इतिहास : वाम्बुले राईलाई त्यसपछि चौरासे राई भनियो, हड्सनका स्रोत व्यक्ति उनै बागवर्ण राईको नालीबेली र पुरातात्विक चौरासे घर

कला साहित्य -संस्कृति प्रदेश १ विचार / ब्लग

बागबर्ण, चौरास घर र वाम्बुले मुक्काचो

बी. मुक्काचो राई

बागबर्ण त्यस्ता थिए :
बागबर्ण गुजी उपो आक्वाल ख्वाल्चो थि उपो ? सोधेँ बाजे (जस्तलाल)लाई । जवाफ पाएँ, ‘इ बुस्याङ रोच्वाख्वाल्चो डा आङ फिलास थिय्वा हौ जाँठा ।’ सिकुवामा बसेर हुक्का तान्दै गरेको मेरो बाजे र म बिचको सवाल जवाफ यस्तो थियो । २०३७÷३८ सालतिरको प्रसंग हो । २०४० साल पुसमा बाजेको देहान्त भयो । ‘तँ जत्रो त उस(बागबर्ण) को फिला नै थियो,’ मेरो बाजेको यो ठाडो र पाँडे गालीसमेतको जवाफबाट थाहा हुन्छ कि बागबर्ण ठुलो ज्यानका थिए । बाजे भन्नुहुन्थ्यो, ‘एकदिन पापा (अंगधन) राईले मलाई बुडुवा खेतमा लगेर जानु भएको थियो ।’ यो कुन भाइ छोरा हो तेरो ? बागबर्णले यसरी नेपाली (खस) भाषामा सोधेछन्– ‘आम आः काइँला राइचिस्या’(यो मेरो काइँला छोरा हो), जवाफ दिएछन् मेरो बाजेको बाउ अंगधनले ।

सानो छँदा बागबर्णको बारेमा विभिन्न किस्सा र कहानीहरु सुन्थें । बागबर्णले एक धार्नी मासु एक्लै पोलेर खान्थे रे । ऊ यो गाउँको राजा जस्तो थियो रे । खस भाषामा मात्र कुरा गर्थे रे । तारकोममा इँट्टाको घर बनाएका थिए । आदि इत्यादि । सायद, त्यसै कारण मेरो मनमा उब्जिएको हो– बागबर्ण कत्रा थिए होलान !

खुशी हुँदा होस् या रिसाउँदा होस्, प्रायः हरेक सम्बोधनमा (जाँठा र जाँठी) गाली शब्दको उपसर्ग र विभक्ति (एचभाष्ह ७ क्गााष्ह) जोडेर बोल्ने र बोलाउने बाजेको बानीमा हामी घर परिवारका सदस्यहरु र नजिकका इस्टमित्रहरु अभ्यस्त थियौं । त्यसैले ’जाँठा’ सहितको जवाफ पाएर म निर्दोष बालक जस्तो हाँसेको थिएँ । र, बाजे पनि हुका तान्दाको खटट…खटट.. आवाजसँगै मुसुमुसु हाँस्नु भयो । स्मृतिपटलमा मुस्कान ताजै छ । हिजो जस्तै लाग्छ ।

तीन दाजुभाइ :
उँबु गाउँको सबभन्दा पुरानो र पहिलो बासिन्दा को थियो भन्ने कुरा खोज र अनुसन्धानकै विषय हो । वाम्बुले राईहरुमध्येका तीन जना दाजु भाइहरु थिए । धर्मसिङ, महेन्द्रसिङ र कनकसिङ । महेन्द्रसिङ धनी र खान्दानी थिए । यो कुराको अनुमान कसरी लगाउन सकिन्छ भने त्यो जमानामा उनले आफ्नो घरमा घर्तीहरु (कमारा कमारी) राखेका थिए । नेपालमा कमारा प्रथा उन्मूलन नहुँदैको कुरा हो यो । घर्तीहरु बेचिए या कमारा प्रथाबाट मुक्त भएपछि खोटाङ जिल्लाको ट्यामटुकु भन्ने गाउँ र ओखलढुंगाको ज्यामिरे मुनी ख्वाडोम्पा भन्ने ठाउँमा गएर बसे भन्ने छ । तिनै घर्तीका सन्तानहरु (भुजेल जात भनेर चिनिनेहरु) अझै पनि त्यतै बसोबास गर्छन् भन्ने छ । उहिले घर्तीहरुलाई राखिएको बारीलाई उँबु, तार्कोममा (घर्तीङ बारी) को नामले चिनिन्छ । महेन्द्रसिङ निसन्तान थिए । कनकसिङको सन्तानमध्ये अहिले तार्कोमका रजिन र गजिनको बाउबाजे । उँबु गाउँको पखेरा टोलको सम्फेको बाउ, बाजेहरु र उँबु गाउँको (मान्झगिम भनेर चिनिने) ठाउँ (पखेरा टोलभन्दा पल्लो गहिरा) मा बस्ने बिगनबहादुर र अमबहादुरको बाउ बाजेहरू हुन् ।

बागबर्ण धर्मसिङका छोरा थिए । कहाँबाट र कसरी भन्ने कुराको एकिन छैन । उनी टाठा बाठा र पढे लेखेका थिए भन्ने अनुमान गर्न सकिन्छ । त्यसैले राणा शासनले उनलाई त्यो बेलाको चौरास क्षेत्रको मौजा दियो ।

पुरातात्विक चौरासे घर । तस्बिर गणेश राई

शासकको नजिक :
पृथ्वीनारायण शाहको राज्य एकिकरण र उनको निधनपछि उनका भाइ बहादुर शाह र दलजित शाह तथा छोरा प्रतापसिंह शाहलाई राजगद्दीहरण हुने डरले अनाहक कैद गरी दिए । प्रताप सिंहको अल्पायुमै निधन भयो । उनका छोरा रणबहादुर शाह राजा भए । प्रताप सिंहकी रानी राजेन्द्रलक्ष्मी र बहादुर शाहको बीच शक्ति संघर्षको क्रममा मन मुटाव रही रह्यो । वि.सं. १८५४ मा बहादुर शाहको गुप्त अवस्थामा हत्या भयो । त्यो भन्दा अगाडि बहादुर शाहले पूर्वको उदयपुर (चौदण्डी) र विजयपुरमा आफ्नो दलबल सहित आएका थिए । तर, उनले पछी तिब्बतसंग लड्न हिंड्नु परेको थियो । त्यही झुंगा भन्ने ठाउँको लडाइँमा जाँदा बाघबर्ण राईको काका या बाजे पर्ने बिमत राई पनि एक जना लडाकु सिपाही थिए । त्यो लडाइँमा जाँदा बिमत घाइते (अपांग) भएर घर फर्के । त्यही कारण उनको बिजोक मृत्यु भयो । त्यतिबेलादेखि नै मुक्काचो (वाम्बुले राई) हरुको शासकहरुसँग कुनै न कुनै किसिमको सम्बन्ध थियो भन्ने अनुमान गर्न सकिन्छ । बागबर्णले पनि आफ्नो काका बाजेबाट केही न केही शिक्षादीक्षा पाएकोले नै त्यो समयमा अरुभन्दा सक्षम भए ।

