यलम्बर संगीत प्रतियोगितामा सोनामले बाजी मारे

कला साहित्य -संस्कृति प्रदेश प्रदेश ३

लिभु संवाददाता
काठमाडौं– यो वर्षको यलम्बर संगीत प्रतियोगिताको चौथा शृंखलामा सोनाम राईले पहिलो पुरस्कार बाजी मार्नु भएको छ । किरात राई सांस्कृतिक कलाकार संघको १३ औं स्थापना दिवसका अवसरमा ललितपुरमा शनिबार सम्पन्न प्रतियोगिता पहिलो पुरस्कार हात पार्न सफल हुनुभएको हो । उहाँलाई २५ हजार रुपैयाँ नगद तथा चालीस हजारबराबरको गीत रेकर्डिङ सुविधा प्रदान गरिएको संघका अध्यक्ष जनक राईले जानकारी दिनु भएको छ ।

प्रतियोगितामा इन्द्रकला राई दोस्रो, शुक्रराज राई तेस्रो र बिसु राई उत्कृष्ट दर्शक छनौटमा पर्नुभएको छ । उहाँहरुलाई २० हजार, ११ हजार पाँचसय र तीनहजार तीनसय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । लामो अभ्यास तथा प्रतिस्पर्धाको अन्तिम चरणमा अनु राई, अम्बिका राई, संजय राई, बिनोदबिक्रम राई, नेसनल राई पुग्नु भएको थियो । उहाँहरुलाई सान्त्वना पुरस्कार स्वरुप जनही एकहजार रुपैयाँ तथा प्रशंसापत्र प्रदान गरिएको छ ।

गायन प्रतियोगिताको निर्णायकमा गायक सूर्य थुलुङ, संगीतकारद्वय बसन्त मुकारुङ र शान्तिराम राई रहनु भएको थियो । अन्तिम प्रतिस्पर्धिहरुलाई समाज र संस्कृतिको बिबिध बिषयमा बिभिन्न बिषय बिज्ञहरुबाट प्रशिक्षण र पटुक दरबार, च्यासल, साकेला थान लगायतको स्थानमा स्थलगत अध्ययन अवलोकन भ्रमण गराइएको थियो ।

सो समारोहमा संस्कृतिविद् तिर्थराज मुकारुङलाई दशहजार रुपैयाँ राशिसहित ‘किरात राई सांस्कृतिक सम्मान’ र गायिका पार्वती राईलाई ‘किरात संगीत पुरस्कार’ प्रदान गरिएको छ । पुरस्कारको राशि जनही दशहजार रुपैयाँ रहेको छ । त्यसैगरी गायक विनोद खम्बूलाई ११ हजार रुपैयाँ राशिको ‘किरात राई प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ ।

संघका संस्थापक अध्यक्ष तथा वरिष्ठ गायक जीतेन राई, किरात राई यायोक्खाका उपाध्यक्ष टीकासरी राई, कृषिविद् मदन राई, उद्योगी तेजबहादुर राई, समाजसेवी मनिकुमार राई, कमला राई लगायतले उक्त सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो । साथै, कलाकारहरु कला राई, जानुका राई, पदम थुलुङ र रोसन बान्तावाले वाढाङ्मी गीत प्रस्तुत गर्नुभएको थियो ।

तस्बिर सौजन्य ः किरात राई सांस्कृतिक कलाकार संघ

Leave a Reply

Your email address will not be published.