प्राज्ञ अमर तुम्याहाङको अनुसन्धान : किरात लिपि, किरात भाषाहरूको आलेखन र किरात राई अगुवाहरू

कला साहित्य -संस्कृति

किरात लिपि, किरात भाषाहरूको आलेखन र किरात राई अगुवाहरू

अमर तुम्याहाङ

लेखसार
किरात लिपि वा लिपि सम्बन्धी सामयिक प्रश्नहरू र लिपि सम्बन्धी दुई सन्दर्भहरूबाट आरम्भ गरिएको यस आलेखमा लिपि विकासको विकासवादी सिद्दान्तको विसद पृष्ठभूमिमा किरात लिपिको विकासका केही तथ्यहरू, किरात लिपिमा किरात भाषाहरूको आलेखन र किरात लिपि प्रचार र विकासमा समर्पित किरात राई अगुवाहरूबारेमा चर्चा गरिएको छ ।

लिपि सम्बन्धी केही व्यवहारिक र सामयिक प्रश्नहरू
लिपि सम्बन्धी तपशीलका प्रश्नहरू जो सधैँ सामना गरिरहनु पर्दछन् र धेरैजसो मानिस त्यहीँ रुमलिरहेका हुन्छन् । ती यस प्रकार छन् :
प्रश्न नं. (१)
क्याम्पसमा अध्यापन गर्ने भएकाले विद्यार्थीको परीक्षामा प्रायः बसिने नै भयो । यसै क्रममा स्नातक तहदेखि स्नातकोत्तर तहका विद्यार्थीमा थोरै अपवादलाई छोडेर सबै विद्यार्थीले गर्ने एउटै र समान गल्ती हो— स्क्रिप्ट अर्थात् लिपि लेख्नु पर्ने कोलममा खस नेपाली भाषामा लेख्नेले नेपाली र अङ्ग्रेजी भाषामा लेख्नेले अङ्ग्रेजी लेख्छन्, सम्झाए पनि उनीहरू भन्छन्— आजसम्म यही लेख्दै आएको हो । अब कुनै सवाल जवाफ बाँकी रहेन ।

प्रश्न नं. २
किरात लिपिको नामको सन्दर्भमा बौद्धिकदेखि सर्वसाधारणसम्म धेरैजसोसँगको कुराकानीमा यो लिपिको नाम के हो भनी प्रसङ्ग उठेमा उनीहरूको उत्तर हुन्छः लिम्बु लिपि, सिरिजङ्गा लिपि, किरात सिरिजङ्गा लिपि ।

प्रश्न नं. ३
किरात लिपि कसरी विकास भयो भन्ने प्रसङ्गमा लिम्बु सर्वसाधारण र केही विद्वान कहलिएकाले दिने उत्तर हुन्छः सिरिजङ्गा हाङले आविस्कार गरेको ।

यी प्रसङ्गले निम्न गम्भीर प्रश्नहरू उठ्ने गर्दछन् :
(क) किन मानिसहरू लिपि र भाषा छुटाउन चाहँदैनन् या सक्दैनन् ?
(ख) लिपि र भाषाका नाम एउटै हुन् त ?
(ग) के लिपि साँच्चै आविस्कार हुन्छ ? किरात लिपि नि त ?
यी प्रश्नहरूमा रुमलिनु अघि तपशीलका दुई सन्दर्भहरू मनन गर्नु सान्दर्भिक हुन्छ ।

सन्दर्भ १. सापटी मत सानङ्वाजीबाट ।

…ऐतिहासिक तथ्य अध्ययन गर्दा गौतम बुद्धको समयमा यो लिपिलाई किरात लिपि नै भनिन्थ्यो भन्ने बौद्ध ग्रन्थ ललितविस्तरमा यथेष्ठ उल्लेख गरिएको छ । … वि.सं. १८३१ ताका बचेखुचेका अवशेषहरूमाथि …नेपाल एकीकरण गर्ने बहानामा तत्कालीन सङ्घीय राज्यहरूलाई पृथ्वीनारयाण शाहले व्यवस्थित गर्नको साटो साम्राज्य विस्तारको आकाङ्क्षा पूरा गर्न साङ्घातिक खुनी आक्रमण गर्दा किरातहरूको भाषा, लिपि, ऐतिहासिक सांस्कृतिक तथ्यहरू, राज्य सञ्चालनसम्बन्धी अत्यावश्यक कागजात तथा अभिलेखहरू एकमुष्ठ नष्ट गरियो । त्यसभन्दा पहिले किरात भाषा, लिपि, साहित्यको प्रचुर विकास भएको थियो । भाषा बोल्ने, लिपि लेख्ने, संस्कार मान्नेहरूमाथि बलजफत एकतान्त्रिक शाही हिन्दू साम्राज्यवादको नाङ्गो हस्तक्षेप नीति किरात विरुद्ध थोपरिएकोले लिपि र शुद्ध भाषा लोप गराइछाडेपछि भाषा अपभ्रंश हुन गयो । भाषाको लिपिसँग, लिपिको भाषासँग तालमेल (समन्वय) हुृन छोड्यो । आम्चोक बान्तावा आदि धेरै खम्बु भाषासँग यो लिपि (किरात लिपि) वर्णको लेखाइ मिल्न जान्छ । लिम्बुवान क्षेत्रमा लिपि भाषा वचाउनको खातिर सिरिजङ्गा सिङथेबे ई.सं. १७४१ तिर सहिद भए । तत्पश्चात् मात्रै यो लिपि (किरात लिपि) लाई किरात सिरिजङ्गा लिपि भन्न थालियो । राज्यबाट अबरोधका बाबजुद पनि लिम्बुवानमा लिपि प्रचार गर्न छाडिएन । …किरात विद्वान् भाषाविद् वर्गबाट अध्ययन अनुसन्धानको तीब्र अपेक्ष लेखकको रहनेछ । यो लिपि किरात लिपि नै हो भन्ने मतैक्यता हुँदा पनि किरात खम्बु विद्वान् लेखकहरूले प्रचार र प्रयोगमा नल्याउनु दुःखद पक्ष हो र अब लेख्न, पढ्न र पढाउँन थालौँ …। (वि.सं. २०६५ मा सानङ्वा एवाईबाट लिखित ‘वान्तावा भाषामा वर्णमाला’ को लेखकीयबाट साभार ।)