खुर्पे ठ्याक र अन्य जाति आगमन :
खचापु गाउँको पुछारमा र दुधकोशीको किनारमा अवस्थित द्वाय्वाम्फु (चिउरीबोटे) को ज्यादै ऊर्वर मानिने समथर ठुलो खेतलाई बागबर्णले नै आवाद गरेका थिए । पुरानो जमानामा जग्गा जसले पहिला जंगल फाँडेर खन जोत गथ्र्योे उसैको हुन्थ्यो । साँधसिमाना लगाएपछि त्यसलाई आफ्नो बनाउन ‘खुर्पे ठ्याक’ भन्ने तिरो तिर्नु पथ्र्यो । त्यही खुर्पे ठ्याक भन्ने कागज वि.सं. १९९९ सालपछि बिजन र तमसुक हुँदै जग्गा नापी भएदेखि अहिले धनी पुर्जा भनिएको हो । बागबर्णले खुर्पे ठ्याक तिर्दै राम्रो र मलिलो ठाउँहरु रोजेर बसेका थिए । अहिले मानेभन्ज्याङ गाउँपालिका–३ (साबिक उँबु गाविस वडा नं. ५ )मा पर्ने खत्री गाउँका अधिकारी क्षेत्रीहरुलाई उँबु गाउँमा ल्याएर बसोबास गराउने पहिलो व्यक्ति पनि बाघबर्ण नै थिए ।

बाघबर्णले नै उँबु गाउँ वडा नं. ३ कामी गाउँका विश्वकर्माहरुलाई उदयपुर जिल्लाको सोरुङ खोलाबाट ल्याएर बस्ती बसाएका थिए । माधवपुरबाट ल्याएर उँबु–२ तार्कोम गाउँमा सार्कीहरुलाई बसोबास गराएका थिए । अहिले त्यसलाई सार्कीद्याल (सार्की गाउँ) भनिन्छ । र, टारक्वाम गाउँको दुमी राईहरुलाई रावा खोलाबाट ल्याउने पहिलो व्यक्ति पनि बागबर्ण नै थिए । उँबु गाउँमा वाम्बुले राईहरु मात्र हैन, अरु जात र थरका मानिसहरुले पनि बसोबास गर्नु पर्छ भन्ने चेतना भएको कारणले नै उनले त्यसो गरेको हुन सक्छ ।

बागबर्णको मूल घर उँबु–२ तार्कोममा थियो । उनको मूल घर अहिलेको झिंगटी घरदेखि चार पाँच मिटर पश्चिमतिर भीमबहादुर राईको घरदेखि दुइ–तीन कान्ला मास्तिर पथ्र्यो । त्यो घर भत्केर गयो । खाचापुमा (साक्बारा पुम अहिले भीम आदर्श प्रा.वि. भवन भएको तल्तिर) पनि तीनतले घर थियो उनको । ठुलो खेती भएका बागबर्ण गाउँबेँसी गरी बस्थे । एक दिन आफ्नो एक जना नाति लिएर तार्कोम गाउँ जाँदै गर्दा रिनुवाल गाउँमा कसैले सोधेछन्, ‘आम इः राइचिके चाच्वा ?’ खै नाति भन्नु कि छोरा ! नाती भनुँ भने छोरा जस्तो र जत्रो पनि छ,’ बागबर्णको यस्तो ठट्यौली जवाफ सुनेपछि त्यतिबेला उनका रौफ, रवाफ र सामन्तीपनसँग टक्कर लिएका सत्रुहरुले मुद्दा लगाउनलाई उद्धत भए । मुद्दामा हारे र गाल परेपछि तत्कालिन चलनअनुसार कि डाँडा कि खोला काटेर जानु पर्थ्यो । बागबर्ण ठुलाठालु भएकोले धेरै टाढा जान चाहेनन् या पठाउन सकेनन् । त्यसैले त्यहीं रोम्दु खोला काटेर बुडुवा खेतमा बस्न थालेका थिए । उनले आफ्नो जीवनको अन्तिम दिनहरु त्यहीं बुडुवा खेतमा बिताए । बोलाईमा सावधानी नअपनाउदा उनले त्यो गति भोग्नु परेको थियो ।

बागबर्णले कान्छी श्रीमतीको रुपमा रावा खोलाबाट सनाही बाजा बजाउँन लगाउँदै ल्याई पुर्याएका थिए खालिङ राइनीलाई । खालिङ राइनीबाट एकमात्र छोरी जन्मेकी थिइन् । त्यही छोरीपट्टिको भान्जा थिए ( वाक्सा–९ ह्वाल्माफुका रुद्र, टिकाराम र सीतारामको बाजे (थ्वाथ्वा – भनेर गाउँमा बोलाइने नाम) ।

बुढेसकाल बुडुवामा :
बागबर्णले आफ्नो जीवनको उत्तरार्ध (बुढेसकाल) र्वाम्दो (रोम्दु) खोला दोभान (पस्सु बजार लाग्ने ठाउँ) बुडुवÞा खेतको घरमा बिताएका थिए । त्यहाँ उनको ठुलो खेती थियो । खोलाको दोभानमा भएकोले पानी प्रशस्त हुन्थ्यो । दुधकोशी पारि कुनाबाट बगेर जान्थ्यो । खेतको क्षेत्रफल वारि रोम्दु खोला दोभानदेखि तल दुध कोशी तीरसम्म फैलिएको थियो । भुम्जु डाँडामा ठुलो पहिरो गएपछि डोंटे खोला उर्लेर आयो । ठुलठुला ढुंगाका पहाडहरु लडेर दुधकोशी थुनिएर खेत बगायो । पारि खोटाङतर्फ दुधकोशी किनारमा बगर मैदान बन्यो । केही वर्षअघि त्यो बगरलाई स्थानीय युवाहरुले फुटबल मैदानका रुपमा उपयोग गरेका थिए ।
बागबर्णले धेरै धान फलाउने ठुलो खेत त्यसरी दुधकोशीले बगायो । अलि अलि बाँकी रहेको खेत उनका छोरा, नातीहरुमध्ये पनि धेरैजसो बीर बकस (भैया भनेर बोलाइने) नामले बेचबिखन गरे । त्यो खेत रिचुवाको खम्बबहादुर थापा मगरले किनेका थिए । त्यही खेत भाडामा लिएर उँबु, रिनुवालका धुम्मराज राईले लामो दोकानघर बनाए । बागबर्णले त्यसरी रोम्दु दोभानमा बुढेसकाल बिताएका थिए ।

बागबर्णका साखा सन्तान :
बागबर्णले सात बिहे गरेका थिए । उनका सन्तानहरु मुख्य गरी उँबुको तार्कोम र खचापुमा छन् । छोराहरु कुन–कुन श्रीमती पट्टिका र कुन–कुन भाइ भनेर एकिन छैन । तर, उनका जम्मा बीस जना छोरा, छोरीहरु थिए । जुम्ल्याहासमेत गरी एक्काइसौं सन्तान थिए । बीस जना नाघेरर एक्काइसौं सन्तान जन्मेपछि एक्काइसौं सन्तानको चाहिँ सगुन गर्ने चलन थियो । तर, बीसौं र एक्काइसौं सन्तान एकसाथ जुम्ल्याहा भएर जन्मिएकाले सगुन गर्नु परेन रे भन्ने भनाइ छ । बागबर्णका छोराहरु र उनका सन्तानहरुको बिबरण निम्न लिखित छन् ।

१. आसधन
आसधनको छोरा – बलभद्र । नातीहरु पदम बहादुर र भीम बहादुर । पनातीहरु – शुभराज (रेखराज), ब्रिगराज, बुद्धराज, पुस्ताराज, ध्रुबराज, दीर्घराज र कान्छा हर्कराज ।

२. अंगधन
अंगधनको छोराहरु – बहादुरजंग, बीरबहादुर, जस्तलाल, जंगलाल र जनकलाल । नातीहरु – उज्जिरबहादुर, बिर्खबहादुर, अमृतबहादुर र शेरबहादुर । पनातीहरु – बद्रीबहादुर (रहरे), दिलकुमार, भिमल, नवल र मेडल ।

३. रंगधन
रंगधनको छोराहरु – कालीप्रसाद, बमबहादुर (लप्तान), कुलबहादुर, कान्छा बीरबकस (भैया)। नातीहरु – सुइटे ( वास्तविक नाम थाहा भएन), तवलसिङ, ढुक्कराज, हर्कराज । पनातीहरु– दुर्गामणि, चन्द्रमणि, देवमणि, धड्दे, काले, हले, माटे, लेखराज र अन्य ।

४. सर्बधन
सर्बधनका छोराहरु– दुमजित, दुवाजित, रामचन्द्र र हरिचन्द्र । नातीहरु– धनबहादुर, बाँकाबिर, अमृतबहादुर (रमलाल÷राई जेठा) कृष्ण बहादुर (राई कान्छा), भाते र धिर्मन । पनातीहरु– पृथीबहादुर (पिर्थे), गोठबहादुर (गोठे), जंगबीर (चुर्से), धनकर्ण ।

५. जंगधन (जंगधनको छोरा जवानीमै भारततर्फ रोजगारीका क्रममा भासिएर नफर्किएको ।)
६. जिराधन
७. रत्न धन
८. गुनराजको बाजे (खचापु)
९. राईबहादुर

चौरास (झिंगटी) घर
२०७२ सालको वाम्बुले राई कविता गोष्ठी उँबु गाउँको तार्कोममा आयोजना हुनुले बागबर्ण राई र चौरास घरको इतिहासलाई उजागर गरेको छ । जहाँ सूर्य पुग्दैन, त्यहाँ कवि पुग्छ भनेझैं त्यहाँ पत्रकार र इतिहाँसकारहरु पुग्छन् । कान्तिपुर पत्रिकाका पत्रकारद्वय गणेश राई र कुम्भराज राई तार्कोम नपुगेको भए यो चौरास घरको चर्चा हुँदैनथ्यो । ‘अलपत्र चौरास घर’ शीर्षक समाचार कान्तिपुर दैनिक (२०७२ पुस)मा प्रकाशन गरेपछि यो लेख जन्मिएको हो । सोधखोज गरेर अरु आकार दिने प्रयास गरेको हुँ । चौरास घर कुनै दिन ढलेर जाने निश्चित छ तर ढल्नुअघि यो इतिहासको फेरोलाई जोगाउनेतर्फ साझा चासोको विषय बनाउन सकिएको छ ।

शासकको अरौखटौ :
पृथ्वीनारायण शाहको राज्य एकीकरणसँगै नेपालका अरु राजा रजौटाहरुले सत्ता सुम्पिए । पृथ्वीनारायण निधनपछि एकीकरण अभियानमा उनका भाइ बहादुर शाह पूर्वतर्फ दलबलसहित आएका थिए । उदयपुर गढी, चौदण्डी गढी र विजयपुर डढीमा लामो समयसम्म किराती शासकसित लडाइँ लडे भन्ने छ । नेपाल र तिब्बतसँगको चिसो सम्बन्ध पनि झन् बिग्रंदै गएको थियो । त्यसैले बहादुर शाहले आफ्नो दलबल लिएर तिब्बततिर लागे । पूर्वको कतिपय क्षेत्रहरुमा स्थानीय टाठाबाठाहरुलाई सरकारी जिम्मेवारी दिइएको थियो । ‘तिमीहरु यहाँका प्रजाहरुलाई शासन गर, तर सम्पूर्णमा यो देश नेपाल हो भनेर बुझ’ भनेका थिए । त्यतिबेलादेखि राणा कालसम्म त्यही प्रथा कायम रह्यो । गाउँका जो जान्ने बुझ्नेले जग्गा जमिनको तिरो रकम उठाउने र केन्द्रीय सरकारलाई बुझाउन जाने गर्दथे ।

स्थानिय निकायमा चौधरी, जिम्मावल, मुखिया, काजी र अमल जस्ता पदहरुको व्यवस्था थियो । राणा शासनको उदय भएपछि प्रजाहरु पढे लेखेर टाठाबाठा भए भने शासन सत्तामा धराप आउँला भन्ने डरले सर्वसाधारण जनताका छोराछोरीलाई पढ्न लेख्न बन्देज लगाए । बही तमसुक गर्न सक्ने मान्छे पनि त्यतिबेला ठुलो कारिन्दा गनिन्थ्यो । सायद बागबर्ण पनि त्यसैमा परेका थिए होलान् ।

नेपाल देख्ने :
सन् १८८० तिर हाम्रो गाउँको धेरै मान्छेहरु नेपाल (काठमाडौं) सहर सायदै पुग्थे । बागबर्णले चौरास क्षेत्रको अमाल पद पाएछन् । अमालले नै जनताहरुलाई जग्गाको तिरो उठाएर सरकारलाई बुझाउन जानु पथ्र्यो । चार किल्ला छुटाएर बनाइएको मौजामा बसोबास गरेका जनताहरुसित जग्गा कर (तिरो) उठाएर वार्षिक चारसय चौरासी रूपैयाँ सरकारलाई बुझाउने जिम्मेवारी बागबर्णले नै पाए । अहिलेको मोली गाउँ विकास समितिदेखि पूर्वतिरका गाउँहरु निसंखे, भदौरे हुँदै रुम्जाटार सम्मको क्षेत्रमा धेरै जग्गा र जन घनत्व थियो । सात सय तलुवा उठाउनु पथ्र्यो । त्यसैले तलुवा भनिएको हो ।

त्यतिबेला ओखलढुंगा जिल्लालाई पूर्व तीन नम्बरको चिसंखु जिल्ला भनिन्थ्यो । अमाल बागबर्णले भने सिस्नेरी भन्ज्याङबाट पूर्व, मोलीभन्दा पश्चिम, उत्तरमा बेतिनी र सल्लेरी र दक्षिणमा दुधकोशी वारिको भौगोलिक सीमाभित्र जग्गाको कर उठाउन पाउँथे । यो क्षेत्रको सायद त्यतिबेला ‘खुर्पे ठ्याक’ जग्गाको तिरो वार्षिक चार सय चौरासी रुपैयाँ उठाउँथे । चार सय चौरासी रुपैंयाँ उठाएर केन्द्र सरकार राणाजीहरुलाई बुझाउन नेपाल जान्थे । चार सय चौरासी रुपैयाँभन्दा कम रकम उठेमा परिपुर्तिको लागि चालिस मुरी धान फाल्ने खेत बकस पाएका थिए । तिर्न नसके त्यही खेतबाट असुल गर्ने सर्त रहेको थियो । त्यतिबेलाको ज्यादै महँगो र मलिलो मानिने खेत जुन अहिले पनि दुधकोशी किनारमा छ । युम्ला बेंसी जसलाई अहिले कार्की बेँसी भनिन्छ । अमाल बागबर्णले त्यही खेतको एक अंश (जहाँ चालिस मुरी धान सजिलै फल्थ्यो) पाएका थिए । पछि बागबर्णलाई जातभात सम्बन्धी मुद्दा लाग्यो । मुद्दा हारेपछि उनले त्यो खेत छोड्नु परेको थियो ।

यसरी बन्यो झिंगटी घर :
बागबर्णले आफ्नो शासनसत्तालाई आफ्नै घरबारमा चलाएका थिए । शान र मान बढाउन साथै सरकारी कार्यालय र जेलखाना (कारागार) को रुपमा घर बनाएका थिए । भक्तपुर, ललितपुरबाट कर्मीहरु र कालिगढ़ झिकाएका थिए । उनीहरुलाई कलात्मक ढोका, झ्याल, थाम आदि कुँद्न लगाए । घरको गारो चिट्न इँट्टा बनाउन लगाए भने छानो छाउन इँट्टाकै झिंगटी बनाउन लगाएका थिए । तत्कालिन अवस्थामा कर्मी ज्याला दैनिक चार पैसा हुन्थ्यो । उनले झिकाएको कर्मी, कालिगढहरुलाई दिनमा २५ पैसा ज्याला दिने शर्तसहित झिकाइएका थिए । जुन कालिगढ र कर्मीहरुले बनाएको इँट्टा र झिंगटी घर आजसम्म रहेको छ । उक्त घर हेर्दा पाटन र भक्तपुरतिरको पुरानो दरबारको बनोट शिल्पकलासित मिल्दछ ।

बागबर्णले तार्कोम सातबिसे बारीमुनि देउराली डाँडामा इँट्टा भट्टी बनाउन लगाएएर बनाउन लगाएका थिए । इँट्टा ओसार्नलाई जनताहरु लाइनमा राखेर हातेसारो गर्दै इट्टा सारेर तार्कोम झिउँटी पुर्याइएको थियो । घरमा प्रयोग भएका दलिनहरु पनि सबै सालको काठबाट बनाइएका छन् । दुई तला रहेको उक्त घरको माथिल्लो तलामा ठुलो सभा कक्ष र भुइँ तलामा दलान र तीन कोठाहरु छन् । भुइँको एउटामा अपराध गर्नेलाई कारबाही स्वरुप थुनेर कार्वाही गर्ने कोठा रहेको छ । अर्को दुई वटा मध्ये एउटामा सामान राख्ने र एउटालाई गोप्य कक्षको रुपमा प्रयोग गरिन्थ्यो ।

वि.सं. १९९० सालको ठुलो भूकम्पले छाना र घर पछाडिको भित्ता भत्कियो । त्यसपछि भित्ताको आधा भाग ढुंगा र माटोले चिटेर र छानालाई खरले छाइएको छ । हाल उक्त घर बागबर्णको पनाती कृष्णबहादुर राई (राई कान्छा) को अंशमा परेको छ । उनी आफ्नो सपरिवार त्यही घरमा बस्थे भने २०४५ सालको भूकम्पले घर थप चर्कियो । सो झिंगटी घरभित्र माथिल्लो तलामा देउदेउताको थान रहेका छन् । मुनिको मान्छे थुन्ने कोठामा पितृ पुज्ने ठाउँ बनाएको तर पितृले सहेन भन्ने धारणाले अर्को घर बनाएर बस्दै आएको परिवारले सुनाएका छन् । २०७२ साल वैशाख १२ गतेको भूकम्पले यो झिंगटी घर झनै जीर्ण बनेको छ ।
यो झिंगटी घर ओखलढुंगा जिल्लाकै सबभन्दा पुरानो घर मानिन्छ । स्मरणीय कुरा के छ भने त्यही झिंगटी घर नै अपभ्रंस भएर झिउंटी भन्न थालियो । बागबर्णको नाति बलभद्रले त्यहाँ दुईवटा आहाल खनेर बाउ, बाजेको नाममा चौतारा बनाए । बलभद्र नै पहिलो व्यक्ति थिए, जसले मंसिर पुर्णिमाको राति झिउंटी बजार भनेर चिनिने एक राते बजार (जातुर) सुरु गरे ।

चौरासे राई :
बागबर्णले नै अरु वाम्बुले थरहरु र मुक्काचो पाछाहरुलाई पनि आवश्यकताअनुसार पद दिएर स्थानिय सरकार जस्तो चलाएका थिए । उनले राई, बहिदार र कारबारी पद बाँडेको पाइन्छ । बहिदार जसले रकम कलम (लेखापढी) गर्छ । कारबारी जसले आर्थिक हिसाब किताब गर्छ । राई मुख्य हाकिम पदचाहिं बागबर्ण आफैंले सम्हालेका थिए ।

त्यसरी बाघबर्ण राईले सरकारलाई चार सय चौरासी रुपैयाँ बुझाउँथे । उनैले झिंगटी घर बनाएर शासनसत्तालाई दीर्घकालीन बनाए । ओखलढुंगाको चारसय चौरासी रुपैयाँ उठाइने क्षेत्रलाई चार चौरास भनियो । यस भेगमा बसोबास गर्ने राईहरुलाई चौरासे राई भनियो । बागबर्णको उक्त झिंगटी घरलाई चौरासी घर भनियो । अन्ततः वाम्बुले राईहरुलाई ‘चौरासे राई’ भनेर पनि चिनिन थालियो । मुलथलो छाडेर परदेशिएका वाम्बुले राईहरुले आफुलाई ‘चौरासे राई’ भनेर चिनाए । यसरी चौरासे घरले सम्पूर्ण वाम्बुले राईहरुको गौरवमय इतिहास बोकेको छ ।

ऐतिहासिक थलो संरक्षण :
चिनियाँ भनाइ छ– ‘इतिहास आफुलाई हेर्ने ऐना पनि हो ।’ त्यसैले ‘झिंगटी’ (चौरास) घर सम्पूर्ण वाम्बुले राईहरुलाई समेट्ने ऐनाजस्तै घर हो । यसको संरक्षण गर्दा हाम्रो विगत जोगिन्छ र भावी पुस्ताले पनि हाम्रो प्रयासको सराहना गर्ने छन् । हाम्रो निम्ति हामी एक होऔं ।

यो ऐतिहासिक ‘चौरास घर’ तीन आना क्षेत्रफलमा बनेको छ । सबै वाम्बुले राईहरुले मिलेर यो घर तथा जग्गालाई वाम्बुले राई समाज (वाम्रास) संस्थाको नाममा खरिद गर्नु पर्ने आवश्यक देखिन्छ । यो घरलाई संग्रहालयको रुपमा जगेर्ना गर्न सके राम्रो हुनेछ । यो काममा जति ढिलाइ ग¥यो उत्ति ऐतिहासिक, पुरातात्विक वस्तुहरु नासिएर जानेछ । वाम्बुले राईहरुको एकमात्र ऐतिहासिक भौतिक सम्पत्तिलाई संस्थागत गर्नसके आफ्नोपनको लेखाजोखा हुनेछ । यही ठाउँमा वाम्बुले राई समाजको जिल्ला कार्यसमितिसमेत राख्न उपयुक्त हुनेछ । बागबर्णले आफूलाई केन्द्रमा राखेर सही काम गरे या गलत पनि गरे होलान् । आज ती सबै काम इतिहास भइसकेका छन् । बागवर्णको इतिहासभन्दा पनि वाम्बुले राईहरुको ऐतिहासिक सम्पदाहरुको खोजी र संरक्षण अहिलेको चासो हो ।

फेसबुकमा झिंगटी घर :
केही वर्षदेखि मैले मेरो फेसबुक वालमा ‘नेपाल’ एल्बमभित्र ‘झिंगटी घर’ को तस्बिरहरु राखेको थिएँ । अझै पनि त्यहीं छन् । एउटा फोटोमा वाम्रास संस्थाका वर्तमान महासचिव जीवन हाताचो र म बीच भएको संवाद यस्तो छ–
बि. मुक्काचो राई : उन्नाइसौं शताब्दीमा पाटनदेखि कर्मी ल्याएर इँटा बोक्ने जनताको जन्ती लगाएर बागबर्ण मुक्काचोले बनाउन लगाउनु भएको इटावाला घर अगाडि उहाँको पनाती राई कान्छा ।
जीवन हाताचो : हो यो घर त एक किसिमको आश्चर्य नै छ । यसले एउटा इतिहास पनि बोकेको छ । तर, यसको संरक्षण हामीले गर्न सक्छौं कि ?
बि. मुक्काचो राई : यो कुराको पहल हामी सबै वाम्बुले राईहरुले मिलेर गर्नु पर्ने भएको छ । किनकि वाम्बुले राईको पहिचान र इतिहासमध्ये यो पनि एउटा हुन सक्छ ।
जीवन हाताचो : यसमा चाहिँ बल्ल मुक्काचो नातिले बुझ्नु भएछ । (नाती हैन जनाति हो)
२०६७ सालतिर फेसबुक संजालमा उक्त संवाद भएको थियो । ‘रातिको काम कसले देख्ने र खोलाको गीत कसले सुन्ने !’ भने जस्तोमात्र भयो । हाताचोले रोचक र घोचक प्रसंग ल्याएको भए पनि म आफैंले औपचारिक रुपमा कुरालाई अगाडि बढाउन सकिन ।
यसको अर्थ के हो भने उँबु तार्कोममा अवस्थित झिंगटी (इँटा) घरको बारेमा यो भन्दा अगाडि कहिल्यै कुरा नभएको भने होइन । यसमा वाम्बुले राईहरु, वाम्रास संस्था र सम्बन्धित निकायको ध्यान पुगेन । त्यसैले ‘अब नजुटे कहिले जुट्ने र हामीले नगरे कसले गर्ने ?’ भन्ने यक्ष प्रश्न र सामाजिक नाराको साथ यो कार्यलाई अविलम्ब कार्यान्वयन गर्नुमा हामी सबैको भलाई हुनेछ ।

मुक्काचोको पृष्ठभूमि :
मुक्काचो वाम्बुलेहरुलाई दुई तीन तहमा बाँडिदै आइएको छ । कहाँबाट कहिले र कसको बाउ, बाजेबाट छुट्टिन थालेको थियो भनेर एकिन दस्तावेज भेट्न सकिएको छैन । यस विषयमा पहिलादेखि नै मैले मेरो भाइ मेडल राईलाई गाउँ घरका बुढा पाकाहरुलाई सोध्न लगाएको थिएँ । उनको सोध र अनुसन्धान अनुसार ‘बहिदार खण्ड र कारबारी खण्ड’ मुक्काचोहरुले आफ्नो पित्री मान्दा उभयरामलाई पुज्दछन् । बहिदार खण्ड मुक्काचोहरुले आफ्नो पित्रीको पुजाथान बहिदार टोल र जोरधारा बिचमा पर्दछ । राई खण्ड मुक्काचोहरुले न्वागी, खाउमो गर्दा आफ्नो पित्रीको रुपमा ‘बिमतको नामरासी – देउरालीलाई एक (खारेवा) चिण्डो राख्दछन् । त्यो पित्रीको थानलाई देउराली डाँडा भनेर चिनिन्छ, जुन अझै पनि तार्को गाउँको सात बिसे बारी तलतिर अवस्थित छ ।

धनबहादुर राईका साथमा लेखक

मुक्काचोहरुको धेरै खण्ड र वंशहरु छन् । राई खण्ड, बहिदार खण्ड र कारबारी खण्ड । बहिदार खण्डका मुक्काचोहरु उँबु गाउँको थोप्लोम, बहिदारटोल, फलामटार, खचापुको लिक्कु टोल, सिम्काकु र मानेभन्ज्याङ उदयपुर गाउँमा बसोबास गर्दछन् । कारबारी खण्ड मुक्काचोहरु मुख्यत उँबु गाउँको थोप्लोम टोलमा छन् । केही मुक्काचोहरु बसाई सरेपछि खोटाङ जिल्लाको च्यास्मिटारमा बसोबास रहेको छ । स्वदेशकै अन्यत्र र विदेशतिर पनि मुक्काचोहरु छन् । सबै मुक्काचोहरु कहाँबाट छुट्टिएको र कसको जुजु बाजेहरू को को थिए भन्नेबारे सोधखोजकै क्रममा छ ।

मुक्काचोको केही वंश
बलभद्र
बागबर्णको सेखपछि ज्यादै रइस खानदानका थिए, बलभद्र । विशेषगरी खचापु डाँडाको गोल मिलेको खेतलाई एकत्ठा जमाएर बस्नु उनको ठुलो सफलता मानिन्थ्यो । तार्कोम गाउँको धेरै जसो मलिलो टारबारीसमेत उनैको कब्जामा थियो । तार्कोम मूल घरको छाना ढुंगाले छाइएको थियो । त्यो जमानामा ढुंगाले घर छाउनु पनि ठुलो मान र शान हुन्थ्यो । खचापुको मूल घरमा धानको ठुलो भकारी थियो भने तार्कोममा मकैको ठुलो थाँक्रो । खाचापु बलभद्रको घरमा सयौं भेडा, बाख्रा र पचासौँ गाई, भैँसीहरु हुन्थे । उनको घरमा नोकर चाकर, हली, गोठाला थिए । उनैले तार्कोमबाट सार्कीहरु ल्याएर जग्गा जमिन दिएर खचापुको च्याम्ल्याङ भन्ने ठाउँमा राखेका थिए ।

पदमबहादुर
पदमबहादुर सानैदेखि शुरो र हक्की स्वभावका थिए । उनी उँबु– ध्याप्तीमा बसे । सोदु खोलाबाट पानी ल्याएर खेती चलाउने चहले खेत किने । सम्पत्ति जोड्दै गए । गाउँमा ब्याजमा पैसा लगानी गरेका हुन्थे । धनी हुँदै गएपछि घोडा किने । घोडालाई जहिल्यै रफ्तारमा कुदाउने गर्थे । माथि वाम्द्यालतिर जाँदा भर्याङ आइपुगेपछि पदमबहादुरले घोडालाई तल्लो गल्लीबाट उफारेर माथिल्लो डिलमा ल्याइपुर्याउँथे । दुधकोशीमा पौडी खेल्न जाँदा द्वायोम्फु (चिउरीबोटे) बाट हाम फालेर पौडी खेल्दै (बैत तर्दै) एकै चोटी हवारयाङगु (खचापु पुछार)मा निस्कन्थे । आफुसंगै पौडी खेल्न गएका साथीहरु पनि त्यहाँसम्म आई पुगेनन् भने तिनीहरुलाई पक्रेर फेरि दुधकोशीमा फाली हाल्थे । नचाहिँदो उपद्रो र बठ्याइँ गर्थे ।

आसामीले पैसा नदिएसम्म त्यही घरमा घिउ, कुखुरा, खसी खाँदै र तास जुवा खेल्दै अड्डा जमाउँथे । ओखलढुंगा अड्डा अदालत जाँदा बाटोमा धेरै सत्रु र मित्रहरु बनाएका थिए । एक दिन जुवा खेल्दै गर्दा उँबु थोप्लोम गाउँको बिरले राईसँग झगडा परेछ । कम्मरमा भिरेको खुकुरी निकालेर हान्दा बिरले घाइते भए । अस्पताल लग्दै गर्दा जोगीमारा भन्ज्यांगमा पदम बहादुरको सत्रुहरुले बिरलेलाई बिष खुवाएर मारे । त्यसपछि जिल्लाबाट पदमबहादुरलाई पक्रन पक्राउ पुर्जी लिएर डोर आयो । तर, पदमबहादुरको शक्ति र सुरोपनासँग सबैलाई डर थियो । प्रहरीलाई डोर भन्ने चलन हुन्थ्यो । डोरले पछिपछि खेदेजस्तो गरे । घोडामाथि चढेर नांगो खुकुरी देखाई भागी रहेका पदम बहादुरलाई पक्रने आँट गर्न सकेनन । उनका बुवा बलभद्रले प्रहरी प्रशासनलाई बाह्र पाथी तामा र चाँदीको पैसा गनेर भित्र भित्रै घुस दिएपछि कुरा मिल्यो । अनि, पदमबहादुर गाउँमा नभएको व्यहोरा लेखेर प्रहरी फर्कियो । त्यसपछि पदमबहादुर आफ्नो घरका श्रीसम्पत्ति र कान्छी श्रीमती लिएर दुधकोसी पारी खोटाङ जिल्लाको लुलिमा भन्ने गाउँ पुगे । पछि भारततिर निर्वासित भए भन्ने छ ।

पदमबहादुरका एक श्रीमतीतर्फका छोरा भक्तबहादुर थिए । भक्तका छोरा लक्ष्मण राई अझै राम्ध्याप्तीमा जमेर बसेका छन् । पदमबहादुरको अर्को छोरा अम्बरबहादुर (अम्बरे) हुन् । अम्बरेका छोराहरुमा जगतधन राई एक हुन् । उनी मुक्काचोमध्ये पहिलो स्नातकोत्तर जो धरानमा स्थायी बसोबास गर्दछन् ।

पदमबहादुरकै अर्की श्रीमती पट्टिका दुई छोराहरु थिए । आमाको पेवा अंश लिएर माइती गाउँ फोकुलमा बसोबास गरेका छन् ्। पदमबहादुरको धेरै श्रीमतीमध्ये एउटा छोरा तार्कोमको ज्ञानबहादुर हुन् । उनको कान्छा छोरा कृष्णकुमार राई हाल बेलायती सेना (युके) मा कार्यरत छन् । कृष्ण आफ्नी श्रीमती गौरी र दुई छोरी सपरिवार युकेमा बस्छन् ।

भीमबहादुर

भीमबहादुर राई परिवार

बागबर्णको हिरापिरा (बिरासत) र शान सौकत थाम्ने सन्तानहरुमध्ये खचापुका भीमबहादुर राई एक हुन् । उनी आशधन राईका कान्छा नाति हुन् । पञ्चायत कालखण्डमा उनी उँबु गाउँ पंचायतको राजनीतिमा जमेका थिए । अधिकांश वाम्बुले राईहरुको बस्ती भएको उँबु गाउँमा पंचायत नढेसम्म हैकम जमाए । भीमबहादुरले दुई पटक प्रधान पन्च जितेका थिए ।

बलभद्रको सेखपछि गाउँको ठुलो जमिन्दार र धनीमानीमा गनिएका व्यक्ति थिए, भीम बहादुर । बलभद्रको जिम्मावाल पद थियो । अरु प्रशासनिक पद खासै लिएनन् या पाएनन् । उनको पालामा खेतबारी, गाईबस्तु र पैसाको छेलोखेलो भने प्रशस्त हुन्थ्यो । तामाको घ्याम्पोमा पैसा राख्दथे । दुई छोरामध्ये जेठो छोरा पदमबहादुरलाई ज्यान मुद्दा लागेपछि देश र डाँडा काटेर जानु परेको थियो ।

दाजु पदमबहादुरले डाँडा काटेरपछि बलभद्रको पैतृक सम्पत्ति र जिम्मावालको कारोबार भीमबहादुरले नै सम्हालेका थिए । उनी अलि होचो कद र कालो वर्णका थिए । त्यसैले भीम बहादुरले ‘हामी काँचो र काले भएकाले मुक्काँचो राई भनिएको हो’ भनेर ठट्यौली गर्थे भनेर मेरो पापा अमृत बहादुरले सुनाउनु हुन्थ्यो ।

मुक्काचोको पुर्खाहरु सोलुको मुक्ली भन्ने गाउँ र ठाउँबाट आएका हुन् भन्नेछ । मुक्ली अपभ्रंस भएर मुक्काली हुँदै मुक्काचो भनिएको हुन सक्छ भन्ने छ ।

भीमबहादुर धेरै नबोल्ने अन्तरमुखी स्वभावका थिए । तर, ज्यादै दिमाग चलाउन ‘थिंक ट्यांक’ जस्ता थिए । उँबु गाउँमा मात्र नभएर भीम बहादुरलाई खानदानी मान्छे हो भनेर चिन्दथे । उनको पहलमा उँबु–१ खाचापुमा भीम आदर्श प्रा.वि. स्थापित छ ।

अमृतबहादुर (रमलाल/राईजेठा)

राईजेठा

उँबु–२ तार्कोममा वागबर्णपछि नाम चलेको व्यक्ति हुन्– अमृतबहादुर । बागबर्णको पनाति, सर्वधनका नाति र दुवाजितको जेठा छोरा, उनलाई ‘राई जेठा’ भनेर चिन्दछन् । गोर्खा पल्टनको द्दरठ न्च् (सेकन्ड सेभेन जीआर) सन् १९५९ मा बेलायती सैनिकमा भर्ती भएर सन् १९७१ (वि.सं. २०२७)मा सेवा निवृत्त भई आफ्नो पुर्खौली थलो तार्कोममा फर्किए । राईजेठाको दैनिकी घरव्यवहारमा पनि लाहुरेकै जस्तो हुन्थ्यो । ज्यादै पौरखी । जरुरी कामकुरा, चाड पर्व बाहेक अरु बेला घरमा भेटिन्नथ्यो । ‘मौकामा हिरा फोर्नु बेमौकामा कौडी नछोड्नू’ भन्ने उनको स्वभाव थियो । मितव्ययी, परिश्रम र समयको मूल्य सिकाउँथे । उनको सुकिलो घर र मटान थियो । उनको मटानमा पहिलो स्वास्थ्य चौकीको रुपमा क्लिनिक संचालन हुन्थ्यो । आफ्नो बाबा दुवाजित राईको तालुकदार पगरीलाई निरन्तरता दिनु पर्ने कर्तव्यले पनि राईजेठालाई समाजमा व्यस्त र परिचित व्यक्तित्व बनाउँथ्यो । राजनीतिक रुपमा उनी उँबु गाविस वडा नं.२ का अध्यक्ष थिए । हाल उनी धरान बाँझोगरामा बसोबास गर्दै आएका छन् । तार्कोमको घरमा एकमात्र छोरा श्यामकुमार र बुहारी रहेका छन् ।

मुक्काचोका अरु हाँगाहरु :
बागबर्णका छोराहरुमध्ये एकजना रंगधन । रंगधनका जेठा छोरा शाही सेना काली प्रसाद गणमा सिपाही थिए । त्यसैले उनलाई गाउँमा कालीप्रसाद नामले बोलाउन थालियो । उबेला काली प्रसाद खाचापुको निकै चल्तापुर्जा व्यक्ति थिए । उनले मोली फस्कुका आफ्ना जेठा भान्जा पाल्वाँचेलाई नेपाल प्रहरीमा भर्ती लगाए । पाल्वाँचे नै राजधानी काठमान्डौंको बागबजार (खसी बजार) मा घर जग्गा किनेर बसोबास गर्ने पहिलो वाम्बुले राई थिए ।

रंगधनको साइँला छोरा बमबहादुर ब्रिटिश इस्ट इन्डिया कम्पनी गोर्खा पल्टनमा सुबिदार थिए । उनले दोस्रो विश्व युद्धको लडाइँमा एमसी (मिल्ट्री क्रस) जस्तो बहादुरी तक्मा पाएका थिए भन्ने भनाइ छ । २००७ सालमा प्रजातान्त्रिक आन्दोलनताका स्थानीय जन सेना खडा गरिएको थियो । मानेभन्ज्याङ सेना दलका लप्तान (कमान्डिङ अफिसर) पद सम्हालेका थिए ।

बीरबकस
रंगधनका सात भाइ छोराहरु थिए । सात भाइमध्ये कान्छा छोरा भएकोले बीरबकसलाई ‘सतभैया’ अर्थात् भैया भनेर पनि चिनिन्थे । बीरबकस पनि आफ्नो जेठा दाजु (कालीप्रसाद) को पछी लागेर शाही सेनामा भर्ती हुन पुगे । उनी ज्यादै वाकपटु मीठो र तार्किक बोलीको साथै राम्रो व्यक्तित्व र अग्लो ठुलो कदका थिए । बीरबकसले राजाका आठपहरिया हुने सौभाग्य समेत पाए । त्यो जमानामा नेपाल सहरमा साइकलमा हिंड्थे रे । बीरबकस (भैया) पनि खचापुका धनी र साक्षर व्यक्तिमा गनिन्थे । उनको घरमा धेरै दुहुना गाई, भैँसी भएकोले हरेक विहान ठुलो खर्कुलामा दुध उमाल्नु पथ्र्यो । तर, उनलाई बुढेसकालमा अनेक दशा लाग्यो । विभिन्न समस्याहरुको चक्रव्यूहमा परी रहे । ज्यान मार्ने मुद्दाले गर्दा केही वर्ष जेल समेत बसेर छुटे । त्यसपछि पनि उनको हाँकडाकले गाउँका मान्छेहरु चकित पर्थे । उनको छोरा नभएकोले छोरी पन्चकलीलाई अंश दिएर खचापुमा नै बसाएका छन् ।

राई खण्डलाई सैनिक फाप्दैन :


यहाँनेर, राई खण्ड मुक्काचोको प्रसंगमा अझ गहिरो कहानी निकाल्नु पर्दा बागबर्णको बाजे बिमत मुक्काचोबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । पृथ्वीनारायण शाहको एकिकरणपछि बहादुर शाह र नेपाली सेनाहरुले तिब्बतसँग लडाइँ गरेको इतिहास छ । सन् १७८८ को जुलाई महिनामा केरुङ हुँदै सन् १७८८ को अगस्ट महिनामा तिब्बतको झुंगा भन्ने ठाउँ इलाकालाई कब्जा गरेका थिए । बहादुर शाहको सैनिक दलमा बिमत राई पनि एक लडाकु सेना थिए । तिब्बतको झुंगा भन्ने ठाउँमा लड्दा बिमत घाइते भएर घर फर्के । अफसोच त्यही लडाइँको घाउ बिग्रेर उनलाई क्यान्सर रोग लाग्यो । र, बडो सास्ती खेपेका थिए । त्यही कारण अब आइन्दा मेरो सन्तानले कुनै सैनिक पेशामा जागिर खान नपरोस् भनेर सराप्दै मरेका थिए । त्यसैले ‘राई खण्ड मुक्काचोलाई (सैनिक पेशा) फाप्दैन’, भन्ने पुरानो भनाइ छ ।

उदीयमान मुक्काचोहरु :
१९औं शताब्दीमा उदायका मुक्काचोहरुले जिल्ला सम्मको राजनीति गर्न सकेनन् । गाउँघरमा मुद्दा मामिलामा भने मापाका निस्के । स्थानीय मुद्दाहरुसमेत जिल्ला, अन्चल, क्षेत्रिय हुँदै सर्वोच्च अदालतसम्म पुरयाउनेहरुमा प्रायः मुक्काचोहरु नै पर्दथे । उनीहरुको अन्धा कानुन र सामन्त्याइँले गाउँका मानिसहरु थुरथुर हुन्थे ।

२१औं बाघबर्णको सन्तानहरुको उदय भइरहेको संकेत मिलेको छ । पनातीहरुमध्ये ब्रिटिश लाहुरे छन् । आर्थिक हैसियत बढाएका छन् । सामाजिक हैसियत कायमै छ । शैक्षिक स्तर बढ्दो छ । बेलायती सैनिक, स्वदेशमै शिक्षक, प्रहरी, आमसंचार तथा पत्रकारिता क्षेत्रमा प्रवेश बढेको छ । साहित्य, संस्कृतिक, पत्रकारिता क्षेत्रमा बसन्त राई, ऋषि राई र कुम्भराज राई संलग्न छन् ।

अन्तमा, मानिसमा सँधै देवत्व गुण हुँदैन । सबै खानामा अमृत मात्र हुँदैन । धेरै खाएपछि अमृत पनि विष हुन्छ । बागबर्ण कुनै बेलाका वैभवशाली प्रशासक थिए । तर ऊ स्त्री भोगी भए । उनको सात वटी श्रीमतीहरुबाट २३ जना छोरा छोरीहरु जन्मिए । त्यो समयमा धेरै बिहे गर्न सक्यो समाजमा उनको सान र प्रतिष्ठा पनि हुन्थ्यो । ‘पानी, आगो र आइमाईसँग जोगिनू’ भन्ने कुरा उनले राम्ररी बुझेनन् या बुझेर पनि आफ्नो व्यभिचारी चरित्रको नसाले उनलाई छोडेन । यही कमजोरीहरुका कारण उनका समकालीन शत्रु र मित्रहरुले उनलाई फसाए । सजिलै फसिए । फलतः बागबर्णको उत्तरार्धकाल सुखमय हुनु पर्ने जति रहेन ।

बागबर्णका उत्तराधिकारीहरुमा पनि धन कमाउने र शक्ति संचय गर्ने ढर्रा पुरातन शैलीको भयो । जिल्ला स्तरीय राजनीतिभन्दा माथिको करिस्मा र साहस नदेखिनु पनि मुक्काचोहरुको अर्को कमजोर पक्ष हो । कुनै बेला गाउँको जमिन्दार र हर्ताकर्ता मानिएका मुक्काचोहरुले आफ्नो सन्तानलाई शिक्षादीक्षा दिन नसक्दा कुनै उल्लेखनीय निजामती र प्रशासनिक पदमा पुग्न सकेनन् । नयाँ पिंढीका नेताहरुमा पनि भनेजस्तो इच्छा शक्तिको अभाव र संगठनात्मक कुशलता खट्किएको छ ।

स्रोत व्यक्तिहरुप्रति आभार : राई जेठा (अमृतबहादुर), राई कान्छा (कृष्णबहादुर), बिध्र्तीकाजी राई (लिक्कुले कान्छा– हाल झुम्का), भाइ मेडल राई (ठाइँला) र जगतधन राई, हाल–धरान ।

(लिब्जु–भुम्जु त्रिभाषीय त्रैमासिक, वर्ष २३, पूर्णाङ्क ६५, २०७३ वैशाख–असार (किरात येले संवत् ३७९५÷सन् २०१६)मा प्रकाशित यो आलेख अनलाइन संस्करण प्रस्तुत गरिएको हो । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *