बिजुली सभामा १९ भाषाका कविता वाचन

कला साहित्य -संस्कृति

लिभु संवाददाता
काठमाडौं– विश्व नेपाली साहित्य महासंघ केन्द्रले अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२४ को अवसरमा बिजुली सभा (जुम)मा बहुभाषिक कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालमा रहनु भएका प्रसिद्ध कवि तुलसी दिवसको प्रमुख आतिथ्या तथा भारतमा रहनु भएका महासंघका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली भाषाका अनुसन्धाता तातियाना चेक्रुनाले रसियन भाषामा रचना वाचन गर्नुभएको थियो । उहाँले साहित्यकार (स्वर्गीय) कृष्णप्रकाश श्रेष्ठसँग मिलेर चारवटा नेपाली कृति रसियनमा अनुवाद गर्नु भएको छ ।

लक्ष्मण नेबटियाले मारवाडी, राजकुमार थारुले थारु, हेमन्त शिशिरले डोट्याली, सम्झना थापामगरले मगर, अमेरिकामा रहनु भएकी रितादेवी प्रधानले नेपालभाषामा कविता वाचन गर्नुभएको थियो । भीम बिरही राईले बान्तावा, डा. छवि गोगोईले असमी, हारुहितो नोजुले जापानी र नेपाली, रामलाल उरावले उराव, धनकुटाबाट नरेन्द्र कस्चित राईले छिलिङ, ललितपुरबाट गणेश वाम्बुले राईले वाम्बुले, डा. भीम खतिवडाले संस्कृत भाषामा रचना वाचन गर्नुभएको थियो ।

यसैगरी देबिका मग्रातीले बंगाली, नाज सिंहले मगही, बेलायतबाट गोमा रानाले मगर, इज्रायलमा रहनु भएकी सुनिता राई कन्दङवाले हिब्रु, अमेरिकामा रहनु भएका मधु श्रेष्ठले दोलखाली नेवार भाषाको रचना सुनाउनु भएको थियो । दक्षिण भारतबाट रवि पौडेल र लुम्बिनीबाट रामप्रसाद गैरेले नेपाली भाषामा कविता वाचन गर्नु भएको थियो ।

कार्यक्रममा प्रा डा गोविन्दमान सिंह कार्की, प्रा डा छबी गोगोई, डा सोमबहादुर धिमाल, प्राज्ञ कविता आले, तात्याना चेग्लोभा, गणेश वाम्बुले राई लगायत विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।

बुधबार साँझ भएको बिजुली सभामा महासंघकी सचिव कल्पना पौडेल ‘जिज्ञासु’ले स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो । महासंघकी महासचिव सुनिता राई कन्दङवाले संचालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.