सानङ्वा एवाईको यो मतले किरात लिपिको बारेमा भएका भ्रमको मात्र निवारण गरेको छैन । यसले किराती विद्वान् र समग्र किरात समुदायको अबको कर्तव्य पनि निर्दिष्ट गरेको छ ।

सन्दर्भ २. अनुग्रह साधुमनहरूको
इमानसिंह चेम्जोङले किरात भाषा, लिपिको अन्वेशषण गर्ने क्रममा माझकिरात भ्रमण गर्दा त्यहाँका राई अगुवाहरूले उनलाई भनेको कुराको प्रसङ्ग आशमान सुब्बाले आफ्नो पुस्तक ‘किराँत याम्यो नु येच्छाम्थिम’ (२०४५) मा यसरी उल्लेख गरेका छन्– “वि.सं. २०१४-१५ सालतिर किराँत इतिहास र लिपिको अनवेषण गर्दै माफ किराँतमा पुगे र स्थानीय वयोबृद्ध राईहरूसित भेट–वार्ता गरी किराँत इतिहास लिपिको कुनै पञ्जिका ९च्भअयचम० यहाँ पाइन्छ कि ? भनी खोजी गर्दै आएको, भनी कुरा गर्दा त्यसको उत्तरमा मलाई त्यो उत्तर दिइयो कि यहाँ माझ किराँतको त्यस प्रकारको इतिहास लिपि सबै दुई सय वर्ष अगाडि नै मासियो । भएकाहरू पनि अघिका पुर्खाहरूले लिम्बुवान तिर नै भगायो रे र लिम्बुवान भित्र जे जति छ त्यहाँ भएकोलाई नै लेख्नु होस् । त्यहाँ भएकै नै हाम्रो पनि हो, भन्नु भयो ।” (पृ. ज–झ) ।

लिपि के हो ?
लिपि भनेको अक्षर लेख्ने प्रणाली (नेपाली बृहत् शब्दकोशः २०५८ः १११३) हो । अक्षरचाहिँ व्यञ्जनसहित वा रहित स्वर भएको सिङ्गो ध्वनि वा ध्वनिसमूह (ऐ. २०५८ः ५) हो । अङ्ग्रेजी भाषामा खस नेपालीको लिपि शब्दको साम्य शब्द script को अर्थ  a set of letters in which a language is written (Oxford dictionary, 2010: 1274) भनी उही साम्य अर्थ बोक्ने गरी लेखिएको पाइन्छ । हुन पनि लिपि भन्नु भाषालार्ई स्थायी रूप दिन प्रयोग हुने ध्वनिहरूको रेखात्मक चिन्हहरू हुन् भन्दा फरक परोइन ।

लिपिको विकास भाषाको विकासभन्दा कान्छो हो भन्ने कुरामा कसैको मतमतान्तर भएको पाइँदैन । तर भाषाको विकासमा जस्तै लिपिको विकासमा पनि अध्यात्म अन्धताले राम्ररी काम गरेको पाइन्छ । तर पनि एउटा कुरा सत्य हो कि संसारमा प्रचलनमा रहेका प्रायः सबै लिपि चित्र लिपिबाट आरम्भ भएका हुन् र तिनले धेरै कालपछि मात्र ध्वन्यात्मक रूप धारण गरेका हुन् ।

लिपिको आरम्भ पेलियोलिथिक अर्थात ढुङ्गे युगको आरम्भतिरका मानिसले ओढारमा गरेको पेन्टिङबाट सुरु भएको मानिन्छ । फ्रान्सको लस्काउक्स (Lascaux) मा भेटिएको यस प्रकारको पेन्टिङ (चित्र नं. १) आजसम्मको सबैभन्दा पुरानो मानिन्छ जुन १०,००० देखि ८,००० बिसी अर्थात् इसापूर्वको हो भन्ने प्रमाणित भएको छ (क्राइग, मिति नखुलेको) ।

ढुङ्गामा कपिएका आदिम चित्र पेट्रोग्लिफ (petroglyph), ढुङ्गामा रङ्गाइएको वा कोरिएको चित्र पेट्रोग्राम (petrogram), सङ्केत चित्र पिक्टोग्राम (pictogram), सङ्केतहरूका माध्यमबाट भाषा वैज्ञानिक तत्वहरू अभिव्यक्त गरिने फोनोग्राफी (phonography) हुँदै आधुनिक लिपिको विकास भएको मानिन्छ । संसारमा प्रयोगमा रहेका र पहिचान गरिएका प्रायः जसो लिपिहरूको विकास क्रम चित्र नं. २ मा देख्न सकिन्छ ।


आई.जे. गेल्ब (१९५२ः ६०) का अनुसार मानव सभ्यता निर्माणका क्रममा निम्न अनुसारका समयावधिमा लिपिको विकास भएका थिएः
१. मेसोपोटामियाको सुमेरियन, ३१०० बिसी — ७५ एडी (Sumerian in Mesopotamia, 3100 B.C. – A.D. 75)

२. इलामको प्रोटो—इलामाइट, ३००० बिसी — २२०० बिसी (Proto-Elamite in Elam, 3000 B.C. – 2200 B.C.)

