस्तो छ ? विद्यार्थीले गर्न खोजेको रिसर्चमा कत्तिको काम गरेको छ अनि कतिवटा रिसर्च पेपरहरू प्रकाशित गरेको छ कि छैन ? यस्तो कुराले पीएचडी सेलेक्सनमा फरक पार्छ । चिनियाँ भाषाचाहिं अप्सनल हो । पीएचडीको लागि जाने पनि हुन्छ नजाने पनि हुन्छ । तर त्यहाँ गएपछि केही समय पढ्नु पर्छ । मास्टर्स पढ्न चाहिं अलिक सजिलो होला क्राइटेरियाहरू तर अब फस्ट डिभिजन त हुँदा राम्रो नत्र गाह्रै हुन्छ जही पनि ।

मेरो बारेमा भन्नुपर्दा, मेरा रिसर्च गर्ने चाहना धेरै पहिलादेखि थियो । मैले नेपाल केही गर्न खोजेको पनि हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबाट सम्भवतः त्यो बेला म कान्छो मान्छे थिएँ हुँला, सन् २०१५ मा रिसर्च ग्रान्ट पाउने । मैले अन्य मुलुकमा पनि फेलोसिप पाएँ तर दुर्भाग्यवस मलाई भिसाको समस्या भयो, त्यो सन् २०१४ तिरको कुरो हो । त्यही बेला नेपालमा ठूलो वैज्ञानिक सम्मेलन भयो । चाइनिज एकेडेमी अफ साइन्सको प्रतिनिधि आएका थिए । उनले चाइनाले आफ्नो ढोका खुल्ला गर्छ भन्ने कुरा सुनेर मैले आवेदन दिएको थिएँ । मैले चाइनिज एकेडेमी अफ साइन्सेसको वेब पेजमा गएर अनलाइन अप्लाइ गरेको थिएँ । मेरो अंग्रेजी भाषा टेस्ट पनि उत्कृष्ट थियो । सौभाग्यवस मेरो एप्लिकेसनले सबै क्राइटेरिया पूरा ग¥यो र म छनोटमा परें ।

तपाईं चीनको कुन प्रोभिन्सको कुन काउन्टीअन्तर्गतको युनिभर्सिटीमा कति वर्ष बसेर पढ्नु भयो ?

चाइनिज एकेडेमी अफ साइन्सेस चीनभरि फैलिएको छ । सबै प्रोभिन्समा यसको रिसर्च इन्स्टिच्युटहरू छन् होला करिब करिब । म चाइनाको शान्दोङ प्रोभिन्सका छिङदाव सिटीको लावशान जिल्लामा बसें । त्यहाँ करिब ३ वर्ष र छ–सात महिनाचाहिं बेइजिङमा बसें । यसरी जम्मा चार वर्ष बसियो ।

विद्यावारिधि हासिल गर्न कति वर्ष लाग्दो रहेछ ?

पीएचडी रिसर्च निक्कै अप्ठारो हुँदोरहेछ । यो छिट्टोमा ३ वर्ष नत्र ६–७ वर्ष पनि लाग्न सक्छ । युनिभर्सिटीको क्राइटेरिया हुन्छ, त्यो पूरा नभइन्जेल डिग्री पाइदैन । मेरो ठ्याक्कै साढे तीन वर्ष लाग्यो । अब अनुसन्धान गर्दा आफ्नो सुरुको प्रस्ताव जे गरेको छ त्यो अनुसार नतिजा आएन भने त निक्कै समय लाग्छ । धेरै विद्यार्थीहरूको चार वर्षभन्दा बेसी लाग्ने गरेको छ ।

तपाईंले अध्ययन गर्नु भएको बायोकेमेस्ट्री र मोलेकुलर बायोलोजी यो कस्तो विषय हो ?

यो भनेको वंशानु (जिन) र त्यसले उत्पादन गर्ने प्रोटिनसँग सम्बन्धित छ । मोडर्न बायोलोजीको एउटा महत्वपूर्ण अंग हो यो । मेरो विषयचाहिं एक जीव (प्राणी)को जिन अर्कै सानो सुक्ष्म जिव (माइक्रोब्स)मा हालेर प्रोटिन उत्पादन गर्ने, त्यसलाई शुद्ध बनाउने अनि त्यसको प्रयोगमा ल्याउनलाई परीक्षण गर्ने हो । मैले थेरापी (उपाचार) मा काम लाग्ने खालको प्रोटिनहरूसँग सम्बन्धित काम र अध्ययन गरेको छु ।

नेपालमा बायोकेमेस्ट्री र मोलेकुलर बायोलोजी विषयको प्रवद्र्धन भएको छ कि छैन ?

नेपाल धेरै पछाडि छ यो कुरामा । बायोटेक्नोलोजी डिपार्टमेन्टमा अलि अलि काम हुन्छ रे भन्ने सुनेको छु । तर जुन मोडर्न ल्याबको जरुरी छ त्यो नै छैन जस्ता लाग्छ नेपालमा । बायोकेमेस्ट्री डिपार्टमेन्ट भरखरै बन्दै छ भन्ने सुनेको छु । यसको अर्थ हुन्छ नेपालमा मैले पढेको विषयमा केही काम हुँदैन ।

तपाईंले पढेको युनिभर्सिटीमा शुल्क तिरेर चीनमा पढ्ने नेपाली विद्यार्थी पनि छन् ?

मैले पढेको युनिभर्सिटी विशुद्ध साइन्टिफिक रिसर्चको लागि चीन सरकारले बनाएको अरे । यो युनिभर्सिटीमा मास्टर्स देखि नै रिसर्च गराइन्छ । ब्याचलर्स लेभल नै छैन । नेपाली विद्यार्थीहरू धेरै रिसर्चमा छन् तर पैसा तिरेर पढेकोचाहिं सुनेको छैन । र पैसा तिरेर रिसर्च गर्ने कुरा पनि हुँदैन ।

चीन सरकारले विदेशी विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने नीतिचाहिं कस्तो छ ?

चीनले आफ्नो ढोका खोलेको छ । धेरै नै युनिभर्सिटीहरू छन् चीनमा । सम्भवतः अमेरिकापछि चाइनानै होला । अहिले प्रत्येक चाइनिज युनिभर्सिटीहरूले छात्रवृत्ति दिन्छ, विदेशी विद्यार्थीहरूलाई । सुखद कुरा हो नेपालीहरू जाने र नयाँ कुरा सिक्ने अनि त्यहीं काम गर्न सक्नेसम्मको सम्भावना छ र केही पैसा कमाएर जोगाउन सक्ने परिस्थिति छ । समग्रमा करिअर डेभलपमेन्टको लागि राम्रो अवसर छ चाइनामा ।

चीन सरकारले नेपालका विद्यार्थीलाई कुन तहभन्दा माथिलाई छात्रवृत्ति दिन्छ ?

चीनमा ब्याचलर्स लेभलभन्दा माथि छात्रवृत्ति दिइन्छ । त्योभन्दा तल्लो लेभलमा चाहिं अहिलेसम्म मलाई जानकारी भएन ।

तपाई पीएचडी उपाधि लिएर स्वदेश फर्किनु भयो । यदि चीनमै बसेर प्राध्यापन अथवा अन्य काम गर्न चाहनु भएको भए, त्यो अवसर पाइन्छ कि पाइँदैन ?

मलाई त खासमा चीनमै स्थायी जागिर, त्यही बस्ने अनि त्यही अपार्टमेन्ट किन्न, सिटिजनसिप लिने प्रस्ताव थियो । मैले त्यस्तो दुई वटा छुट्टाछुट्टै युनिभर्सिटीको प्रस्तावलाई छोडेर आएँ । मेरो व्यक्तिगत कारण छन् । धेरै नेपालीहरू त्यहीं पोस्ट–डक्टरेट गरेर अनि युनिभर्सिटीमा एसिस्टेन्ट प्रोफेसर, एसोसियट प्रोफेसर भएर बसेका छन् । त्यो अवसर अझै छ अब केही समय हेरौं । चीनमा भविष्य राम्रो छ, प्राज्ञिक, अनि करिअर विकासको लागि र समाजमा पनि निक्सै स्थिर छ ।

चीनमा अध्ययन गर्न चाहने भाइ–बहिनीहरूलाई तपाईं के कस्तो सुझाव दिनुहुन्छ ?

सबभन्दा पहिला चीनमा जाँदा राम्रो ख्यालचाहिं भाषाको गर्नुस् अरु सब ठिक छ । बस्नलाई शान्त छ । म चार वर्ष बस्दा एउटा पनि झगडा देखिनँ । सबै आफ्नो काममा मस्त हुन्छन् । अनि मान्छेहरू मिलनसार छन् । नयाँ विद्यार्थीहरू जाँदै हुनुहुन्छ भने चाहिं तपाई चिनियाँ कानुनको बारेमा र आफ्नो व्यक्तिगत अनुशासनचाहिं राम्ररी काबुमा राख्नोस् भन्ने सुझाव दिन चाहन्छु ।

तपाईको भावी योजना के कस्ता छन् ? 

मेरो अबको योजना भनेको प्राज्ञिक (एकेडेमिक), आर्थिक (इकोनोमिक) र सामाजिक योगदान गरेर तीन भागमा भागमा विभाजन गरेको छु । एकेडेमिकमा अब पोस्टडक्टरेट गर्ने अनि भविष्यमा स्वतन्त्र अनुसन्धाता भएर प्राज्ञिक क्षेत्रमा योगदान गर्ने हो । आर्थिक पाटोबाट चाहिं भविष्यमा नेपालमा उद्योग स्थापना गर्न सकिन्छ कि भन्ने पनि मेरो सोचाई छ । र आफ्नो समुदायलाई केही गर्नु पर्छ है भन्ने छ । तर ठ्याक्कै अहिले निश्चितचाहिं गरेको छैन कुन क्षेत्रमा मैले योगदान गर्ने भनेर ।

(युवा वैज्ञानिक डा. कमल राईलाई यो इमेलमा सम्पर्क गर्न सकिनेछ- raikasam11@gmail.com)

Leave a Reply

Your email address will not be published.