३. इन्डस उपत्यकाको प्रोटो—इन्डिक, लगभग २२०० बिसी (Proto-Indic in Indus Valley, around 2200 B.C.)

४. चीनको चाइनिज, १३०० बिसी (Chinese in China, 1300 B.C.)

५. इजिप्टको इजिप्सीयन, ३००० बिसी — एडी ४०० (Egyptian in Egypt, 3000 B.C.- A.D. 400 B.C.)

६. क्रेट र ग्रीसको क्रेटन, २००० बिसी — १२०० बिसी (Cretan in Crete and Greece, 2000 B.C.- 1200 B.C.)

७. आनातोलिया र सिरियाको हाटाइट, १५०० बिसी —७०० बिसी (Hittite in Anatolia and Syria, 1500 B.C. – 700 B.C.)

मध्य मेक्सिकोको आज्टेक्स् र माया सभ्यताको अमेरिन्डियन (Amerindian of Aztecs and Mayas) अन्तरगत पाइएका लेखनलाई माथि उल्लिखित ७ वटा लिपिहरूजस्तो विकसित नभएको कुरा पनि गेल्ब (ऐ. पृ. ६१) ले उल्लेख गरेका छन् ।
सम्भवतः प्रोटो इलामाइट लिपिबाट विकास भएको मानिएको इन्डस लिपि मेहेन्जोदारो र हरप्पाको सभ्यताको पूर्वाद्ध कालको अन्त्यतिरको अवधि करिब २८०० — २६०० बिसीमा विकास भएको थियो ।

महेश र सिन्हा (२००९ः ८—३१) का अनुसार यही इन्डिक लिपिको आधारमा पछि ब्राम्ही लिपि ३०० बिसीतिर विकास भयो । यही ब्राम्ही लिपिबाट उत्तर भारतीय लिपिहरू देवनागरी, बङ्गाली, उरिया, गुजराती र गुरुमुखी साथै दक्षिण भारतीय लिपि अर्थात् द्रबेडियन लिपिहरू तमिल, तेलगु, कन्नाडा र मलयालम विकास भए । तिब्बतीयन लिपि पनि यही ब्राम्ही लिपिको आधारमा विकास भयो जसलाई सम्भोटा भनिन्छ । संस्कृत भाषा लेखनका लागि ब्राम्ही लिपिबाट नागरी वा देवनागरी लिपि इस्वी सन्को ९ औँदेखि १२ औँ शताब्दीमा विकास गरिएको मानिन्छ ।

प्रोटो सुमेरियन पिक्टोग्राफबाट इजिप्सियन पिक्टोग्राफ, इजिप्सियन पिक्टोग्राफबाट प्रोटो सिमेटिक सिलेबरी, प्रोटो सिमेटिक सिलेबरीबाट प्रोटो फोनेसियन सिलेबरी, प्रोटो फोनेसियन सिलेबरीबाट फोनेसियन सिलेबरी, फोनेसियन सिलेबरीबाट ग्रीक अल्फाबेटको विकास भयो । ग्रीकवासीले फोनेसियन वर्ण ९०० बिसी वा इसापूर्वमा अङ्गीकार गरे र ग्रीक लिपिको विकास भयो । ८०० बिसीतिर ग्रीकहरूले चलाइआएको वर्णमा स्वर वर्ण थपे र आधुनिक वर्णको विकास गरे ।

८५० बिसीमा इटरुस्कानहरू (Etruscans) ले इटलीमा स्वराज्य खडा गरे र ग्रीक लिपि अङ्गीकार गरे । पछि ५०९ बिसीमा रोमनहरूले इटरुस्कानहरूमाथि विजय प्राप्त गरे र तिनीहरूले प्रयोग गरिरहेको अल्फाबेटहरू अङ्गीकार गरे र थप व्यञ्जन वर्णहरू थपे । अनि यो लिपिको नाम पनि रोमन भनी चिनियो । यही समयदेखि रोमन लिपिले साम्राज्यवादी शक्तिको आड पायो र बेरोकटोक विस्तार हुने अवसर पायो । पछि गएर बेलायतले विश्वमा आफ्नो साम्राज्य फैलायो र त्यो साम्राज्यसँग रोमन लिपि र अङ्ग्रेजी भाषा विश्वभरि छरियो । अहिले अमेरिकी महाशक्तिको बलमा यसले निरन्तरता पाइरहेको छ । यसर्थ अङ्ग्रेजी भाषा लेखिने रोमन लिपि अङ्ग्रेजी लिपि होइन, अङ्ग्रेजी आलेखनका लागि रोमन लिपि (Roman Script) प्रयोग भएको हो ।

किरात लिपिको अनकन्टार विकास यात्रा
आजभोलि सुक्खिममा लिम्बु लिपि र नेपालमा किरात सिरिजङ्गा लिपि भनिने किरात लिपिको विकास बारेमा गम्भीर अध्ययन अनुसन्धान हुन सकेको छैन । यस लेखमा यस पूर्व किरात लिपिका बारेमा विभिन्न विद्वानले लेखेका प्रसङ्ग मध्ये केहीलाई आधारमा मानेर सङ्क्षेपमा चर्चा गर्ने जमर्को गरिएको छ । यहाँ किरात लिपिबारेमा केही विद्वानहरूको भनाइ नजर गरौँ—

मदनमणि दीक्षित— किरात लिपि पैशाची भाषाको लिपिसित मिल्दो हो अथवा प्राचीनतम कालमा ती दुवै एउटै लिपि रहेका पनि हुन सक्छन् । लुप्त हुँदै गएको पैशाची लिपिलाई त्यो सिरिजङ्गा (हाङ सिरिजङ्गा?) ले किरात लिपिको रूपमा सन् ९०० तिर उद्धार गरेका हुन् कि ? (२०५९ः ९)

हर्षनाथ शर्मा भट्टराई— … प्राचीन समयमा पनि सभ्यता, संस्कृति आदिले सुसम्पन्न किराँती राज्यमा लिपिको निर्माण अवश्य नै थियो होला । तर कुन किसिमको वा कस्तो लिपि थियो भन्न सकिँदैन । (२०५१ः ११—१२)

गोपीकृष्ण अधिकारी— किराँत लिम्बु लिपि ब्राह्मी लिपिबाट उत्पन्न भएको हो भन्ने लिपि विशेषज्ञ र पुरातन लिपिका ज्ञाताहरूको विश्वास छ । (२०५९ः ४९)

अमृत योञ्जन काशीनाथ तमोटलाई उदृत गर्दै लिपि र भाषाका बारेमा आफ्नो विचार यसरी राख्छन्— लिपि र भाषा दुवै जीवन्त वस्तु हुन् । लिपि पनि जन्मन्छन् र मर्छन् । कैयौँ प्राचीन लिपिहरू तथा भाषाहरू मरेर गएको इतिहास छ । जिउँदो भाषाबाट भाषिकहरू निस्के जस्तै एउटा मूल लिपिबाट अरू लिपिहरू विकास भएका छन् । ब्राम्हीबाट कैयौँ भारतीय लिपिहरू विकास भए भने काशीनाथ तमोटको विचारमा तिब्बती लिपिबाट रोङ लिपि र किरात लिपिको विकास भएको हो (२००६ः ४९) । योञ्जनका अनुसार ब्राम्हीबाट गुप्ता लिपि, गुप्ता लिपिबाट कुटिला लिपि, कुटिला लिपिबाट तिब्बती वा सम्भोटा लिपि र सम्भोटा लिपिबाट किराती र रोङ लिपिको विकास भएको हो ।

किरातोलोजिस्ट इमानसिंह चेम्जोङले आफ्नो ‘किरात साहित्यको इतिहास’ किताबमा लिपि सम्बन्धी निम्न कुराहरू उल्लेख गरेका छन्— (क) कर्णेल मेन्वेरिङ भन्छन्— किरात अक्षरमा कुनै बेबिलोनका अक्षर मिश्रित छन् (पृ. २) । (ख) इसाको सातसय सालपछि उत्तर बर्माका नामगाम र मोक्वान गाउँहरूबाट ताईवंशी चिनियाहरू मोक्वान—सान नाउँ लिएर मुङमावरोङ राजाको नेतृत्वमा आसाम आए । आसामबाट बङ्गाल भई पूर्वी नेपालको पहाडमा बसाइँ गए । यस राजालाई मोरोङ राजा पनि भन्दछन् । उनले एक प्रकारको लिपि बनाई किरातीहरूलाई सिकाए (पृ. ३) ।

भेन्सिटार्ट आफ्नो गर्खाज पुस्तकमा लेख्छन्— …. probably in the ninth century appeared the famous Srijanga, the deified hero of the Limbus. Srijanga taught the Limbus the art of writing by inventing a kind of character. उनी थप लेख्छन् :

“Tradition says that Marang Raja was the first man who introduced writing among them, which, however owing to the long-prevailing anarchy fell into disuse till revived by Srijanga.” (p. 105)

किरात लिपिसम्बन्धी यी भनाइ र बुझाइहरू हेर्दा लाग्छ कुनै व्यक्ति जब भविष्यको यात्रा गर्न निस्कन्छ त्यस बेला ऊ एउटा यस्तो बाटोहरूको दोबाटो भनौ या चौबाटो अथवा दसौँ बाटो भेट हुने जक्सनमा उभिन पुग्छ र कहाँ जाने भनेर ऊ निर्णय लिन दुविधामा पर्छ । यी कुराहरू हेर्दा एक अध्येताको हिसाबले जो कोही पनि अन्योलको भुमरिमा फसेको पाउँछ । जे भए पनि केही जोखाना त अवश्य हेर्नै पर्छ । कस्तो जोखाना आउँछ यी पूर्व अध्येताले लडाएका अक्षेताहरू हेर्दा ?

पैशाची लिपिको इतिहास र यसको नमुना यो कलमीले पढ्न र देख्न नपाएकाले अहिले नै यसै भनिहाल्ने स्थिति रहेन । चेम्जोङले उल्लेख गरेको कर्णेल मेन्वेरिङको भनाइलाई मान्ने हो भने किरात लिपि सुमेरियन पिक्टोग्राफ, बेबिलोनियन क्युनिफर्म, अस्सुरियन क्युनिफर्म (चित्र नं. ३ हेर्नोस्) हुँदै विकास भएको मान्न सकिन्छ । चेम्जोङले नै उल्लेख गरेको अर्को मुङमावरोङ राजा अर्थात् मोरोङ राजा र भेन्सिटार्टले उल्लेख गरेको माराङ राजाले चलाएको लिपिलाई आधार मान्ने हो भने प्रोटो सुमेरियन, प्रोटो इलामाइट, प्रोटो इन्डिक, चाइनिज हुँदै मोरोङ लिपि, नवौँ सताब्दीमा सिरिजङ्गा हाङले पुनरउत्थान गरेको लिपि हुँदै किरात लिपिको विकास भयो भन्न सकिन्छ ।

ब्राम्ही लिपिबाट किरात लिपि विकास भएको कुरामा धेरै तर्क गरिरहनु परेन किन भने धेरैले यस कुरालाई अगाडि सारिरहेका छन् तर तिनको तथ्यगत तर्कहरू त्यती धेरै सुन्न र हेर्न पाइएको छैन । यो हिमवत खण्डमा ठूलो प्रभाव पार्ने लिपि ब्राम्ही लिपि भएकाले यसैको आधारमा किरात लिपि पनि यसै लिपिबाट विकास भएको भनेर सहजै अनुमान गरेका हुन सक्छन् यस खेमाका विद्वानहरूले ।

किरात लिपिको प्राचीन अस्तित्वबारेमा सर फ्रन्सिस ह्यामिल्टन बुकाननले पनि सन् १८१९ मा प्रकाशित अन अकाउन्ट अफ द किङ्डम अफ नेपाल एन्ड सराउन्डिङ टेरिटोरिज अनेक्सड भन्ने पुस्तकमा ई. पू. ४००० वर्ष अगाडि परसियाको खाडीको उत्तरी समतलभूमिमा बस्ने सौमर (किरात) हरूसँग एक प्रकारको लिपि भएको उल्लेख गरेको कुरा दुर्गाहाङ याक्खा (२०५३ः२०७) ले उल्लेख गरेका छन् ।

यसरी नै किराती जे.बी. राई (निशाना पत्रिका, वैशाख, २०६२ः १६) लेख्छन् ‘…पर्रियाको खाडीको उत्तरी समतल भूमिा पाइएको एक किरात लिपि अर्थात् सिन्धुघाँटीको सभ्यतामा रहेको लिपि नै हाङ (राजा) यलम्वरको पालामा प्रचलनमा आएको यहाङ लिपि हुनुपर्छ र बौद्ध धर्म ग्रन्थ ललितविस्तरमा उल्लेखित पढ्न नसकिने भनिएको नै किरात लिपि या यहाङ लिपि हुनुपर्छ …’ भनी आफ्नो अभिमत राख्दछन् ।

नेपालमा सबैभन्दा लामो सयम राज्य गर्ने वंश मानिएका किरातहरूले नेपाली सभ्यतालाई संवृद्धिको सजिसजाउ अवस्थामा पु¥याए जसको आधारमा नेपाली इतिहासको स्वर्ण युग मानिएको लिच्छवि युग पुष्पित भयो । यी किरात वंशीहरूले किरात लिपिको प्रयोग गरेका थिएनन् भनेर अनुमान गर्नु दिवास्वप्न हुनजान्छ । उक्त लिपिको विभिन्न आख्यानहरू भए पनि लिखत प्रमाणहरू १८ औँ शताब्दीदेखि मात्र फेला परेको यथार्थ पनि हाम्रो सामु छ नै ।

यदयपि प्रमाणिक रूपमा किरात लिपिको विकास कहिलेबाट कसरी भयो भनी टुङ्गोमा पुग्न संसारमा पाइएका पुराना र चलिरहेका पछिल्लो कालखण्डका लिपिहरूको इतिहास खोतल्नुका साथै तिनीहरू बीचमा तुलनात्मक अध्ययन गर्नुपर्छ । किरात जातीय उद्भवको इतिहास र किरात जाति र तिनको सभ्यतामाथि प्रभाव पार्ने तत्कालीन जाति र तिनको सभ्यतालाई पनि ध्यानमा राखिनुपर्छ किरात लिपिको अध्ययन गर्नेक्रममा । अनि मात्र किरात लिपिको चरणगत विकास खुट्याउन सकिनेछ जुन काम गर्न अझै बाँकी रहेको छ ।

किरात लिपिमा किराती भाषाहरूको आलेखनको सन्दर्भ
इमानसिंह चेम्जोङ र अन्य कतिपय इतिहासकारहरूको मतलाई आधार मानी महाकिरातको अवधारणा अनुरूप अगाडि बढ्ने हो भने नेपालमा बसोबास गर्ने जातिहरूमध्ये यिनै किरातीहरूको बहुमत हुन्छ किन भने महाकिरात अवधारणा अनुसार मगर, गुरुङ, तामाङ, नेवार, सेर्पा, धिमाल, मेचे, राई, लिम्बु, लेप्चा, याक्खा, सुनुवार आदि सबै भोटवर्मेली भाषा परिवारका जाति किरात वंशवृक्षभित्र पर्दछन् ।

इमानसिंह चेम्जोङले तत्कालनी समयमा किरात पदावलीले आजका आदिवासी जनजाति समुदायलाई जनाउन खोजेको देखिन्छ । तर वर्तमान अवस्था यस्तो रहेन र मूलतः याक्खा, राई, लिम्बु र कोँइच सुनुवारले आफूहरू किरात राजाहरूको दरसन्तान हौँ भनेर स्पष्ट दावी पेश गरेका छन् भने धिमाल, हायु, सुरेल, जिरेल आदिले पनि आफूहरू किरात भएको आफ्नो अभिमत जाहेर गर्दै आएका छन् ।

यसरी किरात जातिको रूपमा आफ्नो पहिचान दर्शाउँदै आएका जातिहरूमध्ये किरात लिम्बु जातिले किरात लिपि केही शताब्दीदेखि नै प्रयोग गर्दै आएको छ । यसको पनि व्यवहारिक कारण छ कि किरात लिम्बु जाति नेपालको पूर्वी भेगदेखि सिक्किम, दार्जिलिङ, वर्मा, भुटान आदि मुलुक र क्षेत्रमा आदिकालदेखि बसोबास गर्दै आएकाले नेपाल शरहदभित्र किरात लिपि प्रयोग गर्ने अनुकूल वातावरण नभए पनि नेपालबाहिर रहेका किरात लिम्बुहरूले उक्त लिपि प्रयोग गर्ने र त्यसको वचाउ वा रक्षा र विकास गर्ने इतिहासले सुम्पेको दायित्व निर्वाह गरे । नेपालमा पनि अनुकूल समयमा यो किरात समुदायबीचमा किरात लिपि प्रयोग गर्ने काम हुँदै आएको छ ।

यसको प्रमाणको रूपमा सम्पूर्ण किरातहरूलाई समेट्दै नारदमुनि थुलुङको सभापतित्वमा वि.सं. २०१० मा खोलिएको किराँत मुन्धुम लुङ अर्थात् किराँत सांस्कृतिक परिषद् (सन् १९५३ तदनुसार वि.सं. २०१० साल) नामको संस्थाको विधानमा यो लिपिको प्रयोग भएको छ । किरात राई यायोक्खाको पुरानो लेटर प्याड, क्यालेन्डर, कतिपय सार्वजनिक स्थानको सूचना (उदाहरणको रूपमा बिर्तामोड चारआली बीचको राजमार्गको तल्लो किनारामा यायोक्खाले राखेको सूचनापाटी) मा प्रयोग हुँदै आएको छ भने किरात राई जातिहरूबीचमा विशेष गरी खालिङ, कुलुङ, साम्पाङ, वाम्बुले जातिले आफ्नो भाषिक विषेशता अनुसार किरात लिपिमा सुधार एवम् परिस्कार गरी प्रयोगमा ल्याएका छन् र प्रशस्त मात्रामा पुस्तकहरू किरात लिपिमा प्रकाशन पनि गरिआएका छन् । किरात समन्वय समितिमा पनि किरात लिपि प्रयोगको बारेमा मतैक्य नै रहेको धारणा संस्थाका अगुवाहरूबाट बारम्बार व्यक्त भइआएको छ ।

किरात लिपि प्रचारप्रसारमा किरात राई अगुवाहरूको योगदान
किरात लिपिको प्रचारप्रसार र विकासमा किरात लिम्बु तथा विदेशी विद्वान्हरूका साथसाथै किरात राई समुदायका अगुवा विद्वान्हरूको योगदान अतुलनीय रहेको छ । किरात धर्मभित्र रहेको सत्यहाङ्मा पन्थमा क्रियाशील किरात राई विद्वान्हरूको किरात लिपिको विकास र विस्तारमा विशेष योगदान रहेको छ । यसका साथै स्वतन्त्र रूपमा क्रियाशील बुद्धिजीवी, इतिहासकार, राजनीतिज्ञहरूले समेत किरात लिपिको विकास र विस्तारमा महत योगदान पु¥याउनु भएको छ । तर ती अभियन्ताहरूको सही खोजी र मूलप्रवाहीकरण हुन सकेन । यसको परिणाम स्वरूप किरात लिपिको प्रयोग र प्रचलनबारेमा विभिन्न खाले भ्रमहरू पैदा भएका छन् । यहाँ लिखित रूपमा प्राप्त यस्ता केही अभियन्ताहरूले गर्नुभएको कार्यको विवरण प्रस्तुत छ ।

– सन् १९२९ सालमा कालिम्पोङ निवासी श्री निर्मल लिम्बु र श्री जीवनदास राईले एक हजार किरात लिपिको पहिलो पुस्तक लिथोग्राफमा छापी सारा दार्जिलिङ, कालिम्पोङ र सिक्किम देशहरूमा बाँडे । सन् २०३० सालमा दार्जिलिङ निवासी श्री इकेबहादुर सेरिङ लिम्बु र श्री सिबी राईले एक हजार किरात लिपिको पहिलो पुस्तक छापी दार्जिलिङ, सिक्किम र लिम्बुवान देशतर्फ बाँडे । (पृ. १३, किरात इतिहास) ।

– सन् १९६३ सालमा त्यस देश (बर्मा) का भलापञ्चहरूमध्ये श्री हस्तबहादुर राई, श्री हर्ष बहादुर राई, कप्तान ज्ञानबहादुर, कप्तान कृष्णबहादुर राई, कप्तान रणबहादुर लिम्बु, कप्तान नरध्वज लिम्बु र हवल्दार मानबहादुर मादेन सेरिङ लिम्बुहरू एकमत भई मेम्यो सरहमा “अखिल बर्मा किरात संघ” नामक संस्था गठन गरे औ किरात साहित्यको ठूलो प्रचार गरे । (पृष्ठ १७, किरात इतिहास) ।

– अङ्ग्रेजी सालअनुसार १९९५ मा याङगाङ, दक्षिण सिक्किम निवासी स्वर्गीय के.बी. धिवातपाङले (किरात लिपिमा) येले दोङ भनी राई क्यालेन्डर निकालेको पाइएको थियो … (बी.बी. रोक्दुङः २००९) ।

– थाकु श्री गणेश कैलासी (साङ्पाङ), सीतापुरी लखनपुर ।

– थाकु श्री मङ्गलदास कैलासी (चाम्लिङ), बुढीमोरङ, इलाम ।

– तुमम्याङ श्री हरिप्रसाद कैलासी (साङ्पाङ्), रबि, पान्थर ।

– थाकु श्री नवराज कैलासी (वान्तावा काङ्माङ्) ।

– श्री गोपाल किराती (तीर्थराज मुकारुङले दिनुभएको जानकारी अनुसार) ।

– श्री सनङ्वा एवाई (किरात लिपिको आधारमा राई वान्तावा भाषाको वर्णमाला निर्माण एवम् प्रकाशन गरी प्रचारप्रसार)

– गणेश वाम्बुले राई (लिब्जु–भुम्जु पत्रिका मार्फत किरात लिपिको प्रचार), आदि ।

यस प्रकारको सूची निकै लामो हुने कुरामा कुनै सन्देह छैन । धैर्यतापूर्ण खोजीका भने ठूलै आवश्यकता छ ।

विभिन्न किरात भाषा लेखनमा किरात लिपि
किरात लिपिमा सबैभन्दा बढी लेखन भएको भाषा याक्थुङ लिम्बु भाषा हुन आएको छ । यसबाहेक किरात लिपिमा लेखिएका अन्य किरात भाषाहरू केही सामग्रीहरू नमुनाका लागि यहाँ प्रस्तुत गरिका छन् ।
– किरात मुन्धुम लुङको विधान (किराँत सांस्कृतिक परिषद्), – वि.सं. २०१० ।
– किरात राई यायोक्खा नेपालको लोगो, वि.सं. २०४७ ।
– किरात राई यायोक्खा बेलायतको लोगो, सन् २००४ ।
– किरात साम्पाङ् राई जुम्लेखा नेपालको लोगो, वि.सं. २०६३ ।
– उम्भुसी छोक्छा (चाम्लिङ पहिलो किताब), वि.सं. २०५६, प्रथम संस्करण, प्रतिः २०००, लेखकः तिलक चाम्लिङ, प्रकाशकः मिलन चाम्लिङ ।
– किरात राई साम्पाङ गुङ, वि.सं. २०६१, सङ्कलन तथा प्रकाशन किरात राई सम्पाङ भाषा संरक्षण समिति ।
– सूम्लीरीदूम् (साम्पाङ भाषाको गीतको सिडी), वि.सं. २०६१ ।
– बान्तावा-नेपाली-अङ्ग्रेजी शब्दकोश वि.संं. २०६२, जयप्रकाश राई ।
– बान्तावा भाषामा वर्णमाला, वि.सं. २०६५, लेखकः सानङ्वा एवाई, प्रकाशकः किरात राई यायोक्खा, प्रारम्भिक कार्य समिति चमैता, इलाम ।
– नवसमन्वय पत्रिका, वि.सं. २०६६, सम्पादकः बलिराज खम्बु ।
– किरात साम्पाङ राई मुन्दुम, वि.सं. २०६७, प्रकाशकः किरात साम्पाङ राई जुम्लेखा नेपाल ।
– परुहाङ निन सुम्निमा क्यासेट, श्याम सामसोङ, २०६७ ।
– किरात याक्खा छुम्मा क्यालेन्डर, वि.सं. २०६८, प्रकाशकः किरात याक्खा छुम्मा, नगर कार्य समिति विराटनगर, मोरङ ।
– साझा खम्बुवान सन्देश साप्ताहिक, वि.सं. २०६८, सम्पादकः मनोज राई खम्बु, प्रकाशकः खम्बुवान स्वायत्त राज्य परिषद् ।
– सुम्निमा पारुहाङ पत्रिका, सम्पादकः रक्षा राई तथा शङ्कर साम्पाङ राई, प्रकाशकः किरात राई यायोक्खा, युके ।
– लिब्जु–भुम्जु पत्रिका अङ्क ४० देखि निरन्तर, सम्पादकः गणेश राई ।
– वाम्बिर, वाम्बुले कविता सङ्ग्रह, वि.सं. २०६८, कवि गणेश वाम्बुले राई ।
– सेम्दी, बाहिङ ¥वादी फृब्दिम तुम्लो, बाहिङ किरात धर्म ग्रन्थ सङ्ग्रह, २०७०, सङ्कलक, सम्पादक तथा प्रकाशकः कुमार धन मुनारी तोलचा आदि ।

किरात लिपि अनि सार्वभौमसत्ता र राजकीयसत्ता सम्पन्न किरातीहरूको अस्तित्व
नेपाल गणतन्त्रात्मक मुलुकमा प्रवेश गरेपछि करिब अढाइसय वर्षदेखिको किरात समुदायमाथिको आन्तरिक उपनिवेशको माखेसाङ्लो चुडिएर उनीहरूको हातखुट्टा मुक्त भएको छ । उनीहरू मुलुकका अन्य नागरिकसरह सार्वभौमसत्ता र राजकीयसत्ता सम्पन्न स्वतन्त्र नागरिक भएका छन् । अब आफ्नो सभ्यता र संस्कृतिको बाटो हिँड्दा आफ्नो गर्भको छोरासँगै कुनै दोजिया किरात आमाहरूले मृत्यु वरण गर्नुपर्ने छैन, आफ्नो बालक छोरालाई बचाउन किरात आमाहरूले उसको सानो लिङ्गलाई टङ्मुनिबाट पछाडि तानी अड्याएर यो छोरी हो नमारिदेऊ भनेर कसैको सामु विन्ति गर्नुपर्ने छैन ।

हो फुक्काफाल अर्थात् स्वतन्त्र अवस्थामा किरात समुदायले आफ्ना सभ्यता र पूर्वजका विरासतलाई नाक्छोङहरू पारोबाट ब्युँतिएजस्तै व्यूँताउनु पर्ने शुभसाइत आएको छ । के यस साइतलाई हाम्रो इतिहास निर्माणको शुभसाइतको रूपमा रूपान्तरित नगर्ने ? अवस्य गर्नुपर्छ ।

मुन्धुममा वर्णित भए पनि व्यवहारमा अन्य किरात समुदायमा विलुप्त भइसकेको तर किरात आठपहरियाले प्रयोग गरी ल्याएको ताघा र मेख्ली सबै किरातहरूको साझा भेषभूषा बनाइनु अब सबैको कर्तव्य होइन ?

यसरी नै किरात नाछिरिङले लगाई आएको भाङ्ग्राबाट बुनिएको पुरुषले लाउने बाहिरी पोशाक सबै किरातहरूको साझा कोट किन नबनाउने ? गोपे बाँसको विनायो तुना वा फुर्कामा झुन्ड्याउने चलन त प्रायः सबै किरातहरूमा अझसम्म जिवितै छ । यही सिलसिलामा किरात लिम्बुहरूले विभिन्न अनुकूलताका कारणले संरक्षण गरिल्याएको तर किरात सभ्यताको महत निसानी किरात लिपिलाई सबैले किन प्रयोग नगर्ने ? हुन पनि किरात लिपिको प्राचीन रूपलाई केलाउने हो भने सम्पूर्ण किरात समुदायका ध्वनि प्रणालीलाई समेट्ने कुरामा कुनै दुविधा छैन ।

प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइलाको विचारअनुसार ‘सबैले प्रयोग गर्नु थाल्नुपर्छ । प्रयोग गरेपछि त्यो लिपि (किरात लिपि) साझा भएर जान्छ’ (निप्सुङ, २९ अङ्क, २०६७ः १०) अर्थात नचिनेसम्म को हो को हो, चिनेपछि माया मोह वा बिर्सेको प्रियतम वा प्रियसीसँगको पुनरमिलन भए नोस्टाल्जियामा किन बाँच्ने, ढुक्कसँग यर्थाथमा बाँच्न सकिन्न र ? यही चुरो कुरो किरात लिपि प्रयोगका सन्दर्भमा हामीले किन अवलम्बन नगर्ने ?

किरात लिपि प्रयोगको सन्दर्भमा पत्रकार, मातृभाषासेवी साहित्यकार गणेश राईको अनुभव ‘किरात लिपि प्रयोग गर्नु कुनै साइत कुर्नु पर्दैन । त्यसका लागि दिल खुस र खुला हुनु जरुरी छ । कसैको जुठोपुरोलाई स्याहारेको नभई पूर्वजप्रतिको गौरव गान र यो सम्पदाको पुनः प्रयोग पनि हो’ (निप्सुङ, ऐ २०६७ः १७) सम्भवतः सबैभन्दा अकबरी सुझाव र हार्दिक आग्रह हो यो ।

किराती जे.वी. राईको अनुभूति ‘विभिन्न कारणबाट नासिँदै र कतै न कतैबाट बाँच्दै हुर्कँदै आएको किरात लिपि… को विकास र विस्तार संरक्षण र प्रचारप्रसारको लागि समेत फेरि पनि किरात लिपिलाई प्रयोगमा ल्याउने काम’ (निशाना ऐ. २०६२ः १७) लाई सार्थक पार्नु सबै किरात समुदायका अगुवाहरूको परम कर्तव्य हो ।

तर भाषा परिवर्तनशील भएकाले समयको विकासक्रम अनुसार भाषा परिवर्तन हुँदै जाने क्रममा लिपि लेखनमा पनि परिवर्तन आउने अनि लिपि लेखनको सुन्दरता, सरलता र मितव्ययिताका कारण लिपि लेखनमा सुधार आउन सक्ने सत्यतालाई हामीले कवै भुल्नु हुन्न, आजसम्म पत्ता लागेको तथ्य र प्रयोग भएको अथार्थ नै अन्तिम सत्य हो भन्ने हठी उपबुज्रुकपनाबाट बच्न अगुवाहरूले कदापि कन्जुस्याइँ गर्नु हुन्न । यस बाटोबाट अगाडि बढेमा किराती सभ्यताको चोमोलोङ्मा चढ्न कुनै आँधीले छेक्न सक्दैन, हुरीले रोक्न सक्दैन ।

सन्दर्भ सामग्रीहरू
खस नेपाली खण्ड
अधिकारी, गोपीकृष्ण. (२०५८, असार). किराँत लिम्बु साहित्यको इतिहास. मधुपर्क, वर्ष ३५, अङ्क २, पूर्णाङ्क ३९७, ४९-५०.
कृष्णप्रसद पराजुली (सम्पादक). २०४०. नेपली बृहत् शब्दकोश. काठमाडौँः नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान.
चेम्जोङ, इमानसिंह. (२०१३, २०५९). किरात साहित्यको इतिहास. ललितपुरः किरात याक्थुङ चुम्लुङ.
दीक्षित, मदनमणि. (२०.. वैशाख). किरात वंशको इतिहास र लिपिसम्बन्धी केही कुरा. मधुपर्क, वर्ष ३५, अङ्क १, पूर्णाङ्क ३९६, ८-१०.
भट्टराई, हर्षनाथ शर्मा. (२०५१, वैशाख). लिपिः मानव उद्भवदेखि वर्तमानसम्म. मधुपर्क, वर्ष २६, अङ्क १२, पूर्णङ्क २९९, ४-१२.
योञ्जन, अमृत. (२००६). तामाङ पहिचानका सन्दर्भहरू. काठमाडौँः डी. आर. पब्लिक हाउजिङ.
श्रेष्ठ, कृष्णप्रकाश. (२०५८, कात्तिक).(सम्पा. कपिल घिमिरे). किराँत जातिका किंंवदन्ती. मधुपर्क, वर्ष ३४, अङ्क ६, पूर्णाङ्क ३८६.

अङ्ग्रेजी खण्ड

Craig, James. (n.d.). History of the Western European Alphabet.

Gelb, I.J. (1952). A Study of Writing. Phoenix Books, The University of Chicago Press.

Mahesh, R. & Sinha, K. (2009). A Journey from Indian Scripts Processing to Indian Languages Processing. IEE Annals of the History of Computing, IEEE Computer Siciety.

Oxford Advanced Learner’s Dictionay. (2010). Oxford University Press, printed in India.

Vansitart, Eden. (1906). GURKHAS. New Delhi: Asian education services.

Websites

https://www.google.com.np/Ancient+Babylonian+Script.

https://www.thinkingwithtype.com/misc/Judy_Ross_Alphabe

(अमर तुम्याहाङ, त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत उप्राध्यापक तथा विद्यावारिधि शोधार्थी एवं लिम्बू भाषाका महाकाव्यकार हुनुहुन्छ । प्रस्तुत आलेख ‘लिब्जु–भुम्जु’ त्रैमासिक वर्ष–१८, पूर्णाङ्क–४१, २०६७ वैशाख–असार, सन् २०१० ‘किरात लिपि विशेषाङ्क’मा प्रकाशित आलेख यहाँ अनलाइन प्रकाशन गरिएको हो । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *